उद्योगी व्यवसायीले प्रधानमन्त्रीसँगको भेट सदुपयोग गरेनन्ः सुरज वैद्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 11:47:02 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी तथा व्यवसायीहरुले भदौ २१ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे।  निषेधाज्ञाका कारण व्यवसायिक गतिबिधि नभएको र यस्तो अवस्थामा आर्थिक संकट उत्पन्न हुन सक्ने भन्दै उनीहरुले प्रधानमन्त्रीलाई सचेत गराए। तोकिएका स्वास्थ्य मापदण्ड कायम गरेर आर्थिक गतिबिधि सुचारु गर्नुपर्ने उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्नलाई प्रधानमन्त्रीले प्रतिबद्धता समेत जनाए।

श्रमिकको ३३ प्रतिशत तलब सरकारले दिनुपर्ने, ऋणको ब्याजमा ५० प्रतिशत सहुलियत दिनुपर्ने, जनस्वास्थ्य मापदण्ड कायम गरेर उद्योग व्यवसाय सुचारु गर्नुपर्ने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्षले प्रस्ताव राखे।

छलफलमा सहभागि उद्योगी तथा व्यवसायीको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले अहिले नै मूलुकको अर्थतन्त्र नकारात्मक भईनसकेको र कोरोनालाई 'नेग्लेट' गरेर अगाडी बढ्न नसकिने जवाफ दिए।

प्रधानमन्त्री ओलीसँगको छलफलमा आफुहरुलाई सहभागी नगराएकोप्रति बैंकरहरुले मात्र होइन, अरु व्यवसायिक सँस्थाले समेत असन्तुष्टि जनाएका छन्।

यतिमात्र नभई नेपालका नाम चलेका व्यवसायीहरु मध्ये एक सुरज बैद्य, जो व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष समेत हुन्, ले उद्योगी व्यवसायीहरुले प्रधानमन्त्रीसँगको भेटको सदुपयोग गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।

स्पष्ट कुरा राख्न नसक्नु नेतृत्वको कमजोरी

उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई भेट्दा आफ्ना समस्या स्पष्ट राख्न नसकेको भन्दै बैद्यले असन्तुष्टि जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य ठूला व्यवसायीहरु स्वार्थी बन्दा साना तथा मझौला उद्योगी व्यवसायी मारमा परेको बताउँछन् ।

‘प्रधानमन्त्रीलाई भेट्दा व्यवसायी साथीहरुले आफ्ना पूराना कुरा मात्रै राखेको मैले बुझेको छु’ वैद्यले भने, ‘महासंघ र अरु संघ संस्थाहरु ठूला व्यवसायीका मुद्दा मात्रै बोक्ने भए, साना व्यवसायीको माग उनीहरुले राख्दै राखेनन्, अहिले मारमा परेका ठूला मात्रै होइनन्, साना मझौला व्यवसायीको गुनासो पनि सरकारसमक्ष पुर्याउने दायित्वबाट हाम्रो नेतृत्व चुक्यो।’

‘प्रधानमन्त्रीलाई भेट्दा व्यवसायीहरुले सबैलाई समेट्ने गरि अहिलेको समस्या राख्न सकेनन, उहाँलाई भेट्दा स्पष्ट कुरा राख्न सक्नुपथ्र्यो, साना मझौला व्यवसायीका माग महत्वका साथ उठेन’, वैद्य भन्छन्, ‘साँच्चै भन्ने हो भने, ठूला ठूला उद्योगीहरुलाई महासंघ नै चाँहिदैन, उ आफैँ मन्त्री सचिवलाई भेट्न सक्छ, यहाँ दुःख पर्ने भनेको त साना व्यवसायी र जिल्लाका साथीहरुलाई हो, उनीहरुका कुरा प्रधानमन्त्रीलाई सुनाउने अवसर पाउँदा सुनाउन नसक्ने पनि नेतृत्व हुन्छ ?’ 

प्रधानमन्त्री सँगको भेटमा नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र एसोसिएट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश मोर तथा निवर्तमान अध्यक्ष हरिभक्त शर्मा र वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्शको तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए ।

छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री ओलीसहित उद्योगमन्त्री लेखराज भट्ट, उद्योग राज्यमन्त्री मोतीलाल दुगड, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.  पुष्प कँडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved