महासंघ निर्वाचनः बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई कसले दियो यातना ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 15, 2020 | 11:49:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन नजिकिएसँगै दुई समूहबीच आरोप प्रत्यारोप सुरु भएको छ । महासंघको आगामी कार्यालयका लागि स्वतः अध्यक्ष बन्दै गरेका वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एउटा समूहलाई काखी च्यापेको आरोप पनि लाग्दै आएको छ । 

गोल्छाले प्रधानलाई काखी च्यापे

बरिष्ठ उपाध्यक्षका दावेदार चन्द्र ढकाल समूहले मंगलबार दिउँसो आफ्नो समूहका उम्मेद्वारको नामावली सार्वजनिक गर्यो । ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेद्वारी दिएका छन् ।

मंगलबार साँझ नै बरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधान समूहले उम्मेद्वारी घोषणा गर्यो । यो समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेद्वारी दिएका छन् । 

ढकाल समूहको घोषणामा नगएका गोल्छाले गरेको छ प्रधान समूहको घोषणा कार्यक्रम नै आफैँले आयोजना गरिदिए । यस कारण पनि गोल्छालाई एउटा समूहलाई काखी च्याप्ने गरेको आरोप लागेको छ । ढकाल समूहलाई समर्थन गरेका एक पूर्व अध्यक्षले यो समूहको जित सुनिश्चित रहेको दाबी गर्दै गोल्छा सबैको अध्यक्ष बन्न नसक्ने देखिएकाले निर्वाचन सकिएको ६ महिनाभित्र अविश्वासको प्रस्तावमार्फत पद च्युत गरिदिने चेतावनी पनि दिईसकेका छन् ।

आरोप प्रत्यारोपको श्रृङ्खला 

महासंघको निर्णायक मानिने पूर्व अध्यक्षहरु पनि दुई समूहमा विभाजित भएर आरोप प्रत्यारोपमा उत्रिएका छन् । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका गत निर्वाचनमा भवानी राणाले गोल्छालाई आफ्नो टिममा राख्दा हुने तर अहिले गोल्छाले किशोर प्रधानलाई आफ्नो समूहमा राख्दा किन आपत्ति भनेर प्रश्न गर्छन् । यसअघि आफूसँगै बरिष्ठ उपाध्यक्षमा पराजित भएका प्रधानलाई गोल्छाले बोकेर हिडेको आरोप लाग्दै आएको छ ।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले त गोल्छा नसच्चिए नसोचेको परिणाम भोग्नुपर्ने चेतावनी नै दिएका छन् । बरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बनाउने प्रावधान राखेर महासंघलाई राजनीतिबाट छुटकारा दिलाउन खोजिएपनि बरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीति गरेको ढकालको आरोप छ । ढकालले भने, ‘आगामी दनिमा शेखर गोल्छाले सच्याउनु हुनेछ । यदि उहाँले अहिले गलत बिजारोपण गर्नुभयो भने त्यसको प्रतिफल पनि उहाँले नै भोग्नुपर्ने हुन्छ ।’

यसअघि बरिष्ठ उपाध्यक्षमा गोल्छालाई आफूले नै चुनाव जिताएको दाबी गर्दै पूर्व अध्यक्ष ढकालले गोल्छाले प्रतिबद्धता अनुसारको काम गर्न नसकेको पनि बताए । 

व्यवसायी भास्करराज राजकर्णिकारले महासंघको विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्ष नै बन्ने प्रावधान राख्नु पर्ने बताएका छन् । 

‘वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान र उद्देश्यका पछाडि निर्वाचन भड्किलो नहोस्, राजनीति नहोस् भन्ने नै थियो’ उनले भने, ‘तर अहिले अध्यक्ष बन्न लागेका वरिष्ठ उपाध्यक्ष नै एउटा पक्षमा लाग्दा हामीलाई चित्त बुझेको छैन । विधान परिमार्जनको उदेश्य यो थिएन ।’

गोल्छाका गुनासा

प्रधान समूहको उम्मेद्वारी घोषणा कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निकै गुनासो गरे । कहिले विधान संशोधन र कहिले अध्यक्ष बनेपछि पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिएर आफूलाई पीडा दिईएको गोल्छाको गुनासो छ ।

‘म ३ वर्षसम्म महासंघमा रहँदा धेरै नै पीडा दिईयो, अझै पनि म अध्यक्ष भएको ६ महिनाभित्र काम गर्न सकेर भनेर हटाइन्छ भनेर पूर्व अध्यक्षसहितको टिम लागेको छ भन्ने सुनेको छु’ गोल्छाले गुनासो गरे, ‘म बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएदेखि नै अध्यक्ष बन्न नदिन विधान संशोधनको तलवार देखाएर यातना दिने काम गरियो ।’

महासंघमा राजनीति गर्नका लागि आफू नआएको दाबी गर्दै उनले आफूलाई काम गर्नको लागि बलियो टिम चाहिने बताउँदै प्रधान समूहलाई जिताउन अनुरोध गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved