कृषिजन्य उत्पादनको बजार मूल्यमा देखिएका समस्याहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 10:48:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गतहप्ताको बहसले हामिलाई नगदेबालीको बिकास कसरी गर्न सकिन्छ भन्ने ठुलो जानकारी दिएको छ । यो भागमा पनि हामिले कृषिक्षेत्रमा किसानहरुकै समस्याको सन्दर्भमा चर्चा गर्नेछौं । 

कृषिजन्य उत्पादनको बजार मूल्यमा देखिएका समस्याहरु केके हुन ? मूल्यनिर्धारणमा उत्पादक र उपभोक्ता बाहेक बिचौलियाहरुले धेरै ठुलो भुमिका खेलेका छन र कतिपय अवस्थामा उक्त भुमिका नकारात्मक छ । राज्यको अनुगमन नहुँदा उत्पादकहरु मारमा पर्ने गरेका छन र उपभोक्ताहरु पनि महंगो मूल्य खर्च गर्न बाध्य छन् । यसको दीर्घकालिन समाधानका उपायहरु केके हुन सक्छन र समाधानको लागी एउटा आम कृषकको प्रयत्न के हुनेछ र त्यसमा राज्यले के गर्न सक्छ ? भन्ने कुरालाई ध्यानमा राखेर हामिले ईश्वर अर्यालको धारणा लिएका छौं । 

निरन्तर राजनीतिक संक्रमणको मार खेप्दै आएको नेपालको कृषी क्षेत्रमा रहेको पर्याप्त सम्भावनालाई जनस्तरबाट नयाँ प्रकारको उभार दिनु जरुरी भैसकेको छ । दुई दशक भन्दा अघि सम्म निर्यात गर्ने कृषिजन्य सामग्रीहरु त्यसपछी आयात हुन थालेका छन् । यसले ब्यापार घाटा बढाउने र देशलाई परनिर्भर बनाउने बाहेक केहि गरेको छैन । 

नेपालमा हालको तथ्यांक हेर्ने हो भने जम्मा जम्मी २५ लाख हेक्टर कृषियोग्य जमिन छ । यो जमिन बिभिन्न कारणहरुले गर्दा घट्दो अवस्थामा रहेको छ । कृषियोग्य जमिन घट्नुमा पहिलो कारण खेतियोग्य जमिनलाई प्लटिङ गरेर घडेरी बनाएर बेच्ने वा कुनै पूर्वाधार निर्माण गर्नु हो । कृषियोग्य जमिनलाई बाढीले बगाएर लैजाने क्रम पनि चलिरहेको छ । उपयुक्त सुरक्षाको अभावमा बर्षेनी धेरै कृषियोग्य भुभाग कटान हुन्छ । 

नगदेबालीको रुपमा (आलु, जुट, सुर्ती, तेलहन, उखुलगायत) रहेका यस्ता कृषिजन्य उत्पादनहरु नेपालमा प्रतिबर्ष लगभग ६० लाख टन उत्पादन हुन्छ । नगदेबालीको रुपमा लिइने कृषिजन्य उत्पादनहरु बिक्री प्रयोजनमा मात्र प्रयोग गर्ने गरिन्छ । त्यस्तै गरेर दालजन्य उत्पादन पनि लगभग दश लाख टनमा उत्पादन हुने गर्दछ । फलफूलको उत्पादन करिब बाह्र लाख टन हुने गर्दछ । त्यसमा केरा खेतीमा देखिएको बढ्दो आकर्षणको कारणले गर्दा हालसालैका बर्षहरुमा फलफूलको उत्पादन बढेको देखिएको हो । साथसाथै स्याउ ढुवानी गर्नको लागी यातायातमा बढेको सहजताले पनि नेपालमा फलफूल खेती बढेको देखिन्छ । 

नेपालमा पछिल्लो समयमा मासुको उत्पादन पनि बढेको देखिएको छ । अघिल्लो बर्षको तुलनामा २०१६ मा करिब २% को बृद्दिदरमा मासुको उत्पादन बढेको एक तथ्यांकले जनाउँदछ । सन् २०१५ को एक तथ्यांक अनुसार नेपालमा चौंरीबाट मात्र करिब १८ लाख टन दुग्ध उत्पादन भएको देखिन्छ । यसमा अघिल्लो बर्षको भन्दा १५% धेरै उत्पादन जोडिएको छ । साथसाथै धेरै क्षेत्रमा उन्नत जातको गाई पालनको अवधारणा आएकोले गाईको दुध पनि उल्लेख्य मात्रामा उत्पादन भैरहेको छ । 

समग्रमा उत्पादनको मात्रा हेर्ने हो भने पछिल्ला केहि बर्षमा बढेको देखिन्छ, तर त्यसको साथसाथै नेपालीको क्रयशक्ती पनि बढेको कारणले हाम्रो उत्पादन आफ्नै बजारको लागी पुग्दैन । हामिले केहि अपबाद बाहेक लगभग सबै कृषिजन्य सामानहरु हाम्रो उत्पादनको दोब्बर मात्रामा भारतबाट आयात गर्ने गर्दछौं । 

उत्पादनमा देखिएको बृद्दिदरले हाम्रो समग्र कृषिअवस्था सन्तोषजनक देखिए पनि त्यसका लागी बजार ब्यबस्थापन गर्नु अत्यन्त कष्टकर छ । कृषकहरुले बजारको आवश्यकता भन्दा करिब ५०% कम उत्पादन गर्ने गर्दछन, तर बजार पाउन गाह्रै देखिन्छ । अर्थशास्त्रको सामान्य नियम अनुसार बजारमा अत्याधिक माग भएको बस्तुको मूल्य नघट्नुपर्ने हो, तर नेपालमा बजार नै पाइँदैन । कृषक र उपभोक्ता बिचको ग्यापलाई सन्तुलन गर्न न त राज्यले आवश्यक कदम चालेको छ, न त यसमा अन्य सरोकारवालाहरुले नै कुनै आवाज उठाएका छन् । 

बढ्दो महंगीले गर्दा उत्पादन लागत बढ्ने गरेको छ । उत्पादनलाई बजारसम्म पुर्याउनको लागी आवश्यक पर्ने ढुवानी पनि महंगो छ । त्यो भन्दा बिकराल समस्या चाहिँ बजार नियन्त्रण गर्ने बिचौलियाको कारणले भोग्नु पर्दछ । अबैध रुपमा बजार नियन्त्रण गरेर साबिक भन्दा दोब्बर या तेब्बर मूल्यमा कृषकबाट सस्तोमा खरिद गरेको कृषिजन्य उत्पादनहरु बेचेर रातारात मालामाल हुने बिचौलियाको नियन्त्रण गर्नु अहिलेको प्रमुख आवश्यकता हो । 

कृषकहरुको अर्को टाउको दुखाईको कारण भारतबाट सजिलै आयात हुने उत्पादनहरु हुन् । सीमाक्षेत्रबाट बिना कुनै अनुगमन र बिना कुनै अवरोध नेपालमा भित्रिएका कृषिजन्य उत्पादनहरुसंग नेपाली कृषकहरुले प्रतिस्पर्धा गर्न सक्दैनन । 

यो आम नेपाली उपभोक्ताहरुको खाद्य उपयोग गर्ने चेतनासंग पनि जोडिएको बिषयबस्तु हो । अनुगमन बिना भारतबाट ल्याइएका कृषिजन्य उत्पादनहरुको गुणस्तर परीक्षण हुँदैन फलस्वरुप उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्दछ । "प्राइस कन्सियसनेस" मात्र भएका नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा धेरै सामान पाईने भएकाले उताबाट आयातित सामानहरुलाई प्राथमिकता दिएसंगै नेपालमा एकैचोटी स्वास्थ्य समस्या र नेपाली उत्पादनहरुको बजार समस्या देखिन्छ । 

उदाहरणको लागी जुम्लामा बिना कुनै रसायन उत्पादन गरिएको केरा र बिरगंज मार्फत आयात हुने केराको गुणस्तरमा आकाश जमिनको अन्तर हुन्छ । जबसम्म उपभोक्ता सचेत बन्दैन, नेपालका कृषकहरुको एकप्रकारको समस्या ज्युँ का त्युँ रहन्छ । सरकारी प्रशासन संयन्त्रले उताबाट आयात हुने खाद्य जन्य पदार्थहरुको उचित गुणस्तर मापन गरेर नेपाली उपभोक्ताहरुलाई सचेत बनाउन उत्तिकै जरुरी छ । 

नेपाली कृषकहरुको अर्को मुख्य समस्या भनेको उत्पादित कृषिजन्य सामग्रीहरुलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिने 'कोल्ड स्टोर'को अभाव हो । चितवन लगायत कतिपय ठाउँमा यस्ता स्टोरहरु भएता पनि बिचौलियाको प्रभावले गर्दा किसानहरुको पहुँच हुने गर्दैन । सरकारले नै आफ्नो कृषी नीति तथा कार्यक्रमहरुमा घोषणा गरेर नै हरेक जिल्लामा आवश्यकता अनुसारको कोल्ड स्टोर बनाईदिन पहल गर्ने हो भने 'अफ सिजन' मा पनि सुरक्षित गरेर भण्डारण गरिएका उत्पादनहरुको बिक्रीबाट कृषकहरुले मनग्य आम्दानी गर्न सक्ने थिए । 

यावत समस्याहरुको बिषयमा धेरैजसो कृषकहरु अनबिज्ञ छन, बिचौलियाहरु उत्पादनमा पनि सिन्डिकेट लादेर पैसा कमाउने धन्दामा छन भने सरकार मस्त सुतिरहेको छ । देशको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको बिकासको लागी राज्यका प्रत्येक सम्वन्धित निकायहरु जुर्मुराएर लाग्ने हो भने र एक गाउँ एक उत्पादनको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने हो भने कृषकहरुलाई धेरै राहत हुने थियो, साथै बैदेशीक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको कुल गार्हस्थ उत्पादनमा हुने निर्भरता घट्ने थियो । 

यसको अर्को सुन्दर पक्ष के पनि छ त भन्दा नेपालमै कृषी क्षेत्रमा ब्यापक रोजगारीको सृजना भएसंगै समग्र देशको परनिर्भरता घटेर हाम्रो बिदेशी मुद्रा संचयमा बढोत्तरी हुन सक्थ्यो । हामिले उत्पादनमा गरेको वृद्धिले हाम्रै देशमा बिभिन्न आयोजनाहरु, भौतिक पूर्वाधारहरु, रसायानिक मल कारखानाहरु खोलेर हामी औद्योगिकिकरणको बाटोमा अघि बढ्न सक्थ्यौं । यसमा सम्वन्धित सबैको ध्यान जाओस साथै कृषी क्षेत्रमा भैरहेको तीव्र राजनीतिकरणको अन्त्य हुन जरुरी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved