युरोपमा सुरु भयो वाईवाई चाउचाउको उत्पादन, सर्वियाका राष्ट्रपतिबाट ‘वाइवाइ युरोप’ उद्घाटन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2017 | 06:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank


युरोपमा चौधरी ग्रुपको वाईवाई चाउचाउको उत्पादन आजबाट औपचारिक रुपमा सुरु भएको छ। युरोपियन मुलुक सर्बियामा निर्मित वाइवाइको प्लान्टबाट यसअघि नै उत्पादन सुरू भइसकेपनि आजबाट औपचारिकरुपमा उद्घाटन भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिएका छन्।     

सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले यसको उद्घाटन गरेको चौधरीले आफ्नो ट्वीटरमार्फत् जानकारी दिएका हुन। बिहीबार औपचारिकरुपमा ‘वाइवाइ युरोप’ सुरू भएको र सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले यसको उद्घाटन भएको उनले ट्वीट् गरेका छन्। विनोद चौधरीले युरोपका लागि नयाँ स्वाद लिएर आउन पाएकोमा आफु खुसी बनेको बताएका छन।     

यससंगै वाइवाइ युरोपेली राष्ट्रबाट पनि उत्पादन हुने नेपालको पहिलो ब्राण्ड बनेको छ। ‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा रहेको वाइवाइ प्लान्टबाट व्यवसायिकरुपमा यसको उत्पादन हुने जनाइएको छ।      


नेपाल र भारतको बजारमा अत्यधिक रुचाइएको वाईवाई चाउचाउले युरोपियन बजारमा समेत सहजै पुग्ने र अत्यधिक रुचाइनेमा चौधरी समुह बिश्वस्त छ। बिश्व बजारमा तयारी चाउचाउको कुल अनुपातको २.२ प्रतिशत हिस्सा वाईवाईले ओगटेको छ। बिश्वभर बर्षमा २ अर्ब २० करोड भन्दा बढीको बिक्रि हुने गरेको वाईवाईले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ।  

नेपालका एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तराष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। 

सर्बियामा वाईवाई प्लान्टबाट उत्पादनको सुरुवात भएसंगे वाइ वाइ उत्पादन प्लान्टको संख्या १७ पुगेको छ। नेपालमा नवलपरासीमा रहेको चौधरी औद्योगिक क्षेत्रमा मात्रै वाइवाइको सात ओटा प्लान्ट मार्फत चाउचाउ उत्पादन हुँदै आएको छ। त्यस्तै भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगेको छ।

यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट बनाउने चौधरी ग्रुपको तयारी छ।


त्यसपछि रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको, इजिप्ट र केन्याबाट पनि उत्पादन सुरु गरिने र वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने चौधरी ग्रुपको योजना छ।

२०१७ को अन्त्यसम्म बंगलादेशमा पनि वाइ वाइ उत्पादन सुरु हुने चौधरी ग्रुपले जनाएको छ। त्यस्तै सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले सर्बिया लगत्तै साउदी र बंगलादेशबाट पनि उत्पादन सुरु गर्ने भएको छ। 

 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved