घरबहालको बेथिति, डेरावालको विजोग : न मापदण्ड, न गुनासो सुनुवाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 11:45:48 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमान्डु नेपाल राज्यको राजधानी हो । केन्द्र हो । राज्यका सम्पूर्ण स्रोत साधनको केन्द्र हो । उपचारका लागि अस्पताल, पढ्नका लागि राम्रा भनिएका विद्यालय र विश्वविद्यालय, रोजगारीका अवसर र सम्भावना, विदेश जान आउनको लागि विमानस्थल, घुमफिरका लागि पर्यटकीयस्थल लगायतका यावत् चीजको केन्द्रको परिचय समेत काठमान्डुसँग छ । यतिमात्रै नभएर काठमान्डु बेथितिको पनि केन्द्र हो ।

टिएन रेग्मी

आजको मितिमा कसैले काठमान्डु बेथितिको केन्द्र हो भन्छ भने त्यो अत्युक्ति हुँदै होइन । यहाँ राज्यका यतिविधि विद्वान, स्रोतसम्पन्न र जानेबुझेका मान्छेहरु एकैठाउँ नथुप्रिएको भए काठमान्डुको यो गति हुने थिएन भन्ने पंक्तिकारको मत हो । सबैखालका बुज्रुक/उपबुज्रुक, धनीमानी र गन्यमान्यको उपस्थितिले जन्माएको अस्वस्थ मनोवैज्ञानिक प्रतिस्पर्धा बेथितिको मुख्य कारक तत्व हो । काठमान्डुले जन्माएको बेथितिको बारेमा बहस गर्नुपर्ने अनेक पाटाहरु छन् । यद्यपि यो आलेख काठमान्डुमा आश्रित निमुखा, श्रमजिवी र विद्यार्थी वर्गले घरबहालको बेथितिका कारण झेल्नुपरेको सास्तीमा केन्द्रित छ ।

 

डेराको महिमा

केही समयअघि नयाँ शक्तिका संयोजक, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निकै सास्तीले डेरा पाएको भन्दै ट्विट गरे । त्यसअघि पूर्वराष्ट्रपति रामवरण यादवको घरबहालको विषय अदालतसम्म पुग्यो । यी हाइप्रोफाइल डेरावालका उदाहरण हुन् । देशकै सर्वोच्च तहमा रहेर नेतृत्व गरेका व्यक्तिहरुको डेरा बसाइको अनुभुतिले राजधानीमा बस्ने सर्वसाधारण डेरावालको हैरानीको प्रतिनिधित्व त गर्न सक्दैन । यद्यपि जुनसुकै तहको व्यक्ति र व्यक्तित्व भए तापनि भाडाको घरमा बसाइ सहज छैन भन्ने तथ्यको पुष्टि गर्छन् । उल्लेखित दुईजना भीभीआइपीको डेरा बसाइको बारेमा केही समय सार्वजनिक बहस भए तापनि काठमान्डुमा संघर्षरत विभिन्न पेशा-व्यवसायमा आबद्ध साना मान्छेहरुको सास्तीको हिसाबकिताब कतै आउँदैन ।

केही साताअघिको कुरा, पोखराबाट फर्किँदै गर्दा एकजना युवक पटकपटक घडी हेर्दै खुइय गर्थे । उनको निराशा र तनावको कारण जान्न मन लाग्यो, सोधेँ । उनले भने- '८ बजेअघि घरमा पस्नुपर्ने नियम छ । अब कसैगरी पनि ९ बजेअघि कलङ्की पुगिँदैन ।' ८ बजे गेट बन्द हुने र त्यसपछि साथीभाइको शरण पर्नु वा गेस्ट हाउसतिर लाग्नुमात्रै विकल्प भएको ती युवकले बताए । राजधानीमा आफ्नै कोठा हुँदाहुँदै राति अबेर निरीह बनेर अरुकहाँ आश्रय लिन जानुपर्ने बाध्यताले उनी निकै निराश देखिन्थे ।

पोहोर साल एकजना साथीको लागि कोठा खोज्ने क्रममा भुइँतलाको यौटा कोठा भेटियो । घरधनीको शर्त थियो, धाराको पानी र खानेपानी नदिने । खानेपानी नदिए पनि हुने तर धाराको पानी दिनुपर्ने मागमा घरधनीको सजिलो जवाफ थियो- "तिमीले नलिए मधेसीलाई राख्छु ।" पहाडीका लागि नहुने ठाउँ मधेशीको लागि हुने उनको आशयले म हैरान भएँ । राजधानीमा दु:खजिलो गरी बस्ने मधेसीमूलका व्यक्तिको नियति बुझ्न त्यही यौटा उद्धरण पर्याप्त छ । भूइँतला, अँध्यारो कोठा र पानी नआउने वा खानेपानी दिनु नपर्ने कोठा मधेसीलाई भन्ने आम घरधनीको बुझाइ छ ।

दलित हो रे भन्ने थाहा पाएपछि कोठा सर्न बाध्य बनाउनु यहाँको सामान्य नियम नै हो । यसबारेमा थुप्रै समाचार र पीडितका अनुभुति समेत सार्वजनिक भइसकेका छन् ।

हालसालै एकजना महिला पत्रकार मित्रले कोठा खोज्दाको अनुभुति सुनाइन् । कोठा भेटियो तर घरधनीले एक्ली केटीलाई नदिने निष्कर्ष सुनाए । कोठा नदिनुको कारण थियो – ‘सिङ्गल केटी हुनु ।‘ त्यसपछाडि धरधनीको शंकाको पहाड थियो, ‘एक्ली केटीलाई कोठा दिएमा केटाहरु लिएर आउँछन् ।‘ कोठा भाडामा लिने-दिने सन्दर्भमा घरधनीले जे सोच्छन्, बुझ्छन् त्यही नै शतप्रतिशत सही हुन्छ । त्यसलाई नमानी सुखै छैन ।

विद्यार्थी नराख्ने । सुत्केरी भएका, साना बच्चाबच्ची भएका महिला नराख्ने । अविवाहित नराख्ने । केटाहरु नराख्ने । केटीहरुलाई नराख्ने । जागिरेलाई नराख्ने । पत्रकार भए कोठा नदिने । राजनीति गर्ने मान्छे भए नदिने । राजधानीका घरधनीअनुसार फरक फरक नियम हुन्छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा तिनै नियम शिरोपर नगरी राजधानीमा कसैको दैनिकी चल्दैन । कहीँकतै एकदुई अपवाद भेटिए भने बेग्लै कुरा । अन्यथा, घरधनीका अनेक नियम र ढर्रा मानेर शरणागत हुनु एकमात्रै विकल्प हो ।

डेरामात्रै पाएर पुग्दैन । कति वाटको कतिवटा चिम बाल्ने ? कुन कोठामा कतिजना बस्नुपर्ने हो ? त्यसका अनेक शर्तहरु छन् । कोठाभाडामा अरु कुनकुन शुल्क थपिने भन्ने जिज्ञासा अनुभवीले मात्रै शुरुमै राख्न भ्याउँछन् । नयाँलाई त्यसको समेत पत्तो हुँदैन । बत्तीको यति, फोहोरको यति, पानीको यति । त्यो सबै जोड्दा कम्तीमा पाँचसात सय रुपैयाँ थपिन्छ । अबेरसम्म पढ्यो, अबेरसम्म काम गर्‍यो भनेर बत्तीको स्विच अफ गरिदिने घरधनी भेटिए भने अनौठो मान्नुपर्दैन । यो राजधानी हो । राजधानीमा चलिआएको चलन यस्तै छ ।

कतिपय अलिक आधुनिक धरधनी भेटिन्छन् । ग्राहकलाई बढी सेवासुविधा दिएर फन्दामा पार्नु तिनीहरुको धर्म हो । ट्याङ्करको पानी, केवल टिभी, इन्टरनेट, सोलार बत्तीको व्यवस्था आफैले गरिदिएर चर्को मुल्य असुल्न निपुण घरधनी यसवर्गमा पर्छन् । मासिक दुईसय रुपैयाँको केवल टिभी चारजनालाई बाँडेर चारसय उठाउने, एकहजारवाला एडीएसएल पाँचजनालाई बाँडेर दुईहजार जम्मा गर्नु तिनीहरुको विशेषता हो । हरेक शीर्षकबाट थप दुईचारसय कमाउने सीप भएका घरधनीले ग्राहकलाई रिझाएर चर्को मुल्य असुल्ने गर्दछन् ।

अरुलाई सास्ती दिने र घरबहालमा कडिकडाउ गर्नेमा भर्खरैमात्र काठमान्डुमा स्थायी बसोबास थालेका मध्यमवर्गका बाहिरिया र घरबहाललाई नै आम्दानीको मुख्य स्रोत बनाएका रैथानेहरुको नाम अगाडि आउँछ ।

घरबहालको दर कति ?

