महासंघको समितिमा निर्वाचनको ३ मोडालिटीमा छलफल, फाईदामा गोल्छा समुह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 05:03:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभा र चुनावको मोडालिटी तय गर्न साउन २३ गते गठित समिति आन्तरिक छलफलमा जुटेको छ । साउन २५ गते पहिलो पटक बैठक बसेको समितिको दोस्रो बैठक बुधबार दिउँसो बस्दैछ ।

रञ्जित आचार्य, अरुण सुमार्गी, भरत आचार्य, डीबी बस्नेत, विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ सदस्य रहेको समितिले गत शुक्रबारको मितिले १५ दिनभित्र निर्वाचन मोडालिटी प्रस्ताव गर्नेछ । बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र प्रसाद ढकाल र किशोर प्रधान समूहबाट ३/३ जना सदस्य रहेकामा आज मंगलबार दुई पक्षका छुट्टा छुट्टै बैठक बसेको छ । 

उक्त बैठकले निर्वाचनको मोडालिटीबारे छलफल गरेको छ। तत्काललाई तीनवटा निर्वाचनको ढाँचामा छलफल अगाडी बढेको समितिका एक सदस्यले बिजपाटीलाई बताए। 

ति सदस्यकाअनुसार प्रतिस्पर्धा छाडेर सर्वसम्मतले नयाँ कार्यसमिति सदस्य चयन गर्ने, दोस्रोमा स्वत अध्यक्ष बनेका शेखर गोल्छालाई तदर्थ समिति बनाएर निश्चित अवधिका लागि काम गर्न दिने र पछि अवस्था सामान्य भएपछि निर्वाचन गर्ने, तेस्रोमा अहिले खण्डित रुपमा निर्वाचन गर्नेबारे छलफल भएको छ। तर सर्वसम्मतले कार्यसमिति चयन गर्ने विकल्पमा चन्द्र ढकालले ठाडै असहमति जनाएको बताइएको छ। 

चन्द्र ढकाल समूहबाट समितिमा प्रतिनिधित्व गर्ने ३ जनाको छलफलमा विद्युतीय मतदान अथवा जिल्ला नगर उपाध्यक्षको मतदान प्रदेशमै र वस्तुगत र एशोसिएटको चुनाव काठमाडौंमा गर्ने मोडालिटीमा छलफल भएको छ । 

प्रधान समूहबाट समितिमा रहेका सदस्यहरुको छलफलमा भने आज मुख्यतः ३ विकल्पमा छलफल भएको छ । खण्डित निर्वाचन प्रणाली (एशोसियट र बस्तुगतको छुट्टा छुट्टै स्थल राखेर मतदान गर्ने), टु बी कन्टीन्यू (बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले शेखर गोल्छाले तदर्थ समिति बनाउने र चैत्र २८ गतेसम्म यही समितिले चलाउने। चैत्र २९ गते निर्वाचन गर्ने) र सर्वसम्मत बरिष्ठ उपाध्यक्ष चयन गर्ने विकल्पमा छलफल भएको समितिका एक सदस्यले जानकारी दिए 

वरिष्ठ उपाध्यक्षमा २ जना उम्मेद्वार रहेका कारण गोला प्रथाको विधि पनि मान्नुपर्ने अवस्था आउन सक्ने बताईएको छ । योसँगै दुइमध्ये एक उम्मेद्वार बरिष्ठ उपाध्यक्ष र अर्को उपाध्यक्षमा रहँदा झन राम्रो सन्देश जाने भएकाले यसमा पनि पहल र दबाब दिने मनशायमा प्रधान पक्षमा सदस्यहरु छन्। 

बिगतको नजिरलाई आधार मानेर चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष र किशोर प्रधानलाई उपाध्यक्ष दिँदा ढकाल समुहबाट बस्तुगत उपाध्यक्षमा उम्मेद्वारी दिएका उमेललाल श्रेष्ठ तथा एसोसिएटमा उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई सहमत नहुने बताइएको छ। 

‘गत निर्वाचनमा सुदर्शन कार्की र देब बहादुर श्रेष्ठ केन्द्रीय सदस्यका उम्मेद्वार थिए, उनीहरुको बराबर मत आएपछि के गर्ने भन्ने छलफल भयो’ एक सदस्यले भने, ‘हामीले आधा आधा कार्यकाल चलाओ भन्दियौँ, कुरा मिल्यो । यो नजिर त महासंघसँगै छ नि, त्यसैले यो पनि नजिरका रुपमा एउटा विकल्प नै हो ।’

समितिको छलफलमा प्रस्तावित निर्वाचनको ढाँचा गोल्छा समुहको हितमा देखिएको समितिका ति सदस्यको दाबि छ। समितिले भदौं ४ गतेभित्र निर्वाचन मोडालिटी केन्द्रीय कार्यसमितिमा पेश गर्नेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved