माथिल्लो तामाकोशी : राज्यलाई फाइदैफाइदा, सेयरधनीलाई ? (पाठकको जवाफ सहित, भाग-३)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2019 | 12:25:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले तामाकोशी आयोजनाको सन्दर्भमा विशेष सामग्री प्रकाशन गर्दै आइरहेको छ |  यस अघि प्रकाशन भएको भाग १ मा यसको संक्षिप्त इतिहास, क्षमता र लागतबारेको सामग्री समाबेश थियो भने  भाग २ मा बिजुलीसँग सम्बन्धित केहि शब्दावली, मेगावाट सम्बन्धि चर्चा, विजुली खरीद समयको विभाजन, खरिद शुरु हुने समय आयोजनाको अवधि आदी विषयमा विस्तृत चर्चा गरिएको थियो | यसले पाठक वर्गलाई विद्युत सम्बन्धमा बुझ्न मद्दत पुगेको हामीले अनुमान गरेका छौं|

पाठकहरुको माग र चाहनालाई समान गर्दै हामीले भाग ३ प्रकाशन गरेका छौँ। यसअघि तामाकोशी र समग्रमा जलविद्युत क्षेत्रकै विषयमा चर्चा गरिएको शृंखलाबद्ध यो विशेष लेख प्रकाशन भएपछि टिप्पणी आएका थिए | सबै टिप्पणी समेट्न नसकिए पनि केहि टिप्पणीलाई पनि यस पटक समेटिएको छ | टिप्पणी माथि प्रतिटिप्पणी शृंखलाको अन्तिममा समेटिएको छ | त्यस अघि मूल विषयमा प्रवेश गरौं | 

- तामाकोशी आयोजना: राज्यलाई फाइदैफाइदा, सेयरधनीलाई ? (भाग १ )

तामाकोशी आयोजना: राज्यलाई फाइदैफाइदा, सेयरधनीलाई ? (भाग २ )

अघिल्लो शृंखलामा कुनै पनि आयोजनाले १२ महिना एकै दरमा विद्युत उत्पादन गर्न नसक्ने, हिउँद र वर्खाको लागि फरक-फरक खरिद बिक्रि दर हुने, वर्खामा कम र हिउँदमा बढी हुने, हिउँदमा उर्जाको माग बढी हुने हुँदा जति पनि विद्युत बिक्रि हुने विषयमा लेखिएको थियो | जडित क्षमता जति उल्लेख गरिएको भए पनि हिउँदमा त्यसको एक तिहाई वा चौथाई मात्र बिजुली उत्पादन हुन्छ | जलाधार क्षेत्र राम्रो भएमा हिउँदमा पनि राम्रै उत्पादन हुने सम्भावना हुन्छ तर यस्तो सबै आयोजनामा हुँदैन | तामाकोशीले हिउँदमा जम्मा ८६ मेगावाट मात्र उत्पादन दिनसक्छ | यसको हुनुको कारण जलाधार क्षेत्र र त्यहाँ हुने वर्षाले प्रभाव पारेको हो | यद्धपि तामाकोशीको जलाधार क्षेत्र वृहद रहेको भए पनि उच्च पहाडी क्षेत्र भएको र वर्षा कम हुने कारणले यस्तो भएको हुनसक्छ | 

तामाकोशीको जलाधार क्षेत्र 

तामाकोशी नदीको मुख्य २ वटा जलाधार क्षेत्र रहेको छ र यी दुवै क्षेत्र मूलतः तिब्बती भूभागमा पर्छ | आयोजनाको जलाशय भन्दा केहि माथि उत्तरतर्फबाट आउने ‘जुम’ र उत्तर पूर्वी क्षेत्रबाट आउने ‘लप्ची’ खोला मिसिन्छ | जुम खोला तिब्बती भूभागमा पर्ने फलाकबाट आउँछ | यो स्थान कुनै बेला दोलखाका दक्षिणी क्षेत्रका वासिन्दाको लागि अन्नसँग नून, राडी, पाखी साट्ने व्यापारिक थलो रहेको थियो | जुम खोलाको आसपास वस्ती भेटिन्न | उत्तर पूर्वी क्षेत्रबाट आउने लप्ची खोलाको आसपासमा शेर्पाको बसोबास रहेको लुमनांग भन्ने सानो वस्ती भेटिन्छ | यहाँबाट अगाडी बढ्दै जाँदा तिब्बती सिमावर्ती गाउँ लप्ची भेटिन्छ | लप्ची बौद्ध धर्मावलम्बीको एउटा सम्प्रदाय ‘मिलारेपा’ को पवित्र तिर्थस्थल हो | लप्चीमा छोरा घ्याफेलिंग नामक प्रसिद्ध गुम्वा समेत रहेको छ | लप्ची समुद्र सतहबाट झन्डै ३ हजार ८ सय मिटर उचाईमा रहेको छ | लप्चीबाट करीब आधा घण्टाको दूरीमा सिमा भेटिन्छ | त्यहाँबाट २ घण्टा हिँडेपछि तिब्बती गाउँ भेटिन्छ | लप्ची गुम्बालाई दायाँ र बायाँ पारेर दुईवटा खोला आएको छ | दुवै खोलाको उद्गमस्थल भने तिब्बत नै हो | लप्ची भन्दा केहि तल रालुंग खोला रहेको छ र अरु स-साना खोल्सा खोल्सी पनि रहेका छन् | तामाकोशीको मूल जलाधार क्षेत्र तिब्बत हो |

तामाकोशीको उर्जा 

तामाकोशी आयोजनाले २ सय २८ करोड युनिट उर्जा दिने उल्लेख गरेको छ | यो उर्जा क्षमता रोल्वालिंग खोलाको पानी ल्याएपछि थपिने हो वा अहिलेको ४ सय ५६ मेगावाटको संरचनाबाट प्राप्त हुने हो प्रष्ट दस्तावेज नभेटिए पनि पहिला रोल्वालिंग खोलाको पानी मात्र उपयोग हुने आधारमा यसलाई मूल आयोजना बाहेकको हो भन्ने अनुमान गर्न सकिन्छ | रोल्वालिंगको पानी थपिए पश्चात प्राप्त हुने समेतको आधारमा यसमा थपिने १६ करोड युनिट समेत गरि २ करोड ४४ लाख युनिट उपलब्ध हुनेछ | रोल्वालिंगको पानीसंगै त्यसबाट पनि २२ मेगावाटको आयोजना बनेमा थप युनिट प्राप्त हुने सम्भावना रहन्छ | यसबाट कति युनिट प्राप्त हुने भन्ने तथ्यांक नभेटेको भए पनि जलाधारको आधारमा १२ करोड युनिट अनुमान गर्न सकिन्छ | तर चालु आयोजना (तामाकोशी) नै तोकिएको अवधि सकिँदा पनि पुरा हुन नसकेको हुँदा रोल्वालिंग आयोजना कहिले शुरु हुन्छ र पुरा हुन्छ भन्ने कुरा भविष्यको गर्भमा रहेकोले यसबाट प्राप्त हुने उर्जा (युनिट) केवल मिठो कल्पना मात्र हुनेछ | रोल्वालिंग आयोजना पुरा भएमा थप हुने युनिट समेत जोड्दा करिब २ अर्व ५४ करोड युनिट हुनेछ | स्मरण रहोस यसको विद्युत खरिद बिक्रि दर भने हिउँद र वर्खा अनुरुप हुने अनुमान गर्न सकिन्छ | अनुमान गरिए अनुसार नै भएमा तामाकोशी कम्पनीको कुल बिक्रि आम्दानी वार्षिक १० अर्व ६२ करोड हुने अनुमान गर्न गरिएको हो | 

कुनै पनि आयोजनाले भने जति युनिट दिन सक्ने स्थिति हुन्न | यति युनिट हुन्छ भन्ने कुरा अनुमान मात्र हो | आयोजनामा हालिने पानीको अनुमान २/३ वर्षको जल प्रवाहलाइ आधार मानेर औसत मान लिइएको हुन्छ | तथ्यांक लिइएको सालमा कहिले अधिक पानी परेको हुनसक्छ वा कम परेको हुनसक्छ | यस बाहेक अमुक भूभागमा यति पानी पर्छ भन्ने अनुमान गरिएको हुन्छ | यो पनि एकप्रकारको खेती गरे जस्तै अनुमान हो | खेती गर्दा पनि पानी पर्याप्त परेमा वा अधिक परेमा बिग्रिन्छ | तामाकोशीले अनुमान गरेको २ अर्व २८ करोड नै युनिट हुन्छ भनेर ठोकुवा गर्न सकिन्न | मुख्यतः हिउँदमा दिनसक्ने  बिजुलीको बढी महत्व हुन्छ | वर्खामा त घरको छानाबाट झरेको पानी पनि थामी नसक्नु हुन्छ | खोलाको स्थिति पनि यहि हो | हामीकहाँ हिउँद हेरेर बिजुली आयोजनाको क्षमता मापन गरिन्छ | अहिले हामी कहाँ ‘क्यू फोर्टी’ मा डिजाइन गरिन्छ यसको मतलब वार्षिक ४० प्रतिशत समय एकनास विद्युत उत्पादन हुने भनेर बुझ्नुपर्छ | विदेशतिर भने ‘क्यू ट्वान्टी’ मा पनि डिजाइन हुन्छ | यसो गर्दा वर्खाको श्रोत खेर नजाओस भन्ने हो तर हामीकहाँ भने यस्तो अभ्यास भएको छैन | 

बर्खाको बेला खिम्ती पुग्नु भएको छ भने त्यतिबेला उक्त आयोजनाले ६० मेगावाट बिजुली दिएर पनि त्यो भन्दा बढी पानी खोलामा बगेको देख्नसकिन्छ| तर हिउँदमा यस आयोजनाले मुश्किलले २४ मेगावाट मात्र दिन्छ | प्राय सबै आयोजनाको कथा यस्तै हुन्छ मात्रा मात्र घटीबढी हुन्छ | यहि कारण उक्त आयोजनाले इन्टेक, सुरुंग, सर्ज ट्यांक उही पुरानै उपयोग गरेर बर्खाको लागि मात्र भनेर छुट्टै विद्युत गृह निर्माण गरि थप ६५ मेगावाट बिजुली निकाल्न पहिले युनिट ६ (खिम्तीमा ५ वटा युनिट प्रत्येकले १२ मेगावाट दरले विद्युत उत्पादन गर्छ र हिउँदमा ३ वटा बन्द हुन्छ |) नामाकरण गरेर अध्ययन शुरु गरेको थियो | पछि कानुनी समस्या आएपछि यसलाई किर्ने हाइड्रोपावर नामकरण गरियो र पनि कानुनी समस्या आएपछि यो कार्यक्रम नै रद्द गरेको थियो | 

तामाकोशीले पनि भने जति नै युनिट दिनसक्छ भन्ने सुनिश्चितता हुन्न | यसो हुँदा भनिएको जति विद्युत दिन सकिनन् र परिणामस्वरुप प्रक्षेपण गरिएको बिक्रि आम्दानी कम हुनसक्ने सम्भावनालाइ नकार्न सकिन्न | यसको बारेमा थप चर्चा भाग-४ मा हुनेनैछ| शुरुमा उल्लेख भए अनुसार टिप्पणी माथिको प्रतिटिप्पणीको पालो आएको छ | 

अंग्रेजी भाषामा गरिएको एउटा टिप्पणीको भावानुवाद - कृपया केहि सकारात्मक विचार पनि प्रकाशित गर्नुहोस् | किनकि सकारात्मक खबरले मानिसहरूलाई केही गर्न सशक्त पार्छ। व्यवहारिक हुनुहोस् |

अर्को टिप्पणी - राज्यलाई फाइदा हुनु नै सबैलाई फाइदा हुनु हो | 

यी दुइ टिप्पणीको प्रतिटिप्पणी नगरी बस्न सकिएन र केहि शब्द खर्च गरिएको छ | जसले केहि बुझ्न मद्दत पुग्ने अपेक्षा गरिएको छ  |  

पहिलो टिप्पणीको सन्दर्भमा टिप्पणीकर्ताले ‘सकारात्मक’ हुन् अर्ति उपदेश दिनुभएको छ | टिप्पणीकर्ताले कुन सन्दर्भमा ‘तामाकोशी र समग्र जलविद्युत क्षेत्रको आलेखलाई नकारात्मक देख्नु भयो’ टिप्पणीमा खुलाउनु भएको छैन | बिजपाटीले तामाकोशीको बारेमा मात्र नभई ‘सामाजिक उत्तरदायित्व’ बहन गर्दै जुनसुकै सन्दर्भमा पनि सहि र तथ्ययुक्त विश्लेषण प्रकाशन गर्ने गरेको कुरा यहाँ स्मरण गराउन चाहन्छौं| 

यसअघि: 'तामाकोशीको सेयरमा व्यापक चलखेल, लाभांसको बिषयमा 'उपसमिति गठन' हल्ला मात्रै'

केहि समयअघि व्यवसायिक उत्पादन नै शुरु नगरेको तामाकोशीले लाभांश वितरण गर्न उपसमिति गठन गरेको समाचार छापिएपछि तामाकोशी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठको भनाई सहित त्यस्तो ‘समिति नबनेको’ विशेष समाचार प्रकाशन गरेर आम सर्वसाधारणलाई सचेत गराएकै हो| लाभांशको विषयमा यहि शृंखलामा तथ्य सहित कहिले बाँड्न सक्छ लेखिने जानकारी अहिले नै गराइन्छ | आमपाठकहरुलाई यो शृंखला नछुटाई पढ्न विशेष अनुरोध छ| 

‘राज्यलाई फाइदा हुनु नै सबैलाई फाइदा हुनु हो’ भन्ने दोस्रो टिप्पणीको सन्दर्भमा 'त्यसो हुनको लागि राज्य आफैले लगानी गरेर उत्पादन गर्नुपर्छ र यस्ता सामग्री निर्यात गर्नुपर्छ अनि यसरी आयात प्रतिस्थापन गरि हुने निर्यातले विदेशी मुद्रा आर्जन हुन गई हुने फाइदा देशका नागरिकको पनि हुन्छ | तर यहाँ नागरिकले लगानी गरिदिएर उत्पादन भएको चिज (विद्युत) राज्य (राज्यको अधिनको नेपाल विद्युत प्राधिकरण) ले सस्तो (४ रु. ६ पैसा प्रतियुनिट) मा किनेर उही नागरिकलाई (कम्तिमा रु. १२ प्रतियुनिटमा) बेच्छ र त्यसको नाफा लिएर शासक तलब खान्छन | नागरिकले जन्मेदेखि मरेसम्मको कर, दस्तुर, महसुल तिरेर बचेको केहि रकम लगानी गर्दा कम्तिमा मुद्रास्फीति बराबरको पनि प्रतिफल नआउने गरि उत्पादित विजुली किन्छ | यस्तो अवस्थामा नागरिकलाई फाइदा कसरी कसरी भयो ? 

क्रमशः

(शेयरबजार जानकार तथा अधिबक्ता ज्योति दाहालसंगको सहयोगमा तयार पारिएको )

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved