सिमेन्ट उद्योगीलाई उधारो उठाउन सकस

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 05, 2020 | 04:09:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टको उत्पादन ८० प्रतिशत घट्दा उत्पादकहरु निराश भएका छन् । चैत्र ११ गतेदेखि लकडाउन हुँदा उत्पादन क्षमताको करिब १० प्रतिशत सिमेन्ट उत्पादन गर्दै आएका उद्योगहरु लकडाउन खुलिसक्दा पनि २० प्रतिशतबाट उकालो लाग्न सकेका छैनन् । बजारको माग र बिक्रिमा आएको सुस्तताका कारण उत्पादन घटेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

मूल्य घट्यो

उद्योगीहरुले बजारमा सिमेन्ट पठाउँदा बिक्रि गर्ने डिलरलाई दिँदै आएको बोनश र कमिशन घटाएका छन् । यस्तै उधारोमा सिमेन्ट नबेच्ने रणनीति लिएका छन् । यसले उत्पादन लागतमा कुनै परिवर्तन नगरेपनि बजारीकरणमा भने लगानी कम भएको उद्योगीहरुको भनाई छ । बजारीकरण गर्दा यसअघि लाग्दै आएको शुल्क घटेपछि मूल्य पनि घटेको संघका अध्यक्ष थापाको भनाई छ ।

‘हामीले उधारो नबेच्ने नीति बनायौ, डिलरलाई दिँदै आएको बोनश र कमिशनमा पनि कटौती गर्यौ’ थापाले भने, ‘अब जति बेचिन्छ त्यो सबै क्यासमा आउने भएको र उद्योगहरुबीच धेरै प्रतिस्पर्धा भएका कारण पनि मूल्य घटेको छ ।’ 

ओपीसी सिमेन्टमा एक बोरामा २० रुपैयाँ, पीपीसी सिमेन्टको एक बोरामा २५ रुपैयाँ र पीएससी सिमेन्टको मूल्य एक बोरामा ३० रुपैयाँसम्म घटेको उनको भनाई छ । अब उपभोक्ताले एक बोरा ओपीसी सिमेन्ट ७ सय रुपैयाँमा र पीपीसी सिमेन्ट प्रतिबोरा ५८० रुपैयाँमा नै पाउन सक्ने भएका छन् । 

असारको अन्तिममा पनि मूल्य घटाएका उद्योगीले साउनको दोस्रो हप्तामा नै पुनः भाउ घटाएका हुन् । जेठमा प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढाएका उद्योगीले अहिले प्रतिबोरा औसतमा ७५ रुपैयाँसम्म मूल्य घटाएका छन् ।

उत्पादन क्षमता बढ्दै, खपत घट्दै

उद्योगीहरुले उत्पादन क्षमता १८ मिलियन टन भएपनि खपत भने ९ मिलियन टन मात्रै रहेको गुनासो गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा १० लाख टन सिमेन्ट खपत भएकोमा गत वर्ष २०७६÷०७७ मा ९ मिलियन टनको हाराहारीमा मात्रै सिमेन्ट खपत भएको छ ।

‘हाम्रो उत्पादन क्षमता १८ मिलियन टन हो, तर खपत भने ९÷१० मिलियन टन मात्रै छ’ संघका अध्यक्ष थापा भन्छन्, ‘खपत बढाउने योजना ल्याउन सरकारलाई सुझाव दिँदा पनि खपत भने झन घटिरहेको छ, यसको कारण भनेको विकास बजेट खर्च नुहुनु नै हो ।’

निर्यातको लागि अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्य हुनुपर्ने भएकाले मूल्य घटाउने वातावरण सरकारले बनाईदिनुपर्ने र आन्तरिक खपत बढाउन कंक्रिट सडकको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।

उधारो उठाउन सकस

सरकारी आयोजनाका लागि माग हुने सिमेन्ट स्वदेशी उद्योगले उत्पादन गर्दै आएका छन् । आयोजना निर्माणका लागि माग भए अनुसार सिमेन्ट उत्पादन गरेर दिईएको पनि भूक्तानी पाउन समय लाग्ने भएकाले आफूहरु मारमा परेको उद्योगीहरुको गुनासो छ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार उद्योगीले बजारबाट उठाउन बाँकी रकम ३ हजार करोड छ ।

‘नीजि क्षेत्रबाट बन्ने आयोजनाका लागि खपत हुने सिमेन्टको भूक्तानी समयमा नै हुने भएपनि सरकारी आयोजनाका लागि जाने सिमेन्टको पैसा पाउन वर्षौ लाग्ने गरेको छ’ एकजना उद्योगीले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका सिमेन्ट उद्योगी पशुपति मुरारका बजारमा उठ्न बाँकी रकम उठाउन उद्योगीलाई अझै ३ वर्ष लाग्न सक्ने बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved