महासंघमा ओली 'इन्ट्रेस्ट' : ढकाल जिताउने जिम्मा सुरज वैद्यलाई !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 04:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले महासंघको निर्वाचनमा चन्द्र ढकाललाई समर्थन रहेको बताएका छन् । चन्द्र ढकाललाई बरिष्ठ उपाध्यक्षमा जिताउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै वैद्यलाई खटाएको चर्चा बजारमा चलिरहेका बेला उनी स्वयम्ले यस्तो बताएका हुन्।

महासंघको निर्वाचन कहिले हुने अन्यौल कायम रहेका बेला पूर्व अध्यक्षको हैसियतले आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाललाई जिताउन प्रधानमन्त्री ओलीले नै वैद्यलाई खटाएको बजार चर्चा छ। 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिने व्यवसायी ढकाललाई जिताउन प्रधानमन्त्री ओलीबाट यस्तो निर्देशन आउनुले अवस्था झनै रहस्यमयी बनेको छ। केहि महिना अगाडीको ओली र प्रचण्डबीचको रस्साकस्सीमा प्रचण्डलाई सघाउन चालिएको मिडिया क्याम्पेनमा ढकाल समुहले लगानी गरेको समेत चर्चा थियो। तर राजनीतिमा जे पनि हुन् सक्ने भएकाले प्रचण्डलाई सघाउने व्यवसायी ढकाललाई ओलीको साथ हुनु अनौठो नभएको स्रोतको दाबि छ।    

स्रोत भन्छ, 'तत्कालिन अर्थमन्त्री डा युबराज खतिवडाआजका दिनमा प्रधानमन्त्रीका सबैभन्दा बिश्वाससिला पात्र  हुन्, ग्लोबल आइएमई बैंकसंग मर्ज भएको तत्कालिन जनता बैंक नेकपा समर्थकहरुको लगानी भएको र त्यहाँ खतिवडाको पनि लगानी रहेकाले ढकाललाई प्रधानमन्त्रीको नजिक ल्याउन खतिवडाको भूमिका हुन सक्छ।'

व्यवसायी र राजनीतिकर्मीलाई उसको स्वार्थले निर्देशित गर्ने भएकाले गुट उपगुट कहिले कहाँ मिलन र बिछोड हुन्छ भन्ने कुराको कुनै ठेगान नहुने भएकाले प्रचण्ड निकट मानिएका ढकाल ओली निकट आउनुलाई अस्विकार गर्न नसकिने स्रोतको तर्क छ। 

अन्य बैंकलाई सामान्य गल्तिमा कारबाही भएपनि ग्लोबलको बहालवाला सीईओलाई उमेर हद नलाग्नु, बैंकबाट व्यवसायी हटाउने प्रस्ताव सेलाउनु, महासंघभित्र जारी निर्वाचन अभियानमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतकै पैसा आफूखुसी प्रयोग हुनु जस्ता बिषयलाई राष्ट्र बैंकले अनदेखा गर्नुको कारण ढकालप्रति अर्थमन्त्रीको सदासयता रहेको बताइन्छ। 

तर प्रधानमन्त्रीले ढकाललाई चुनाव जिताउने जिम्मेवारी आफुलाई सुम्पिएक भन्ने बजार चर्चामा कुनै सत्यता नरहेको नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष समेत रहेका  सुरज बैद्यको दाबि छ।  

‘चन्द्र ढकाल सबैतिर लगानी गरेका व्यक्ति हुन्, सानो ठाउँबाट उठेर आएको उदाहरणीय व्यक्ति भएको हुनाले ढकाल आए मिलेर काम गर्न सकिन्थ्यो भन्ने राजनीतिक स्वार्थ हुन सक्छ’ वैद्यले बिजपाटीसँग भने, ‘तर, प्रधानमन्त्रीले मलाई यस्तो काम अह्राउनु भएको छैन, मूलुकको कार्यकारीलाई यस्ता साना काममा चाँसो लिने फुर्सद हुँदैन, प्रधानमन्त्रीले यति सानो काम अह्राउने कुरा पनि आउँदैन । यो कसैले पनि पत्याउन नसक्ने कुरा हो ।’

उनले कुनै पनि राजनीतिक पार्टीको सहयोगमा महासंघको नेतृत्त्वमा आउँछु भन्ने सोच कसैले पनि नराखे हुने चूनौति दिँदै यदि त्यसरी कुनै व्यक्ति आए उ टिक्न नसक्ने समेत बताए। वैद्यले ढकालको अनुभव र किशोर प्रधानको क्षमता महासंघलाई आवश्यक पर्ने भएकाले सकेसम्म मिलेर अगाडी बढ्नुपर्ने र त्यसो हुन नसके ढकाललाई समर्थन गर्ने बताएका छन् ।

‘दुबैको भूमीका महासंघलाई चाहिएको छ, चन्द्र एकदमै तल्लो स्तरबाट उठेर आएका व्यक्ति हुन्, उनको अनुभव महासंघलाई चाहिएको छ’ वैद्यले भने, ‘किशोरसँग जिल्ला क्षेत्रको बढी अनुभव छ, जिल्लाका साना तथा मझौला व्यवसायीको कुरा उसलाई बढी जानकारी छ, त्यसैले किशोरको पनि आवश्यकता छ ।’

अध्यक्षका कारण महासंघ बिग्रियो

उनले वर्तमान नेतृत्व (अध्यक्ष भवानी राणा) को कमजोरीका कारण महासंघमा दुई धार हुन पुगेको आरोप पनि लगाए । नेतृत्वले पूर्व अध्यक्षहरुको कुरा नसुन्दा महासंघ अन्यौलतामा फसेको उनको आरोप छ ।

‘म त नेतृत्वको कमजोरी भन्छु’ वैद्य भन्छन्, ‘कोरोनालाई देखाएर निर्वाचन नै नगर्ने, सहमतिको प्रयास नै नगर्ने, सुझाव नै नसुन्ने कामले गर्दा महासंघ कता जाने हो भन्ने प्रश्न उब्जेको छ ।’

‘म त भन्छु ठूला उद्योगी व्यवसायीलाई महासंघ नै चाँहिदैन, उनीहरु आफैँ मन्त्री प्रधानमन्त्री भेट्न जान सक्छन्’ वैद्यले थपे, ‘चाँहिने भनेको जिल्लाका साना तथा मझौला उद्योगी व्यवसायीलाई हो, तर अहिलेको नेतृत्वले कमोडिटि, एशोसियट र जिल्लाका साथीहरुको गुनासो नै सुनेन । अब स्वतः अध्यक्ष बन्ने शेखर गोल्छाको भूमीकामा पनि प्रश्न उब्जिएको छ, उनले कोभिडको यत्रो महामारीमा व्यवसायीको हितमा के काम गरे त ?’ 

उनले वर्तमान अवस्थामा महासंघलाई कता लैजाने भन्ने मुख्य भूमीका अध्यक्ष भवानी राणा र बरिष्ठ उपाध्यक्ष गोल्छाकै भएको बताए। तर उनीहरु दुबैको भूमीकाका कारण महासंघ अन्यौलताको भुमरीमा फस्दै गएको वैद्यको बुझाई छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved