सहकारीको पनि मर्जर सुरु, ४ गाभिए

रासस

रासस

Dec 05, 2019 | 10:14:42 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकरण गर्ने प्रक्रिया थालेको हो ।

गाभिए चार सहकारी

केही दिनअघि मात्र कापमाले वडा नं २४ को विराज बचत तथा ऋण सहकारी र वडा १३ को सप्तदीय बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी सप्तदीप बचत तथा ऋण सहकारी संस्थाको रूपमा सञ्चालन प्रक्रिया शुरु गरेको छ। त्यस्तै वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरेर सिटीभिलेज बचत तथा ऋण सहकारी संस्थाका रूपमा सञ्चालन भइरहेको छ ।

कामपा प्रशासन प्रमुख नमराज ढकालका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । एक हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।

एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने प्रमुख ढकालले जानकारी दिए । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिने छ । सर्वसाधारण ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट गरिसकेको विभागले जनाएको छ ।

सहकारीको अनुगमन गर्दै महानगर

कामपाले पछिल्लो समय सहकारीको अनुगमन शुरु गर्ने कार्यलाई अगाडि बढाएको छ । पहिलो चरणमा नियम बाहिर रहेर सञ्चालन भई पत्रचार गरिएकालाई कारवाहीको प्रक्रिया अघि बढाइने छ । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने बताइएको छ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने प्रमुख ढकालले बताउनुभयो । सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ ।

कामपाका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको ढकालले जानकारी दिए । सहकारी दर्ता हुनेक्रम दिनदिनै बढिरहेको छ । सहकारी विभाग प्रमुख ढकालले भने, “आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि सञ्चालनमा रहेकालाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ हाम्रो जोड रहनेछ ।”

सबै सहकारीलाई दैनिकरूपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरूपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्ने छ ।

बचत तथा ऋण सहकारी सञ्चालन गर्न १०० सदस्य रहनुपर्ने, सञ्चालक सदस्यमध्ये ५० जनाले अनिवार्यरुपमा तालीम लिएको हुनुपर्ने, सदस्यमध्येकै ८० प्रतिशतले सहकारी सञ्चालन हुने क्षेत्रमा नै बसोवास गरेको हुनुपर्ने कानूनी प्रावधान छ । पछिल्लो समय सहकारीको सङ्ख्यामा वृद्धि भएसँगै साना–ठूला गरी देशभर ३५ हजार सहकारी सञ्चालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved