Announcement IPO Result



मोहम्मद अज्मत अलि     Dec 20, 2018 | 02:26:26 PM



shivam cement

केहि बाणिज्य बैंकहरुले मुद्दतिको ब्याजदर बढाएपछि अहिले बैंकमा बचत गर्नु उत्तम कि शेयरमा लगानी गर्नु उत्तम भन्ने अघोषित बहस शुरु भएको छ ।   शेयरबजारमा निरन्तर गिरावट आउनुको पछाडी ब्याजदरमा भएको वृद्धि हो भन्ने एकथरी बुझाई रहेको छ  यसै अनुरुप आफ्नो निजि धारणालाई सर्वसम्मत हो भन्ने पार्न केहि समुह जोडबल गरिरहेको भेटिएको छ ।  ब्याजदरमा हुने वृद्धिले शेयरबजारमा हुने लगानीलाई रोक्न नसक्ने भन्ने पनि हैन तर व्याजदर वृद्धिले मात्र शेयरबजारमा हुने लगानीलाई निरुत्साहित पार्छ भन्ने एकोहोरो तर्कसँग पूर्ण सहमत हुन सकिने ठाउँ पनि भेटिन्न ।

बैंक बचत (मुद्दती वा साधारण) र शेयर लगानी अलग-अलग पाटा हुन् ।  बचत र लगानी दुबै मौद्रिक उपकरण हुन् तर यसको उपयोग गर्दा आफ्नो अनुकुलता र सम्भाव्यता पनि हेरिन्छ ।  कस्ता व्यक्तिको लागि बचत र कस्ता व्यक्तिको लागि लगानी (शेयर) भन्ने कुरा व्यक्तिको खुबी र ज्ञानमा भर पर्छ ।

बचत कि लगानी भन्ने बहस चलिरहेको बेला बचत र लगानीको प्रतिफललाई तुलना गरेर हेर्नुपर्ने हुन्छ ।  शेयरबजारमा मूल्य बढ्ने र घट्ने चक्र चलिरहने हुँदा बजारको उचित विश्लेषण गरि त्यसको अवसर उपयोग गर्ने क्षमता भने लगानीकर्तामा हुनुपर्छ ।  यसो गर्दा वर्ष (३६५) दिन मा बैंकले दिने वार्षिक व्याज भन्दा कयौं गुणा बढी हुनसक्छ ।  बैंकले दिने निश्चित व्याज लिनको लागि १ वर्ष (३६५ दिन) को समय पुरा हुनुपर्छ ।  यस हिसाबले बचत भन्दा लगानी (शेयर) कयौं गुणा फाइदाजनक हुनसक्छ ।  शेयर लगानी गर्दा बजारमा हुने मूल्य उतारचढावले किनेको ४ दिनमा नै लाभ दिन सक्ने हुन्छ ।  तर यस्तो संधै हुन्छ भन्ने सुनिश्चितता भने हुन्न ।  यसका अतिरिक्त कम्पनीले वार्षिक रुपमा दिने लाभको पाटो पनि रहेको हुन्छ ।  यद्धपि वार्षिक लाभ सुनिश्चित भने हुन्न ।  तर उच्च सुशासन र हरेक वर्ष नाफा बाँडीरहेका कम्पनीले वार्षिकरुपमा आकर्षक र लोभलाग्दो नाफा बाँडीरहेको सन्दर्भमा शेयर लगानीलाई अस्वीकार गर्न सकिन्न ।  तर कस्तो कम्पनी रोज्ने भन्ने कुरामा भने लगानीकर्ता सचेत र सक्षम हुनु पहिलो शर्त हो ।  कयौं शेयर लगानीकर्ता कम्पनी कस्तो छ भन्ने आफूले बुझ्दै नबुझी जुन पायो त्यहि कम्पनीको शेयर किन्दा भने शेयरले डुबायो भन्दै अरण्यरोदन गरेका भेटिन्छन् ।  खासगरी अर्काको लहैलहमा लगानी गरेका लगानीकर्ताको लागि भने शेयर लगानी भन्दा बचत उपयुक्त हुन्छ ।  शेयर लगानी गरेर घाटा खानु भन्दा थोरै लाभ (प्रतिफल) मा रमाउनेको लागि बचत उपयुक्त विकल्प हो ।

कहिलेसम्म बढ्ला ब्याजदर

धेरैको प्रश्न छ ब्याजदर कहिलेसम्म बढ्छ ? केही बैंकर १० वर्षसम्म पनि दोहोरो अंकको व्याजदर घट्दैन भनेर ठोकुवा जस्तै पनि गरेका भेटिन्छन् ।  तर यतिसमयसम्म बढिरहन्छ र बढ्छ भन्ने ठ्याक्कै हिसाब निकाल्न सकिने कुनै अंकगणित यसको हुन्न ।  १० वर्ष मात्र हैन २० वर्ष पनि जान सक्ला वा एकै वर्षमा  घटेर तल आउन पनि सक्ला यसमा सरकारले खर्च गर्नसक्ने क्षमतामा कति तदारुकता ल्याउला त्यसमा पनि भर पर्छ ।

सुचकको उतारचढाव

स्टक एक्सचेन्जको सूचकमा उतारचढाव आउनु नौलो कुरा हैन र नेप्सेमा आउने उतारचढाव नै समग्र लगानीको आधारशिला पनि हैन ।  केहि सिमित कम्पनीले नेप्सेको सूचकलाई हल्लाउने गर्छ ।  नेप्से सुचकलाई मात्र हेरेर मात्र लगानी गर्नु हुन्न र यसलाई हेरेर नाफा घाटा पनि केलाउन सकिन्न ।  उदाहरणको लागि नेप्से सूचक ११६० को हाराहारीमा आउँदा प्रभू बैंक १८०, जनता १५० भन्दा मुनि, सिभिल बैंक १४० को आसपास आइपुगेको थियो तर यहि सूचक झन्डै ११०० कै छेउमा आइपुग्दा प्रभू बैंकको भाउ २४० बाट तल आउन गाह्रो भएको थियो ।  त्यस्तै जनता र सिभिल पनि क्रमशः १६० र १७० को आसपास रहेको कुरालाइ विर्सनु हुन्न ।  यसबाट के बुझ्नुपर्छ भने सूचकले मूल्यलाई खास असर पर्ने हैन रहेछ ।  बरु मुल्यले सूचकलाइ असर पर्ने रहेछ ।  अहिले नेप्से सूचक घट्नुमा बिगतमा ओभर प्राइसभएका कम्पनीमा आएको गिरावट हो ।  एभरेष्ट बैंक, नेपाल लाइफ, स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्ता कम्पनीको मुल्य अधिक रहेका थिए ।  त्यतिबेला यी कम्पनीका मूल्य अधिक हुनुपर्ने कुनै तात्विक आधार र कारण केहि थियन ।  अहिले त्यही आधार र कारण बिना अधिक रहेको मूल्य घटेर साइजमा आएको मात्र हो ।  तर कम्पनीले गर्ने परिमाणात्मक र गुणात्मक प्रगति हेरेर लगानी गरेका कुनै पनि लगानीकर्ता रित्तो हात हुनुपरेको छैन ।

पूँजी वृद्धिको प्रस्ताव आएपछि लगानीकर्ता सास र गाँसछोडेर हकप्रद र वोनसको पछि लाग्दा अहिलेको स्थिति आएको हो भन्दा फरक पर्दैन ।  यसको मतलव हकप्रद र बोनस गलत हो भन्ने पनि हैन ।  उदाहरणको लागि ४ वर्ष अघि ५० प्रतिशत हकप्रद जारी गरेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बजार मुल्य ५ सय भन्दा माथि थियो पछि झन्डै ७ सयको नजिक पनि पुगेको कम्पनीको आजको दिनमा २३०-२४० को हाराहारीमा कारोबार भइरहँदा पनि यो कम्पनीले साह्रै कम व्यक्तिलाई मात्र केहि घाटा पुर्याएको छ ।  किनकी यसको बजार मूल्य र यसले वार्षिकरुपमा दिएको प्रतिफल मेल खाने किसिमको रहनु नै यसमा कम घाटा देखिनु हो ।  यसबाट पनि अर्थमन्त्री डा. युवराज खतिवडाले कम्पनीको प्रोफाइल हेरेर मात्र लगानी गर्नुसभन्ने कथनको सार्थकता झल्किन्छ ।

कुनै कारण विना मुल्य उचालिएका कम्पनीको शेयर किन्दा जो कोहि पनि फस्न सक्नु स्वाभाविक हो ।  उदाहरणको लागि कुनै बेला ९८ मा झरेको हिमालयन डिस्टिलरीको मुल्य २ हजर भन्दा माथिको मुल्यमा लिनु अघि ५० पल्ट सोच्नुपर्ने हुन्थ्यो त्यस्तै १२० प्रतिशत बोनस शेयर भन्दैमा राष्टिय बिमा कम्पनीको २२ हजार भन्दा माथिको मुल्यमा किन्दा पनि ५० पल्ट सोच्नुपर्ने कम्पनी हो ।  त्यस्तै लघुवित्त कम्पनीको शेयरमा लगानी गर्दा पनि हेर्नुपर्ने मूल्य र आम्दानी अनुपातलाइ हेर्दै नहेरी लघुवित्त हो थोरै शेयर छ बढिहाल्छ वा खेलाडीले बढाउँछन भन्दै आँखा चिम्लेर जतिपनि मुल्य तिर्न तयार हुँदाको परिणाम अहिले बजारमा देखिएको छ ।  यसरी अमूर्त खेलाडीको भरमा परेर लगानी गर्दा फसिएको पत्तो हुन्न ।  त्यस्तै साधारणसभा नै बेलामा नगर्ने राष्ट्रिय बिमा कम्पनी जस्ता सुशासन नै नभएका कम्पनीमा लगानी हाल्दा हुने हानि नोक्सानी आफुले नै आफैले नबेहोरे कसले बेहोर्छ त ? सुशासन नभएका र मूल्य आम्दानी अनुपात अधिक भएका कम्पनीमा गरिएको लगानी भनेको आफैले सिर्जना गरेको समस्या हुने हुँदा यस्ता कम्पनीबाट हुने हानि-नोक्सानी आफ्नै हुन्छ ।

त्यस्तै बिमा कम्पनीका भाउ पनि सुन्निएर मोटाएका छन् ।  यिनको भाउमा भएको वृद्धि पनि अस्वाभाविक हुँदाहुँदै पनि आफुखुशी हकप्रद र बोनसघोषणा गर्दै अब यति पुग्छ उति पुग्छभन्दै आफुले मात्र हैन आफ्ना आफन्तलाइ समेत भोलि किन्न नपाइएला झैँ गरि किनाएका पनि यही बजारमा पर्याप्त छन ।  अहिले पनि सगरमाथा र प्रिमियर इन्सुरेन्सको ७० प्रतिशत बोनस आउँछ भन्दै किन्नेको लर्को देखिन्छ ।  भनिए जति नै बोनस आउने कुरा पनि पक्कापक्की छ तर त्यसपछि हुने मूल्य समायोजनको पाटो अनि ७० प्रतिशतको अधिक पूँजी वृद्धि पश्चात तत्काल कम्पनीले परिमाणात्मक आम्दानी बढाउन त सक्ला तर गुणात्मक (प्रतिशेयर आम्दानी) के हुन्छ भन्ने कुराको हेक्का नहुँदा बजारमा गिरावट देखिन्छ भन्ने कुरा चार्टड र एभरेष्ट बैंकले राम्रैसँग उदाहरण पेश गरिसकेका छन् ।  चार्टड बैंकको शतप्रतिशत बोनसको पछि लाग्नेको जुन दुर्गति अहिले देखिएको छ त्यहि दुर्गति अब माथि उल्लेखित कम्पनीको शेयर किन्नेको हुने दिन आउन धेर पर्खनु नपर्ला ।  

जलविद्युतका कुरा

सबै जलविद्युत कम्पनीलाई चिलिमेको वर्गमा राख्दा र बढी महत्वाकांक्षी बन्दा चिलिमेको जस्तो केहि पनि नपाएपछी त्यसप्रतिको मोह घट्दा मुल्य पनि त्यसैगरी घट्न पुगेको छ ।  कतिपय जलविद्युत कम्पनी सरकार (नेपाल विद्युत प्राधिकरण) को कारण शिकार भएका छन् ।  उदाहरणको लागि सिनर्जी पावरको नाजुक स्थिति देखिनुमा सरकारले बेलामा प्रसारण लाइन निर्माण नगरिदिनु हो ।  यस्तै पिडा खानीखोलाले पनि भोगेको छ ।  अरुण कावेली पनि प्रसारण लाइनको पिडामा परिसकेको छ ।  यस्ता पिडा त कति आयोजनाले भोग्ने हुन् त्यो हेर्न बाँकी छ ।  त्यस्तै रेटिंग ५ पाएको आंखुखोला जलविद्युत कम्पनीमा भीडभाड गरि शेयर आवेदन गरेका लगानीकर्ताको पनि देखिएको छ ।  पहिलो कारोबार दायरा न्यूनतम ६८ देखि २ सय ६ पाएको कम्पनीको पहिलो मूल्य १ सय ३८ मा भएको छ ।  सरकारले गठन गरेको समितिले यस्ता कम्पनी (न्यून रेटिंग) लाई प्राथमिक निष्कासनमा रोक लगाउनु पर्ने रहेको छ ।  यस्तो सुझावको कुनै औचित्य थिएन किनकि धितोपत्र वोर्डले यस्ता कम्पनीको सबै शेयर प्रत्याभूत गराउनुपर्ने नीतिगत व्यवस्था गरेको हुँदा लगानी गर्नेले आफैले कुन कम्पनीको शेयर किन्न हुने र नहुने भनेर विवेक राख्नुपर्ने दायित्व आफ्नै हुन्छ ।  लगानीकर्ताका नेता हौँ भन्नेले नै आईपीओमा कहिल्यै घाटा हुन्न भन्दै सार्वजनिक अभिव्यक्ति दिएर हिंड्छन भने रोक्ने चाहिँ धितोपत्र वोर्डले अलि हास्यास्पद तर्क भएन र ?

तरलताको कुरा

अहिले केहि बैंकले ब्याज बढाएका छन् ।  यसको कारण बाहिर हल्ला चलाए जस्तो तरलता संकट हुँदै हैन ।  तरलताको वास्तविक संकट त्यति बेला आउँछ जतिबेला बचतकर्ताले बैंकबाट आफ्नो बचत समेत फिर्ता पाउन निवेदन हालेर आफ्नो पालो आउने दिन कुर्नुपर्छ ।  तर अहिले पनि बचतकर्ताले आफ्नो बचत रकम जतिबेला मन लाग्यो त्यतिबेला सहजै र सजिलै झिक्न पाएको अवस्था छ ।  यस्तो अवस्थालाई तरलता संकट भन्न मिल्दैन ।  जनता, कुमारी मेगा लगायत बैंकले १३ प्रतिशत व्याजदरमा लिएको मुद्दतीले कति रकम लिन सक्लान भन्ने अर्को पाटो छँदैछ  त्यस्तै यति महँगो व्याजदरमा स्वयम लिने (बैंक) ले पनि धेरै रकम लिन लालायित पनि हुने छैनन् ।  ब्याज बढाई हाल्नु पर्ने मूल कारणको रुप यही हो नभने पनि केन्द्रीय बैंकले संस्थागत निक्षेपलाई घटाएर व्यक्तिगत निक्षेप बढाउन पर्ने एउटा कारण पनि हुनसक्छ भने अर्को कारणको रुपमा प्रतिवद्धता जनाएको कर्जा प्रवाहको लागि रकम अभाव हुँदा त्यस्तो कर्जाको लागि पनि तत्काल रकम जोहो गर्ने व्याज बढाएको हुनसक्छ ।  यसबाहेक कुनै कर्जा तालिका अनुसार कर्जा नउठेका कारण कर्जा निक्षेप अनुपात मिलाउने प्रयोजनको लागि पनि यस्तो भएको हुनसक्छ ।  अलिकति बढेको ब्याजले समग्र निक्षेपको व्याजदरमा कति भार पर्ला यसबारेमा पनि सचेत हुनुपर्छ ।  उदाहरणको लागि ५० अर्ब निक्षेप भएको बैंकले १३ प्रतिशतमा कति रकम लेला ? एउटा सामान्य अनुमान गरि हेरौं ।  सम्भवत बढीमा १ अर्ब लेला ।  साविकको ५० अर्बको औसत व्याजदर १० प्रतिशत रहेछ भने त्यसको वार्षिक व्याज खर्च ५ अर्ब हुन्छ र पछिल्लो थपिएको १ अर्बको १३ करोड ब्याज थपिँदा ५ अर्ब १३ करोड हुन्छ ।  ५ अर्ब व्याज खर्च गरिरहेको बैंकलाई १३ करोड (वास्तविक ३ करोड) थपिँदा आकाश खसिहाल्दैन भनेर पनि बुझ्न जरुरी हुन्छ ।   

लगानीका लागि केहि कम्पनी

अहिले नेप्सेमा सुचिकृत कम्पनीको बजार भाउ र तिनले घोषणा गरेको वार्षिक प्रतिफललाइ हेर्ने हो भने मुद्दतीको ब्याज भन्दा बढी लाभ आर्जन हुने देखिएको छ ।  अहिले बढेको मुद्दती ब्याज पानीको फोकाजस्तै भएको हुँदा सामान्य अवस्थामा पाइने मुद्दती व्याजलाई आधार मान्ने हो भने अहिले शेयर लगानीमा पाइने लाभको अंक बढी रहेको देख्न सकिनछ ।  हामीले अस्वाभाविक समयको व्याज भन्दा पनि सामान्य समयको व्याजलाई बढी भार दिनुपर्छ ।  यस्ता असामान्य किसिमका व्याजदरको टिकाउपन र दीर्घकालीनता अत्यन्त छोटो हुने हुँदा दीर्घकालीनरुपमा पाइने प्रतिफलले बढी लाभ दिन्छ ।  अहिलको बजार मूल्य अनुसार केहि कम्पनीको वार्षिक प्रतिफल लाभ तालिकामा प्रस्तुत गरिएको छ ।  यहाँ प्रस्तुत गरिएको बाहेक अरु कम्पनीको लाभ खै भन्ने प्रश्न पनि आउन सकछ यी त केहि नमुना मात्र पेश गरिएको हो ।  सरदर ५ प्रतिशत वार्षिक लाभ भएका कम्पनी शेयरबजारमा हुनु भेनेको सुरक्षित लगानी मान्नुपर्छ भन्ने मान्य अवधारणा रहेको पाइन्छ ।  नेपालको सन्दर्भमा भने व्याज दर अलि बढी हुने (बेला बेलामा) कारणले व्याजदर बढी छ भन्ने तर्क तेर्स्याएर झुटो सावित गर्ने प्रयास गरिन्छ ।

कम्पनी

बजार मूल्य (रु.)

घोषित लाभ (नगद र बोनस (प्रतिशत)

वार्षिक प्रतिफल (प्रतिशत)

कैलाश विकास बैंक

२३९

१७

७.११

गण्डकी विकास बैंक

१९९

१४.२

७.१३

नेपाल बंगलादेश बैंक

१९८

१०.५३

५.३१

नेपाल इन्भेष्टमेन्ट बैंक

६६४

४०

६.०२

एनएमवि बैंक

३८०

३०

७.८९

नेपाल टेलिकम

७८५

५५

७.००

सांग्रिला डेभलपमेन्ट बैंक

१४२

९.३

६.५४

सहयोगी विकास बैंक

१९८

१७

८.५८

बजार भाउ पौष ४ गतेको अन्तिम मूल्यमा आधारित

ब्याजमा कसलाई फाइदा 

अहिले बढेको (सिमित समय) व्याजदरमा बचत गर्न तत्काल जाने हो भने सम्भवत बैंकले अहिले त्यो योजना बन्द भइसकेको भन्न पनि सक्छन किनकि लक्षित रकम प्राप्त भइसकेको हुनसक्छ ।  किनकि यस्तो बढेको व्याजमा लिने रकमको सिमा पहिले नै तोकिएको हुन्छ ।  बैंकको यस्ता योजनामा सहभागी हुन् जाने व्यक्ति भनेका अरु कतैतिर केहि थाहा नपाएका व्यक्ति मात्र हुन्छन् ।  कुनै व्यक्तिले कुनै स्रोत (उपदान, जग्गा बिक्री वा यस्तै कुनै अन्य) बाट मानौ १० लाख रु. पाप्त गरेको रहेछ भने उसको लागि त्यो रकम कसरी जोगाउने भन्ने मात्र चिन्ता हुन्छ ।  व्यापार गरौ आइडिया छैन र पुग्दा पनि पुग्दैन अनि शेयर बजारमा जाउँ भने पनि आफुलाई ज्ञान छैन अर्काको लहलहमा लाग्न पनि मन भएन भने यस्ता व्यक्तिको लागि भने यस्ता बचत योजना हितकारी हुन्छ ।  तर उल्लेखित रकम भएका व्यक्तिलाई शेयरबजारको राम्रो ज्ञान छ भने ३६५ दिनमा पाइने १२ प्रतिशत व्याज भन्दा उस्तै परे बढीमा दुई हप्तामा  १५ प्रतिशत भन्दा बढी लाभ पाइने शेयरबजार उपयुक्त हुन्छ ।  लगानी र बचत भनेका एकै हुनसक्दैन ।  लगानीमा विस्तारै नाफा बढ्दैजान्छ भन्ने बचतमा पाइने लाभ (व्याज) निश्चित र जुनसुकै बेला घट्न पनि सक्छ ।  त्यसैले क्षणिक व्याजदर वृद्धिले लगानीमा जस्तो दीर्घकालीन लाभ दिन सक्दैन ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief












Close in 7