Announcement IPO Result Cricket Worldcup



निरोज कुमार थापा     Jan 29, 2019 | 12:10:09 PM



shivam cement

सन् २०१८ मा १२ लाखको हाराहरीम पर्यटकले नेपाल भ्रमण गरे । ११ लाख ७३ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरे भनेर हामी हौसिरहेका छौ । तर नेपाल आउने विदेशीले गर्ने खर्च र विदेश घुम्न जाने नेपालीले गर्ने खर्चको अनुपात हेर्दा मनमा चिसो पस्ने स्थिति छ ।

घाटाको पर्यटन उद्योग

चालु आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा नेपालीहरूले विदेश घुमेरै ४१ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेका छन् । यही अविधमा नेपाल आएका विदेशीबाट हामीले ३१ अर्ब ८८ करोड रुपैयाँ मात्रै आम्दानी लिन सकेका छौँ ।

गत वर्षको चार महिनामा विदेश घुम्ने नेपालीले २५ अर्ब १४ करोड ४० लाख खर्च गरेका थिए । चालू आर्थिक वर्षको चार महिनामा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले २५ अर्ब ५ करोड ५२ लाखमात्रै खर्च गरेका छन् ।

गत आर्थिक वर्षमा पर्यटनबाट नेपालले ६७ अर्ब ९ करोड ४६ लाख आम्दानी गरेको थियो । तर खर्च भने पत्याई नसक्नेको छ । गत वर्ष नेपालीले विदेश भ्रमण गरेरै ७९ अर्ब ५९ करोड ६५ लाख खर्च गरेका थिए । पर्यटनको वासलातमा नेपालले एक वर्षमा मात्रै १५ अर्ब ५० करोड १९ लाख घाटा बेहोरेको देखिन्छ ।

सन् २०१६/१७ मा विदेशी पर्यटकले नेपालमा ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गएर गरेको खर्च २१ अर्ब ४० लाख रुपैयाँ बढी अर्थात् ७९ अर्ब ९२ करोड ६९ लाख रुपैयाँ छ । सन् २०१५/१६ मा पनि विदेशीले नेपालमा गरिने खर्चभन्दा नेपाली पर्यटकले विदेशमा गर्ने खर्च १४ अर्ब ६५ करोड ३१ लाख रुपैयाँले बढी थियो ।

व्यर्थको लगानी

पर्यटनलाई आर्थिक उपार्जनको गतिलो आधारका रुपमा व्याख्या गरिरहने तर आम्दानीको तुलनामा खर्च धेरै हुने परिपाटी ठिक होईन । पर्यटन प्रवद्र्धनका विषयमा भईरहेका बहस, छलफल र प्रचार बढिरहेका बेला पर्यटनबाट आर्जन हुने रकमभन्दा बढी नेपालीले पर्यटक भएर विदेशमा खर्च गर्ने रकम बढी हुनु चिन्ताको विषय हो । नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको परिमाण वर्षेनी बढ्दै जाँदा पर्यटनका लागि गर्दै आएको प्रयास र लगानी कति अर्थपूर्ण भन्ने प्रश्न उब्जिएको छ ।

वर्तमान अवस्थालाई हेर्दा पर्यटन उद्योगले देशको समग्र अर्थतन्त्र र आर्थिक गतिविधमा खास योगदान दिन नसकेको प्रष्ट हुन्छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान विगतको भन्दा घट्दै गएकाले पनि अर्थतन्त्रमा पर्यटनको उपस्थिती बलियो छैन भन्ने देखाउँछ । यसबाट सरकारले पर्यटन क्षेधमा गरेको लगानी व्यर्थ शिद्ध भएको छ ।

पर्यटन उद्योग सेवामा आधारित उद्योग हो । भन्सारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित बनाउने कसरतमा रहेको सरकारले सेवा मूलक उद्योगको विकासमा गरेको लागी बालुवामा पानी सरह भएको छ । अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको प्रष्ट हुन्छ । यदि रेमिट्यान्सलाई अर्थतन्त्रको स्रोत नमान्ने हो भने यसको विकल्प खोजीनु पर्छ । अहिलेकै अवस्थामा पर्यटन उद्योगबाट अर्थतन्त्रमा मनग्य योगदान पुगेको छ भनेर ढुक्क रहन सकिने अवस्था छैन ।

नेपालीले विदेशमा गर्ने खर्च किन बढी ?

पछिल्लो समय अध्ययनका लागि बिदेशिने युवाको संख्यामा वृद्धि भएको छ । देशका धनाढ्य र बेही ठूला व्यपारीहरु फुर्सदमा विदेश घुम्न जान्छन् । विभिन्न अन्तराष्ट्रिय विक्रेताको प्रोत्साहन यात्रा (इन्टेन्सिभ टुर) मा जाने नेपालीको संख्यामा वृद्धि, अन्तर्रा्ष्ट्रिय सभासमारोहमा सहभागी हुन जाने नेपालीको वृद्धि, कृषि, सूचनाप्रविधि आदिको अवलोकन भ्रमणमा जाने सरकारी पदाधिकारीको संख्यामा वृद्धि आदि कारणले विदेश भ्रमण गर्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ । तर नेपाल आउने विदेशीको संख्या भने विदेश घुम्न जाने नेपालीको तुलनामा कम छ । यसकै कारणले पर्यटनबाट हुने आम्दानीभन्दा नेपालीले विदेश भ्रमणमा गर्ने खर्चको मात्रा बढी छ ।

विदेशीबाट हुने आम्दानीलाई सुरक्षित राख्न नेपालीको विदेश मोह छुट्नुपर्छ । सरकारले पर्यटन उद्योगमार्फत सबल अर्थतन्त्रको सपना देखेकै हो भने विदेशीबाट हुने आम्दानी र नेपालीले विदेशमा गएर खर्चको खाडल पुर्नतिर लाग्नुपर्छ ।

कस्ता पर्यटक बढी ?

आफ्ना निजी र जुनसुकै काम गर्न आउने विदेशीलाई पर्यटकका रुपमा गणना गर्ने पद्धति छ हाम्रो । यसले संख्यात्मक हिसाबमा धेरै पर्यटक आएको देखाएपनि हुने आम्दानी भने कम छ । धार्मीक क्रियाकलापका लागी आउने पर्यटकले त उतैबाट सामल च्यापेर आउने गर्छन् ।

आउने पर्यटकको भ्रमणको उद्देश्यमा पनि उनीहरुले गर्ने खर्च के कति हुने भन्ने कुराको निक्यौल गर्छ । बिदा मनाउन आउने र पदयात्रा वा पर्वतारोहणका लागि आउने पर्यटकले बढी खर्च गर्छन् । नेपालमा आउने पर्यटकमध्ये ७० प्रतिशत बिदा मनाउने उद्देश्यले आउने गरेका छन् । पदयात्रा वा पर्वतारोहणको उद्देश्यले आउने पर्यटक ८ प्रतिशत मात्रै छन् । तीर्थयात्रा वा धार्मीक गतिविधिका लागी आउने पर्यटक १५ प्रतिशत छन् भने अन्य उद्देश्यले आउने पर्यटक ७ प्रतिशत मात्रै छन् ।

खर्च गर्ने वर्गका विदेशी आउद्या पनि हामीले ठाउँ उपलब्ध गराउन सकेका छैनौ । खर्च गर्नैका लागी आउने पर्यटक धेरै भएपनि हामीले खर्च गर्ने ठाउँ दिन नसक्दा पर्यटकहरू कम खर्च गरेर फर्कने गरेका छन् । हामीले पर्यटकका लागि खाने, बस्ने, घुम्ने, रमाउने, मनोरञ्जन गर्ने आदि खर्चिला सेवा दिन सकेको भए उनीहरुको नेपाल बसाई लम्बिन्थ्यो । अहिले पर्यटकको नेपाल बसाइको अवधि १२.६ दिन छ । यसो हुन सकेमा स्वभावैले उनीहरुले गर्ने खर्च पनि बढ्थ्यो ।

तर हामीले पर्यटक मैत्री गतिविधिको विकास गर्न नसक्दा हामीलाई नै घाटा भईरहेको छ । पर्यटकको संख्यामा वृद्धि भए पनि हामीले उनीहरुलाई खर्च गराउन नसक्दा आर्थिक लाभमा बढोत्तरी गर्न सकेका छैनौ । त्यसैले अब सरकार र सम्बन्धित निकायले गुणस्तरीय पर्यटक आऊन् र यसबाट धेरै आम्दानी होस् भन्ने नीति अबलम्बन गर्न आवश्यक छ ।

समस्याले गाँजेको उड्ययन क्षेत्र

जुन देशको उड्ययन क्षेत्र दह्रो हुँदैन, त्यो देशको पर्यटन फस्टाउँदैन । यसको उदाहरण नेपाल स्वयम् नै हो । सन् २०१८ को समाप्ति तिर वाइडबडी खरिद गर्दा भएको भनिएको घोटला प्रकरणले पर्यटन क्षेत्रलाई नै नराम्ररी गाज्यो । यद्यपी संख्यात्मक दृष्टिकोणले धेरै पर्यटक भित्रिएको देखियो ।
घुम्ने पर्यटकले भ्रमणको बेलामा हवाइजहाज भाडामा धेरै खर्च गर्छन् । तर हाम्रो अन्तराष्ट्रिय उडान जम्मा ३ वटा मात्रै छ । अन्तराष्ट्रिय उडान भर्ने २९ मध्ये २६ विदेशी हवाईसेवा कम्पनी छन् । यहीबाट पर्यटकमार्फत नेपालले प्राप्त गर्न सक्ने रकम विदेशी विमानसेवा कम्पनीले लिईरहेका छन् ।

जहाज खरिदमै आर्थिक अनियमितता गर्ने र अनियमितताकै मुद्दामा अल्झिएर हवाईजहाज खरिद गर्न ढिला गर्ने र आएका जहाजलाई पनि ग्राउण्डेड गर्ने हो भने पर्यटनबाट आम्दानी सम्भव हुँदैन । यस्तो अवस्थामा संख्यात्मक हिसाबमा जति धेरै पर्यटक भित्रिएपनि आम्दानीको बहुप्रतिशत हिस्सा बिदेशिएपछि नेपालले पाउने आर्थिक लाभ न्यून हुनु स्वाभाविक हो ।

पछिल्लो समय भ्रमण गर्ने नेपालीको संख्या पनि बढेको अवस्था छ । यस्तो अवस्थामा विदेश जाने नेपालीलाई पनि आफ्नै एयरलाइन्समार्फत लैजाने र विदेशीलाई पनि आफ्नै विमानमार्फत ल्याउने हो भने नेपालले आम्दानी बाडनुपर्ने स्थिति रहँदैन ।

यसअघि:

नेपालीले पाँच महिनामा विदेश घुमेरै सके ४१ अर्ब

Share your thoughts!

निरोज कुमार थापा

Reporter












Close in 7