Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि     Jan 23, 2019 | 07:02:17 PM



united ciment ruslan ruslan

अगिल्लो हप्ता (२०७५ पौष २९) आइतबारदेखि माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर कारोबार खुलेपछि यसका बारेमा बिभिन्न टिका टिप्पणी शुरु भएको छ| व्यापारिक उत्पादनको मिति नै अनिश्चित रहेको आयोजाना प्रवर्द्धक कम्पनीले आगामी वर्ष २०७६/७७ मा लाभांश दिन अधययन गर्न उपसमिति गठन गरेको समाचारले राम्रै स्थान समेत पायो र सेयरधनीहरुमा भ्रम फैलाउन एकहदसम्म सफल पनि भए। 

तर यससम्बन्धमा बिजपाटी डटकमले आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठको आधिकारिक भनाई सहित 'तामाकोशीको सेयरमा व्यापक चलखेल, लाभांसको बिषयमा 'उपसमिति गठन' हल्ला मात्रै' भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो।   

आइतवार (२०७५ माघ ६ गते) नेपालको शेयरबजारको अहिलेसम्मको इतिहासमा एकै दिनमा १३ हजार भन्दा बढी पटक कारोबार (किनबेच) भएर नयाँ अभिलेख राख्यो | ७ लाख भन्दा बढी कित्ता एकै दिन कारोबार भएको अभिलेख राख्ने श्रेय पनि यसलाई जान्छ |

अघिल्लो हप्ता 'तामाकोशी आयोजना: राज्यलाई फाइदैफाइदा, सेयरधनीलाई ?' शिर्षकमा लेखिएको समाचारमा तामाकोशीको क्षमता र लागत बारेमा चर्चा गरिएको थियो | आजको अंकमा अन्य विविध पक्षमा चर्चा गरिनेछ | यी पछिल्ला चर्चा गरिने विषय बुझ्नलाई उक्त अघिल्लो अंकमा चर्चा गरिएका प्रसँग बुझ्नुपर्ने हुन्छ| अघिल्लो अंक यहाँ क्लिक गरि पढ्न सकिन्छ| अब बाँकी प्रसँगमा प्रवेश गरौँ |

बिजुलीका केहि शब्दसँग चिनजान

केहि समय अघि शेयरबजारका नेताहरुले १८ करोड प्रतिमेगावाट भन्दा बढी लागत भएको जलविद्युत कम्पनीलाई शेयर जारी गर्न रोक लगाउने हास्यास्पद माग राखेर विभिन्न निकाय धाएर जग हसाए। त्यस्तै रेटिंगमा ५ अंक पाएका कम्पनीलाई पनि यस्तै रोक लगाउन अर्को हास्यास्पद माग पनि राखेका थिए र नेपाल धितोपत्र वोर्डले पनि साक्षी किनारामा सहि छाप गरेर अहिले सोहि बमोजिम निर्देशन दिएको छ | रेटिंगको बारेमा छुट्टै चर्चा कुनै समयमा गर्दै गरौला तर अहिले मेगावाटकै विषयमा केन्द्रित हौँ | 

मेगावाटको कुरा गरिहाल्नु अघि विद्युत क्षेत्रमा सुनिने वाट, किलोवाट र युनिटसँग सामान्य चिनजान गरौँ | ‘वाट’ भनेको उपयोग गरिने १, २०, १ सय, वा १ हजार वाट विद्युत शक्ति हो | हरेक विद्युतीय उपकरणमा कति वाट क्षमता खपत गर्छ लेखिएको हुन्छ | भात पकाउने राइस कुकरको क्षमता १ हजार वाट, आइरनको ७ सय ५० वाट, हिटरको २ हजार वाट हुनसक्छ | विद्युतीय उपकरणको  क्षमताको मापन गर्ने वाट सानो इकाई हो | वाट-वाट मिलेर किलोवाट बन्छ | १ हजार वाटको १ किलोवाट हुन्छ | १ हजार किलोवाटको १ मेगावाट हुन्छ | १ मेगावाट भनेको १ हजार किलोवाट हो | कुनै आयोजनाको क्षमता ६० मेगावाट छ भने यसलाई ६० हजार किलोवाट पनि भनेर व्यक्त गर्ने गरिन्छ | यसै सन्दर्भमा तामाकोशीको क्षमता ४ सय ५६ लाई ४ लाख ५६ हजार किलोवाट पनि भन्न सकिन्छ | प्रचलनमा दुवै रहेको छ |

किलोवाट र मेगावाटको कुरा बुझेपछि अब युनिटको बारेमा संक्षेपमा बुझौं | १ किलोवाट (१ हजार वाट) बिजुली लगातार १ घण्टा खपत गर्दा (बाल्दा) १ युनिट गणना हुन्छ | सुत्रमा वाट×समय (घण्टा) ÷१ हजार वाट विधिबाट युनिट निकाल्न सकिन्छ | उदाहरणको लागि ५ सय वाट बिजुली आधा घण्टा बालियो वा उपयोग गरियो भने सुत्र अनुसार ५००×०.५ (घन्टामा रुपान्तरण गरिएको) ÷१०००=०.२५ युनिट हुन्छ | अझ सजिलो बनाउँदा १ हजार वाट (१ किलोवाट) बिजुली १ घण्टा लगातार बाल्दा वा उपयोग गर्दा १ युनिट खपत हुन्छ | यसको तिर्नुपने मूल्य बिजुलीको मिटरको क्षमता अनुसार फरक हुनसक्छ | सामान्यतया १ युनिट बिजुलीको १२ रुपैयाँ तिर्नुपर्छ | अहिलेलाई युनिटको कुरा पनि यतिमा बिसाएर सामान्य हिसाब गर्दा १ मेगावाट आयोजनाले १ हजार युनिट दिने रहेछ भन्ने कुरा मनमा लिनसकिन्छ तर वास्तविकता भने यस्तो हुन्न | वास्तविकताको चर्चा छुट्टै गरौला |

हाई ! मेगावाट हेल्लो ! मेगावाट

विद्युत आयोजनाको मापन मेगावाटमा गरिए पनि तर यसबाट उत्पादन हुने बिजुली खरिद-बिक्रीको मापन गर्ने इकाई भने युनिट हो | जुनसुकै आयोजनाबाट उत्पादन हुने विजुली खरिद गर्ने एक मात्र निकाय नेपाल विद्युत प्राधिकरणले मेगावाट हैन युनिट खरिद गर्छ | मेगावाट सामान्य हो भने युनिट विशेष हो  विद्युत आयोजनाको क्षमतालाई मेगावाटमा भन्दा युनिटमा बुझ्नुपर्छ | हामीले बजारबाट किन्ने सबै चिज जोखेर किन्छौ तर तौलमा आएको सबै चिज खानको लागि उपयोगी हुन्न | केहि न केहि त्यसको फाल्नुपर्छ | जस्तै मेवा नामक फल लगभग ९५ प्रतिशत उपभोग्य हुन्छ तर सबै चिजवस्तु यस्तै हुन्न | भोगटे नामक अर्को फलको उपभोग्यता ५० प्रतिशत पनि नहुन सक्छ | मेगावाट ठ्याक्कै यस्तै कुरा हो | जति मेगावाट भनिन्छ त्यति नै प्राप्त हुन्न | मेगावाटबाट युनिट हिसाब झिक्ने भनेको भोगटेबाट बोक्रा छोडाएर भित्रको अमिलो निकाले जस्तै हो | तामाकोशी लगायत जुनसुकै आयोजनाको क्षमतालाई मेगावाट वा किलोवाट जेमा व्यक्त गरिए पनि त्यो भनेको सामान किन्दा किलो/धार्नी भने जस्तै हो | मेगावाटमा व्यक्त गरिए पनि मुख्य कुरा भनेको युनिट हो | विद्युत खरिद बिक्रीको सम्झौता गर्दा वार्षिक यति युनिट दिने/लिने भन्ने शर्त हुन्छ | मेगावाट भन्ने कुनै शब्द हुन्न |

हिउँद र वर्खा

आयोजनाले बाह्रै महिना एकै दरमा विद्युत उत्पादन पनि गर्न सक्दैन सामान्यतया वर्षको ४ महिना एकै दरमा उत्पादन गर्नसक्छ तर यसलाई जलाधार क्षेत्रले प्रभाव पार्छ | विद्युत उत्पादन तालिकामा प्रत्येक महिनाको युनिट उल्लेख गरिएको हुन्छ | आयोजनाबाट उत्पादन भएको विद्युतलाई हिउँद र वर्षा गरि दुइ भागमा विभक्त गरेर खरिद बिक्रीको दरभाउ तय गरिएको हुन्छ | बैशाखदेखि मंगसिरसम्मको ८ महिनालाई वर्षा र पौषदेखी चैत्रसम्मको ४ महिनालाई हिउँद मानिएको छ |

विजुली खरीद दर र अवधि 

माथि हिउँद र वर्खामा बिजुली खरिद गर्दा दुइ थरि दरभाउमा गरिन्छ भनिए पनि तामाकोशीमा यस्तो सम्झौता भएको छैन | तामाकोशीले उत्पादन गर्ने सबै बिजुलीको खरिद दरभाउ बाह्रै महिना एकै रहेको छ | अन्य आयोजनामा जस्तो हामीले जानी बुझि आएको हिउँद र वर्खाको ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसाको खरिद बिक्रि दरभाउ यसमा छैन | यसले उत्पादन गर्ने सबै बिजुली एकै दरभाउमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ | यसको खरिद दर व्यवसायिक उत्पादन मिति (RCOD-Required Commercial Operation Date) देखि ४ रुपैयाँ ६ पैसा रहेको छ | यहि आधार दर (४ रुपैयाँ ६ पैसा) मा प्रत्येक वर्ष ३ प्रतिशतका दरले ९ पटक मूल्य वृद्धि प्राप्त गर्नेछ |

कम्पनीले उत्पादन अनुमतिपत्र २०६७ साल मंगसिर १७ गते प्राप्त गरेको थियो र २१०२ मंगसिर १६ गतेसम्म बहाल रहनेछ | अनुमतिपत्र पाएको हिसाबले आयोजनाको व्यवसायिक उत्पादन मिति २०७२ साल आषाढ मसान्त हो | तर सोहि साल गएको भूकम्पले कावु बाहिरको परिस्थिति सिर्जना गरेकोले व्यवसायिक उत्पादनको मिति संशोधन भएर २०७५ साल पौष मसान्त तोकिए पनि त्यो समय पनि गुज्रिसकेको छ | अब आगामी २०७६ कार्तिक मसान्त तोकिएको छ |

कम्पनीले प्रकाशन गरेको विवरणपत्रमा आयोजनाको बाँकी अवधि २७ वर्ष मात्र रहेको उल्लेख गरेको छ | २०७६ साल कार्तिक महिनामा व्यवसायिक उत्पादन गरेमा समयावधि अझ १ वर्ष घटी हुनेछ अर्थात २६ वर्ष मात्र हुनेछ | तर यसमा भूकम्पले पारेको काबुबाहिरको परिस्थितिलाई घटाउन सकिने ठाउँ रहेको र त्यसमा अन्य अवस्था समेत गरि थप एक वर्ष सहित २ वर्ष अवधिलाई काबुबाहिरको परिस्थिति मानिएमा आयोजनाको अवधि २८ वर्ष कायम हुनेछ | आयोजनाको अवधि ३० वर्ष नै कायम नहुने स्थितिमा भने यसले पाउने वार्षिक मूल्य वृद्धिमा पनि असर पर्नेछ | २८ वर्ष कायम भएमा कम्पनीले ९ पटक पाउने मूल्य वृद्धि ७ पटक मात्र प्राप्त गर्नेछ | यसो हुँदा कम्पनीले प्राप्त गर्ने २ वर्षको आम्दानी गुम्नेछ | यो कम्पनीको लागि ठूलो घाटा हो | त्यस्तै २ पटक पाइने मूल्य वृद्धि पनि नपाउँदा आम्दानीमा प्रभाव पार्नेछ | त्यस्तै आयोजनाको अवधि घट्दा पाइने १० वर्षसम्मको आयकर छूट पनि पाइने छैन |

क्रमशः

(शेयरबजार जानकार तथा अधिबक्ता ज्योति दाहालसंगको सहयोगमा तयार पारिएको )


Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि

Bizpati Admin












Close in 7