19 Aug, 2018 | ३ भदौ २०७५ | आइतवार




निरोज कुमार थापा

Follow me on

पुष्पलाल सहितको नेपाल कम्युनिष्ट आन्दोलन र हालको ‘फ्युजन’ ‘कन्फ्युजन’

Posted on:July 23, 2018

citizen bank

आज साउन ७ गते, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस । २००६ सालमा भारतको कोलकत्तामा नेकपा स्थापना गरेका पुष्पलालले २००५ मा कम्युनिष्ट घोषणापत्र नेपाली भाषामा अनुवाद गरेका थिए । २०१७ सालमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको सरकारलाई अपदस्थ गरेपछि पुष्पलाल भूमिगत भएका थिए । २०३५ साउन ७ गते नयाँ दिल्लीमा उनको उपचारका क्रममा निधन भयो । 

पुष्पलाल वि.सं. १९९७ सालमा आफ्ना दाजु गंगालाल श्रेष्ठको हत्यापछि पूर्णकालीन राजनीतिमा लागेका थिए । राणाविरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पुष्पलालको नेतृत्वमा २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साधना प्रधान, सहाना प्रधान लगायतले आन्दोलन गरेका थिए । 

आफूले स्थापना गरेको कम्युनिष्ट पार्टी विभिन्न टुक्रामा विभाजित भएपछि उनी त्यसलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउन लागेका थिए । तर उनको यो प्रयास बल्ल केही हदसम्म पूरा भएको मान्न सकिन्छ । यद्यपी नेपालमा कम्युनिष्टहरुको संख्या अझै पनि आधा दर्जनभन्दा बढी छ ।

उनलाई पार्टी भित्रैबाट विभिन्न आरोप समेत लाग्यो । नेपालमा बर्षौसम्म शासन गरेका राणहरुलाई हटाउन नेपाली काङ्ग्रेससँग मिलेर आन्दोलन गरेको भन्दै केही साथीहरुले उनको साथ समेत छोडे । पुष्पलालले काङ्ग्रेसलाई मित्र शक्ति भनेकै भरमा पुष्पलालसँग एउटै कमिटीमा रहेर काम गरेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ शीर्षकमा पुस्तक नै प्रकाशित गरे । उनले पछि गद्धार शब्द हटाएर पुष्पलाल नै ठिक पनि भने । 

उनका धेरै विचारहरू काङ्ग्रेस परस्त छन् पनि भन्छन् । त्यतिबेला नेपालमा मात्रै नभई विश्वमै कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा थियो । रुसलाई संशोधनवादी भन्ने चीनको लाइन थियो । रुसलाई समाजवादी मान्ने लाइन पनि थियो । पुष्पलाल भने चीन र रुस दुबैको पक्षमा होइन मध्यमार्गमा थिए । 

पुष्पलालको निधन पश्चात नेपाली कम्युनिष्ट आन्दोलन दुई धारमा विभाजित हुन पुग्यो । एउटा धार सडक संघर्षबाटै आफ्ना मुद्धा स्थापित गराउने र अर्को धार शान्तिपूर्ण आन्दोलन र सदनबाट आफ्ना माग स्थापित गराउने । यसरी दुई धारमा विभाजित भएको कम्युनिष्ट आन्दोलन अझैपनि दुई धारमै छ । 

त्यसपछि एउटा धारको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्को धारको नेतृत्व मनमोहन अधिकारीको हातमा थियो । सदनबाट आफ्ना मुद्धाहरु स्थापित गराउन सकिन्छ भन्ने र सक्नुपर्छ भन्ने मान्यताबाट अर्कै धारमा गएको कम्युनिष्ट आन्दोलनका नेता मनमोहन भएपनि त्यसभित्र सबैले स्वीकार्ने पात्र मदन भण्डारी थिए । 

तीनै भण्डारी तत्कालिन नेकपा मालेको महासचिव भएपछि फेरि पुष्पलालकै बटम लाईनमा फर्किए । त्यसपछि उनले पुष्पकमलसँग पार्टी एकताका लागी पहल थाले । तर एकताका लागी वार्ता मिती र स्थान मात्रै होईन खानेकुराको समेत तय भईसकेको अवस्थामा उनको हत्याभएपछि त्यतिबेलाको कम्युनिष्ट एकताको प्रयास विफल भयो । 

त्यसपछि नेपालको कम्युनिष्ट आन्दोलन अझ बढी दुरीमा विभाजित भयो । एउटा कम्युनिष्ट देशको सत्तामा र अर्को कम्युनिष्ट जन–आन्दोलनमा । यसरी सोच्नै नसक्ने गरी कम्युनिष्ट आन्दोलन विभाजित भयो । 

१० वर्षे जनयुद्धले देशमा वर्षौसम्म शासन चलाएको राज संस्थालाई सधैका लागी सत्ता च्युत मात्रै गराएन देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । यसमा फेरि दुई धार भए, सडक संघर्ष र आन्दोलनको जश लिन कम्युनिष्ट मात्रै नभई गैह्र कम्युनिष्टहरु पनि कम्मर कसेर लागे । तर मिलन विन्दु र पुष्पलालको बटम लाइन यहाँनेर पनि प्रयोग भएको छ । 

जन–आन्दोलनको हुकार गरेको तत्कालिन माओवादी र देशको सत्तामा रहेको तत्कालिन एमाले सहित ७ राजनीतिक दलले संयुक्त आन्दोलन गरेपछि मात्रै तत्कालिन राजा ज्ञानेन्द्रले श्रीपेच फुकालेका थिए । 

विचार, सिद्धान्त र पद्धति फरक फरक भएपनि आवश्यक पर्दा र देशले मागेको बेलामा एक हुनसक्नुपर्छ भन्ने शन्देश २००७ साल अगाडी देखी नै राणा शासन हटाउने अभियानमा काङ्ग्रेससँग मिलेर आन्दोलन गरेर पुष्पलालले देखाईसकेका थिए । 

त्यसपछि २०६२÷६३ को आन्दोलनले पनि सोही कुरालाई पुष्टि गरेको छ । विपी कोईराला र पुष्पलालकै लाईनमा अझैपनि नेपाली राजनीति घुमिरहेकै छ, तर हिजोको चिसो भुई र आजको सत्ता स्वार्थ र मोह मात्रै फरक हो । 

अहिले नेपालका २ ठूला कम्युनिष्टपार्टीहरु एक भएका छन् । देशको सत्ता सञ्चालन गर्न झिनो मात्रै होईन दुई तिहाई समर्थन समेत पाएको अबस्था छ । तर हाल सत्तासिन रहेका कम्युनिष्ट पार्टीमा अझैपनि रंगरहित दम्भको श्रीपेच जीवितै देखिन्छ ।  

श्रीपेचको कुरा गर्दा मदन भण्डारीको सम्झना आउँछ । उ बेला भण्डारीले चिसो भुईबाट राजालाई हिम्मत छ भने श्रीपेच फुकालेर चुनाव लड्न आउनोस् भन्ने आँट गरेका थिए । ‘महाराज, आँखा नचम्काई बक्स्योस्, राजनीति गर्न मन भए श्रीपेच खोलेर मैदानमा आए हुन्छ ।’ मदन भण्डारी त्यतिबेला यसरी चुनौति दिएका राजाको शिरमा रङ्गीन श्रीपेच विराजमान थियो । तर अहिले न चुनौति दिनुपर्ने आवश्यकता छ न औचित्य नै । पुष्पलालदेखी अहिले केपी प्रचण्डसम्म आईपुग्दा नेकपामा अझै तिनै पुष्पलालको पसिनाको गन्ध आउनुपर्ने हो । तर बटमलाई उनकै भएपनि हाल देखिएका काम र क्रियाकलापले गर्दा बाटो बिराय जस्तो देखिन्छ । 

एक्काईसौ शताब्दीको पुस्ता जान्दछ, लोकतान्त्रिक प्रक्रियाबाट विजयी हुनु र लोकतान्त्रिक आचरणको हुनुमा आकाश पातालको फरक हुन्छ । पुष्पलाल लोकतान्त्रिक आचरणका थिए, अहिलेका कम्युनिष्टहरु लोकतान्त्रिक पक्रियाबाट निर्वाचित मात्रै भएका छन्, आचरणको कुरा गर्दा शून्य लाग्ने खालका ।

पुष्पलालको सिद्धान्तसँग ओली र दाहालको सिद्धान्त मिल्दैन । पुष्पलाल नयाँ जनवादी क्रान्तिका लागि लडे, तर उकेपी पिके नयाँ जनवादी क्रान्ति मान्दैनन् । एकीकरण हुनुअघिको एमालेले बहुदलीय जनवाद र माओवादीले एक्काइसौ शताब्दीको जनवाद ल्याए । तर पुष्पलाल बाँचेको भए पक्कैपनि यसलाई मान्दैन थिए भन्ने नेपालकै कम्यनिष्टहरुको भनाई छ । सत्तामा भएको नेकपाले माक्र्सवाद र लेनिनवाद मान्दैन भन्छन् पूराना कम्युनिष्टहरु । 

कम्युनिष्ट एकतापछि धेरै विषयका च्याप्टर क्लोज भईसकेका छन् । विपक्षिले भनेजस्तो ‘जबज’ लाई गोपीक्याँच बनाएर ‘माओवाद’सँग ‘फ्युजन’को ‘कन्फ्युजन’ होईन, अब पुष्पलालकै बाटोमा केवल विजयी मात्रै होईन आचरण सहितको कम्युनिष्ट बन्ने अवसर आएको छ । नेपालका कम्युनिष्टहरुले यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ । केवल भाषणमा मात्र नभई समृद्धिको सपनालाई साकार पार्न लाग्नुपर्छ । 

Share your thoughts!

Loading...

Trending