Announcement IPO Result Cricket Worldcup



मोहम्मद अज्मत अलि     Jan 16, 2019 | 10:12:35 AM



shivam cement

बहुचर्चित र प्रतिक्षित माथिल्लो तामाकोशी आयोजनाको शेयर नेपाल स्टक एक्सचेन्जमा विधिवत सूचीकरण भएर कारोबारमा आएको छ | राष्ट्रिय गौरबको आयोजनाको ‘बिल्ला’ भिराइएको यस आयोजनाले कहिले विद्युत उत्पादन गर्छ भन्ने कुरा ‘भगवान’ लाई थाहा नहोला तर आयोजना व्यवस्थापन पक्ष भने आगामी २०७६ कार्तिकबाट व्यवसायिक उत्पादन गर्ने तालिका अगाडी सारेको छ | 

यस अघि आगामी २०७६ आषाढ मसान्तको कार्यतालिका सार्वजनिक गरेको थियो | हुनत यस आयोजानाले गत २०७२ साल आषाढमा नै व्यवसायिक उत्पादन गरिसक्नुपर्ने थियो | तर २०७२ सालको प्रारम्भ हुनासाथ बैशाख १२ र १३ गते तथा २९ गते आएको शक्तिशाली भूकम्पले दोलखालाई क्षतविक्षत पारेपछि आयोजाना पनि प्रभावित भएको थियो | भूकम्पले आयोजनाको संरचनामा खासै क्षति नपुर्याएको भए पनि प्रवेश मार्गमा पुगेको क्षतिको कारण केहि समय निर्माण कार्यमा रोकावट आएको थियो | तर यस घटनालाई ‘पहाड’ बनाएर लामोसमयसम्म निर्माण कार्य अगाडी बढाईएन | आयोजनाको लागतमा नसोचेको वृद्धि हुनपुग्यो जुन अपेक्षित नै थियो भन्दा अतिशयोक्ति हुन्न |

आयोजनाको क्षमता

नर्वेजियन परामर्शदाता नोर कन्सल्ट एएसले गरेको अध्ययनमा ३०९ मेगावाटको प्रस्तावलाई स्तरवृद्धि गर्दै वर्षातको बेला अरु २ वटा युनिट मार्फत ४५६ मेगावाट बनाउन सकिने प्रतिवेदन दियो | यसमा संरचनाहरु सबै ३०९ मेगावाटकोले नै धान्न सक्ने प्रस्ताव गरिएको थियो |  यसो गर्दा लागतमा थोरै परिवर्तन बाहेक अरु प्राविधिक पक्षमा कुनै थपघट थिएन |

आयोजनाको बाँधस्थलबाट पूर्वतर्फ गौरीशंकर हिमालको फेदीबाट आउने रोल्वालिंग (रिगु) खोलाको पानीलाई फर्काएर त्यसलाई बाँधस्थलमा ल्याउने र १६ करोड थप युनिट विद्युत उत्पादन गर्ने भनिएको छ |  उक्त १६ करोड युनिट विद्युत पानी फर्काएर बाँधस्थलसम्म ल्याउँदा प्राप्त हुने १८० मिटरको हेडबाट २२ मेगावाटसम्म उत्पादन हुने रोल्वालिंग आयोजनाको हो कि मूल आयोजना (तामाकोशी) को हो कुनै पनि दस्तावेजले प्रष्ट पारेको देखिन्न/भेटिन्न |

रोल्वालिंग खोलाको पानी मात्र उपयोग गरिने भन्ने आधारमा यो भनिएको १६ करोड युनिट मूल आयोजनाकै हो कि भन्ने अनुमानसम्म लगाउन सकिन्छ | रोल्वालिंगको पानी फर्काउने योजनासँगसँगै यसलाइ मूल जलाशयमा ल्याउँदा प्राप्त हुने हेड राम्रै रहेकोले यसमा एउटा छुट्टै आयोजना निर्माण गर्दा स्रोतको उपयोग हुने हुँदा अपर तामाकोशी हाइड्रोपावर कम्पनीले २०७४ भाद्र २१ गते विद्युत विकास बिभागबाट विद्युत सर्वेक्षण अनुमति दिएको देखिन्छ यसको अवधि २०७६ भाद्र २० गतेसम्म वहाल रहने उल्लेख गरिएको छ | यो नयाँ आयोजना बनाए सरह नै हुनेछ | यसबाट २२ मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ | चालु आयोजना (तामाकोशी) नै तोकिएको अवधि सकिँदा पनि पुरा हुन नसकेको हुँदा रोल्वालिंग आयोजना कहिले शुरु हुन्छ र पुरा हुन्छ भन्ने कुरा भविष्यको गर्भमा छ र यसको भविष्यवाणी गर्न साक्षात ‘इश्वर’ ले सक्दैनन् | रोल्वालिंग समेत जोड्दा यसको क्षमता ४७८ मेगावाट हुने देखिन्छ | मूल आयोजनाबाट (रोल्वालिंगको पानी मिसाएपछि) ४५६ मेगावाट र विद्युत शक्ति २४४ करोड युनिट हुने अनुमान गर्न सकिन्छ |

रोल्वालिंग खोलामा निर्माण हुने २२ मेगावाट आयोजनाबाट सरदर १० देखि १२ करोड युनिट विद्युत प्राप्त हुने अनुमान अनुसार कुल २५४ करोड युनिट विद्युत शक्ति प्राप्त हुने अनुमान गर्न सकिन्छ | यसबाट १० अर्व ६२ करोड कुल बिक्री आम्दानी हुने अनुमान गर्न सकिन्छ | यस सम्बन्धमा छुट्टै सविस्तार चर्चा गरिनेछ |

लागत कति ? 

शुरुमा यसको लागत ३५ अर्व भएको सबैभन्दा सस्तो भनेर प्रचार गरियो | यसमा निर्माण अवधिको व्याज जोडिएको थिएन | व्याज समेत ४१ अर्व लागत पर्ने गरी आयोजना अघि बढाइयो | तर यसको वास्तविकता भने अर्कै थियो | नर्वेजियनले त्यतिबेलै यसको लागत निर्माण अवधिको व्याज समेत ५० अर्व आंकलन गरिसकेको थियो तर नेपाली वित्त र प्राविधिक विश्लेषकले यसको लागत निर्माण अवधिको व्याज बाहेक ३५ अर्व र व्याजसहित ४१ अरव बनाएका थिए भनिन्छ |

नर्वेजियनले ५० अर्व (व्याज सहित) लाग्ने भनिएको आयोजनाको लागत किन र के आधारमा ४१ अर्ब भन्दै सस्तोको प्रचार गरियो कोहि कसैले बताउन सकेको छैन | अहिले मूल आयोजनाको लागत कम्पनीले नै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार करिब ५० अर्व रहेको छ | यसमा निर्माण अवधिको व्याज जोडिएको छैन | सम्बत २०७३/७४ सम्ममा व्याज रकम बापत १० अर्ब भन्दा बढी रकम पूँजीकरण हुँदै आएको छ | ५० अर्व भनेर गरिएको पछिल्लो संशोधन अघि नै व्याज रकम १० अर्व पुगिसकेको हुँदा यसमा उक्त रकम र त्यसपछि थपिएको अर्को त्यति नै व्याज मान्ने हो भने २० अर्ब व्याज रकम नै भइसकेको अनुमान गर्दा झुटो ठहरिन्न |

यस हिसाबले यसको लागत ७० अर्व नाघिसकेको सहजै अनुमान गर्न सकिन्छ | कम्पनीले गरेको संशोधित निर्माण तालिका अनुसार आगामी वर्ष २०७६ कार्तिकबाट सम्भवत ४ वटा युनिटबाट ३०६ मेगावाट विद्युत उत्पादन हुनेछ | तर यतिबेलासम्म रोल्वालिंगको पानी आई नसक्ने हुँदा ३०६ मेगावाट नै उत्पादन हुने छैन | त्यो अंक कति हुनेछ आयोजनाले सार्वजनिक गरेको छैन | निर्माण कार्य सम्पन्न हुन झन्डै अझ १ वर्ष बाँकी रहेको हुँदा वार्षिक व्याज अंक बढ्दै जाने देखिन्छ |

अहिलेसम्म २० अर्व व्याज खर्च देखिईसकेको हुँदा आगामी एक वर्षमा औसत ६ अर्व व्याज बढ्ने अनुमान गर्दा २६ अर्व हुने अनुमान गर्नसकिन्छ र कुल लागत ७६ अर्व पुग्ने देखिन्छ | तर आयोजनालाई नजिकबाट नियालिरहेका जानकारको भनाई अनुसार यस आयोजनाको लागत १ खर्वको हाराहारीमा पुग्ने अनुमान गरेका छन् | यो अनुमानलाई सतही भनिहाल्न सकिने अवस्था पनि देखिन्न् | आगामी कार्तिकमा आयोजनाले व्यवसायिक उत्पादन गर्छ भन्नेमा सहमत हुनेको संख्या कम छ |

यसका केही आधारहरुमा हाइड्रो मेकानिकल उपकरण मध्येको पेनस्टक पाइप अहिलेसम्म गोंगर (विद्युत गृहस्थल) पुग्न सकेका छैनन | पेनस्टक पाइप बोकेका मालवाहक साधन अहिले पनि सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा रहको सुनकोशी विद्युत केद्रमा थन्केका छन् | खाडीचौर-चरिकोट (दोलखा सदरमुकाम) ५२ किमी खण्ड मर्मत सुधारको लागि भत्काइएका कारण ३.६ मिटर व्यासका पेनस्टक पाइप ढुवानीमा कठिनाई रहेको छ | कम्पनीले वार्षिक प्रतिवेदन २०७३/७४ मा यस सम्बन्धमा यस्तो लेखेको छ-   

समस्याको कारण

सडक विभागले सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको सडक सुदृढीकरण कार्य गरिरहको तथा गत वर्षायाममा वर्षाले गर्दा उक्त सडकको धेरै खण्डहरुमा खाल्डाखुल्डी बढ्नु र सडक साँघुरो हुन जानु जस्ता कारणले गर्दा ठूला भारी सवारी सामानहरु विशेष गरि पेनस्टक पाइप (३.६ मि. व्यास) ढुवानी गर्न कठिनाई भइरहेको छ | उक्त सुदृढीकरण कार्यको जिम्मा लिएका ठेकेदारहरुले सुदृढीकरण कार्य बन्द गरेकोले थप चुनौती थपिएको छ |

समस्या समाधान गर्न गरिएका प्रयासहरु

पेनस्टक पाइपहरु सुनकोशी विद्युत गृह परिसरमा अस्थायीरुपमा भण्डारण गरिएको छ भने ठेकेदारहरुलाई ति पाइप ढुवानी गर्न सक्षम र अनुभवी ढुवानीकर्ता नियुक्त गर्न निर्देशन गरिएको छ | साथै उक्त पेनस्टक ढुवानी गर्ने क्रममा सडकमा भएका खाल्डाखुल्डीहरु सम्याईदिन र अन्य आवश्यक समन्वय गरिदिन सडक बिभागलाई विशेष अनुरोध गरिएको छ | राष्ट्रिय गौरवको यस आयोजनाको निर्माण कार्य सुचारु संचालनको लागि आगामी वर्षातयाममा समेत निर्वाध सवारी आवागमन गराउन सम्वन्धित निकायलाई अनुरोध समेत गरिनेछ |

कम्पनी आफैले गतवर्ष २०७३/७४ मा लेखेको यो विवरणमा तात्त्विक परिवर्तन आएको देखिन्न | खाडीचौरदेखि चरिकोटसम्मको २६ किमी उकालो र २६ किमी ओरालो बाटोको दुरावस्था छ | सामान्य मालवाहक सवारी पनि सहज आवतजावत गर्न सक्ने अवस्थामा छैन | यात्रुवाहकलाई पनि यो बाटो छिचोल्न घन्टौ लाग्छ | पेनस्टक बोकेका भारी सवारीहरु अहिले पनि यो खण्डमा जताततै देख्न सकिन्छ | १ हजार मिटर पेनस्टक पाइप मध्ये मध्ये २ सय मि. मात्र आयोजनास्थल पुगेका छन् |

क्रमशः

(शेयरबजार जानकार तथा अधिबक्ता ज्योति दाहालसंगको सहयोगमा तयार पारिएको )



Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief












Close in 7