राजधानीमा कस्तो घरमा बस्दा कति बहाल तिर्नुपर्ने भन्ने केही मापदण्ड छैन । यौटाले सामान सारेर अर्को भित्रिन नभ्याउँदै घरभाडाको मिटर घुमिसक्छ । यस विषयमा सबै जानकार छन् । तर, सामुहिक/संस्थागत आवाज उठाउने अवस्था छैन । नेता, कार्यकर्ता, सामान्यजन सबैको नियति यही हो । चाहे जुनसुकै क्षेत्रको घर होस् भाडादर घरधनीको असुल्न सक्ने खुबीमा आधारित हुन्छ ।

सर्वसाधारणले बस्नका लागि प्रयोग गर्ने गैर व्यावसायिक कोठाको भाडा कुनचाहिँ सरकारी निकायको कार्यक्षेत्रभित्र पर्दछ ? आजको मितिमा यो प्रश्नको उत्तर कम्तीमा पनि काठमाडौंको बौद्धिक भनिने जमातसँग छैन । सर्वसाधारण त टाढाको कुरा ।

उसो त व्यावसायिक कामको लागि कोठा वा घरभाडामा लिनेहरुको समस्या पनि उस्तै छ । आन्तरिक राजस्व विभाग र महानगर वा नगरपालिकाले व्यवसायीसँग घरबहाल कर लिन्छन् तर करको दायरा र भाडाको दरबारे टाउको दुखाउँदैनन् ।

सरकारी निकायको घरबहालको सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले निर्देशिका जारी गरेको छ । सोही निर्देशिकाको आधारमा सरकारी कार्यालयको घरभाडा स्वीकृत र परिमार्जन हुन्छ । यो निर्देशिका समेत आफैमा कमजोरीमुक्त छैन । अर्थात्, कुनैपनि घर वा कोठाको भाडा कति ? यो प्रश्नको चित्तबुझ्दो उत्तर कसैसँग पनि छैन ।

ओझेलमा जोखिम र सुरक्षाको पाटो

उसो त घरभाडा लिँदा वा दिँदा दिनेमात्रै वा लिनेमात्रै शतप्रतिशत सुरक्षित हुन्छ भन्ने होइन । घरभाडामा दिने र लिने कार्यमा अनेक खालका व्यक्तिगत र सामाजिक सुरक्षा जोखिम छन् । यसबारेमा न कतै चर्चा हुन्छ, न सुनुवाइ ।

केही महिनाअघिको कुरा नयाँ बसपार्क नजिकै एउटा घरमा एकाएक प्रहरी टोली आएर डेरावालको ताला फोड्यो । जब प्रहरीसँगै घरधनी कोठाभित्र पसे त्यतिबेला अचम्मको दृश्य देखियो । भाडावालले प्रयोग गरेको फ्ल्याट हेल्मेट र पानी तान्ने मोटरको सोरुम भन्दा कम थिएन । ऊ त्यो टोलको यौटा स्मार्ट ग्राहक थियो । बिहान सबेरै कोठाबाट निस्कन्थ्यो र साँझ अबेर घर पुग्थ्यो । उसको काम भने हेल्मेट र पानी तान्ने मोटर चोरी गर्नु थियो ।

घरधनी र भाडावालको विवाद प्रहरीसम्म पुग्ने गरेका उदाहरण प्रशस्तै पाइन्छ । त्यसले अनावश्यक हैरानी दिने, मानसिक तनाव हुने र सामाजिक प्रतिष्ठामा समेत आँच पुग्दछ । कतिपय घरधनीले केही दिनको समय दिएर कोठा खाली गर्ने दवाव दिन्छन् । यसबाट उत्पन्न हुने तनावको अनुभुति र भोगाइ सायद शब्दमा व्यक्त गरेर साध्य लाग्दैन ।

सामान्यतया घरबहालमा लिँदा र दिँदा कुनै औपचारिक सम्झौता नहुने भएकाले सेवा, सुविधा र सुरक्षाको पाटो गौण बन्न पुग्छ । डेरावाल वा घरधनीलाई पर्ने जोखिम र सुरक्षा चुनौतीको विषयमा खासै बहस भएको पाइँदैन । एकाध घटनाहरु घट्छन् । त्यसको समाधानसँगै त्यो विषयमा कसैले ध्यान दिएको पाइँदैन । डेरा भाडामा लिएर अपराध र अन्य अनेक धन्दा गर्नेहरु पनि भेटिन्छन् । सुरक्षाको कारण सर्वसाधारणले सास्ती बेहोर्नुपर्ने र घरधनीले भाडामा बसेका मान्छेहरुकै कारण हैरानी भोग्नुपर्ने दुइटै विषय बेठीक हुन् ।

अन्त्यमा,

घरधनी र डेरावालले भोग्नु परेका समस्याको सम्बोधन गर्दै यसलाई व्यवस्थापन गर्ने सकेमा हजारौं घरधनी र लाखौं भाडावालले दैनिक भोग्नुपरेको तनाव कम गर्न सकिन्छ । वर्तमान परिवेशमा घरबहालको बेथितिलाई सम्बोधन गर्दै घरधनी र डेरावाल दुवैको असजिलोलाई सम्बोधन गर्नसक्ने मध्यस्थ पक्षको आवश्यकता खट्किरहेको छ । सामान्यजनको दैनिक जीवनसँग जोडिएको यो विषयमा बहसको थालनी हुनु जरुरी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved