बाणिज्य बैंक सहायक प्रबन्धक परीक्षामा सोधिने सम्भावित प्रश्नमा सहायक प्रबन्धक शाहीको उत्तर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 08:28:18 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंक सहायक प्रबन्धक (प्रशासन ) छैठौ तहका लागि सोधिने सम्भावित प्रश्नमा राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धक सपना शाहीको उत्तर ।  

प्रश्न : बैंक प्रत्याभूति भनेको के हो ? बैंक प्रत्याभूतिका प्रकारको वर्णन् गर्नुहोस् ।
उत्तर : 
सामान्य अर्थमा बैंक प्रत्याभूति (Bank Gurantee) भन्नाले कुनै वित्तीय रकम भुक्तानीमा बैंकहरुले दिने प्रत्याभूति भन्ने बुझिन्छ । 
बैंक प्रत्याभूतिको शाब्दिक अर्थ ऋणको सवालमा बैंकहरुले ऋण तिर्न गरेको प्रतिज्ञा हो । यसमा कुनै संस्थाले तेस्रो पक्षसंग लिएको ऋण तिर्न असमर्थ भएमा त्यस्तो तेस्रो पक्षलाई ऋण भुक्तानी गर्ने दायित्व बैंकले स्वीकार गरेको हुन्छ ।

समान्य अवस्थामा बैंक प्रत्याभूति ब्यतिगत ऋणलाई गरिदैन । यस्तो प्रत्याभूति संस्थागत ऋण सम्बन्धमा मात्रै बैंकले लिन सक्छ । 
ख्याती प्राप्त व्यक्ति वा धरानालाई बैंकहरुले बिना धितो वा धितोको संरक्षण सहित बैंक प्रत्याभूति बस्ने गर्दछ । सामान्यत बैंक प्रत्याभूतिमा बस्ने काम बाणिज्य बैंकहरुले गर्छन । तर कहिले काही त्यस्तो प्रत्याभूति दिने काम स्वयम राष्ट्र बैंकले पनि गर्छ ।

बुंदागत रुपमा बैंक प्रत्याभूतिलाई यसरी पनि बुझ्न सकिन्छ । 
१)    बैंकिंग वा वित्तीय संस्थासंग ऋण लिए वापत राखिने धितो 
२)    बैंकिंग वा वित्तीय संस्थाहरुले नियामक केन्द्रिय बैंकमा अनिवार्य जम्मा गर्नु पर्ने कुल निक्षेपको निश्चित प्रतिशत रकम र 
३)    अन्तराष्ट्रिय मुद्र कोषमा केन्द्रिय बैंकहरुले अनिवार्य जम्मा गर्नु पर्ने स्वर्ण कोष वा परीवर्तय मुद्रा 

जमानत वा बैंक प्रत्याभूतिका प्रकारहरु 
बैंकहरुले आफ्ना ग्राहकको सहजता वा उनीहरुको अनुरोधमा निम्न प्रकारका जमानत जारी गर्दछ ।

१)    बोलपत्र जमानत : विभिन्न संस्थाले विभिन्न किसिमका बोलकबोलमा भाग लिंदा बोलपत्रसंग पेश गर्न आवश्यक जमानतलाई बोलपत्र जमानत भन्ने बुझिन्छ । यस्तो जमानत डाक बडाबड, लिलामी वा बोलपत्र आह्वानमा भाग लिंदा जारी गर्न ग्राहकहरुले बैंकसंग अनुरोध गर्छन ।
सामान्यता यस्तो जमानतको आयु ३ महिनाको हुने भएपनि ग्राहकहरुले आग्रह गरे त्यो भन्दा बढी समयका लागि पनि यस्तो जमानत जारी गर्न सकिन्छ । 

बोलपत्र डाक बडाबड वा लिलामीमा बोलपत्रदाताको आवेदन अस्वीकृत भएको अवस्था, त्यस बाहेक अन्य सम्झौता भएको अवस्था वा तोकिएको समय समाप्त भए संगै यस्तो जमानत स्वत निष्क्रिय हुने प्रावधान रहेको हुन्छ ।

२)    कार्य सम्पादन जमानत : बोलपत्र आह्वानकर्ताले मागपत्रको बोलपत्र स्वीकृत गरिसकेपछि सम्झौतामा तोकिएको कार्य सम्पादन गर्नु अगाडी गर्नु पर्ने जमानत कार्य सम्पादन जमानत हो । यस्तो जमानतको आवश्यकता सम्झौताको रायपसले तोकिएको समयमा काम सम्मान नगरेमा वा काम अपुरै छाडेमा उक्त पक्षसंगबाट क्षतिपूर्ति दाबी गर्नका लागि माग गरिएको हुन्छ ।
 
यस्तो जमानतको म्याद सामान्यतया १ बर्ष अवधिको रहन्छ तर ग्राहकको माग भएमा यसको अवधि समेत थप्न सकिन्छ । तर सम्बन्धित सम्झौताको काम सम्पन्न भएसंगै वा समायावधी सकिएसंगै भने यस्तो जमानत  स्वत निष्क्रिय हुन्छ ।
   
३)    अग्रिम भुक्तानी वा पेश्की जमानत : सम्बन्धित कार्यको जिम्मा लिने पक्षलाई उक्त काम सम्पन्न गर्न पेश्की रकम उपलब्ध गराउन कार्य सम्पादन अगावै जारी गरिने जमानत अग्रिम भुक्तानी वा पेश्की जमानत हो । कामको जिम्मा लिने पक्षले काम सम्पादन गर्नु भन्दा पहिला नै पेश्कीको रुपमा यो जमानतको आधारमा केहि रकम पहिले नै खर्च गर्न सक्छ । यस कारण यस्तो जमानतलाई बढी खतरा युक्त जमानत पनि भनिन्छ । 

४)    धरौटी जमानत : कुनै पनि ठेक्कापट्टा लिन वा कार्यको स्वीकृति लिनको लागि जम्मा गर्नु पर्ने बाध्यात्मक नगद बुझ्नु पर्ने धरौटी रकमको सट्टामा पेश गरिने जमानत यस्तो जमानत भित्र पर्छ । तर न्यायिक सत्रमा हुने मुद्दा मामिला आदिका लागि राख्नु पर्ने धरौटीका लागि यो जमानत जारी गरिदैन । 

५)    वित्तीय जमानत : कुनै एक बैंक वा वित्तीय संस्थाबाट ऋण वा अन्य बैंकिंग सुबिधा पाउनको लागि अर्को बैंक वा वित्तीय संस्थाले जारी गर्ने जमानतलाई वित्तीय जमानत भनिन्छ ।

सामान्यत कुनै बैंक वा वित्तीय संस्थामा तरलताको अभाव भई ग्राहकको आवश्यकता पुरा गर्न  यस्तो जमानत जारी गरिने प्रावधान रहेको छ । यस्तो जमानतको आधारमा एक बैंकका ग्राहकले अर्को बैंकसंगबाट कर्जा सुबिधा, प्रतित पत्र आधि प्राप्त गर्न सक्छन ।

६)    बन्डेड वेयरहाउस जमानी : भन्सारमा बस्तु आयात गर्दा दाखिला गर्नु पर्ने बुझाउन भन्सार दस्तुर बराबरको भन्सार कार्यालयको नाउँमा जारी गरिने जमानतलाई बन्डेड वेयरहाउस जमानत भनिन्छ । खासगरी आयात प्रतिस्थापन गर्ने उदेश्यले देशमा रहेका उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल तिर्नका लागि यस्तो जमानत आवश्यकता पर्छ । यस्तो जमानत त्यस्ता उद्योगले आफ्ना बस्तु विदेशमा नै निर्यात गरे भन्सार छुटको रुपमा फिर्ता हुन्छ ।

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved