नेपाल राष्ट्र बैंकले बफर पुंजीकोषको व्यवस्था गरेसंगै बैंकहरुले लाभांश बाड्नको लागि १३ प्रतिशत पुंजीकोष कायम गर्नुपर्ने देखिन्छ। २०७७ असार मसान्तसम्म यो बफर पुंजीकोष कायम नगरेमा बैंकहरुले नगद लाभांश वितरण गर्न पाउने छैनन।
राष्ट्र बैंकको निर्देशनपछि आर्थिक बर्ष २०७६/७७ को लागि 'कमन इक्वीटि टायर एक' को पुंजीकोषमा थप गरिएको काउन्टर साइक्लिकल बफर को कारण बित्तिय क्षेत्रबाट यस आर्थिक वर्षमा थप गरिने जोखिम सम्पत्तिको लागि र हालसम्म कायम रहेको सम्पतिको व्यवस्थापन गर्न ठुलो रकमले पुंजीकोष अभाव हुन सक्ने देखिन्छ।
अभाव हुन सक्ने पुंजीकोषको पूर्तिका लागि बैंकहरुले वितरण गर्ने लाभांश नीतिमा आमुल परिवर्तन आउँन सक्ने चर्चा सुरु भएको छ। अधिकांश बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेकाले चैत मसान्तसम्मको पुंजीकोषलाई आधार मान्दा २८ मध्ये १४ वटा बैंकहरुको पुंजीकोष अनुपात १३ प्रतिशत भन्दा तल देखिन्छ।
यस्तो अवस्थामा बैंकहरुको लाभांश नीतिमा कस्तो परिवर्तन आउँन सक्छ ? पुर्व बैंकर तथा नेपाल उद्योग परिसंघका वित्तीय सल्लाहकार अनल राज भट्टराइ भन्छन:
सोमबार राष्ट्र बैंकले जारि गरेको निर्देशिकामा उल्लेख बफर पुंजीकोषको व्यवस्थाले बाणीज्य बैंकको लाभांश नीतिमा आमुल परिवर्तन आउने देखिन्छ। नयाँ सृजना हुने र अहिलेसम्मको सम्पतिको लागि बैंकहरुले करिब ४८ अर्ब अर्ब रुपैयाँले पुंजीकोष बढाउनुपर्ने देखिन्छ। अर्को तर्फ राष्ट्र बैंकले २१ प्रतिशतले कर्जा बिस्तार गर्ने नीति लिएको छ। यसका लागि बैंकहरुको पुंजीकोषले धान्न सक्ने अवस्था देखिंदैन।
जेठ मसान्तसम्ममा बैंकहरुसंग करिब ४१०० अर्ब सम्पति छ। यो सम्पति जोखिम सहितको हो। यसबाट भारित औषत जोखिम अनुपात छुट्याउनु बाँकी छ। असार मसान्तसम्म बैंकहरुको कर्जा २९०० अर्ब छ। २१ प्रतिशतले कर्जा बिस्तार गर्दा ५-६ सय अर्ब कर्जा बिस्तार हुने देखिन्छ। यो सबै तथ्यांकलाई आधार मान्दा पुंजीकोषमा करिब ४८ अर्ब अभाव देखिन्छ। बैंकहरुको अहिलेकै सम्पतिले यसको व्यवस्थापन हुने देखिदैन। यसको व्यवस्थापनको लागि अधिकांश बैंकहरुले लाभांशमा नगद भन्दा बोनसलाई प्राथमिकतामा राख्नु पर्ने हुन्छ।
नयाँ सिर्जना हुने र अहिलेको सम्पतिको आधारमा थप गर्नुपर्ने पुंजीकोषको लागि बैंकहरुसंग बोनस सेयर नै उचित विकल्प देखिन्छ। फ्री क्यापिटल धेरै भएका बैंक बाहेकले बोनस सेयर बितरण गरेर नै थप पुंजीकोषको व्यवस्थापन गर्नेछन। बैंकहरुले बोनस सेयर वितरण गर्दा वित्तीय स्थायित्वपनि कायम हुन्छ भने पुंजी कोष पनि व्यवस्थापन हुन्छ। अर्को तर्फ जोखिम न्यूनीकरण गर्नका लागि यो व्यवस्था गरिएको हुन सक्छ।
सेयर सप्लाई बढ्दा के हुन्छ ?
सेयरबजार र वित्तीय स्थायित्व अलग अलग बिषय हुन। सेयरबजारमा सेयरको संख्या बढ्छ भनेर वित्तीय स्थायित्वलाई सम्झौता गर्न मिल्दैन। सेयरबजारमा सेयरको संख्या बढ्दैमा आपूर्ति बढ्छ भन्ने मात्रै हुदैन सरकारले संस्थागत लगानीकर्ता सृजना गरेर वा सेयरबजार विस्तार गरेर पनि आपूर्ति व्यवस्थापन गर्न सक्छ।