नेपाल स्टक एक्चेन्ज नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंक Saptakoshi Development Bank Limited र काबेली विकास बैंक Kabeli Bikas Bank Limited को शेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले एक आपसमा मर्ज हुने सम्झौता गरेपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।
शुक्रबार यी दुई कम्पनीबीच मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार २०७६ साउन १ गतेबाट दुवै कम्पनीले संयुक्त कारोबार गर्ने छन् । सम्झौतामा सप्तकोशीका अध्यक्ष तारानाथ निरौला र काबेलीका अध्यक्ष गोपाल प्रसाद काफ्लेले हस्ताक्षर गरेका हुन् ।
मर्जर सम्बन्धि सम्पुर्ण कार्य गर्नका लागि सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक बलराम बरालको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन भएको छ । समितिका अन्य सदस्यमा सप्तकोशी बैंकबाट यज्ञप्रसाद शर्मा र डा अर्जुन बराल तथा काबेली बैंक जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहेका छन् ।
मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक नै हुनेछ। बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ। मर्जपछि बन्ने बैंकको चुक्ता पूँजी ८१ करोड पुग्नेछ । मर्जपछि २८ शाखा सहित यो नै प्रदेश १ को सबै भन्दा ठुलो बैंक बन्ने छ ।
नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी तोकेको छ । उक्त पुनी पुर्याउन बैंकले मर्जपछि हकप्रद र बोनस शेयर वितरण गर्ने बताएको छ ।