'स्टुडेन्ट भिसा'मा अस्ट्रेलिया जादै हुनुहुन्छ ? यी कुरामा ध्यान दिए सहज बन्छ अस्ट्रेलिया बसाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 12:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय उच्च शिक्षाको लागि नेपाली विद्यार्थीहरु बाहिरिने क्रम बढ्दो छ । नेपालबाट जापान, अस्ट्रेलिया,  पोल्यान्ड , बंगलादेश, युएसए, पोर्चुगल, रुस, न्युजिल्यान्ड, साउथ कोरिया भारत लगायतका देशहरुमा ठुलो संख्यामा विद्यार्थीहरु उच्च शिक्षाका लागि बाहिरिएका छन् ।  यी मध्येको सबै भन्दा आकर्षक गन्तब्य अस्ट्रेलिया नै हो।  

सजिल्यै भिषा पाइने, पढ्दै काम गर्न पाइने र पढिसकेपछि पनि पूर्ण समय काम गर्न पाइने कानुनी व्यवस्था रहेकाले अस्ट्रेलिया आकर्षण बढ्दो छ । तर अस्ट्रेलिया जानु अघि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ । ति मध्येको प्रमुख हो भिसा प्रणाली । 

हेर्नुस अस्ट्रेलिया जाँदा ध्यान दिनु पर्ने महत्वपूर्ण बिषयहरु के के हुन् ? 

अष्ट्रेलियामा धेरै विदशी विद्यार्थीहरुको आकर्षण बढ्नुको कारण हो–यहाँको इन्टरनेशनल मान्यता प्राप्त डिग्री र कामको अवसर । त्यसो त विद्यार्थी भिसा भन्ने वित्तिकै धेरै शर्तहरु पहिले नै तेर्सिसकेको हुन्छ ।

विदेशमा अध्ययनका लागि जाने जुनसुकै विद्यार्थीले अन्तराष्ट्रिय नियम पालना गर्नैपर्छ । त्यसमाथि अष्ट्रेलियाका पनि आफ्नै केही नियम र कानूनहरु छन् । विद्यार्थी भिसालाई नियमन गर्न बनाइएका ती नियमहरु पालना गर्न अनिवार्य छ । तर कहिले काहीं केही विद्यार्थीले जानेर वा नजानेर ती नियमहरु भंग गरिदिन्छन् । फलस्वरुप उनीहरु समस्यामा पर्ने गरेका छन् ।

कतिपय अवस्थामा त भिसा नै रद्द भएर अष्ट्रेलिया नै छोड्नुपर्ने अवस्थामा पनि आइपर्छ । त्यसैले अष्ट्रेलियामा विद्यार्थी भिसामा आउनेले थाहा पाउनैपर्ने केही नियमहरुबारे यहाँ संक्षेपमा चर्चा गर्दैछौं ।

काम सम्बन्धी नियम वा प्रावधान :

अष्ट्रेलियामा वैधानिक रुपमा विद्यार्थी भिसामा आउने विद्यार्थीहरुले कक्षा चलिरहेको अवस्थामा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । तर सार्वजनिक विदा वा अन्य स्वीकृत विदाका समयमा भने जति पनि काम गर्न सक्छन् । अष्ट्रेलियामा सोमवारदेखि आइतवारसम्मलाई वर्किङ वीक मानिन्छ । विद्यार्थी भिसा पाइसकेपछि अष्ट्रेलियामा कक्षा शुरु हुनुभन्दा ९० दिन अर्थात तीन महिना अघि नै आउन पाइन्छ । तर कोर्ष शुरु नभएसम्म काम गर्न भने पाइदैन । यदि कुनै विद्यार्थीले अष्ट्रेलिया सरकारको नियम विपरित गएर बढी घण्टा काम गरेको पाइएमा उनीहरुको भिसा जतिखेर पनि रद्द हुनसक्छ ।

विद्यार्थीका पारिवारिक सदस्यका लागि काम सम्बन्धी नियम वा प्रावधान :

अष्ट्रेलियाको इन्टरनेशनल विद्यार्थी भिसा अन्तर्गत विद्यार्थीहरुले आफ्ना कुनै पारिवारिक सदस्य पनि आफूसँगै ल्याउन पाउँछन् । तर उनीहरुले पनि हप्तामा २० घण्टा भन्दा बढी काम गर्न भने पाउँदैनन् । अझ विदाका वेलामा पनि उनीहरुले अरिरिक्त काम गर्न पाउँदैनन् । तर ग्राजुएट डिग्री सिध्याइसकेका विद्यार्थीहरुले भने जति पनि काम गर्न सक्छन् । परिवारका सदस्यहरुले पनि विद्यार्थीको कोर्ष शुरु भैसकेपछि मात्र काम गर्न पाउने नियम छ ।

वर्क परमिशन र भिसा आवेदनबारे थप जानकारी :

सन् २००८ सम्म अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरुले काम गर्नका लागि छुट्टै वर्क परिमिशन लिनुपथ्र्यो । त्यसैले अष्ट्रेलिया आएर पढाइ शुरु भैसकेपनि काम गर्न अनुमति पर्खेर बस्नुपथ्र्यो । तर अहिले त्यस्तो व्यवस्था हटाएर विद्यार्थी भिसा सँगै वर्क परिमिशन पनि दिइन्छ । यस्तो अनुमति विद्यार्थी र उसँगै आउने डिपेन्डेन्ट भिसावाहकले पनि पाउँछन् । यसबाट विद्यार्थीहरुको समय र पैसा दुवैको वचत भएको छ ।

अष्ट्रेलियाको भिसा आवेदनका लागि अहिले ५३५ डलर अर्थात झण्डै ४५ हजार नेपाली रुपैयाँ शुल्क लाग्छ । तर आवेदन भर्नुभन्दा अघि अष्ट्रेलियाको शैक्षिक संस्थाबाट अनुमति लिन आवश्यक छ । किनभने निवेदन दिदा अष्ट्रेलियन शैक्षिक संस्थाहरुबाट प्राप्त कन्फरमेशन अफ इनरोलमेन्ट पनि बुझाउनुपर्दछ । यसले उक्त विद्यार्थी अष्ट्रेलियामा शैक्षिक उदेश्यले नै आएको पुष्टि गर्दछ । यसपछि मात्र विद्यार्थी भिसाका लागि आवेदन दिन पाइन्छ । आवेदन दिएपछि पनि भिसा आउन केही समय कुर्नैपर्छ ।

कोर्ष शुरु भएपछि पनि केही सामान्य तर आधारभूत नियमहरु पालना गर्नुपर्दछ । जस्तो विद्यार्थीहरुले कलेजको न्यूनतम हाजिरी पूरा गर्नैपर्ने हुन्छ । जुन विषयका लागि अनुमति पाएको हो,त्यही विषय अध्ययन गर्नुपर्छ । ओभरसिज स्टुडेन्ट हेल्थ कभर अर्थात स्वास्थ्य विमा आफैंले गर्नुपर्छ ।

लेखक शकिरा ग्लोबल एजुकेशन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved