महासंघ निर्वाचनमा चण्डिराजले चन्द्र ढकाललाई बोक्दा अरु पुर्वअध्यक्ष कता ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 08, 2020 | 11:26:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि निर्वाचन मोडालिटी प्रस्ताव भएको छ । निकै लामो रस्साकस्सीपछि निर्वाचन मोडल सिफारिस समितिले ३ वटा विकल्पसहितको निर्वाचन मोडालिटी प्रस्ताव गरेको छ । तर लम्बिँदो निषेधाज्ञाका कारण निर्वाचन कहिले हुने अन्यौल कायमै छ । 

बरिष्ठ उपाध्यक्षका दुई उम्मेद्वारा किशोर प्रधान र चन्द्र प्रसाद ढकालमध्ये ढकाल जतिसक्दो चाँडो चुनाव गराउनुपर्छ भन्ने पक्षमा छन् । तर प्रधान समूह भने कोरोना भाइरसको संक्रमण कम भएपछि मात्रै निर्वाचन गराउनु उपर्युक्त हुने बताउँदै आएको छ ।

‘अहिले महासंघमा दर्बिलो एकता चाहिएको छ’ बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधान भन्छन्, ‘हामी कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्नु हुँदैन, अहिले मिलेर जाने बेला हो ।’ 

तर अर्का उम्मेद्वार ढकालले यसअघि निर्वाचनको मिति तोक्न र तोकिएको मितिमा निर्वाचन गराउन आफूले सरकारबाट जसरी पनि अनुमति ल्याउँने दाबी प्रस्तुत गरिरहेका थिए । तर उनले सरकारबाट अनुमति ल्याउन सकेनन् ।

बहुमत पूर्वअध्यक्षहरुको समर्थन प्रधानलाई

बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । गोल्छाको समर्थन किशोर प्रधान समूहलाई छ । उनीसँगै संस्थापन पक्ष भनिने हालकी अध्यक्ष भवानी राणाले पनि प्रधानलाई नै समर्थन गरेकी छिन् । वर्तमान पदाधिकारीबाहेक पूर्व अध्यक्षहरुमध्ये पनि प्रधान समूहलाई समर्थन गर्नेहरु धेरै छन् ।

पूर्व अध्यक्षहरु पद्य ज्योति, कुशकुमार जोशी, पशुपति मुरारका, बिनोद बहादुर श्रेष्ठ, महेशलाल प्रधान, रविभक्त श्रेष्ठ र आनन्दराज मुल्मीले किशोर प्रधान समूहलाई समर्थन जनाएका छन् । 

‘पछिल्लो पटक लकडाउन हुनु अघिसम्म सबै पूर्वअध्यक्षहरु मिलेर सहमतिबाटै अगाडी बढ्ने भन्ने लाइनमा थिए’ स्रोतले भन्यो, ‘तर, अन्तिम सहमति नै नभई निर्वाचन मोडालिटी बाहिर ल्याईएपछि पूर्व अध्यक्षहरुले त्यसलाई रुचाएको देखिँदैन ।’

चण्डी र सुरज चन्द्रतिर

चन्द्र ढकालको निर्वाचन प्रचारको टोलि नेता पूर्व अध्यक्ष चण्डीराज ढकाल हुन् । चण्डीराजले चन्द्रलाई कुनैपनि हालतमा चुनाव जिताउने दाबी गर्दै आएका छन् । चण्डीराजसँगै पूर्व अध्यक्ष सुरज वैद्यले पनि ढकाललाई समर्थन गरेका छन् ।

‘सुरज वैद्यले चन्द्र ढकालको पूरै प्यानलको कुरा गरेको सुनिएको छैन’ स्रोत भन्छ, ‘तर, उहाँसँग छलफल हुँदा चन्द्र ढकालको कुरा गर्नुहुन्छ, उहाँलाई ढकाल प्यानलका अन्य व्यक्तिहरुको भन्दा चन्द्रले चुनाव जिते हुन्थ्यो भन्ने लागेको देखिन्छ ।’ 

वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । प्रधानमन्त्रीकै निर्देशनमा वैद्यले ढकाललाई चुनाव जिताउने जिम्मा पाएको हुनसक्ने बताइन्छ । वैद्य २०७४ सालमा बनेको महासंघको पूर्व अध्यक्ष परिषद्का संयोजक पनि थिए ।

बिनोद चौधरी ‘रिङ बाहिर’

महासंघका पूर्व अध्यक्ष अर्बपति बिनोद चौधरीको भने यसपटक कुनै भूमीका नदेखिने भएको छ । सामान्यतयः महासंघको निर्वाचनमा पूर्व अध्यक्षहरु निर्णायक हुने भएपनि चौधरी भने महासंघ छोडेर उद्योग परिसंघ तिर गईसकेका छन् । 

‘बिनोद चौधरी अहिले रिङ बाहिर गइसक्नु भएको छ, रिङ बाहिर भएको व्यक्तिले कुनै प्रभाव पार्छ जस्तो लाग्दैन’ महासंघ शुद्धिकरण अभियानका एक सदस्यले भने, ‘अहिले प्रभाव पर्ने भनेको रिङ भित्रैका खेलाडीको मात्रै हो ।’

भाष्करराजलाई तान्न दौडधूप

पूर्व अध्यक्ष भाष्करराज कर्णिकार अहिले कुनै पनि कित्तामा उभिएका छैनन् । तर उनलाई चन्द्र ढकाल समूहले भने आफ्नो कित्ताको मान्दै आएको छ । उनी नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष पनि हुन् । त्यसैले महासंघ भित्र उनको भूमीका कस्तो हुने भन्ने यकिन छैन । तर ढकाल र प्रधान दुबै समूहले उनको भूमीका निर्णायक हुन सक्ने भन्दै आफूतिर तान्ने प्रयास गरेका छन् ।

‘उहाँ चेम्बरमा पनि हुनुहुन्छ, त्यही भएर पनि होला अहिले उहाँको यही कित्तामा हो भन्ने आकार आईसकेको छैन, तर दुबै पक्ष तान्ने प्रयासमा छन्’ एक जना पदाधिकारीले भने ।

पूर्व अध्यक्ष द्वय प्रदिप कुमार श्रेष्ठ र प्रदीपजंग पाण्डेले स्पष्ट रुपमा यही समूहलाई समर्थन गर्छु भनिसकेका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved