हार पछिको पत्रकार सम्मलेनमा कप्तान कोहलीले के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 06:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ। बुधवारको हारसँगै विश्वकपको दावेदारमध्येको एक भारतको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ। पराजयपछि भारतीय कप्तान विराट कोहलीले न्यूजिल्याण्डका बलरहरूको प्रंशसा गरेका छन्।

शुरूवाती ४० देखि ४५ मिनेटको समयमा खेलको दिशा परिवर्तन भएको उनको भनाइ छ। कोहलीका अनुसार न्यूजिल्याण्डको शानदार बलिङका कारण भारतीय टोली दबावमा आयो र गल्ती गर्न बाध्य हुन पुग्यो। यद्यपि सबै खेलमा भारतीय टोलीले राम्रो प्रदर्शन गरेको उनको तर्क छ। बुधवारको खेलपछि पत्रकारहरूको जिज्ञासामा कोहलीले भने, "हामी पराजयबाट निराश पक्कै भएका छौँ, तर हाम्रो आत्मविश्वास धरमराएको छैन।"

कप्तान कोहलीले पराजयपछि तत्काल केही भनिहाल्न ठिक नभएको भन्दै पछि बसेर के गल्ती भयो भन्नेबारे समीक्षा गर्नुपर्ने बताए। तर न्यूजिल्याण्डको बलिङको खुलेर प्रशंसा गर्दै उनले भने, "केही प्रहार पक्कै राम्ररा थिएनन्, तर रोहित राम्रो बलमा आउट भए। म पनि राम्रै बलमा आउट भएँ।"

"हामीले पाएको लक्ष्य ठूलो थिएन र हामीले सजिलै भेटाउन सक्छौँ भन्ने हामीलाई लागेको थियो, तर न्यूजिल्याण्डले जसरी बलिङ गर्‍यो त्यसले हामीलाई शुरूका आठ ओभरमा प्रहार गर्ने मौका नै मिलेन।नयाँ बलले उनीहरूले हामीमाथि दबाव सिर्जना गरे। र, यो कुरा स्वीकार्नु कुनै लाजको विषय होइन।" त्यसका बावजुद यसलाई अर्को कोणबाट पनि हेर्नुपर्ने कोहलीको तर्क छ।

उनले भने, "यो टुर्नामेन्टमा हामीले राम्रो प्रदर्शन गरेका छौँ। रोहितले शानदार ब्याटिङ गरे। बुमराह र जडेजाले पनि राम्रो खेले। हामीले शानदार खेलेका छौँ र पूरै मेहनत गरेका छौँ।"

भारतको तीनवटा विकेट गुमिसकेपछि हार्दिक पाण्ड्या र ऋषभ पन्तको काँधमाथि भारतीय टोलीको जिम्मेवारी आइपुगेको थियो। तर ठूलो प्रहार गर्ने प्रयासमा ऋषभ पन्त आउट भए। त्यस बारेको एउटा प्रश्नमा उनको बचाउ गर्दै कोहलीले भने, "ऋषभ स्वाभाविक खेल खेल्छन् र उनले राम्रो साझेदारी गर्ने कोशिश गरे। उनी अहिले युवा छन् र अहिले उनी भएको अवस्थामा मबाट पनि धेरै गल्ती भएका छन्।" उनले थपे, "ऋषभ मात्रै होइन अरूको हकमा पनि खेलमा त्यस्तो हुन सक्छ। उनी मजबुत बनेर निस्किने छन् र उनको प्रतिभा हेर्न पाइनेछ।"

शीर्षस्थ खेलाडीहरू बाहिरिएपछि रवीन्द्र जडेजाले मोर्चा सम्हालेका थिए र उनले ५९ बलमा ७७ रनको योगदान दिए। भारत हारे पनि जडेजाको इनिङको खुब प्रशंसा भइरहेको छ। कप्तान कोहली पनि उनको प्रदर्शनबाट सन्तुष्ट देखिए। कोहलीले भने, "तपाईँहरूले हेर्नुभएकै होला जडेजाले कति जोशका साथ खेले। दबावको स्थितिमा पनि उनले राम्रो साझेदारी गरे।"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved