नेपालको औद्योगिक क्षेत्रमा देखिएका प्रमुख ५ चुनौती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2016 | 11:24:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा विगत २ दशक यता देखि उत्पन्न राजनितीक अस्थिरतासँगै देशमा रहेका उद्योगधन्दाहरु झण्डै धराशायी हुने अवस्थामा पुगेका थिए । यो जर्जर अवस्थामा पनि नेपालको औद्योगिकक्षेत्रमा नयाँ उद्योगहरु थपिदैं गरेको तथ्याङ्क बाहिर आएपछि भने यसले सबैको ध्यान त्यतैतिर खिचेको छ । कतिपयले त यो हुनै नसक्ने दाबी पनि गरिरहेका छन् । तर सार्वजनिक भएको यस्तो तथ्याङ्क हेरेपछि भने उनीहरुको दाबी पनि कतै झुटो त होइन भन्न सहजै सकिन्छ ।

यो पनि: कुन प्रदेशको आर्थिक संभाव्यता कति ?

तथ्याङ्क अनुशार नेपालमा गएको १ दशक यता नयाँ उद्योग दर्ता यसप्रकार रहेको छ:

आर्थिकवर्ष                दर्ता उद्योगहरु               आर्थिकवर्ष                दर्ता उद्योगहरु

०६२-०६३                  १२०                            ०६७-०६८                         २४२

०६३-०६४                 १७७                            ०६८-०६९                          ७९ 

०६४-०६५                 २२७                            ०६९-०७०                          ४४५ 

०६५-०६६                 ३०१                             ०७०-०७१                          ३७१ 

०६६-०६७                 २५८                            ०७१-०७२                          ४६१ 

गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ९० वटा थप नयाँउद्योगहरु दर्ता भएका छन् । गतवर्षको बैशाख १२ को विनासकारी भूकम्पपछि उद्योगहरु खासै दर्ता नभए पनि त्यसअघि नै अनुमती लिएकाहरुको संख्या उल्लेख्य रहेकाले समग्रमा सो समयमा धेरै उद्योगहरु दर्ता भएको उद्योग विभागले जनाएको छ ।

गतवर्ष दर्ता भएका ती उद्योगहरुले १ खर्व ३२ अर्व ८१ करोड रुपयाँको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने यसबाट झण्डै २३ हजार जनशक्तिले रोजगारी पाउने छन् । अनुमती लिएर नयाँ दर्ता गरेका उद्योगहरु मध्ये धेरै जसो हाइड्रोपावर, पर्यटन, सिमेण्ट र कृषिसँग सम्बन्धित रहेका छन् ।
 
गएको ५ वर्ष यता पर्यटन क्षेत्रमा ४४०, सेवामुलक क्षेत्रमा ५१५ , उत्पादनमुलक ४२७, ऊर्जासँग सम्बन्धित १९४ , कृषि तथा वनसँग सम्बन्धित १८३ , खनिज र अन्य निर्माणमा ४० वटा उद्योगहरु दर्ता भएका छन् । यी तथ्याङ्कहरु हेर्दा नेपालमा नयाँ उद्योगहरु खुल्ने क्रम अझ वढ्दै जाने देखिन्छ । नेपालमा उत्पन्न राजनितीक अवस्थामा सुधार आए लगानीकर्ताहरु पनि उद्योगमा लगानी गर्न अझ आकर्षित हुन सक्ने देखिएको छ । घरेलु तथा साना उद्योगहरु खुल्ने क्रम पनि वढ्दो छ । 
    
यसरी उत्साहजनक रुपमा उद्योगहरु खुल्नेक्रम वढे पनि अन्यक्षेत्र जस्तै यो क्षेत्र पनि समस्यामुक्त भने पक्कै छैन । देशको आर्थिक विकासका लागि महत्वपूर्ण सावित भइसकेको औद्योगिकक्षेत्र प्रति सरकारले दिनुपर्ने जति महत्व नदिएका कारण आज यो क्षेत्र धराशायी हुने अवस्थामा पुगेको प्रति लगानीकर्ताहरु चिन्तित रहेको पनि पाइएको छ ।

के छन् त समस्याहरु ?

विद्युतको अभाव 
कुनै पनि उद्योग संचालनका लागि अनिवार्य आवश्यकताको रुपमा रहेको विद्युतको अभावले उद्योगहरु अहिले धराशायी अवस्थामा छन् । विगत एकदशक भन्दा अघि देखि नेपालमा वढ्दै आएको लोडसेडिङले गर्दा धेरैजसो उद्योगहरु बन्द नै भइसकेका छन् भने कतिपय घाटा बेहोर्दै भएपनि जसोतसो संचालनमै रहेका छन् । उनीहरुले उत्पादन गरेका वस्तुहरुको लगानी वढीरहेकाले उपभोक्ताहरुले महङ्गोमा खरिद गरिरहनु परेको अवस्था छ । विद्युत सहजै आपूर्ति गर्न सरकारले खासै वास्ता नगरेका कारण विगतमा उद्योगहरु नराम्ररी प्रभावित भए । तर अहिले सरकारले लोडसेडिङ्ग अन्त्यको अवधारणा अघि सारेको छ । परिक्षणका रुपमा उपत्यकामा लोडसेडिङ्ग अघोषित रुपमा हटाइएको छ तर पनि देशका अन्य भागमा अझैं विजुलीको सहज आपूर्ति छैन । जसले गर्दा उद्योगहरु समस्यामा छन् ।

यो पनि: नेपालमा संचार क्षेत्रमा फड्को: 'म्याग्नेटो'देखि 'आइफोन सेभेन' सम्मको रोचक यात्रा 

दक्ष कामदारको अभाव 
देशमा अहिले संचालित उद्योगहरुमा दक्ष कामदारको पनि अभाव रहेको पाइएको छ । जसका कारण स्वदेशमा थुप्रै बेरोजगार जनशक्ति भएपनि यहाँका कतिपय उद्योगहरुमा चाहिने दक्ष कामदारहरु विदेशबाट झिकाउनु पर्ने बाध्यतामा व्यवसायीहरु रहेका छन् । यसले एकातिर हाम्रो बेरोजगारी दर बढाएको छ भने अर्कातिर स्वदेशी पैसा कामदारकै लागि विदेश पठाउनु पर्ने अवस्था छ । यो अवस्थाको अन्त्यका लागि सरकारले पहल गरि नेपालमै रहेका बेरोजगार युवाहरुलाई प्राविधिक सिप दिलाउन सके यस्तो बाध्यता हट्न सक्छ । र उद्योगहरुलाई पनि फाइदा पुग्छ । दैनिक १७ सयको हाराहारीमा विदेशीएको जनशक्तिलाई केहि मात्रामा भएपनि रोक्न सकिन्छ । 

 

ज्यालादरको समस्या
उद्योगहरुमा कार्यरत कामदारहरुको ज्यालादरमा समानता नहुँदा पनि अहिले यसले ठूलै समस्या निम्त्याएको छ । कतिपय उद्योगहरुमा महिला र पुरुष कामदारका लागि दिइने ज्यालादर फरक फरक रहेको पनि भेटिएको छ भने कतै कतै सरकारले तोकेको न्यूनतम ज्यालादरको नियम पनि लागू नभएको भेटिएको छ । यसले गर्दा श्रमिकहरुले सेवासुविधाको लागि संगठनहरु खोल्दै विरोध र हड्ताल सम्म गर्नु परेको पनि देखिएको छ । यो उद्योग धराशायी हुने मुख्य कारकतत्व मात्र भएको छैन , श्रमिक र मालिक वीच फाटो हुने कारकको रुपमा पनि रहेको छ । यसमा भने उद्योगीहरुले विचार नपु¥याएको धेरै श्रमिक संगठनहरुले बताउँदै आएका छन् । कुनैपनि कम्पनि संचालनका लागि इमान्दार कर्मचारीको आवश्यकता पर्छ भन्ने कुराको ख्याल गरि उद्योगीहरुले यो विषयमा सोच्न नसक्दा पनि पटक पटक समस्याहरु आउने गरेको भेटिएकाले यतातिर पनि ध्यान दिनु टड्कारो आवश्यकता छ । 

कच्चा पद्धार्थको अभाव
नेपालमा संचालित कुनैपनि उद्योगहरुका लागि आवश्यक पर्ने कच्चापद्धार्थ मध्ये धेरैजसो अहिले पनि विदेशबाटै आयात गर्नु परेको छ । स्वदेशमा कच्चापद्धार्थको सहजता नभएकै कारण यसरी विदेश केन्द्रित रहनु परेकाले तयारी उत्पादनहरु महङ्गो पर्ने यथार्थतालाई कसैले पनि नबुझ्दा आफूहरुले धेरै अप्ठ्याराहरुको सामना गर्नुपरेको उद्योगीहरु गुनासो गर्छन् । स्वदेशमै पनि कच्चा पद्धार्थ नभएको त होइन तर यसको संकलन र खोज गर्नका लागि कसैले पहल गरेकै छैनन् । यहाँ खोज गर्नु भन्दा बाहिरबाटै ल्याउन सजिलो मान्नेहरुको संख्या धेरै रहेकाले पनि यस्तो समस्या आएको हो । यस तर्फ न सरकारले सोचेको छ , न त स्वयं उद्योगीहरुले नै । जसको प्रत्यक्ष भार उपभोक्ताहरुमा परेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने बताएपनि त्यो अहिले सम्म व्यवहारमा लागू हुन सकेको छैन । 

लगानीको जोखिम 
नेपालमा कुनै पनि उद्योग वा व्यवसाय संचालनका लागि लगानी गर्छु भनेर उत्साहित हुनु पर्ने अवस्था अहिले छैन । एकातिर राजनितीक अन्योलता वढीरहेको छ भने अर्कातिर अस्वस्थ प्रतिश्पर्धा पनि वढीरहेको छ । कसैले ऋण गरेर कुनै कामका लागि लगानी गर्छु भन्यो भने त्यसको प्रतिफल के हुने हो भन्ने ग्यारेन्टी छैन । उसको लगानी पुरै डुब्न पनि सक्छ । केहि वर्ष विदेश गएर ८÷१० लाख कमाएर ल्याएका युवाहरु त्यो रकम कहाँ लगानी गर्ने भन्ने अन्योलमा हुन्छन् । उनीहरुलाई यसो गर भनेर सिकाउने पनि कोहि हुदैनन् । त्यतिकै बोकेर हिड्नु भन्दा कसैले घरजग्गा तिर लगानी गर्छन् भने अधिकांशको सामान्य घरखर्चमै पैसा सकिन्छ । कतैबाट ऋण गरेर काम गर्नु र खाडलमा हाम फाल्नु उस्तै हो जस्तो सोचेर युवाहरु अन्योलमा छन् भने पैसा भएकाहरु पनि लगानी गर्न डराइरहेको अवस्था छ । जसले गर्दा सोचे जस्तो गरि उद्योग र कलकारखानाहरु खोल्न सकिएको छैन । सरकारले लगानीको ग्यारेन्टी गर्ने हो भने उद्योगहरुमा लगानी गर्नेहरु अझै वढ्न सक्ने निश्चित छ । 

यी र यस्ता धेरै समस्याहरुले गर्दा नेपालको औद्योगिकक्षेत्र सोचे जस्तो गरि विकास हुन सकेको छैन । हुन त कुनै पनि क्षेत्रमा यस्तो अस्थिरता र अन्योलता कायमै छ । तरपनि देश विकासको महत्वपूर्ण हिस्सा ओगटेको उद्योगक्षेत्रको विकास नहुने हो भने देशविकास असम्भव नै छ भने बेरोजगारी दर पनि वढ्न जान्छ । यतातिर सम्बन्धित निकायले सोच्ने हो भने केहि वर्षमा नै नेपालको औद्योगिक विकास हुन सक्ने आँकलन गर्न सकिन्छ । 

[email protected]

यो पनि: कसरी चलेको छ नेपालको विकास निर्माण ?​

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved