नेपालको विकासमा दिगो पर्यटनको सम्भावना र चुनौती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2016 | 01:45:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विकासको अवधारणा मानव सभ्यताको विकाससङ्गै आएको भएतापनि १८ औँ शताब्दीदेखि आर्थिक समृद्धितर्फ उन्मुख भएपछि बढी प्रचलनमा आएको हो । विकास बहुआयामिक र गतिशील विषय भएकोले यसको अवधारणा समय समयमा परिवर्तन भइरहन्छ । विकासमा विभिन्न क्षेत्रको भूमिका रहन्छ । कुनैपनि देशको विकासको अपेक्षा पूरा गर्नका लागि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, पर्यटकीय, पर्यावरणीय आदि आयामहरुमा जोड दिनुपर्दछ । विकासका लागि सकारात्मक सोंच र वातावरणले महत्वपूर्ण भूमिका खेल्दछ ।

हिरालाल भण्डारी

देश विकसित हुनका लागि औद्योगिकीकरणको अवस्था, पूर्वाधार विकासको अवस्था, गरिबी र रोजगारीको अवस्था, समानता एवं सामाजिक सुरक्षाको अवस्था, सहरीकरणको अवस्था आदिको भूमिका पनि उत्तिकै मात्रामा रहेको हुन्छ । वर्तमान समयमा विकास र पर्यटनलाई संगसंगै लैजान सकेमा पनि मुलुकको हित हुन जानेछ ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय÷बहुभाषिक सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा चिनिन्छ। प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आकर्षित गरी अधिक लाभ लिन सक्ने क्षमता बढाउनु आवश्यक रहेको छ । हालैमात्र विश्वको सबैभन्दा ठूलो ट्राभल वेभसाइट "ट्रिप एड्भाइजर" ले सन् २०१६ का लागि तयार पारेको विश्वको सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाललाई समायोजन गरेको छ जसले नेपालको पर्यटन उद्योगमा नयाँ उत्साह थपिदिएको छ।

नेपाल सरकारले पर्यटन नीति २०६५ मा पर्यटन उद्योगको प्रबर्द्धन गर्ने, पर्यटकीय दृष्टिले आकर्षक र मानव निर्मित सम्पदाहरुको खोज÷अनुसन्धान गर्ने, पर्यटकीय पूर्वाधारको विकास र निर्माण गर्ने आदि उद्धेश्यहरु  राखेको  छ। पर्यटन विकासका लागि सन् २००८ मा जारी गरेको दीर्घकालीन दृष्टिकोण भिजन, २०२० ले नेपालमा प्राकृतिक, साँस्कतिक, जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण तथा सम्बद्धन गर्दै विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रुपमा विकास गर्ने उल्लेख गरेको छ। दिगो विकासका १७ वटा लक्ष्यहरुमध्ये ८ र १२ नं बुँदा पर्यटनसंग सरोकार राख्दछन् । नेपाल सरकारले भर्खरै सार्वजिनक गरेको नेपालको राष्ट्रिय पर्यटन रणनीति योजना (२०१६-२०२५) कार्यान्वयनमा आएको छ। योजनाको पहिलो चरण (२०१६-२०२०) मा दुवै लक्ष्य साकार पार्न गन्तव्य विविधीकरण र सुधारमा जोड दिएको छ। दोश्रो चरण (२०२१-२०२५) मा नयाँ उत्पादनहरुलाई एकीकृत गर्ने उल्लेख छ। त्यसैले यो रणनीतिक योजनालाई यस क्षेत्रको विकासको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिन सकिन्छ।

नेपालमा दिगो पर्यटन अवधारणामा मात्र सीमित रहेको छ । व्यापक अनुसन्धानको कमी र नीतिगत स्पष्टताको अभावमा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगति हुन नसकेको हो । त्यसैले नेपालमा दिगो पर्यटन कहिलेसम्म भन्ने बारेमा बहस हुनु जरुरी देखिन्छ । हाम्रा पर्यटन क्षेत्रका विशेषताहरुमा अनुपम प्रकृति, जीवन्त संस्कृति र साहसिक क्रियाकलाप अदि पर्दछन्। यसका लागि हामीले कुशल तथा सुरक्षित हवाइ र स्थल यातायात, भौतिक पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विविधीकरण र बजारीकरणको आधुनिक व्यवस्था, स्पष्ट र विश्वसनीय जानकारी आदिको व्यवस्था गरी दिगो पर्यटनको लक्ष्य हासिल गर्न सकिन्छ। वास्तवमा दिगो पर्यटनका लागि पर्यटकहरुको आवागमन नै महत्वपूर्ण  हुन जाने भएकाले कस्ता खालका पर्यटक चाहिएका हुन्? धेरै खर्चिने वा धेरै दिनसम्म रहने? स्पष्ट हुनुपर्दछ। दिगो पर्यटनले मूर्तता पाउने खालका पर्यापर्यटन, प्रकृति, नदिनाला लगायतको संरक्षण हुनु जरुरी छ।

नेपाल विश्व पर्यटन बजारमा उत्कृष्ट गन्तव्यस्थलको अग्रणीस्थानमा रहेको छ। यस क्षेत्रको दिगो विकासका लागि र गुणस्तरीय सेवाप्रवाहका लागि दिगो पूर्वाधार विकास आवश्यक हुन्छ। दिगो पर्यटनका लागि ३ वटा आयामहरु महत्वपूर्ण हुन्छन्। पर्यटनका श्रोतहरु नाश हुनुभएन,  श्रोतहरुको बाँडफाँट र फाइदा पनि समानुपातिक रुपमा सबैले पाउनुपर्दछ र पर्यटकले सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण हुनुपर्दछ।

नेपालमा भर्खरै मात्र ३७ औँ विश्व पर्यटन दिवस, २०७३ लाई "Tourism for all-Promoting universal accessibility" भन्ने मूल नाराकासाथ मनाइएको छ । यसले नेपालको पर्यटन क्षेत्रको विकास एवं सम्बर्द्धनका लागि अघि बढ्न उत्प्रेरित गर्नेछ । पर्यटन व्यवसाय आम नागरिकको जीविकोपार्जन र रोजगारीको अवसर समेत भएकोले यसको विकासमा जोड दिनु अपरिहार्य भएको छ। पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनतामा पुर्याउन नयाँ पर्यटनस्थलको खोजी, पर्यटन पूर्वाधार विकास, पर्यटकलाई उपलब्ध गराउने सेवाको गुणस्तरमा बृद्धि, सुरक्षित गन्तव्य, बसाइको अबधि लामो बनाउने जस्ता विभिन्न पक्षलाई समेटेर दीर्घकालीन नीति अबलम्बन गर्नु जरुरी देखिन्छ। बिदेशी मुद्राको आर्जन, रोजगारीका अवसरको बृद्धि संगसंगै जनताको जीवनस्तरमा सुधार गरी पर्यटनलाई आर्थिक विकाससंग आबद्ध गर्दै लैजानुपर्दछ ।

पर्यटन विकासको लागि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने सोचाइ अनुरुप नेपाल सरकारले वि. सं. २०७३ लाई 'आन्तरिक घुमफिर वर्ष' को रुपमा मनाइरहेको छ। सन् २०१८ लाई 'नेपाल भ्रमण वर्ष' मनाउने गरी प्रयासहरु भएका छन्। दिगो पर्यटन विकास गर्न नेपालमा होमस्टे, ग्रामीण पर्यटन, स्थानीय प्रविधि र साधनमा प्राथमिकता दिनुपर्दछ। विश्व जगतमा नेपाल सुरक्षित, शान्त र सुन्दर देश भन्ने सन्देश सम्प्रेषण हुनुपर्दछ। यसको लागि देशको आर्थिक सामाजिक विकास गर्न स्वदेशी तथा विदेशी लगानीमा पर्यटन क्षेत्रको विकास गर्ने उपयुक्त वातावरण निर्माण गर्नुपर्दछ।

लेखक नेपाल सरकारका उपसचिव हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved