राजिनामापछि पनि छलफलमा खतिवडा सामेल, उद्योग व्यवसाय खोल्न प्रधानमन्त्री अझैं अनिच्छुक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 11:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी तथा व्यवसायीहरुले निषेधाज्ञाले व्यवसायिक गतिबिधि ठप्प भएकाले अवस्था गम्भीर भएको बताउँदै निश्चित मापदण्ड तोकेर आर्थिक गतिबिधि सुचारु गर्नलाई अनुरोध गरेका छन्। 

आज बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा निजि क्षेत्रका तीन महत्त्वपूर्ण छाता संगठनका प्रतिनिधिहरुले यस्तो अनुरोध गरेका हुन्। उद्योगी तथा व्यवसायीहरुले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञा समाधानको विकल्प भएपनि व्यवसायिक गतिबिधि ठप्प हुँदा अवस्था झनै नाजुक बनेको प्रधानमन्त्री ओलीलाई जानकारी गराए। 

व्यवसायीहरुले हिजोका दिनमा रोगको डर भएपनि अब भोकले मर्ने हो कि भन्ने चिन्ता बढी भएको बताउदै मापदण्ड कायम गरेर अर्थतन्त्र चलायमान बनाउनतर्फ सरकारले सोच्नुपर्ने विचार राखे। 

छलफलमा उद्योगी तथा व्यवसयीहरुले प्रधानमन्त्री ओली समक्ष बिभिन्न प्रस्ताव समेत राखेका छन्। व्यवसायीहरुले कोरोनाको लकडाउनका कारण धेरै उद्योग प्रतिष्ठानहरु झन्डै ठप्प रहेकाले भएका रोजगारी जोगाउनलाई पनि ३३ प्रतिशत तलब सरकारले तिर्दिनुपर्ने, ऋणको ब्याजमा ५० प्रतिशत सहुलियत दिनुपर्ने प्रस्ताव राखेका छन्।  

बेलुका साँझ करिब सवा ६ बजेदेखि सुरु भएको छलफल करिब अढाई घण्टा चलेको थियो। छलफलमा प्रधानमन्त्री ओलीले झन्डै पौने घण्टा आफ्नो मन्तब्य राखेका थिए। उद्योगी तथा व्यवसायीको कुरा सुने पश्चात प्रधानमन्त्री ओलीले आफ्नो मन्तब्यको क्रममा नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको बताए। 

प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको दाबी गर्दै भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित नपार्न समेत उद्योगी व्यवसायीलाई निर्देशन दिए। नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत व्यवसायीलाई निर्देशन दिए। 

सरकार कर असुलीमा मात्र ध्यान नदिएको तथ्यमा पनि प्रकाशपार्दै प्रधानमन्त्री ओलीले काम गरेर खान नेपालमा समस्या नरहेको तर्क पेश गरे। छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुक नेपाल रहेको तथ्य पेश गर्दै प्रधानमन्त्री ओलीले नेपालमा काम गरेर खान समस्या नरहेको बताए। कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउने काममा जोड दिन समेत प्रधानमन्त्री ओलीले व्यवसायीलाई सुझाब दिए। 

छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री ओली सहित उद्योगमन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा  पुष्प कँडेल,  गभर्नर महाप्रसाद अधिकारी तथा निवर्तमान अर्थमन्त्री डा. युबराज खतिवडा सहभागी थिए।  

त्यस्तै उद्योगी तथा व्यवसायीको तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट अध्यक्ष भवानी राणा तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र एसोसिएट तर्फका उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश मोर तथा निवर्तमान अध्यक्ष हरिभक्त शर्मा र वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्शको तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए। डा युबराज खतिवडाको कार्यकाल सकिएपछि अर्थ मन्त्रालय सम्हालेयता उद्योगी तथा व्यवसायीसँगको प्रधानमन्त्री ओलीको यो पहिलो छलफल हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved