प्रतिक्रियात्मक राजनीति होइन, सृजनात्मक राजनीति गरौं !!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 08:49:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ईश्वर अर्याल, लेखक तथा विश्लेषक नेपालको सामाजिक संजालहरु आजकल बढी प्रक्रियात्मक बनेका छन् । फेसबुक, टुइटर जस्ता अत्याधिक प्रयोग गरिने ब्लगिङ र माईक्रो ब्लगिङ साइटहरुमा सृजनात्मकता हराउँदै गएको अनुभव पछिल्ला सामाजिक संजालका अभिव्यक्तिहरुले प्रष्ट पारेका छन् । यसका केही स्म्भावित कारणहरु हुन सक्छन् पहिलो त नेपालको राजनैतिक संक्रमणको उचित ब्यबस्थापन नभएर जनआक्रोश बढिरहेको छ भने नेपाली सन्दर्भमा अहिले सामाजिक संजाल बिलकुलै नौलो तथा छिटो छरितो आफ्नो मनमा गुम्सिएका भावनाहरु उजागर गर्ने साधन बनेको छ । क्रिया भन्दा बढी प्रतिक्रिया आउने कारणले नयाँ युवापुस्तामा सृजनात्मकता हराउँदै गएको छ । 

कसैलाई आरोप लागाउनु पर्यो भने तुरुन्त स्ट्याटस लेख्दियो, या ट्विट गर्दियो । आरोप बैधानिक रुपमा पुष्टि हुनुभन्दा पहिला आरोपित दोषी प्रमाणित भैसकेको हुन्छ । अनि सन्जालकै आधारमा उसको नैतिक धरातल सिद्दिने खतरा हुन्छ । 

सबभन्दा बढी आक्रोश नेपालमा पछिल्लो चरणमा भएका राजनैतिक परिवर्तनहरु प्रती केन्द्रित देखिन्छ । संघियता, गणतन्त्र र धर्मनिरपेक्षता माथी निरन्तर प्रहार गर्ने सक्रिय ब्याक्तिहरु र समुहहरु सामाजिक संजालमा हावी हुँदै गइरहेका छन् । हरेक राजनीतिक ब्यबस्थाको सबल र दुर्बल पक्षहरु हुने गर्दछन । त्यसको सबलता र दुर्बलता त्यो परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वको कार्यक्षमतामा भर पर्दछ । यो कुरा  साँचो हो कि नेपालको वर्तमान परिवर्तित शासन ब्यबस्थालाई राम्रोसंग अगाडि बढाउन सक्ने नेतृत्व माथिल्लो तहमा छैन । 

परिवर्तन पछिको राजनीतिक अर्थब्यबस्थाले देशलाई माथी लैजान सकेको छैन । घुसखोरी र महंगाई बढिरहेको छ । आर्थिक वृद्धिदर नबढ्नुमा नाकाबन्दी र भुकम्पलाई मात्र दोष देखाइएको हुन्छ जबकी लुकेका आर्थिक श्रोतहरुलाई न्युनतम लगानीमा परिचालन गर्न सक्ने क्षमताको बिकास भएकै छैन । 

मान्छे प्रतिक्रियात्मक कसरी बन्छ ? यसका उत्तरहरु धेरै छन् । जब मान्छेले बोकेको आस्था या बिचारधाराले कुनै नयाँ उपयोगी सृजना जन्माउन सक्दैन, त्यतिबेला उ आफ्नो बिचारको रक्षा गर्ने स्थितिमा पुग्दछ । रक्षात्मक हुनु नै प्रतिक्रियात्मक हुनु हो । प्रहार भएपछी प्रतिक्रिया दिनुको बिकल्प हुँदैन र हामी सबैलाई थाहा छ कमजोर बिचारधारा बढी निशानामा पर्दछ । यसबाट एउटा निश्कर्ष निकाल्न सकिन्छ, जसको बैचारिक आधार कमजोर छ, उ बढी प्रतिक्रियावादी बन्ने गर्दछ । सामाजिक संजालमा उग्र प्रतिक्रिया दिँदै हिँड्नेहरु कमजोर बैचारिक आस्थाका शिकारहरु हुन् । स्वयं यो पंक्तिकार पनि धेरैपटक प्रतिक्रियात्मक हुनुपरेको छ । यो एउटा 'स्टेट अफ माइन्ड' पनि हो । 

हामिले देख्ने गर्दछौं, बिरोधमाथी बिरोध गर्नेहरुले जसको बिरोध गरिएको छ, त्यसउपर कुनै उपलब्धीमूलक सृजना गरेका छैनन् । मिडियामा मात्र केन्द्रित रहन चाहने नेपालको एउटा बौद्धिक तप्काले आफुलाई सल्लाहकार मात्र ठान्दछ ।उसको दृष्टिकोण मात्र सहि, त्यसलाई लागू गरेमात्र सबै समस्या समाधान हुने र लागू आफैंले गर्न नचाहने, अरुले गरिदिनुपर्ने । यदि हामिमध्ये कसैले उसको 'फिल्ड आउटपुट भ्यालु' खोज्यौं भने शून्य भेटिन्छ । त्यस्तो जमातको सामाजिक संजालमा बढी सहभागिता छ । 

पछिल्लो राजनीतिक ब्यबस्थाले जनजिविकाका मुद्दाहरु सम्बोधन गर्न नसके पनि मान्छेलाई वाकस्वतन्त्रता भने राम्रैसंग दिएको छ । देशको मूल कानुनमा संस्थागत भैसकेका मुख्य परिवर्तनहरुलाई भारतिय ट्याग लगाइँदा समेत त्यसको रक्षा कानुनका रक्षकहरुले गर्न सक्दैनन् । 

संघियतामा भारत देखिएको छ, गणतन्त्रमा भारत देखिएको छ, धर्मनिरपेक्षतामा भारतको आकृती देखिन्छ । यी कुराहरु कतिपय दृष्टिभ्रमका कारणले हुने गर्दछन भने कतिपय धरातलिय यथार्थको आधारमा देखिएको छ । वास्तवमा हाम्रो बहस कहाँ केन्द्रित हुनुपर्ने हो र कहाँ केन्द्रित छ भन्ने कुराको पहिचान महत्वपूर्ण हो । 

साधनको प्रयोग, त्यसको प्रयोगको प्रक्रिया र त्यसले ल्याउने सम्भावित निष्कर्षका आधारमा बहस हुनुपर्ने बिषयहरु प्रायोजित रुपमा धरातलिय यथार्थ भन्दा बाहिरबाट टिप्पणीका सिकार हुने गर्दछन । 

उदाहरणको लागि राजतन्त्र एउटा साधन हो, त्यसलाई सहि ढंगबाट प्रयोग गरिएको भए देखि त्यसले ल्याउने निष्कर्ष सहि दिशातर्फ जान्थ्यो । बिडम्बना के भैदियो भने राजतन्त्रको खराब प्रयोगले गणतन्त्र जन्मायो । गणतन्त्रको हकमा पनि त्यही लागू हुन्छ, सहि र ब्यबहारिक प्रयोग भयो भने त्यसले जनताको आधारभूत समस्याहरु समाधान गर्नेछ । भएन भने बिकल्पमा रहेका अन्य तन्त्र र बादहरुको बाटो समाउने ढुक्क छ । हामि 'इम्पार्सियल' बनेर हाम्रो सामू देखिएका चुनौतिहरुलाई सहि विश्लेशण गर्ने हो भने र चुनौतिको न्युनिकरणमा ध्यान दिने हो भने कुनै पनि ब्यबस्थामा कुनै खराबी भेटिँदैन ।

रत्नाकर डाँकुलाई नारद मूनीले एउटा प्रश्न गरेका थिए, 'के तिमिले गरेको पाप पनि सम्पती जस्तै सबैले बराबर भाग लगाएर लेलान ?' लिँदैनन भन्ने ढुक्क भएपछी रत्नाकर पापमोचनको बाटो लागे र वाल्मीकि बने । आज हरेक पार्टीका कार्यकर्ताहरुले त्यही प्रश्न आफ्नो आफ्नो नेतृत्वलाई सोध्नु पर्ने भएको छ र भन्नू पर्नेछ, तिमिहरुले गरेको पापको भारी हामिले बोक्न सक्दैनौं । तिमिहरुले पाप गर्न छोड्नुपर्छ, तबमात्र देशमा बाल्मिकी जस्ता विद्वानहरु जन्मिनेछन ।

अब बिकल्पमा छलफल गरौं । देशको राजनीतिक ब्यबस्था परिवर्तन गर्नेहरु सच्चिए भने त्यो भन्दा उपयुक्त बिकल्प अर्को हुन सक्दैन । तर पछिल्लो घटनाक्रमले के देखाएको छ भने वर्तमानको राजनीतिक नेतृत्वकर्ताहरु सच्चिने मुडमा छैनन् । हामिले गल्ती गर्नु भन्दा सच्चिनु बढी गाह्रो काम हो भन्दै पढ्दै आएका छौं, तर वास्तवमा गल्ती गर्नु गाह्रो काम हो । गल्ती गर्नको लागि उपयुक्त समय चाहिन्छ, तर भूल सुधार्न मान्छेले जुनसुकै समयमा पनि सक्दछ । 

दोश्रो बिकल्प भनेको अहिलेका राजनीतिक शक्तिहरुबाट इमान्दार तर अनुभवीहरुबाट नयाँ कोर्षको शुरुवात गर्नु हो । त्यसका केही प्रयासहरु पछिल्लो राजनीतिक घटनाक्रमहरुमा देख्न पाइएको छ तर तिनिहरुले पुरानो आग्रह र पूर्वाग्रह त्याग्न सकेको देखिएको छैन । राजनीतिमा माथी पुग्न जे पनि गर्नु पर्छ र केही पनि गर्नु हुँदैन भन्ने दुबैथरी अतिबादले बिकल्पलाई  नेतृत्व दिन सक्दैन ।

अन्तिम बिकल्प भनेको सम्पूर्ण जिम्मेवारी इतिहासको काँधमा छोड्नु हो । समयलाई नेतृत्वको निर्धारण गर्न दिनु हो र त्यो निर्मम हुन सक्छ । त्यसले छाडा नेतृत्व जन्माउन पनि सक्छ या ऐतिहासिक आवश्यकताको नेतृत्व जन्माउन पनि सक्छ । त्यसबाट को बढारिन्छ या को स्थापित हुन्छ भन्ने थाहा हुँदैन । त्यो अनिश्चित छ तर असम्भव छैन । तर हामी सबैको चाहना दोश्रो बिकल्प हो । नियन्त्रीत र पूर्वाग्रहरहित नेतृत्व, त्यसको लागि हामी प्रतिक्रियात्मक बन्नु हुँदैन सृजनात्मक बन्नु पर्छ ।

सामाजिक संजालहरुको प्रयोगमा संयमित भएर राष्ट्रिय एकतामा कुनै खलल आउने खालको प्रतिक्रियाहरु मात्र हामिले रोक्न सक्यौं भने हामिले आधा समस्या समाधान गर्न सक्छौं । हुनत भर्चुअल वास्तबिकता र धरातलिय वास्तबिकताहरु फरक फरक कुरा हुन् । एक्काइसौं शताब्दीका सुचना प्रबिधीहरुलाई सहि प्रयोग गर्ने देशहरु अहिले तुलनात्मक रुपमा माथी छन् । अथाह सम्भावना बोकेको नेपाली आमाले सानातिना कुरामै एक आपसमा शत्रुत्व बढाउने छोराछोरीहरुको कारणले बिकासको मुख देख्नबाट टाढा बस्नुपरेको कुरा कहिँ कतै छुपेको छैन । 

एउटा  यस्तो तटस्थ आस्था, जसले साधनको पहिचान, त्यसको प्रयोगमा सजगता, निस्कने निष्कर्षहरुको उचित ब्यबस्थापन र निष्कर्षकै आधारमा आफैंले आफैंलाई अद्यावधिक गर्न सक्ने क्षमताको गुण बोकेको हुन्छ, त्यसले कुनै पनि मान्छेलाई रक्षात्मक बनाउँदैन । रक्षात्मक नभएपछी प्रतिक्रियाको आवश्यकता हुँदैन र जहाँ प्रतिक्रिया हुँदैन त्यहाँ सृजनाको बिकास छिटो हुन्छ । हामी त्यो प्रकारको राजनीतिक ब्यबस्थाको खोजीमा छौं । त्यो अनिश्चित छ तर असम्भव भने पक्कै छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved