अक्टोवर समाजवादी क्रान्ति र नेपाल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 08, 2018 | 12:16:23 PM मा प्रकाशित

laxmi  sunrise bank

(महान् अक्टोवर समाजवादी क्रान्तिको सतवार्षिकी र आफ्नो १५औं बार्षिकोत्सव समेतको सन्दर्भमा ‘आधारशीला’ परिवार र जयगोविन्द साह अध्ययन केन्द्रले समसामयिक विषयमा वैचारिक प्रष्टताको लागि बर्षैभरी छलफलको सृङ्खला चलाउने गरी बार्षिक कार्ययोजना अगाडि सारेका छन् । त्यही कार्ययोजनाको पहिलो सृङ्खलाको रुपमा महोत्तरीको बर्दिबासमाn ‘अक्टोवर समाजवादी क्रान्ति र नेपाल’ विषयक प्रवचन गोष्ठी आयोजना गरिएको थियो । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली र तत्कालिन नेकपा (संयुक्त) का केन्द्रीय अध्यक्ष एवम् हाल नेकपा (माओवादी केन्द्र) का नेता गणेश शाहले प्रस्तुत विषयमा आआफ्ना विचार राखेका थिए  । त्यसै क्रममा नेता श्रेष्ठले अक्टोवर समाजवादी क्रान्तिको ऐतिहासिकताको चर्चा गर्दै त्यसको महत्व र सान्दर्भिकता अरु बढेको बताएका थिए । नेपालमा पछिल्लो चरणमा भएको परिवर्तनको विश्लेषण गर्दै नेपालमा समाजवाद निर्माणको मार्गप्रशस्त भएको र नयाँ सन्दर्भमा नेपालमा समाजवाद स्थापनाको संभावना बढेको बताएका थिए । हाम्रा पाठकको लागि पनि नेता श्रेष्ठका यी विचारहरु उपयोगी हुने ठानेर उनको विचारोत्तेजक लामो मन्तव्यलाई उतार गरी आवश्यक सम्पादनसहित यहाँ प्रस्तुत गरेका छौं । उक्त प्रस्तुतिको बाँकी अंश क्रमश प्रस्तुत गर्दै जाने छौ—संपादक)


महान् अक्टोवर समाजवादी क्रान्तिको सतवार्षिकी र आफ्नो १५औं बार्षिकोत्सव समेतको सन्दर्भमा ‘आधारशीला’ परिवार र जयगोविन्द साह अध्ययन केन्द्रले यसप्रकारको महत्वपुर्ण प्रवचन गोष्ठीको आयोजना गरेर हामीलाई पनि कार्यक्रममा आमन्त्रण गरी आफ्ना विचार राख्ने अवसर दिएकोमा आयोजक संस्थाहरुप्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछु ।  

आधारशीला परिवारले अत्यन्तै कठिन र चुनौतिपुर्ण परिस्थितिहरुलाई चिर्दै आफ्नो डेढ दशकको यात्रा पार गरेर आज १५औं वार्षिकोत्सव मनाउने ठाँउमा आईपुग्नु निक्कै नै गर्वको विषय हो । अतः म यस अवसरमा आधारशीला परिवारप्रति हार्दिक बधाई एव शुभकामना व्यक्त गर्दछु । 

आज नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुको काँधमा राष्ट्रनिर्माणको बिशेष जिम्मेवारी आईपुगेको छ । एकातिर हामीले समृद्ध नेपाल निर्माणको जिम्मेवारीलाई पुरा गर्नुछ भने अर्कोतिर त्यो निर्माण र समृद्धिको लक्ष्यलाई हाम्रो रणनीतिक लक्ष्यतर्फ अभिमुखिकरण गर्नुपर्ने आवश्यकता छ । यो सन्दर्भमा विकास कसरी अगाडी बढाउने ? समृद्धी कसरी हाँसिल गर्ने ? त्यो विकास र समृद्धिलाई हाम्रो रणनीतिक लक्ष्य समाजवादको दिशामा कसरी अगाडी वढाउने भन्ने प्रश्न गम्भीर छ । एकातिर अवसर छ, अर्कोतिर गम्भीर चुनौती पनि छ । यो अवस्थामा ठुलो वैचारिक बहसको प्रक्रियाबाट वैचारिक र नीतिगत स्पष्टता हाँसिल गर्नु पहिलो आवश्यकता हो । यो कोणबाट प्रवचन गोष्ठीको रुपमा विचार प्रस्तुतिकरणको यो कार्यक्रमकोे ठुलो महत्व छ । एकातिर नेपालको कम्युनिष्ट आन्दोलनमा निश्चय पनि हामीले जडसुत्रीय संकिर्णतावाद र यान्त्रिकतावाद माथि विजय गर्दै आएका छौ, तर जडसुत्रवादका विरुद्ध, यान्त्रिकताका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकताको अन्त्य भएको छैन । अर्कोतिर, आज हामी जुन ठाँउबाट नेपाली समाजको आमुल परिर्वतनको प्रक्रियाको नेतृत्व गर्ने कोसिस गर्दैछौं, यहाँबाट अगाडी बढ्दा सिङ्गो आन्दोलन व्यवहारवाद र अनुभववादमा फस्ने खतरा पनि त्यत्तिकै छ । त्यसैले व्यवहारवाद र अनुभववादप्रति पनि आवश्यकीय रुपमा सचेत हुँदै माक्र्सवादको आलोकमा समाजवाद निर्माणको लागि अगाडि बढ्रने प्रतिबद्धता र सचेतनाको खाँचो छ । 

यो पृष्ठभुमिमा विचारको अध्ययन, अनुसन्धान, छलफल, संश्लेषण र विकासको महत्व आज धेरै बढेर गएको छ । आजको हाम्रो क्रान्तिको तात्कालिक कार्यभार पुरा गर्न, सिंगो नेपाली समाजलाई समाजवादको दिशामा लैजान र नेपालको कम्युनिष्ट आन्दोलनलाई नेतृत्वदायी शक्तिको रुपमा स्थापित गर्न यसप्रकारको वैचारिक मन्थन, छलफल, स्पष्टता र विकासको आवश्यकता छ । यो पृष्ठभुमिमा आजको योे कार्यक्रमको ठुलो महत्व छ । साथै आज जुन संस्थाहरुले यो कार्यक्रमको आयोजना गरेका छन्, त्यसका आधारमा पनि यो छलफलको सान्दर्भिकता र महत्व अरु बढेको छ ।

आज विश्वव्यापी रुपमा भुमण्डलीकृति पुँजीवाद हावी भएको, देशभित्र सामन्तवादविरोधी क्रान्ति भर्खरै सम्पन्न भएर नेपालको आफ्नै प्रक्रियामा पुँजीवाद अगाडि बढिरहेको र त्यसलाई समाजवादउन्मुख दिशा दिन प्रयत्न गरिरहेको एउटा सन्दर्भ छ । साथै नेपाली कम्युनिष्ट आन्दोलनमा समेत पुँजीवाद र व्यक्तिवाद जबर्जस्त हावी भईरहेको, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरण र विकृतिकरणको प्रक्रिया तिब्र रुपमा देखापरिरहेको  स्थिति छ । यस्तो स्थितिमा कम्युनउन्मुख सामुहिक संस्थाको स्थापना, रक्षा, प्रयोग र विकास आफँैमा ठुलो चुनौतीपूर्ण विषय हो । त्यो चुनौतीलाई विभिन्न ढंगले झेल्दै समाजवादको भु्रणको रुपमा सामुहिक संस्थाको जन्म दिन र त्यसलाई कम्युनको दिशामा अगाडी बढाउन प्रयत्नरत आधारशीला परिवार यसको आयोजक हुनु आफैमा कार्यक्रमको विशिष्ट पक्ष हो । जयगोविन्द साह अध्ययन केन्द्र सहआयोजकको रुपमा रहनु अर्को सुखद एवं बिशिष्ट पक्ष हो । अध्ययनको नाममा आज तात्कालिक राजनीतिका केही विषयमा ठुला अखवारको हेडिङ पढ्ने वा कुनै अनलाईनका मसलाहरुमा मात्र ध्यान केन्द्रीत भइरहेको अवस्थामा जयगोविन्द साह अध्ययन केन्द्रले आफुलाई यसप्रकारको विचार बिमर्शको निम्ति उभ्याउनु आवश्यक थियो । जीवन र जगतको वस्तुनिष्ट अध्ययन र समाजवादउन्मुख संस्कृतिको पक्षपोषण यस कार्यक्रमका आयोजक संस्थाहरुको विशेषता हो । तत्कालै आजकै कार्यक्रमबाट धेरै कुरा दिन नसके पनि हामीलाई अध्ययन र समाजवादउन्मुख संस्कृतिको विकासमा घचघच्याउने तथा उत्प्रेरणा दिने काम यो कार्यक्रमले गर्नेछ भन्ने मलाई लाग्दछ । अतः यो विशिष्ट कार्यक्रमका लागि सबै सम्बन्धित कमरेडहरुलाई धन्यवाद दिन चाहन्छु । 

आजको यस कार्यक्रममा हाम्रा घनिष्ट मित्रहरु प्रदिप ज्ञवाली र गणेश साहले प्रकट गर्नुभएका विचारहरुले हामीलाई अगाडि बढ्न आधार प्रदान गर्नेछन् । म ती विचारप्रति मुलतः ऐक्यबद्धता प्रकट गर्दछु र आफ्ना विचार अगाडि बढाउने अनुमति चाहन्छु ।

आज हामी अक्टोवर समाजवादी क्रान्तिको सतवार्षिकीको सन्दर्भमा अक्टोवर समाजवादी क्रान्ति र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा छलफल गर्र्दैछौं । अक्टोवर समाजवादी क्रान्तिको बारेका धेरै कुरा अघिल्ला वक्ताहरुले प्रष्ट पारिसक्नुभएको छ । 

माक्र्सवाद र कम्युनिष्ट पार्टीको नेतृत्वमा व्यवस्थित ढंगले समाजवाद निर्माण गर्ने पहिलो काम अक्टोवर समाजवादी क्रान्तिबाट भएको थियो । यद्यपी पेरिस कम्युनले समाजवाद निर्माणको एउटा सानो झलक त्यस अघि नै देखाएको थियो । तर त्यो माक्र्सवादी कम्युनिष्टहरुको नेतृत्वमा थिएन । कम्युनिष्ट पार्टीको नेतृत्वमा थिएन र व्यवस्थित ढंगले समाजवाद निर्माण गर्ने प्रक्रियाबाट अगाडी बढेको पनि थिएन । त्यो ७१ दिन भन्दा बढी टिक्न पनि सकेन । त्यसैले माक्र्सवादको पथप्रर्दशन र कम्युनिष्ट पार्टीको नेतृत्वमा सुसंगत ढंगले समाजवाद निर्माण गर्ने काम अक्टोवर समाजवादी क्रान्तिद्वारा नै भएको थियो । 

अक्टोवर समाजवादी क्रान्तिमार्फत् विश्वमा सर्वहारा श्रमजीवि जनताले समाजवादी क्रान्ति गर्न सम्भव छ, समाजवाद निर्माण गर्न सम्भव छ भन्ने कुरा व्यवहारबाटै पुष्टी गरे । यसबाट समाजवाद सम्भव छ भन्ने मात्रै पुष्टि भएन, समाजवाद पुँजीवादभन्दा कयौं गुणा उन्नत छ भन्ने पनि व्यवहारिक रुपमै पुष्टि भयो । यो विश्वमै  कम्युनिष्टहरुको लागि आज पनि पे्ररणा र गौरवको स्रोत बनिरहेको छ । 

बोल्सेविक पार्टीको नेतृत्वमा अक्टोवर समाजवादी क्रान्ति सम्पन्न गर्दैगर्दा लेनिनले आप्mनो पार्र्टीको नीति, कार्यक्रम र कार्यदिशा रुसको विशिष्टतामा व्यवहारमा लागु गर्नुुभयो । पहिलो समाजवादी क्रान्तिको नेतृत्व गर्नुभयो । उहाँले समाजवाद निर्माणकोे अभियानको थोरै समय मात्र नेतृत्व गर्न पाउनुभयो । त्यसैबीचमा केही महत्वपुर्ण कुरामा सबै कम्युनिष्ट क्रान्तिकारीहरुको ध्यान आकर्षित गर्नुभयो । उहाँले जोड दिनुभयो, पहिलो कुरा, क्रान्तिकारी सिद्धान्त बिना क्रान्ति हुँदैन । दोस्रो, हाम्रो क्रान्तिकारी सिद्धान्त आजसम्म मानव जातिले आर्जन गरेका ज्ञान भण्डारबाट लैस हुनुपर्दछ । यो पुर्ण छैन, हुँदैन र विकसित हुँदै जान्छ । तेस्रो, माक्र्सवादसँग कुनै अनुल्लङ्घनीय सुत्र छैन, माक्र्सवाद भनेको सुत्रहरुको भण्डार पनि होइन । बरु यो क्रान्तिकारी दृिष्टकोण हो, पथप्रर्दशक सिद्धान्त हो । त्यसका कतिपय पक्ष गलत सावित हुन सक्छन् । तीनलाई हामीले सच्याउँदै अगाडी बढ्नुपर्दछ । चौथो, माक्र्सवादको गुदी कुरो ठोस परिस्थितिको ठोस विश्लेषण हो भन्नुभयो । माक्र्सवादको सार्वभौम सिद्धान्तलाई निरपेक्ष ढंगले लागु गर्न खोजियो भने माक्र्सवाद कहिल्यै पनि लागु हुँदैन, क्रान्ति कहिल्यै पनि सम्पन्न हुँदैन भन्दै माक्र्सवादको सार्वभौम सत्यलाई, यसको गुदी तत्वलाई आत्मसात गरी आफ्नो ठोस परिस्थितिको ठोस विश्लेषण गरेर लागु गर्नु नै माक्र्सवाद हो भनेर जोड दिनुभयो । पाँचौं, अक्टोवर समाजवादी क्रान्तिको सन्दर्भमा भुल्नै नहुने विषय क्रान्ति कहिल्यै पनि शुद्ध रुपमा सम्पन्न हुँदैन भन्नुभयो । हामीले क्रान्तिका संैद्धान्तिक प्रस्तावनाहरु निश्चित गर्छौं । कुनै ऐतिहासिक चरणमा क्रान्ति आदर्श ढंगले कसरी हुन सक्छ भनेर रणनैतिक लक्ष्य निर्धारण गर्छौं । त्यो रणनीतिक लक्ष्यलाई पुरा गर्न राजनैतिक कार्यदिशा बनाउँछौं । राजनैतिक कार्यदिशा पुरा गर्न कार्यनीतिक श्रृङ्खलाहरु बनाउँदछौं । समग्र रणनीति र कार्यनिति कार्यान्वयनका योजनाहरु बनाउँछौं । तीनको कार्यान्वयन गर्दै रणनैतिक लक्ष्य पुरा गर्छौ । तर क्रान्ति कहिल्यै पनि शुद्ध हुँदैन । त्यसैले लेनिनले भन्नुभयो, ‘जसले शुद्ध क्रान्तिको कल्पना गर्छ, त्यसले कहिल्यै पनि क्रान्ति गर्दैन, क्रान्ति देख्न पनि पाउँदैन ।’ यी र यस्ता महत्वपुर्ण सन्दर्भहरुको सापेक्षतामा अक्टोवर समाजवादी क्रान्तिलाई बुझ्नुपर्दछ ।

क्रमश...........


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved