नेपालमा संचार क्षेत्रमा फड्को: 'म्याग्नेटो'देखि 'आइफोन सेभेन' सम्मको रोचक यात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2016 | 09:40:56 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो एकदशक यता नेपालमा विकास भएको मान्न सकिने एउटै मात्र क्षेत्र छ, त्यो हो सुचना र संचार । यस क्षेत्रमा भने एकदशककै छोटो समयमा उल्लेख्य प्रगती भएको मान्न सकिन्छ । ०६० भदौ ६ गते देखि नेपाल टेलिकमले सर्वसाधारणका लागि प्रिपेड मोबाइल सिमकार्ड वितरण गरेपछि संचारमा मोबाइलले एकछत्र राज्य मात्र गरेको छैन, सर्वसाधारणका अनिवार्य आवश्यकताहरुलाई पुरा पनि गरिदिएको छ । यतिखेर सम्म आइपुग्दा करिव ८० प्रतिशत भन्दा धेरै नागरिक माझ मोबाइलको पहुँच पुगेको छ । यो सकारात्मक कुरा पनि हो ।


 
यतिबेला मोबाइलविनाको दैनिकी जो कसैका लागि पनि अत्यासलाग्दो त छँदै छ , हरेकक्षेत्रमा यसले आफ्नो प्रभाव जमाएको पनि छ । कुनै समय थियो, चिठीपत्र र हुलाकको । मोबाइलले अहिले ती सबैलाई विस्थापित गरिदिएको छ । बरु त्यसठाउँमा इमेल र इन्टरनेटले आफूलाई स्थापित गराएका छन् । एकमिनेट फोन गर्नका लागि दिनभरिको समय खर्चिएर महङ्गो शुल्कमा कुरा गर्नु पर्ने अवस्थाको अब करिव अन्त्य नै भएको छ । अहिले मोबाइलमा नयाँ नयाँ प्रविधीहरु भित्रिएका छन् । नयाँ एप्सहरुको प्रवेशले मोबाइल कुरा गर्ने साधन मात्र नभएर सर्वसाधारणलाई कम्प्युटर र इन्टरनेटसँग जोड्ने सजिलो माध्ययम पनि भएको छ । 
    
अहिले नेपालमा आधादर्जन भन्दा वढी मोबाइलसेवा प्रदायक कम्पनीहरुले प्रतिश्पर्धात्मक रुपमा सर्वसाधारणलाई सेवा दिइरहेका छन् । जसमध्ये सरकारी स्वामित्वको नेपाल टेलिकमका प्रयोगकर्ताहरु सबैभन्दा धेरै छन् । टेलिकमका १ करोड ३८ लाख ७० हजार ०३२ ग्राहकहरु छन् । त्यस्तै निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पनि विगत १ दशक देखि सेवाप्रदान गरिरहेको छ । उसका ग्राहकसंख्या १ करोड ३० लाख ७५ हजार ४५० छन् । यूटिएलका ५ लाख २६ हजार २७४ प्रयोगकर्ता रहेका छन् । त्यस्तै नेपाल स्याटलाइट टेलिकम प्रयोग गर्नेहरु ३ लाख ७१ हजार १४८ छन् । एसटिएम टेलिकम संचार प्रा.लिका २ हजार ९८७ र स्मार्ट टेलिकमका १ हजार ७४२ ग्राहक छन् । यसरी हेर्दा अहिले सम्म २ करोड ९२ लाख ०९ हजार ३३० प्रयोगकर्ता माझ यी कम्पनीहरुले आफ्नो सेवा छरिरहेका छन् । यो संख्या ०६८ सालको नेपालको कुल जनसंख्या भन्दा झण्डै २४ लाखले धेरै हो । 

यसरी हेर्दा जनसंख्या भन्दा धेरै मोबाइल प्रयोग गर्नेहरु कसरी हुन सक्छन् भनेर पनि प्रश्न उठ्न सक्छ । यहाँ बुझ्नु पर्ने कुरा के छ भने उल्लेखित संख्या सेवाप्रदायक कम्पनीहरुले विक्रिवितरण गरेका सिमकार्डको संख्या हो । कतिपय अवस्थामा एउटै व्यक्तिले ३ वटा भन्दा धेरै सिम पनि प्रयोग गर्ने गरेका छन् । त्यसैले मोबाइल प्रयोगकर्ताको कुलसंख्या जनसंख्या भन्दा धेरै देखिएपनि सबै नेपालीले मोबाइल प्रयोग गर्न भने अझै पाएका छैनन् । मोबाइलसेवाको विस्तारसँगै इन्टरनेट प्रयोगकर्ताहरुको संख्या पनि दैनिकरुपमा वढेको छ । हाल नेपालमा १ करोड २२ लाख ९५ हजारले इन्टरनेटको प्रयोग गर्ने गरेको तथ्याङ्क बताउँछ ।
 
नेपालमा दुरसंचार सेवाको सुरुवातको इतिहास हेर्ने हो भने वि.सं. १९९२ सालमा पहिलोपटक म्याग्नेटो टेलिफोनको प्रवेश भएको हो । यो त्यतिबेला उच्चवर्गका धनाड्य व्यक्तिहरुले मात्र प्रयोग गर्न पाउँथे । त्यसको लामो समय सम्म पनि यो सर्वसाधारण माझ पुगेकै थिएन । पहिलो पञ्चवर्षिय योजना शुरु हुनु पूर्व (वि.सं.२०१३ भन्दा अघि) सम्म नेपालमा ३५० वटा मात्र टेलिफोन लाइनहरु थिए । अहिले मोबाइल प्रयोगकर्ता मात्र २ करोड ९२ लाख भन्दा वढी छन् । अझ ल्याण्डलाइन प्रयोगकर्ता करिव ६ लाख भन्दा धेरैको संख्या यसमा जोडिएको छैन । 

मोबाइलसेवा विस्तारका शुरुका केहि वर्षमा सिमकार्ड लिनका लागि सर्वसाधारणलाई निकै कष्ट थियो । यसमा नेपाल टेलिकमको एकाधिकार बजार थियो । यसको सिमकार्डको १ हजार ७३५ रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो भने आगमनकलको समेत चर्को शुल्क तिर्नुपर्ने अवस्था थियो । अहिले सेवाप्रदायक कम्पनीहरु वढेका कारण नागरिकलाई छानी छानी सिमकार्ड लिन सक्ने सुविधा पनि छ भने शुल्क पनि घट्दोक्रममा छ । 

भन्सार विभागको एक तथ्याङ्क अनुशसार आर्थिक वर्ष ०६८÷०६९ मा नेपालमा १९ लाख ३६ हजार ६९५ मोबाइल सेटहरु आयात भएका थिए । वर्ष ०६९÷ ०७० मा २१ लाख ९३ हजार ५४९, र ०७० ÷०७१ मा ३१ लाख ७१ हजार ९८५ वटा मोबाइलसेटहरु भित्रीएका थिए । त्यस्तै आर्थिकवर्ष ०७१/०७२ मा २ लाख ७७ हजार २६० वटा र ०७२÷०७३ मा ५० लाख ०५ हजार ४९९ वटा मोबाइलसेटहरु आयात भएका थिए । 

गएको बैशाख देखि यता कार्तिक १७ गते सम्म नेपाल दुरसंचार प्राधिकरणमा दर्ता भएका मोबाइलहरुको संख्या ५९ लाख ६२ हजार २२ छ । यसरी हेर्दा दैनिक १४ हजार ५४१ वटा विभिन्न ब्राण्डका मोबाइलसेटहरु आयात भएका छन् । यो सरकारलाई कर तिरेर आयात भएका विभिन्न ब्राण्डका मोबाइलसेटहरुको आधिकारिक तथ्याङ्क हो । 

यस बाहेक विदेशबाट आउनेहरुले ल्याएका र भन्सार छलेर भित्र्याइएका करोडौं मुल्य बराबरका लाखौं सेटहरुको यसमा उल्लेख नै गरिएको छैन । यसर्थ यो संख्या उल्लेख गरिए भन्दा वढी हुने देखिएको छ । पछिल्ला केहि वर्ष यता सरदरमा ३५ लाख वटा मोवाइलसेटहरु नेपालमा आयात हुने गरेको बताइएको छ । जसमध्ये २५ लाख वटा सेटहरु विक्रि हुने गरेका छन् ।

वार्षिक २५ देखि ३० अर्ब रुपैयाँ मुल्य बराबरको मोबाइल सेटहरुको खरिद विक्री हुने गरेको पाइएको छ । यो सँगै राजधानी लगायतका केहि मुख्य शहरहरु अहिले मोबाइलहबकै रुपमा विकसित हुन थालेको पनि देखिन्छ । कुनै समय कपडा र सुनचाँदीकै मात्र व्यापारको बर्चस्व रहेको राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा अहिले मोबाइलका पसलहरु मात्रै देखिन्छन् । यहाँ मात्रै १ हजार ५ सय भन्दा धेरै मोबाइल विक्रिकेन्द्रहरु रहेको बताइएको छ । 

अहिले नेपालमा विक्रि हुने मुख्य मोबाइल ब्राण्डहरु मध्ये नोकिया, सामसुङ्ग, कर्लस, माइक्रोम्याक्स, हुवावे, माइक्रोसफ्ट, जीयोनी, सोनी, एप्पल, एलजी, कार्बन, पानासोनिक, बर्ड, इन्टेक्स, विनकम, स्पाइस, जी –फाइभ लगायत ३० भन्दा धेरै संख्यामा रहेका छन् । यससँगै विभिन्न नयाँ ब्राण्डका चाइनिज र इन्डियन सेटहरु पनि उल्लेख्य मात्रामा कारोबार हुने गरेको छ । 

यद्यपी विभिन्न ब्राण्डका ४ हजार भन्दा धेरै मोडेलका सस्ता र महंगा मोबाइलसेट, ट्याब्लेट र स्मार्टफोनका कम्पनीहरुले टाइप एप्रुबल (मोबाइल बेच्न पाउने स्विकृति) लिएका छन् । नेपालमा भारत, चीन, स्पेन, भियतनाम, हङकङ, कोरिया लगायतका देशहरुबाट मोबाइल आयात हुने गरेको छ । मोबाइल खरिदकै लागि वर्षेनी अर्बौ रुपैयाँ बाहिरिरहेको नेपालमा नै यसको उत्पादनका लागि भने अहिले सम्म खासै पहल गरिएको छैन । तैपनि केहि नेपाली कम्पनीहरुले यसमा भने चासो दिएका छन् । यस्ता कम्पनीहरु मध्ये लक्कीग्रुपले कर्लस र चौधरीग्रुपले सिजी मोबाइलको उत्पादन शुरु गरेका छन् । यो सकारात्मक प्रयास भएपनि तुलनात्मक रुपमा नगन्य प्रयास हो । अहिले नेपाली बजारमा न्यूनतम ८ सय रुपैयाँ देखि अधिकतम १ लाख ४० हजार भन्दा धेरै मुल्य पर्ने मोवाइल सेट आएका छन् ।
 
यसरी दैनिकरुपमा हरेक कामकाजमा सजिलो बनाउँदै आएको मोबाइलको बजार र सेवा विस्तार हुनु सकारात्मक भएपनि सम्बन्धित सेवाप्रदायक कम्पनीहरुले आफ्ना सेवाहरुलाई भने सन्तोषजनक रुपमा विस्तार गर्न सकेका छैनन् । देशको राजधानी रहेको काठमाडौंकै पनि कतिपय स्थानमा मोबाइलको नेटवर्क देखाउँदैन भने देशका कुनाकाप्चाहरुको अवस्था के होला ? 

सेवामा गुणस्तर नहुँदा सेवाग्राहीहरु भने मर्कामा पर्दै आएका छन् । प्रतिश्पर्धात्मक र आक्रामक रुपमा ग्राहक संख्या मात्र वढाउन लागिपरेका कम्पनीहरुले आफ्ना सेवाहरु भने गुणस्तरिय बनाउन सकेका छैनन् , अझ एक नेटवर्कबाट अर्को कम्पनीको नेटवर्कमा लाग्ने शुल्क पनि निकै चर्को छ । हुन त ती कम्पनीहरुले नयाँ नयाँ सुविधा र सेवाहरु विस्तारको क्रममा आफूहरु लागिरहेको बताएका छन् तर धेरै समयदेखि सेवाग्राहीहरु भने सानातिना समस्याबाट पनि दैनिक रुपमा हैरान छन् ।
 
आगामी दिनहरुमा मोबाइलसेवाको गुणस्तरमा वृद्धि गर्न सक्ने हो भने यसले सर्वसाधारणका लागि अहिले भन्दा अझै सजिलो बनाउने र देशको राजस्वमा पनि ठूलो सहयोग पु¥याउने निश्चित छ । यसतिर पनि सम्बन्धित निकायले ध्यान दिन अब कतिपनि ढिला गर्नु हुदैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved