ओलीले भने जस्तै प्रचण्ड सरकार पनि बाहिरबाट नै संचालित हो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 02:17:58 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादीले चुनवाङ बैठकबाट राजनीतिक धार परिबर्तन गरेपछि ०६२ सालमा पार्टीबाट अलगिएका मणि थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी खोलेका थिए । उक्त पार्टीका महासचिव उनले हालै पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन एमाओबादीसँग पार्टी एकता गरेका छन् । थापा अहिले माओबादी केन्द्रका हेडक्वाटर सदस्य रहेका छन् । माओबादी जनयुद्ध शुरुवातकर्ताहरु मध्येका एक उनी गीतकार, संगीतकार तथा कविसमेत हुन् । अहिले माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । थापासँग माओबादी एकता, जनयुद्दको उद्धेश्य, नयाँ सत्तासमीकरण र अबको कार्यदिशाका बारेमा बिजपाटी डटकम सम्बाददाताले गरेको सम्वादको सम्पादित अंश:

माओबादीले जनयुद्दको उद्धेश्य बिर्सिन थाल्यो भनिन्छ नि, साँचो हो ?

जनयुद्द सुरु गर्नुको मुख्य उद्धेश्य नेपाललाई सामन्तबाद र साम्राज्यबादबाट मुक्त गरेर एउटा समतामुलक र सम्मान मुलक समाज निर्माण गर्नु थियो । तर उदेश्य अनुसारको उपलब्धि हुन सकेन । मुख्य उपलब्धि भनेको नै गणतन्त्र हो। यो बाहेक अरु केहि उपलब्धि भैसकेको छैन।

छुटिएर पनि फेरि पार्टी एकता गर्नु भयो, किन ?

माओवादी जनयुद्दको धार विस्तारै कमजोर हुँदै गयो । पछिल्लो चरणको बामपन्थी आन्दोलनको जनयुद्दको धार नै मुख्य धार भएकाले त्यो धारलाई बचाउनका निम्ति हामीले केहि 'सेक्रिफाइस' गरेर पार्टी एकतामा आयौ ।

उही व्यक्ति, उस्तै मानसिकता देखिन्छ, एकता उपलब्धिमूलक हुन्छ भन्ने अधार के त ?

तत्कालै उपलब्धि आउने सम्भावना कम छ। म हेडक्वाटरमा छु, त्यहाँ नेपालको सामाजिक रुपान्तरणको आन्दोलन शान्ति र समृद्धिको निम्ति अब पार्टीले कस्तो दिशा लिने भन्ने कुराको बहस प्रारम्भ भएको छ। बिगतमा भएका कामबारे सुखी र दुखि हुनु भन्दा पनि नयाँ कोर्सबाट बहस थालनी भएको छ, म यसमा सन्तुष्ट छु।

जनयुद्दको मुद्धामा फसाउला भन्ने डरले एकता भएको भनिन्छ नि ?

यो पनि एक महत्त्वपूर्ण कुरा हो । त्यो मुद्दा र मामिला कूनै व्यक्ति बिशेषलाई फसाउने भन्दा पनि भएको ऐतिहासिक सम्झौतालाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो । कार्यन्वयन नहुँदा नेपालको विकास अघि बढ्न गाह्रो छ । यसै पनि द्वन्द्धको घाउ बाँकी रहंदा नेपालको आर्थिक कोर्स सुरु हुन सकेको छैन। राजनीतिक कोर्समा नै नेताहरु अल्मलिएका छन्। हामी डराएर होइन, त्यो बिषयलाई सहमतीबाट समाधान तिर लैजाउँ भन्ने उदेश्यले हामी साथ भएका हौ।

जनयुद्ददेखि अहिलेसम्म बिनास धेरै भयो, बिकास चाहि कहिले ?

विकासको कोणबाट हेर्ने हो भने बिनास त धेरै भयो, बिनास कसरी भयो भन्ने कुरा विश्लेषणको चरणमा छ। बिनासलाई विकास गर्ने चरणमा देश अझै प्रवेश गरिसकेको छैन। बिकासलाई मुख्य मुद्दा बनाउने समय आएन या विकासलाई बुझ्ने नेताहरु जन्मिएका छैनन् भन्ने मेरो विश्लेषण हो ।

कम्युनिष्ट एमालेको साथ छोडेर आफ्नै टाउकोको मूल्य तोक्ने कांग्रेससँग सहकार्य गर्नुको रहस्य ?

शान्ति प्रक्रियालाई एमालेले समाधानतिर लैजान चाहेन भन्ने बिषय नै मुख्य कुरा रह्यो । राष्ट्रिय एकताका लागी हामीले धेरै जोड दियौ तर एमाले राष्ट्रिय एकतामा नआई उल्टै राष्ट्रिय बिखन्डनतिर लाग्यो। राष्ट्रिय एकता बराबर राष्ट्रियता हो भन्ने मान्नेतामा ओली सरकार 'कन्भेन्स' भएन र उसले राष्ट्रियतालाई अलि पुरानो सामन्तबाद कोणबाट हेर्न खोज्दा समग्र नेपालको इतिहासको गलत ब्याख्या हुने देखेर इतिहासको सहि व्याख्या गर्ने उदेश्यले सत्ता समीकरण बदलिएको हो।

बिपक्षी बिनाको सन्तुलित सरकार सम्भब छ ?

विपक्ष चाहिन्छ तर नेपालको बर्तमान अवस्थामा अझ मेरो विचारमा त ८-१० बर्ष बिपक्षी बिहिन संयुक्त राष्ट्रिय सरकार बनाएर जाँदा देश उन्नतिको बाटोमा जान्छ भन्ने हो । सत्ता पक्ष र विपक्ष हुने संसदीय मोडेल असफल भएको उदाहरण छ नेपालमा। सयुक्त सरकार बनाउनु नै देशको आवश्यकता हो। यसो हुँदा त् चुनाबको आवस्यकता पनि हुँदैन। राजनीतिक दल झगडा नगरी राष्ट्रिय हितमा लाग्ने गरी संयुक्त सरकारको निर्माण नै अहिलेको आवश्यकता हो।

ओलीले भने जस्तै प्रचण्ड सरकार पनि बाहिरबाट नै संचालित हो ?

नेपालमा सबै सरकारको रिमोर्ट बाहिर नै हुन्छ । अब यो रिमोर्ट नेपाल भित्रै बनाउनु पर्छ। जसले रिमोर्ट नेपाल भित्र बनाउन सफल हुन्छ उही अगाडि आउंछ । २००७ देखि अहिलेसम्मका सरकार र विभिन्न चरणमा भएका आन्दोलनमा कहिँ न कहीं रिमोर्ट बाहिर नै रहेको उदाहरण छ। पहिले प्रचण्डले रिमोर्ट बाहिर रहेछ भन्नु भयो अहिले ओली भन्दै हुनुहुन्छ, यो सबै आफ्नो कमजोरी लुकाउन अरुलाई दोष दिने प्रवृतिको उपज हो ।

भारतीय मिडियामा प्रधानमन्त्री प्रचण्ड 'हाम्रो मान्छे' भन्छ, यस बारेमा माओबादी चुपचाप छन् , यसको मतलब प्रचण्ड भारतकै मान्छे हुन् ?

भारतीय मिडियामा आएको विश्लेषण हो यो । मिडिया स्वतन्त्र हुन्छन र उनीहरुको विश्लेषण 'मेजर' कुरो होइन। प्रचण्ड भन्दा ओली बढी भारतीय हुन् भन्ने कुरा जग जाहेर नै छ ।

युद्धको उद्गम केन्द्र रोल्पाबाट आएका नेताहरु पटक पटक मन्त्री बने, राजधानीमा भब्य महल बन्यो तर रोल्पामा मुहार फेरिएन, किन ?

यो बिचलन हो । राजनीतिक बिचलन भन्छु म । जनतासंग गरिएको 'कमिन्मेंट' पुरा नहुँदा यस्तो अवस्था भएको हो ।

९ महिनाको सरकारको प्राथमिकता के हो ?

पहिलो कुरो त यो ९ महिनाको लागि होइन १८ महिनाको लागि बनेको सरकार हो। यो सरकारको मुख्य ३ प्राथमिकता रहेका छन। पहिलो प्राथमिकता मधेशबादी दललाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने हो। दोस्रो प्राथमिकता भनेको पुनर्निर्माणको काम सफलतापुर्वक सम्पन्न गर्ने हो। त्यस्तै तेस्रो प्राथमिकता भनेको चुनाबको प्रक्रियालाई अगाडी बढाउनु हो। यी ३ काम गर्न सके सरकार सफल मानिन्छ नत्र असफल ठहरिन्छ।

बजेट संशोधन हुन्छ ?

बजेटमा केहि संशोधन अवस्य हुन्छ। बजेटमा भएका राम्रा कुरा पालना हुन्छन। सरकार संचालनलाई सहजता बनाउन आवश्यक अन्य बिषय संसोधन हुन्छन।

फास्ट ट्रयाकमा स्वदेशी लगानी हुनुपर्छ भन्ने ओली सरकारको निर्णय उल्ट्याउदै प्रधानमन्त्री प्रचण्ड बिदेशी लगानी खोज्दै हुनुहुन्छ त् ?

माओंवादी केन्द्रको आधिकारिक धारणा पनि फास्ट ट्रयाकमा स्वदेशी लगानी हुनु पर्छ भन्ने हो। मिडियामा आए अनुसार प्रधानमन्त्री प्रचण्डले भन्नु भएको भन्ने कुरा कति सत्य हो यसको अध्ययन हुनु पर्छ ।

अन्त्यमा 'सिधाकुरा प्रधानमन्त्रीसँग' कार्यक्रमको संचालकलाई हटाएर अहिले माओबादीकै पत्रकार नियुक्त गरियो, माओबादीकै पत्रकारसंग माओबादीकै अध्यक्ष प्रधानमन्त्रीसँग लिएको अन्तर्वार्ता जनताले कुन दृष्टिकोणले हेर्ने ?

यसमा मेरो असन्तुष्टि छ । 'सिधा कुरा प्रधानमन्त्री' जस्ता कार्यक्रममा बिजय कुमार जस्ता व्यक्तिलाई ठाउँ दिंदा राष्ट्रिय भाव आउँछ भन्ने मेरो व्यक्तिगत विचार हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved