लोकतन्त्र दिवस कै दिन राष्ट्रप्रमुखबाट उडाईयो लोकतन्त्रको धज्जी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2019 | 01:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार १३ औँ लोकतन्त्र दिवस। संसद पुनर्स्थापना गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले 'जनताको नासो जनतालाई' लाई फिर्ता गरेको १३ वर्ष भएको छ। २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा लोकतन्त्र दिवस मनाइएको हो । तर सरकारले लोकतन्त्र दिवसको विदा कटौती गरेर सरकारी तवरबाट औपचारिक कार्यक्रम छोडेपछि लोकतन्त्र दिवस क्यालेन्डरको पानामा मात्र सिम्रित झैँ भएको छ ।

 जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र आएता पनि जनताले अपेक्षा  गरे अनुसार अझै विकास र समृद्धि हुन सकेको छैन । अझ यस पटक लोकतन्त्र दिवसमा लोक अर्थात् जनताले झन् बढी दुख पाए । लोकतन्त्र हुदै देशमा गणतन्त्र स्थापना भएपछि देशले राष्ट्रपति पायो । तर ब्यबस्था फेरिए पनि संस्कार भने फेरिएन ।

लोकतन्त्र दिवस कै अवसर पारेर राष्ट्रपतिको मित्र राष्ट्र चीनको भ्रमणको तय भएको थियो । राष्ट्रपतिको सवारीका कारण आम जनताले दुख पाए । हुनत अरु समयमा पनि राष्ट्रपतिको सवारी नभएको होइन । भएका थिए र सवारीका कारण जनताले दुख पाएकै हुन् । तर लोकतन्त्र दिवस कै दिन यस्तो दुख पाउँदा के का लागि लोकतन्त्र ल्याईएको थियो भन्ने बारे एकपटक पुन सोच्नु पर्ने अवस्था आएको छ ।

काठमाडौँका सडक र जाम पर्यायवाची जस्तै छन् । अझं कार्यालय समयमा हुने जामको बयान गरि साध्य नै छैन । कार्यालय समयमाथि राष्ट्रपतिको सवारी । राष्ट्रपतिको सवारीको लागि करिब आधा घण्टा देखि राष्ट्रपति निवासदेखि पुग्नु पर्ने स्थानसम्म नै दुई तर्फी रुपमा सवारी आवागमन प्रभावित हुन्छ । बुधबार पनि त्यहि भयो ।

बिहान १० बजेर ८ मिनेटमा महानगरीय ट्राफिक महाशाखा काठमाडौँले राष्ट्रपतिको सवारीको लागि शितल निवास, एकेडेमी मोड, शिवपुरी कलेज, बालुवाटार, भाटभटेनी, छातेगणेश, नक्सालभगवती, ल्होत्से चोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, तिलगंगा, सुचना विभाग र एयरपोर्ट हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित हुने सूचना जारी गर्यो । जसको कारण १ घण्टा भन्दा बढी समय रिंङ रोडदेखि भित्रि सडकमा सवारी प्रभावित भए । कार्यालय हिडेकादेखि अत्यावश्यक कामको लागि निस्केका यात्रु समयमा नै गन्तब्यमा पुग्न सकेनन । ड्युटीमा खटिएका ट्राफिक माथिको आदेश भन्दै बिरामी बोकेको एम्बुलेन्सलाई समेत रोकिदिन्छन् ।

पहिले राजा महाराजाको सवारी हुँदा यसै गरी गाडी रोकिन्थ्यो । तर राजा हटाएपछि पनि पात्र फेरिए तर प्रवित्ति फेरिएन । अब प्रश्न उठ्छ के राष्ट्रपति कतै जादैमा आधा घण्टा अगाडी  देखि नै सम्पूर्ण गाडी रोक्नु पर्छ ? जीवन मरणको दोषाधमा रहेको बिरामी बोकेको एम्बुलेन्सले राष्ट्रपतिलाई कुन कोणबाट सुरक्षाको खतरा हुन्छ ? आधा घण्टापछि राष्ट्रपति गाडीमा गुड्ने बाटोमा एक आम सर्वसाधारणले बाटो काट्दा आखिर हुन्छ चै के ? तलबाट बुलेटप्रुभ गाडी गुड्ने बेलामा माथि भएको पुलबाट रोजीरोटी खोज्न निस्केको एक आम जनता हिड्न समेत नपाउने ? के यसका बिकल्प छैनन् ।

केहि समय अघि राष्ट्रपतिको सवारी कै क्रममा चालकहरुले ट्राफिक घेरा तोडेर आफ्नो गाडी अघि बढाएका थिए। यस बाटै प्रश्न हुन्छ कति आक्रोश र अशन्तुष्टी छ भनेर । अब बिकल्प खोज्ने बेला भएन र ? के हुन सक्छ समाधान ?

कोशिस गरे अवश्य सकिन्छ । राष्ट्रपतिलाई विमानस्थल जाँदा हेलिकप्टर प्रयोग किन नगर्ने ? शीतलनिवास मै हेलिकप्टर ल्याण्ड गर्न सक्छ । नजिकै नेपाल प्रहरीको हेडक्वार्टर छ त्यहाँ पनि हेलिकप्टर ल्याण्ड गर्न सक्छ । सुरक्षा निकायसंग हेलिकप्टर पनि छन ।  राष्ट्रपति सिधै शीतलनिवासबाट विमानस्थलबाट आउने जाने गर्ने हो भने सडकमा हुने जाम कम गर्न सकिन्थ्यो ।

राष्ट्रपतिको सवारीको कारण सडकमा मात्र जाम भएन । विमानस्थल पनि एक घण्टा बढी समय ठप्प हुँदा अन्य उडान प्रभावित भए । यदि त्यसो नभएको २ दर्जन विमान नियमित रुपमा उडान अवतरण गर्न सक्थे । जमिनमा मात्र होइन, आकाश मार्ग प्रयोग गर्ने जनताले समत सास्ती पाए ।

विमानस्थलमा भिडभाड हुने क्षेत्र हो । तर राष्ट्रपति आउने भने पछि अन्य विमान चल्नै नदिने निर्णयमा कुनै तुक देखिदैन । हेलिकप्टर बाट जाने र आफ्नो उडानको समय भएपछि विमान चढेर जाने हो भने सबै उडान नियमित नै हुन्थे । त्यसो गर्न किन सकिदैन ? के अन्य आम जनताले राष्ट्रपतिलाई हेर्नै नहुने हो ? अरु हिडेको बाटोमा राष्ट्रपति हिड्नै नहुने हो ? संस्कार परिवर्तन गर्न सकिन्छ भने किन नगर्ने । सम्वृद्धिका भाषण गर्ने तर एक छाक टार्न मरीमेटेर काम गर्नेलाई हिडन रोक लागएर देशलाई के फाइदा ?

लोकतन्त्र दिवसको दिन राष्ट्रपतिको सवारीका कारणले मात्र जनताले सास्ती पाएँनन । प्रधानमन्त्रीको सवारीले भने सर्वसाधारणलाई मार पर्यो । प्रधानमन्त्री धुलिखेल जाने कार्यक्रमले कार्यालय समयमा कोटेश्वर, जडीबुटी क्षेत्रमा यात्रा गरेकालाई मार पर्यो । यो त लोकतन्त्र दिवस कै दिन, लोकतन्त्रको धज्जी उडाएको जस्तो भएँन र ?

राष्ट्रपति र प्रधानमन्त्री राष्ट्रप्रमुख र राष्ट्रका कार्यकारी हुन् । सुरक्षा प्रदान गर्नु पर्छ । तर सुरक्षाको नाममा अरुले हिडडुल गर्नै नपाउने ? सुरक्षामाथि खतरा देखिए गुप्तचर निकाय छन, सुरक्षा निकाय छन्, अन्य संयन्त्र छन् , तिनीहरुले हेर्ने बिषय हो । बेला बखत सुरक्षाको खतरा हुन सक्ला । तर हरेक दिन जुन सुकै बेला खतरा नै रहन्छ भन्ने हुदैन ।

लोकतन्त्र आएको १३ बर्ष पुग्दा समेत निर्वाध रुपमा आफ्नो कर्म थलो जान, अस्पताल जान, अत्याबश्यक कामको लागि जान, हिडडुल गर्न किन नपाउने ? अझै कति समय धैर्य गर्ने ? 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved