उग्रराष्ट्रवादको चेपुवामा विकास

राष्ट्रवादी चिन्तनले एउटा आधुनिक मान्छेलाई झनै साँघुरो बनाउँछ भने त्यो कदापि ठीक होइन
टीएन रेग्मी

टीएन रेग्मी

Aug 11, 2016 | 04:27:23 AM मा प्रकाशित

laxmi  sunrise bank

अचेल हामी विकासलाई राष्ट्रवादी चस्माले हेर्ने भइसकेका छौं । हाम्रो आँगनमा आउने सडकको ठेकेदार कुन देशको हो ? हामीलाई त्यसको चासो छ । त्यो सडक समयमै बन्छ कि बन्दैन ? कस्तो गुणस्तरको बन्छ ? कतै लगानीको दुरुपयोग त भएन ? यसतर्फ सोच्ने फुर्सद कसैलाई छैन ।

 हामी नेपाली । गणतन्त्र नेपालका नागरिक । एक्काइसौँ शताब्दीका प्रविधिमैत्री, सचेत नागरिक । संसारकै सुन्दर देशका बासिन्दा । हामी आधुनिक मान्छे । उत्तरआधुनिकतातिरको हाम्रो यात्रा । गौतम बुद्ध जन्मेको देश । भृकुटी, सीता, जनक, पृथ्वी नारायण, शंखधर सबै हाम्रा विभुतिहरु । यी कुनैपनि कुरा बेठीक होइनन् । तर, उल्लेखित विषयमा प्रष्ट्याउनु यो आलेखको उदेश्य होइन ।

हामीसँग संसारकै सुन्दरतम प्राकृतिक सम्पदाहरु छन् । प्रकृतिले हामीलाई पूर्णतया न्याय गरेको छ । स्रोतहरुको कमी छैन । हामीसँग सपनाहरु पनि छन् । तर, स्रोतको सदुपयोग गर्दै क्रमश: आत्मनिर्भर बन्ने दृष्टिकोणको चरम अभाव छ । वर्तमानमा हामीभित्र केवल ती सपना पूरा गर्ने इमानदारिता छैन । लगाव र धैर्य छैन । सोच र अनुशासन छैन ।

गणतन्त्रप्राप्तिको करिब एक दशक पार गरिसक्दा नेपाली समाज चरम अनुशासनहीनताको अवस्थामा पुगेको छ । यो स्तरको बेथिति नेपालको इतिहासमा सायदै भेटिएला । आज समाजमा अनुशासन, अनुशासन र अनुशासनको अभाव छ ।

चेतना र बौद्धिकताको दुरुपयोग

चेतना हुनुमात्रै ठूलो कुरा होइन । बौद्धिकतामात्रै महत्वपूर्ण होइन रहेछ । आज हामी चेतनाको, ज्ञानको दुरुपयोग गर्न उद्धत छौं । बौद्धिकता र चेतना नै देश विकासका लागि सबैभन्दा ठूलो थ्रेट जस्तो बन्न पुगेको छ । कारण, हामी चेतनशील नागरिकहरु चेतनाको दुरुपयोग गर्दै आफ्नो कुण्ठाको तुष्टि गर्ने ध्याउन्नमा छौं। 

समाजमा आफ्नो स्वार्थपूर्तिका लागि ज्ञान, विवेक, नैतिकता, अनुशासन र कर्तव्य सबैथोकलाई कुल्चिदिन सक्ने एकपाखे बौद्धिकहरुको जमात प्रतिदिन बढ्दै गइरहेको देखिन्छ । हरेक विषयप्रति आत्मकेन्द्रित बन्ने प्रवृत्ति सर्वत्र फैलिँदो छ । यस्तो प्रवृत्तिबाट समाज हैरान छ । नागरिकहरु आजित छन् । राजनीतिक नेतृत्व स्वयं हैरान छ । त्यसैले त हाइप्रोफाइल नेताबाट बेलाबखत उदेकलाग्दो स्वर सुनिन्छ,बेनिभोलेन्ट डिक्टेटर(उदार तानाशाह) चाहियो । ताकि, देशमा विकासका कामहरु गर्दा आइलाग्ने अनेक किसिमका राजनीतिक र कानुनी उल्झनहरु पन्छाउन सकियोस् ।

नेपालको सन्दर्भमा उदार तानाशाह यौटा हाइपोथेसिस भन्दा बढी केही होइन । यद्यपि समाजमा त्यसप्रतिको सोच बढ्दै जानु र स्वयं नेतृत्वले त्यस्तो अनुभुति गर्नु देशले लय गुमाएको सबैभन्दा गतिलो उदाहरण हो ।

राष्ट्रवाद र विकासको साइनो 

विकास र राजनीति जोडिनु हुँदैनथ्यो । हामीले त्यसो गर्न सकेनौं । बरु राजनीतिलाई विकाससँग अभिन्न राख्ने परिपाटीको विकास गर्‍यौं । धारामा, पँधेरामा, मन्दिरमा, मूलबाटोमा सबैतिर राजनीति मिसायौं । स्कुल र कुलोमा समाजवाद र मार्क्सवादको खिचातानी गर्‍यौं । यो ठीक थिएन । यस्तो परिपाटीबाट समाजले सहीदिशा लिन सक्दैनथ्यो । तर, हामीले त्यसैलाई स्थापित गरिदियौं ।

समयक्रमसँगै त्यतिले मात्रै पुगेन । अचेल हामी विकासलाई राष्ट्रवादी चस्माले हेर्ने भइसकेका छौं । हाम्रो आँगनमा आउने सडकको ठेकेदार कुन देशको हो ? हामीलाई त्यसको चासो छ । त्यो सडक समयमै बन्छ कि बन्दैन ? कस्तो गुणस्तरको बन्छ ? कतै लगानीको दुरुपयोग त भएन ? यसतर्फ सोच्ने फुर्सद कसैलाई छैन । आफु अनुकुलको ठेकेदार भए मीतलाई सात खत माफी अन्यथा विरोध । 

ठेक्का उत्तरले पायो कि दक्षिणले ? अमेरिकाले पायो कि कोरियाले ? हाम्रो चासो यत्तिमै सिमित छ । अझ गजबको कुरो, विकास योजनाको विरोध र समर्थनमा गुट, समुह र संस्थासम्म खडा गर्ने चलन सुरु भएको छ ।

राष्ट्रवादले सदैव राष्ट्र र जनताको हितलाई मात्रै केन्द्रमा राख्छ । हामीकहाँ भने बजारशास्त्रका माग र पूर्ति, मुल्यवृद्धि र मुल्य नियन्त्रण, गुणस्तर र कालोबजारी, एकाधिकार र प्रतिस्पर्धाजस्ता अति आधारभुत विषयलाई समेत राष्ट्रवादी आँखाले हेरिदिने स्कुलिङ चलिरहेको छ । कालोबजारीको विरोध गर्नुपर्ने समयमा राष्ट्रवाद आइदिन्छ । मुल्यवृद्धिको नियन्त्रणमा राष्ट्रवाद नै अघि लाग्छ । 

ग्लोबलाइजेसन र राष्ट्रवाद

एक्काइसौं शताब्दीको नागरिक ग्लोबल सिटिजन हो भन्दा अत्युक्ति हुँदैन । प्रविधिको घेराबन्दीमा परेको एउटा आधुनिक मान्छेले राष्ट्रवादको पैरवी गर्ने विषयहरु सिमित मात्रै हुन्छन् । तिनै विषयको माध्यमबाट उसले राष्ट्रवाद वा राष्ट्रियताको ग्लोबलाइजेसन गर्न सक्छ । नेपालमा भने त्यसको ठीक उल्टो देखिन्छ, हामी राष्ट्रवादी भएर नारायणी वारी र पारी खण्डित हुन खोजिरहेका हुन्छौं । 

हामी राष्ट्रवादको नाउँमा पहाड र तराईमा विभाजित हुन पुग्छौं । राष्ट्रवादी चिन्तनले एउटा आधुनिक मान्छेलाई झनै साँघुरो बनाउँछ भने त्यो कदापि ठीक होइन ।

हामी राष्ट्रवादको नाउँमा पहाड र तराईमा विभाजित हुन पुग्छौं । राष्ट्रवादी चिन्तनले एउटा आधुनिक मान्छेलाई झनै साँघुरो बनाउँछ भने त्यो कदापि ठीक होइन ।

अन्त्यमा,नियत ठीक नभएपछि मान्छे ठीक भएर नहुने रहेछ । लिखत, दस्तावेज मात्रै ठीक भएर नहुने रहेछ । खोटो नियतले राष्ट्रवादको नारा उराल्नेहरुको भीड बढ्दै गएको देखिन्छ । 

कर्णाली परियोजनाको समर्थन र विरोध गर्ने दुवैथरी एकैसाथ राष्ट्रवादी हुनै सक्दैनन् । फास्ट-ट्रयाक नेपालीले ठीक कि विदेशीले ? यो विषयमा पर्याप्त बहस गर्न सकिन्छ । तर, राष्ट्रवादको पैरवी गर्दै विकासलाई वर्षौं पर धेकेल्नेहरु देशका लागि कदापि ठीक होइनन् ।

हरेक खोलामा बन्ने पावर हाउस, हरेक पहाडमा खनिने बाटो, तराईको कुनै नहर र हिमालको कुनै परियोजना सबैलाई राष्ट्रवादी चस्माले हेर्दैमा हामी कतै पुग्दैनौं । राष्ट्रवाद देशको विकासका लागि हुनुपर्छ । हरेक नदीमा विद्युत उत्पादनको विरोध गर्नेहरु, हरेक पहाडलाई भर्जिन राख्नुपर्छ भन्ने विकास विरोधीहरु राष्ट्रवादी हुनै सक्दैनन् । विकास विरोधीलाई राष्ट्रवादी मान्नुपर्ने नियतिबाट अब हामीले मुक्ति पाउनुपर्छ ।

सन् २०१२, ७ अगस्टका दिन अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा)को क्युरियोसिटी नामक अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको थियो । सोही दिन नेपालको जनकपुर जयनगर चल्ने रेलको इन्जिन चालकबिना नै जनकपुर आइपुगेको थियो । दुवै समाचार नेपालका दैनिक पत्रिकामा संयोगवश एउटै पेजमा प्रकाशित थिए । जसमा हामी र संसारका अरु देशहरुको गति एकैसाथ स्पष्ट देख्न सकिन्छ ।

विकास योजना र परियोजनासँगै कामको प्रकृतिअनुरुपका व्यक्ति वा संस्थाहरु आबद्ध हुन सक्छन् । चाहे त्यो अमेरिकन होस् वा जापानी । चिनियाँ होस् वा भारतीय । मानौं, हामीलाई अणुउर्जाको विषयमा अध्ययन गर्नु छ । त्यसको लागि अनुभवी विज्ञहरु र योग्य कामदारको व्यवस्था सरकारले संसारको जुनसुकै कुनाबाट गर्न सक्छ । र, गर्न पाउनुपर्छ । 

यस्ता विषयमा सडकमा कोकोहोलो मच्चाउने परिपाटीलाई निर्मुल पार्नु नै देशको हितमा हुन्छ । नेपालको कम्तीमा तीनपुस्ताले देशमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ भन्ने तथ्य घोकिसकेको छ भने राजधानीकै विद्यार्थीले समेत विसं २०७२ सालको एसएलसी परीक्षाको तयारी मैनबत्ती बालेर गरेको यथार्थ हामीसामु छ । 

कथित राष्ट्रवादीहरुले यो कुरा बुझुन् । आधुनिक चीनका योजनाकार देङ सियायो पिङले भनेका थिए, बिरालो कालो होस् वा सेतो त्यसले मुसा समाते पुग्छ । अब हामी राष्ट्रवाद र अन्य अनेक वादहरुको रोइलो छोडेर विकासका मुद्दामा एकजुट हुनुपर्ने समय आएको छ । 

स्मरण रहोस्, राष्ट्रवाद हरबखत राष्ट्र र जनहितलाई केन्द्रमा राखेर गरिने चिन्तन हो । एउटा संस्था, गुट वा कोही अमुक व्यक्ति राष्ट्रवादी र अरु सबै अराष्ट्रवादी भन्नु कुतर्क हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved