चीनको एकतर्फी 'नाकाबन्दी' ले नेपाली व्यवसायीको उठिबास, जोखिममा बैंकको १० अर्ब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2020 | 11:18:11 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको केरुङ जोड्ने रसुवागढी र खासा जोड्ने तातोपानी नाका बन्द हुँदा झन्डै १० अर्ब रुपैयाँ बराबरका सामान अब कहिले र कसरी काठमाडौँ ल्याउने भन्ने चिन्ताले व्यवसायीहरूलाई सताएको छ।

चीनले एकतर्फी रुपमा नाका बन्द गर्दा पनि नेपाल सरकारले बेवास्ता गर्दा झन्डै १ बर्षदेखी करिब १५ सय कन्टेनर नाकामै अड्किएका छन् । जस कारण एकातर्फ नेपाल ल्याउन लागिएको कतिपय सामान कन्टेनर भित्रै बिगिर्ने अवस्थामा पुगेका छन् भने केही सामान उचित समयमा काठमाडौं पुर्याउन नसक्दा त्यसको लाभ लिनबाट ब्यवसायी बन्चित हुनुपरेको छ। 

कोभिड देखाएर चीनले पछिल्लो ५ माहिनादेखी केरुङ र ३ महिनादेखी खासा नाका एकतर्फी बन्द गराएको छ । यसले नेपाली व्यवसायीहरुले १० महिनाअगाडी आदेश दिएका सामानका धेरै कन्टेनर केरुङ र खासामै अड्किएका छन् भने केहि कन्टेनर रसुवा र तातोपानीमा अड्किएका छन् । 

चीनमा कोरोना देखिँदा नेपालको तर्फबाट र नेपालमा कोरोना देखिंदा चीनको तर्फबाट बन्द भएका नाका अझैं सुचारु हुन सकेका छैनन् । जसकारण करिब १० अर्ब रुपैयाँ बराबरको कन्टेनर अड्किएको व्यवसायीहरुको गुनासो छ । नेपाली व्यवसायीले गत पुस–माघमै खरिद गरेका तयारी पोसाक लगायतका सामान अझै चीनका विभिन्न सहरका गोदाममा थन्किएका छन्। 

बीचमा रसुवा भन्सारबाट केहि कन्टेन्टर छुटेपनि त्यो पर्याप्त नभएको व्यवसायीहरुको गुनासो छ । सामान्य अवस्थामा रसुवाबाट १०० र तातोपानीबाट १५० कन्टेनर छुटेपनि अहिले दैनिक औसतमा ४ वटा कन्टेनर छुट्ने गरेका छन्। यहि अनुपातमा त्यहाँ सामान लोड भईसकेका कन्टेनर पनि काठमाडौं आइपुग्न अर्को एक बर्ष लाग्ने भएकाले दशैंमा नै सामान बिक्रि गर्न सकिने गरि नेपाल सरकारले चीन सरकारसँग उच्च तहमा वार्ता गरेर समाधान निकाल्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बिजपाटीलाई बताए । 

‘बर्ष दिनदेखि नाकामै सामान अड्किदा लगानीको ठाउँमा लगानी गुमेको छ, समयमा सामान न आउँदा अब सावाँ पनि गुम्ने खतरा छ, हामी व्यवसायीको उठिबास हुने अवस्था आईसकेको छ’ अध्यक्ष कटुवालले भने, ‘सरकारको उपस्तिथी हुने हो भने समाधान निस्किन्छ तर ओली सरकार आँखा चिम्लेर चिर निद्रामा बसेकाले अब हाम्रो उठिबास हुने अवस्था आएको छ ।’

नाकाबाट १५ दिनमा काठमाडौं आइपुग्ने अवस्था भएपनि अहिले त्यहाँ एक बर्षदेखि करिब २ हजार कन्टेनर अड्किएकाले व्यवसायीको करिब १० अर्ब रुपैयाँ जोखिममा परेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बिजपाटीलाई बताए। नाका बन्द हुँदा अब पानी जहाज मार्फत भारत हुँदै सामान ल्याउने समय पनि नरहेको अध्यक्ष शेर्पाको भनाई छ। 

अध्यक्ष शेर्पाले भने, ‘दशैं तिहार जस्ता ठुला चाड मुखैमा छन्, त्यो बेला सामान बेचेर दुई पैसा आर्जन गरौला भनेर सडकबाटो हुँदै चीनबाट सामान ल्याउन धेरै व्यवसायीहरुले करोडौं लगानी गरेका छन् तर पानी जहाज मार्फत काठमाडौं सामान ल्याउन करिब ६० दिन लाग्छ, यस्तो अवस्थामा नेपाल सरकारले उच्च तहबाट चीनसँग वार्ता गरेर अड्किएका सामान ल्याउने वातावरण बनाउनुको विकल्प छैन ।’

कोरोना भाइरसको त्रास, पहिरोले सडकको बिग्रेको अवस्था र तिब्बतको कुतीस्थित ताल फुट्ने हल्लाले चिनियाँ पक्षले कन्टेनरको आउजाउमा एकतर्फी रुपमा नाका बन्द गरेको छ। सामान पठाउन एकतर्फी रुपमा नाका नै बन्द गरेपछि यसलाई नाकाबन्दि नै भनेपनि हुने व्यवसायीहरुको भनाई छ।  

सिण्डिकेट

दैनिक औषतमा ४ वटा कन्टेनर नेपाल आउँदा पनि त्यहाँ सिन्डिकेट भएकाले नेपाली व्यवसायीहरुले ढुवानी शुल्क समेत चर्को तिर्नुपरेको छ। बिगतमा सामान्य अवस्था हुँदा प्रति कन्टेनर करिब २४ किलोमिटरको दुरीको ढुवानी ७ हजार युहान तिर्नुपरेपनि अहिले ३० हजार सम्म तिर्नुपरेको छ। यसले गर्दा ढुवानीमा पनि नेपाली व्यवसायीले प्रति कन्टेनर करिब ४ लाख रुपैयाँ बढी तिर्नुपरेको छ। 

त्यस्तै रसुवागढी नाकामा पनि त्यहाँका स्थानीयले स्थानियकै लोकल गाडी प्रयोग गर्न बाध्य बनाएका छन् । अर्को विकल्प नहुँदा प्रत्येक कन्टेनरमा त्यहाँ पनि महँगो शुल्क तिर्नुपरेको छ भने पासका लागि मात्रै ५० हजार तथा अरु नदेखिने खर्च धेरै आउने व्यवसायीको भनाई छ। 

रसुवाका प्रमुख भन्सार अधिकृत पुण्य खड्काका अनुसार केरुङबाट हाल दैनिक ६ देखि ८ कन्टेनर व्यापारिक सामान आयात हुने गरेको छ । उनका अनुसार यही अनुपातमा आयात भएमा अलपत्र सामान नेपाल भित्रन ६ महिनाभन्दा बढी लाग्छ ।

व्यवसायीसंगै बैंक र सहकारीको लगानी जोखिममा 

काठमाडौंको महाबौद्ध, न्युरोड, रञ्जना गल्ली लगायतका थोक व्यवसायीहरुले चीनबाट सामान ल्याउनका लागि बर्षदिन अगाडी नै बैंक र सहकारीबाट कर्जा लिएका छन्। उनीहरुले बर्षदिन अगाडी लिएको कर्जाको ब्याजको मिटर चढिरहेको छ तर सामान अझैं काठमाडौं आइपुगेको छैन। 

यसले एकातर्फ व्यवसायीहरुले सावाँ ब्याज नै तिर्न नसक्ने अवस्था छ भने उनीहरुले सामान ल्याएर बेच्न नपाउँदा बैंक र सहकारीको लगानी डुब्ने खतरा बढेको छ। अधिकांश व्यवसायीहरुले सहज हुने भएकाले सहकारीबाटै महँगो दरमा ऋण लिएका छन्। उनीहरुले यो दशैंमा पनि सामान बेच्न नपाउने हो भने धेरैले आत्महत्याको बाटो अपनाउन सक्ने र केहिले आत्महत्या समेत गरिसकेको अध्यक्ष कटुवालको दाबी छ। 

चीनबाट बिशेषगरि लुगाफाटा, इलेक्ट्रोनिक्स, ड्राइ फ्रुट र स्याउ आयात हुँदै आएको छ। बर्षदिन देखि कन्टेनरमै सामान अड्किदा ब्याट्री, माछाको प्याकेट जस्ता एक्सपायर मिति हुने सामानहरु बिग्रिने अवस्थामा पुगेका छन्। चीनबाट स्याउ ल्याउने व्यवसायीहरुले कन्टेनर उतै अड्किदा करिब ५० करोडको नोक्सानी ब्योहोरीसकेका छन्। 

ओली सरकारमाथि आँखा चिम्लेर बसेको आरोप 

आफुहरुले पटक पटक बिभिन्न मन्त्रालय, मन्त्री तथा सरोकारवाला निकायमा हारगुहार गर्दा समेत कुनै सुनुवाई नभएकाले अब पनि सुनुवाई नभए असोज १ देखि नै आन्दोलन गर्ने अध्यक्ष कटुवालले बताए। आफुहरुले शुक्रबार मात्रै नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठलाई भेटेर समस्या अवगत गराएको र शनिबार बिहानपनि नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर समस्याबारे जानकारी गराउने उनले बताए। 

काठमाडौंका बिभिन्न स्थानका थोक व्यवसायीहरुले पहिलेदेखि नै चीनबाट सामान ल्याएर बेचेपनि यसलाई व्यवस्थित बनाउने तर्फ नेपाल सरकारको ध्यान कहिलेयै नगएको व्यवसायीहरुको आरोप छ। 

आजका दिनमा पनि चीनले जे भन्छ त्यहि मान्नुपर्ने अवस्था रहेको र अहिलेपनि चीनको एकतर्फी नाकाबन्दी नै भएकाले नेपाल सरकारले बिशेष ध्यान दिनुपर्ने व्यवसायीहरुको माग छ। पछिल्लो बर्षदिनदेखि काठमाडौंमा सहज रुपले सामान ल्याउन नपाउँदा नेपाल सरकारले समेत ठुलो मात्रामा भन्सार गुमाएको छ। 

तातोपानी भन्सार नाका कहिले खुल्छ भन्ने टुंगो नभएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए। उनकाअनुसार उतैबाट सामान आउन नदिईएकाले यसका लागि सरकारको उच्च तहको संवाद गर्नुपर्ने उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved