नेपाली सिमेन्ट उद्योगको भविष्य के होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 02:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आत्मनिर्भर उद्योगको सूचीमा अब्बल मानिएको सिमेन्ट उद्योगको भविष्य लकडाउनका कारण अनिश्चित बनेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत नै निर्यातयोग्य बस्तुका रुपमा विकास गनेै भनिएको सिमेन्ट निर्यात त भएन, तर आन्तरिक बजारकै अभावमा भने गुज्रिरहेको छ । कोरोनाको संकट आउनुपूर्व पनि विकास बजेट खर्च नहुँदा सिमेन्टको खपत औसत मात्रै थियो । तर अब त झन विकास बजेट नै घटेर आएका कारण बजारमा सिमेन्टको माग नै घट्ने उद्योगीहरुको अनुमान छ ।

सिमेन्टको भविष्य के होला ?

नेपाली सिमेन्टको उत्पादन लागत दक्षिण एशियामा नै महँगो छ । सरकारी अध्ययन अनुसार एक बोरा पीपीसी सिमेन्टको उत्पादन गर्न ५२२ रुपैयाँ लाग्ने भनिएपनि उद्योगीहरु भने ६२५ रुपैयाँदेखि ६६० रुपैयाँ लाग्ने बताउँछन् । ओपीसी सिमेन्ट भने प्रतिबोरा उत्पादनमा ७ सयदेखि ७७० रुपैयाँ लाग्ने उद्योगीहरुको भनाई छ ।

विकास बजेट खर्च हुने वातावरण नबने सिमेन्टको भविष्य अन्यौल बन्ने व्यवसायीको चिन्ता छ । तत्काल बाह्य बजार खोज्न सम्भव नरहेकाले आन्तरिक बजारमा नै खपत बढाउनुपर्ने भएकाले सरकारले सोही अनुसारको नीति तर्जुमा गर्नुपर्ने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । 

‘यसअघि पनि विकास बजेट खर्च नहुँदा डिमाण्ड कम थियो’ उनले भने, ‘अहिले त झन बजेट घटेको छ, अब घटेको मध्ये पनि पूरै खर्च हुँदैन । डिमाण्ड नै नभएपछि बजार त खस्किने नै भयो ।’ 

आन्तरिक बजारमा माग हुने सबै क्षेत्रमा आन्तरिक उद्योगकै उत्पादन नै प्रयोग गर्ने नीति नबने आगामी आर्थिक वर्षभित्र नै अधिकांश उद्योग धाराशायी बन्ने उद्योगीहरुको भनाई छ ।

माग बढाउने पहल

निर्यातयोग्य बस्तुका रुपमा विकास गर्ने भनिएको सिमेन्टको आन्तरिक खपत बढाउनेबारे पनि बहस भने नभएको होइन । सडकमा अलकत्राको सट्टा कंक्रिट प्रयोग गर्नेबारे पनि पटक पटक छलफल भने भएका छन् । तर हालसम्म ठोस निर्णय भने भईसकेको छैन । सरकारी पक्ष सडक विभाग पनि गाइडलाइनको तयारीमा छ भने निजी क्षेत्र सिमेन्ट उत्पादक संघ पनि आफ्नै तरिकाले गाइडलाइनमा निर्माणमा जुटेको छ । 

हाल नेपालका सिमेन्ट उद्योगसँग १८० लाख टन उत्पादन क्षमता छ । तर हाल १२० लाख टन मात्रै खपत भईरहेको छ । तर कोभिड–१९ पछिको अवस्थामा भने खपत दर घट्ने उद्योगीको चिन्ता छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को अन्तिमसम्म हालकै अवस्था कायम रहे उत्पादन क्षमता बढेर २५ मिलियन टन पुग्ने उद्योगीको आँकलन छ । तर कोभिडका कारण बजारमा माग घट्ने देखिएकाले उद्योगले पूर्ण क्षमतामा सिमेन्ट भने उत्पादन गर्ने छैनन् ।

मार्केटिङको योजना छैन

संघका अध्यक्ष थापाका अनुसार सिमेन्टको बजार बढाउन मार्केटिङको खासै भूमिका हुँदैन । माग बढाउन मूल्य प्रतिस्पर्धी हुनुपर्ने भएकाले मार्केटिङकै भरमा बजार बढ्ने अवस्था भने नरहेको उनको भनाई छ ।

‘जति धेरै विकास भयो, उति धेरै माग हुने हो’ थापाले भने, ‘विकास बजेट खर्चको आधारमा सिमेन्टको माग बढ्ने वा घट्ने तय हुने भएकाले आगामी आर्थिक वर्षको लागि उद्योगहरुले मार्केटिङको योजना बनाएका छैनन् ।’ 

एनका अनुसार सरकारले एक्स्पर्ट पोलिसी (निर्यात नीति) बनाएको खण्डमा भने उद्योगहरुले पनि आ–आफ्नो तरिकारले आफ्नो उत्पादनको मार्केटिङ गर्ने सोच राखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved