‘५ सयमा सिमेन्ट उत्पादन हुने भए सरकारी उद्योगले किन महँगोमा बेचेको ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 02, 2020 | 01:42:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी अध्ययनले ओपीसी र पीपीसी सिमेन्टको उत्पादन लागतबारे केही समय अघि अध्ययन गरेको थियो । नीजि क्षेत्रबाट सञ्चालित उद्योगहरुले एक बोरा पीपीसी सिमेन्टको उत्पादन लागत ६२५ रुपैयाँदेखि ६६० रुपैयाँसम्म हो भनेपनि सरकारी अध्ययनले भने ५ सय २२ रुपैयाँ मात्रै भएको देखाए छ । बिजपाटी डटकमले उद्योग विभागबाट प्राप्त गरेको विभागको अध्ययन प्रतिवेदन अनुसार एक बोरा सिमेन्ट उत्पादन गर्न ५ सय २२ रुपैयाँ लाग्ने देखिएको छ ।

विभागको अध्ययनले देखाए अनुसार एक किलो क्लिङ्कर उत्पादन गर्न ८ रुपैयाँ ५० देखि ९ रुपैयाँ लाग्ने गर्दछ । सामान्यताय एक बोरा सिमेन्टमा ५० किलो हुने गर्दछ । यसका आधारमा ५० किलो क्लिङ्कर उत्पादन गर्न अधिकतम ४५० रुपैयाँ लाग्ने देखिन्छ । विभागका अनुसार सिमेन्ट प्याकिङ्ग र प्याकिङ्मा प्रयोग हुने बोराको लागत जोड्दा ५२२ रुपैयाँमा एक बोरा सिमेन्ट उत्पादन हुन्छ । यसमा उद्योगीले २० प्रतिशत नाफा (१०५ रुपैयाँ) थप गर्दा ६२७ मा एक बोरा सिमेन्ट बजारमा जानुपर्ने हो । तर उद्योगीले उत्पादन लागत ५२२ रुपैयाँ नभई पीपीसी सिमेन्टको उत्पादन ६२५ रुपैयाँदेखि ६६० रुपैयाँसम्म र ओपीसी सिमेन्टको उद्योगमै पर्ने मूल्य एक बोराको ७ सयदेखि ७७० रुपैयाँसम्म रहेको बताउने गरेका छन् ।

सरकारी उद्योगले किन सस्तोमा नबेचेको ?

बिजपाटी डटकमले ५ सयको सिमेन्ट ७ सय ७० मा बिक्रि शीर्षकमा समाचार प्रकाशित गरेपछि निजी क्षेत्रका उद्योगले भने आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा सिमेन्ट उद्योगमा नीजि क्षेत्रको एकाधिकार नरहेको बताउँछन् । 

‘सिमेन्टमा नीजि क्षेत्रको एकाधिकार छैन, उदयपूर सिमेन्ट सरकारकै हो, हेटौडा सिमेन्ट पनि सरकारकै हो’ उनले भने, ‘लागत सस्तो पर्ने रहेछ त यी उद्योगले उपभोक्तालाई किन सस्तोमा नबेचेको ?’ 

उनले उद्योगीले बढी पैसा लिए भन्ने लागेको भए वासलात (ब्यालेन्स सीट) देखाउन आफूहरु तयार रहेको पनि बताए । 

‘हामी लागत घटाउने विभिन्न विकल्पबारे सरकारलाई सुझाव दिईरहेका छौँ’ थापाले भने, ‘स्थानीय कर, प्रदेश सरकारलाई कर, भूमी सुधार कर, वन मन्त्रालयलाई कर, सडक विभागलाई कर तिर्नुपर्छ । प्रदेश र स्थानीय तहमा त तह नै पिच्छे करको दर फरक फरक छ, जताजतै कर उठाएपछि त्यो अन्तिममा जोडिने भनेको त लागतमै हो ।’ 

घाटा खाएर सिमेन्ट बिक्रि

सिमेन्ट उद्योगले नाफा कमाउने नियत नराखेको उद्योगीहरुको दाबी छ । केही समय अघिको कुराकानीमा उद्योगी पशुपति मुरारकाले प्रतिस्पर्धाको बजारमा नाफा कमाउने नियत राख्नु भनेको उद्योग नै बन्द हुनु हो भनेका थिए । उनले अहिलेको प्रतिस्पर्धी बजारमा पनि नेपाली सिमेन्ट दक्षिण एशियाकै महँगो हुनुमा सरकारको कर नीति नै दोषी रहेको बताउने गरेका छन् । उनकै कुरालाई सदर गर्दै संघका अध्यक्ष थापा पनि सिमेन्ट उद्योगीको प्राथमिकतामा ‘नाफा’ कहिल्यै नपरेको र आगामी दिनमा पनि नपर्ने बताउँछन् । 

‘नाफा कमाउने कुरा हाम्रो प्राथमिकतामा नै छैन, हामी उस्तै परे घाटा खाएर सिमेन्ट बेच्न तयार हुनुपर्ने गरी बजारमा प्रतिस्पर्धा बढिरहेको छ’ थापाले भने, ‘अहिलेसम्म मुस्किलले बोरामा २ देखि ३ रुपैयाँ नाफामा सिमेन्ट बेचिरहेका छौँ ।’

हाल नेपालमा रहेका ६१ सिमेन्ट उद्योगसँग वार्षिक १८० लाख टन उत्पादन क्षमता छ । तर हाल १२० लाख टन मात्रै खपत भईरहेको छ ।

यसअघिः

नेपाली सिमेन्ट उद्योगको भविष्य के होला ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved