'मर्जर साध्य होइन, यसले मुख्य चार 'कर्म' बिर्सिनुहुन्न' मुक्तिनाथका सीईओ पोख्रेलको विश्लेषण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 04:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमा ठुला बाणिज्य बैंक मर्ज गर्न प्रोत्साहन गर्ने भनेपछि नेपाल राष्ट्र बैंक मर्जरको लागि तात्तिएको छ। मर्जको लागि हौसिएको राष्ट्र बैंकले असार १२ गते बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारीलाई डाकेर मौद्रिक नीति पुर्व नै मर्जरको लागि तयार रहन निर्देशन दिएको छ।  

राष्ट्र बैंकको निर्देशनको पालना गर्दै निजि लगानीका केहि र सरकारी स्वामित्वका तीन बाणिज्य बैंक बाहेक अधिकांशले मर्जरमा सहभागी हुने भन्दै लिखित प्रतिबद्दता बुझाईसकेका छन। यता राष्ट्र बैंकले प्रोत्साहन र केहि सहुलियत दिएको अवस्थामा अहिलेको संख्या घटाएर ४० को हाराहारीमा पुर्याउने भन्दै लघुवित्तहरु समेत धमाधम मर्जर तथा प्राप्तिमा जुटेका छन। 

राष्ट्र बैंकले निर्देशन दिएपछिको बैंक वित्तीय संस्थामा देखिएको अवस्थालाई आधार मान्ने हो भने बैंकहरु मर्जरको मानसिक रुपमा तयार देखिन्छन। मौद्रिक नीति पुर्व नै बिशेषगरि बाणिज्य बैंकहरुमा उपयुक्त जोडी खोज्नलाई लागिपरेका छन। ग्लोबल र जनता बैंकबीच मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर भईसकेको छ भने केहि बाणिज्य बैंकहरु मर्जरको लागि जोडी खोज्ने काममा अन्तिम तयारिमा पुगेका छन। 

मर्जरलाई लिएर बैंकिङ क्षेत्र दुई धुर्बमा विभाजन भएको छ। केहिलाई राष्ट्र बैंकले लिएको मर्जरको तयारी मन परेको छ त्यसैले उनिहरु उपयुक्त जोडी खोज्नमा ब्यस्त देखिन्छन। यता केहीले भने राष्ट्र बैकको कदमलाई शंकाको नजरले हेरेका छन।

के मर्जर अहिलेको आवश्यकता हो ? यहि प्रश्नलाई प्राथमिकतामा राखेर बिजपाटी डटकमले बैकंका अध्यक्ष, प्रमुख कार्यकारी, नियामक तथा सरोकारवालासंग उनीहरुको धारणा लिंदै आएको छ। 

नेपाल राष्ट्र बैंकले थालेको मर्जर अभियानबारे आज हामीले करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा योगदान दिंदै आएका मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलसंग कुराकानी गरेका छौँ। 

सीईओ पोखरेल भन्छन, 

मर्जर आवश्यक छ छैन भन्ने बहस भन्दा बैंक वित्तीय संस्था स्थापनाको उदेश्य के भन्ने बारे बहस गर्नु बढी सान्दर्भिक हुन्छ। बैंक वित्तीय संस्थाले मुख्यत: चार प्रमुख कामहरु गरेको हुनुपर्छ। 

पहिलो,बैंक वित्तीय संस्थाको लागत कम हुनु पर्छ। जति लागत काम भयो त्यति नै ग्राहकहरुलाई धेरै लाभ हुन्छ। दोस्रो, बैंक वित्तीय संस्थाको पहुँच सक्दो धेरै नागरिकमा पुगेको हुनुपर्छ। तेस्रो, वित्तीय समावेशीता हुनुपर्छ। केहि व्यक्ति वा समुदायको हातमा मात्र नभई सबै जाति, भेषभूषा तथा समुदायको पहुँचमा बैंक पुग्नुपर्छ। चौथो, वित्तीय स्थायित्व हुनुपर्छ। 

बैंक वित्तीय संस्थाले दुईवटा बजेट र मौद्रिक नीतिमा भएका ब्यवस्थालाई पालना गर्नुपर्छ। बजेटमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नको लागि नेपाल राष्ट्र बैकले मौद्रिक नीति मार्फत ल्याउने नीतिलाई बैंक वित्तीय संस्थाले पालना गर्नुपर्ने हुन्छ। 

बैंकको संख्या धेरै, कम वा थोरै छ भन्ने बिषय छुट्याउने काम तथ्यांक बिभाग, नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभागको हो। अहिले मर्जरको बिषय चलेको छ। राष्ट्र बैंकले अध्ययन गरेर नै मर्जरको बिषयलाई जोड दिएको मेरो मान्यता छ। 

मर्जर साध्य होइन साधन मात्र हो। साध्य भनेको ग्राहकको लाभ, बैंकिङ पहुँच, वित्तीय समावेशीता र वित्तीय स्थायित्व नै हो। बैंक वित्तीय संस्थाले गर्नुपर्ने यी काम गराउनका लागि राष्ट्र बैंकले आवश्यकता अनुसार बिभिन्न नीति लिन सक्छ। अहिले मर्जरको बिषय आउने वित्तीकै पुरानो करिब ३५ बर्ष अघि जस्तो संख्या कम भएकाले खाता खोल्न र ऋण लिन गाह्रो होला भन्ने मलाई लाग्दैन। राष्ट्र बैंकले अध्ययन गरेर नै मर्जरको लागि हौसिएको हुनुपर्छ भन्ने मेरो बुझाइ हो। 

बैंक वित्तीय संस्थाको संख्या कम हुनुपर्छ वा हुनुपर्दैन भन्ने भन्दापनि अहिलेको अवस्था के हो त्यसतर्फ पनि ध्यान दिनुपर्छ। अहिलेको अवस्था पनि आफैंमा कम चुनौतीरहित छैन। 

हिजोका दिन बिकास बैंकहरुले मात्र देशका दुर दुराजमा पुगेर बैंकिङ सेवा दिंदै आएकोमा अहिले त्यहाँ बाणिज्य बैंकहरु पनि पुगेका छन। दुर दराजमा शाखा खोल्दा ठुलो लगानी आवश्यक पर्छ। अर्को तर्फ, चार बर्षअघि चुक्तापूँजी वृद्धिको निर्देशन भएपछि धेरै बैंक वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा गएका छन। यसले मर्जरपछिको ब्रान्डीङ, कर्मचारी व्यवस्थापन, आन्तरिक व्यवस्थापन लगायतका बिषयमा थप खर्च बढाएको छ। 

अर्को तर्फ शाखा बिस्तार हुँदै गर्दा त्यहि अनुसार कर्मचारीको क्षमतापनि बढ्नुपर्ने हुन्छ। एउटा शाखा हाक्नलाई त्यही अनुसारको क्षमता र अनुभव भएको व्यक्तिको आवश्यकता पर्छ भने सिंगो बैंक हाक्नपनि अनुभवी र क्षमता भएको व्यक्ति हुनुपर्छ। यस्तो नहुँदा जोखिम बढ्छ।

मर्जरपछि बन्ने संस्थामा सकारात्मक वृद्धि देखिनुपर्छ। उस्तै अवस्थाका दुई संस्थालाई जोडेर एक बनाउँदा मर्जरको औचित्य पुष्टि नहुन सक्छ र त्यसले सोचेको आउटपुट नदिन सक्छ। मुल्य, प्रकृया, स्रोत र ग्राहक जस्ता महत्त्वपूर्ण तत्त्वहरुको मिश्रण राम्रो भएको अवस्थामा मात्र मर्जरले उचित प्रतिफल आउन सक्छ। 

मर्जर दुई संस्थाको सम्पति र दायित्व मात्रै मर्ज भएर हुदैन, दुवै संस्थाका कर्मचारी र मान्छेहरुको मन पनि मिलेर एक हुनुपर्छ। अनिमात्र मर्जरले वास्तवमा सकारात्मक उर्जा दिन्छ। 

बैंक वित्तीय संस्थाले चार गुणाले चुक्तापूँजी वृद्धि गर्नुपर्छ भनेर राष्ट्र बैंकले चारबर्ष अघि मौद्रिक नीति मार्फत निर्देशन दियो। त्यसयता ३२ वटा बाणिज्य बैंकबाट घटेर २८ मा झरे। तर दर्जनौं बिकास बैंक घटेर अहिले थोरैमा झरेका छन। त्यसमा पनि राष्ट्रिय स्तरका बिकास बैंकको संख्या घटेर करिब १० मा झरेको छ। 

बिकास बैंकहरुले सधैं नै राष्ट्र बैंकको निर्देशनको पूर्ण पालना गर्दै आएको छ। विकास बैंकहरु स्वस्फुर्त रुपमा मर्जर तथा प्राप्तिमा गएका छन। त्यसैले पनि विकास बैंकहरुलाई मर्जर भनेर आत्तिहाल्नु पर्ने अवस्था छैन। आफ्नो हिसाबले अघि बढिरहेका र देशका दुरदराजमा बैंकिंङ पहुँच पुर्याउदै आएकाले राष्ट्र बैंकको नीति कार्यान्वयनमा बिकास बैंक सधैं अघि नै देखिएका छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved