बैंक मोटाउने, जनता दुब्लाउने देश

टीएन रेग्मी

टीएन रेग्मी

Oct 28, 2018 | 09:12:52 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वमा बैंकको स्थापना र इतिहास, विश्वका अब्बल र कमजोर बैंक, बैंकर अवार्ड कसले पायो आदि विषयमा चर्चा गर्नु यो आलेखको ध्येय होइन । समसामयिक परिवेशमा अर्थतन्त्रलाई मजबुत बनाउने काममा नेपालका बैंकहरुको यथोचित ध्यान पुगेको छ कि छैन भन्ने प्रश्नसँगै बैंकहरुको कार्यशैली, ग्राहकप्रतिको सोच र व्यवहारका अनेक आयाममा यो आलेख केन्द्रित छ ।

बैंक र विश्वास

सीधा शब्दमा भन्दा बैंकहरु पैसाको व्यापारी हुन् । उनीहरु ग्राहकबाट पैसा लिन्छन र पैसा चाहिनेलाई ऋण दिन्छन। ग्राहकलाई लिने र दिने ब्याजको अन्तर (अन्तर ब्याजदर) बाट मुख्यतया उनीहरुको व्यवस्थापन खर्च चल्छ र त्यहींबाट नाफा समेत कमाउछन। संसारभर बैंक चल्ने, चलाउने तरिका यही हो ।

तर, दुनियाँको कुनैपनि बैंकले ग्राहकबाट संकलन गरेको पैसा जस्ताको तस्तै फिर्ता दिन्छ वा नाफा कमाएर ब्याजसमेत दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । दुईचार दिनको उथलपुथलले अब्बल भनिएको बैंक गर्ल्याम गुर्लुम ढल्न सक्छ । नेपालमै पनि केही त्यस्ता उदाहरण छन् । यस्तो उदाहरण पनि छ, एउटा ग्राहकले आफ्नो खाताबाट पैसा झिकेकै कारण बैकले आफ्नो अस्तित्व जोगाउन सकेन।

विश्वप्रसिद्ध नोबेल पुरस्कारको आधिकारिक बेवसाइटमा मुहमद युनुसबारे पहिलो लाइनमा लेखिएको छ, “बैङ्कर टु द पुअर" नेपालको परिवेशमा भने त्यसको ठीक उल्टो छ । एक हिसाबले भन्दा नेपालको बैंकिङ ग्राहकको एकतर्फी मायामा अडिएको छ ।

अर्बमा नाफा 

नेपाल राष्ट्र बैंकले वित्तिय संस्थाको सबलीकरण गर्ने उदेश्यसहित नीतिगतरुपमै पूँजीवृद्धि र मर्जरको व्यवस्था ल्यायो । क वर्गका वाणिज्य बैंकहरुको चुक्ता पूँजी ८ अर्ब हुनुपर्ने मापदण्ड तोकियो । तर, राष्ट्र बैंकको अनुमान विपरीत क वर्गका वाणिज्य बैंकहरुको संख्या खासै घटेन । मर्जरको नीति विकास बैंकको हकमा बढ्ता प्रभावकारी देखियो ।

हाल नेपालमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये अधिकांशको नाफा १ अर्ब रुपैयाँ नाघेको छ । यो आफैमा राम्रो खबर होकि नेपालका एकसेएक बैंकहरु अर्बको आँकडामा नाफा कमाउँछन् । ८ अर्ब चुक्ता पूँजी मुस्किलले पुर्‍याउने संस्थाले समेत १ अर्ब रुपैयाँ बढी नाफा कमाउनु आफैंमा  रोचक विषय हो ।

बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनमा लामै रस्साकस्सी चल्यो । अन्ततः केही नयाँ प्रावधानहरुसहित उक्त ऐन पारित भयो । माननीयहरुले बैंकको नेतृत्व गर्न मरिहत्ते गर्नु, संचालकहरु संस्थामा टाँसिइरहन खोज्नु, सिइओहरु ओल्लो घरको नरे, पल्लो घरमा सरे भन्ने उखानको लयमा लाग्नु पछाडिको कारण नाफाको यही आँकडा हो ।

नदेखिने सिन्डिकेट 

पछिल्लो समय नेपालमा सिन्डिकेटको चर्चा निकै छ। व्यवसायीको तर्फबाट हेर्दा सिन्डिकेट आफैमा गलत अभ्यास होइन । भनाइमा सिन्डिकेट भएपनि हाम्रो बजारमा व्यवहारमा यत्रतत्र कार्टेलिङ्ग छ । र, सिन्डिकेट शब्दको बद्‍नाममात्रै भइरहेछ ।

केही समयअघि एक बैंकले घोषणा गरेको ब्याजदरको कारण बैंकिङ वृत्तमा नाकाबन्दी नै लाग्यो । सिइओको राजीनामादेखि अन्य बैंकर्सको घेराबन्दीसम्मको अवस्था आइलागेपछि अन्ततः उक्त बैंक पछि हट्न बाध्य भयो ।

हालै बैंकरहरुले आधिकारिक निर्णय नै गरेर ब्याजदरको सिन्डिकेट चलाइरहेका छन् । वेलफेयर इकोनोमिक्स र कम्पिटेटिभ मार्केटको सिद्धान्त बैंकिङ क्षेत्रमा सायद लागु नहुने पो होकि। 

स्टुपिड बैंकिङ

नेपालबाहेक संसारभरका बैंकले व्यक्तिको क्षमता हेर्छन् । कमाउने र तिर्ने क्षमताकै आधारमा लगानी गर्छन् । तर, नेपालका बैंकले लगानी गर्नुअघि व्यक्तिको कुल घरान, खानदान, सम्बन्ध र पोजिसन हेर्छन् । त्यही कमजोर धरातलमा हुने लगानीकै कारण संस्था धरासायी हुने, अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने र समाज मिसगाइड हुने अवस्थासम्म आउँछ ।

यी पङ्क्तिहरु लेख्नु केही दिनअघि विगतका एक सेलिब्रेटी बैंकर जोगीको भेषमा भारतबाट पक्राउ परेका छन् । कुनै समय फलानाका नाउँमा लगानी गरेको गुड्डी हाँक्दै मार्केटिङ गर्ने धेरै बैंकरहरु अहिले तिनै फलानामाथि गरेको लगानीका कारण पुर्पुरोमा हात लगाउन बाध्य छन् । यो सबैथोकको निचोड एउटै छ, नेपालको बैकिङ प्राक्टिस स्टुपीड बैंकिङ हो । एकाध बैंकरले एकदमै नयाँ प्राक्टिस र प्रोडक्टको कुरा गरेपनि सारमा तिनको अवस्था पनि औसत बजार ट्रेन्डभन्दा फरक छैन ।

केही समयअघि एकजना आफन्तले सरकारी कर्मचारीहरुको लागि ल्याएको बताइने विशेष प्रोडक्टबारे बुझेर बैंकबाट फर्केपछि अट्टाहस गर्दै भने, कर्मचारीको परिचयसहित ५-७ लाख ऋण लिन काठमाडौंको घर घडेरी धितो चाहिने र सरकारी बैंकुमा आफु कर्मचारी भएको नाम बेचेर ५-७  लाख ऋण लिन घर घडेरी धितो राख्नुभन्दा अरु बैंकमा भनसुन गर्दा धितोको ७०-८० प्रतिशतसम्म लिन सकिन्छ। 

बैंकहरुले सप्ताहन्त र छुट्टीका दिनमा एटीएम मेसिनमा पैसा नराख्ने अनि ट्रान्जेक्सन रिक्वेस्टको प्रतिक्रियामा 'योर कार्ड इज ब्लक्ड' भन्ने मेसेज देखिनु कम्तीमा नेपालको राजधानीका लागि सामान्य विषय हो । यसमा प्रायजसोः ग्राहक अभ्यस्त भइसकेका छन् ।

बिनाकारण खाताबाट पैसा घटेको सन्देश आउनु र त्यो फिर्ता लिन हप्ता दशदिन लाग्नुपनि कुनै नौलो कुरा होइन । यौटा चर्चित बैंकका मार्केटिङ असिस्टेन्टको सल्लाहमा ऋणको आवेदन गरेर खाता खोल्ने, नगद जम्मा गर्ने, आवश्यक कागजात पेश गर्ने आदि अनेक प्रक्रिया पूरा गरेपछि २५ औं दिनमा त्यो पोजिसनको मान्छेले एप्लाई गर्न नमिल्ने खबर बैंकबाट आएको उदाहरण समेत छ। ए क्लासको बैंकमा काम गर्ने मान्छे आफ्नो कोर जबको इलिजिबिलिटी क्राइटेरियासम्म नबुझ्ने हालतमा छन् भन्ने निष्कर्षमा पुगेपछि ग्राहकको फ्रस्टेसन कति होला ?

खाता एक्टिभ छ कि छैन भन्न बुझ्नका लागि एक चर्चित बैंकमा फोन गर्दा ७ मिनेटसम्म विभिन्न एक्सटेन्सनमा फर्वाड हुँदै अन्तिममा ७ सेकेन्डमा इन्क्वायरी सकिएको अनुभव पंक्तिकारसँग छ।

केही समयअघि भएको यौटा अन्तरक्रियामा एक अधिकारीले सरकारी कारोबार गर्ने बैंकहरुले आफ्ना कर्मचारीलाई तालिम र अभिमुखीकरणमा पठाउन देखाएको उदासीनताबारे व्यक्त गरेको हैरानी यहाँ शब्दमा व्यक्त गर्न सकिँदैन । त्यो स्तरको निराशाको साक्षी बन्नुपरेको पंक्तिकारले बैंकका एचआरडी अफिसरका गफ कसरी पत्याउनु ।

स्टुपिड बैंकिङका अनेक उदाहरण छन्, तिनलाई जोड्दै संश्लेषण गर्ने हो भने गाउँमै बस्न सक्ने मान्छेलाई खाडीतिर धकेल्ने र अव्यवस्थित सहरीकरणलाई बढावा दिने कामसम्ममा बैंकको भूमिका छ । सरकारी कारोबारमा सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपर्ने र गाउँबाट बाटो खर्चको जोहो गरेर रकम फिर्ताका लागि अर्थ मन्त्रालयसम्म धाउनुपर्ने अवस्थासमेत बैंकहरुको कारणले आउने गरेको छ ।

देशमा अनेक समस्या छन् । सबै समस्या बैंकमा मात्रै छैनन् । तर, बैंकजस्तो संवेदनशील व्यवसायमा देखिने लापरबाही, ग्राहकप्रतिको व्यवहार उदेकलाग्दो छ। बैंकले ग्राहकप्रति 'ब्लाइन्ड ट्रस्ट' गर्नुपर्छ भन्ने आशय पंक्तिकारको हुँदै होइन । तर, अहिलेको जस्तै तरिकाले बैंकहरु चलिरहने हो भने ग्राहकको एकतर्फी मायाले मात्रै नेपालको बैंकिङ क्षेत्र दीर्घकालसम्म चल्न सक्दैन । यसैपनि संसारभर मोबाइल एप्लिकेसन र अन्य पेमेन्ट गेटवेहरुसँग बैंकले प्रतिस्पर्धा गर्नुपर्ने समय जो आइसकेको छ । बैंक मोटाउँदै जाने र ग्राहक प्रतिदिन दुब्लाउँदै जाने नियतिबाट पार पाउने केवल दुईवटा उपाय छन्, एक- बैंक सुध्रिने । दुई – ग्राहकले विकल्प खोज्ने।

क्रमश...





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved