पर्यटनमन्त्रीको भेटघाट, लोकप्रियता कि संस्कार ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2019 | 12:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भदौ १४ गते बिहानै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न निवासमै पुगे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको बुढानलीकण्ठस्थित निवासमै पुगेर मन्त्री भट्टराईले आफ्नो मन्त्रालयको काम कारबाहीबारे जानकारी गराए। 

संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको पार्टीको सभापतिलाई सत्तापक्षको मन्त्रीले भेटेको सम्भवतः यो पहिलो घटना हो ।

अपवाद बाहेक मन्त्रालयको कामकारबाहीको जानकारी दिन र सुझाव लिनकै लागि सामान्यतया नेपालका नेताहरु फरक बिचारधाराकोसंग भेट गर्दैनन् ।

स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी र नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले भने उक्त संस्कार अपनाएका थिए । फरक फरक राजनीतिक पार्टीमा भएपनि उनीहरुले बाक्लै भेटघाट गरेर मूलुकको समस्या र समाधानका बारेमा कुरा गरेका थुप्रै उदाहरण छन् ।

अहिले असल खराबको निक्र्यौल गर्ने, मूल्यांकन गर्ने एउटा गतिलो माध्यम हो सामाजिक सञ्जाल । देउवालाई भेटेर हात मिलाएको तस्बिर जब मन्त्री भट्टराईले सामाजिक सञ्जालमा राखे, तब उनको प्रशंसा एकाएक चुलियो । यो कदमलाई धेरैले असल राजनीतिक संस्कारको रुपमा टिप्पणी गरे । 

मन्त्रालयका कर्मचारी जिल्ल परे 

योगेश भट्टराई विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् । उनी मन्त्री भएपछि पर्यटन सम्बद्ध संगठन, व्यवसायी केही अताल्लिएका छन्। किनकि मन्त्री भट्टराई छिटो र दूरगामी प्रभाव पार्न सक्ने निर्णय गर्ने क्षमता भएका व्यक्ति हुन् । 

भट्टराईले आफूले मन्त्रालय सम्हाले लगत्तै मन्त्रालयका कर्मचारीसँग छलफल गरे । छलफलमा सहभागी कर्मचारीहरुलाई मन्त्री भट्टराईले ‘मन्त्रालयका कार्यक्रमहरु, योजनाहरु के–का आधारमा बन्छ ?’ भनेर प्रश्न गरे । कर्मचारीले सहजै उत्तर दिए, ‘सरकारको बजेट तथा नीति कार्यक्रम र माग र आवश्यकताको आधारमा ।’ यो सुनेपछि मन्त्री भट्टराई कर्मचारीको अध्ययनप्रति शसंकित भए । उनी कर्मचारीको उत्तरसँग सन्तुष्ट भएनन् । 

संसदीय राजनीतिमा पहिलो पटक प्रवेश गरेर राजकीय मामिलामा पनि पुगेका मन्त्री भट्टराई कर्मचारीको उत्तरले अचम्मित भए । लगत्तै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम त छँदैछ, त्यो बाहेक विभिन्न राजनीतिक दलका घोषणापत्रमा पर्यटनको बिषयमा समेटिएका प्रतिबद्धता पनि हेर्नुहोस् । सत्तारुढ दल बाहेक अन्य दलहरुको प्रतिबद्धता पनि हेर्नुहोस्, अनि योजना बनाउनुहोस् ।’

सत्तारुढ बाहेक अन्य दलको पनि घोषणा पत्र पढ्न सुझाउँदा अब अचम्मित हुने पालो कर्मचारीको थियो । यसअघि कोही पनि मन्त्रीले यसरी अन्य दलका घोषणा पत्र पढ्न सुझाएका थिएनन् । ‘सबै दलको प्रतिबद्धता सरकारको सम्पति हो, सरकारी योजनामा सरकार चलाउने दलको मात्रै प्रतिवद्धता आउनुपर्छ भन्ने होईन । सरकार हामी सबैको हो’ मन्त्री भट्टराईले भने । 

मन्त्री भट्टराईले जब विपीको नाम खोजे 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को बिषयमा छलफल गरेको थियो । पुष्पलालको नाम देख्नै वित्तिक्कै मन्त्री भट्टराईले कर्मचारीलाई सोधे, ‘विपीको नाममा चाँही पुरस्कार छैन, खोई त ?’ काङ्ग्रेसका नेता मन्त्री हुँदा समेत नसोधिएको यो प्रश्नको जवाफ कर्मचारीले दिन सकेनन् । ‘हामीले इतिहास भुल्नुहुँदैन, सबै गौरवहरुको सम्मान गर्नुपर्छ । सबैको साझा योगदानले आज हामी यहाँ छौं’ मन्त्री भट्टराईले भने ।

आफ्नो तस्बिर हटाउन लगाए 

भदौ १६ गते सोमबार नेपाली नारीहरुको महान पर्व मानिने ‘हरितालिका तीज’ मनाईयो । तीजको अवसरमा दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ पुगेकी थिइन् । संस्कृति मन्त्री (विभागीय मन्त्री) भएको नाताले मन्त्री भट्टराई पनि मन्दिर पुगेका थिए । 

पशुपतिनाथ मन्दिरमा विभागीय मन्त्रीको कार्यकक्ष रहने परम्परा छ । उक्त कार्यकक्षमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय मन्त्रीको नाताले मन्त्री भट्टराईको तस्बिर राखिएको थियो । आफ्नो तस्बिर झुण्डिएको देखेपछि मन्त्री भट्टराईले फोटो तुरुन्त हटाउन निर्देशन दिए । उनले मन्त्रालयका पिएनदेखि मन्त्रीसम्म बराबर भएको भन्दै सबैको उत्तिकै सम्मान हुने बताउने गरेका छन्। 

सचिवालयमा तत्कालिन एमाले र माओवादीको सहभागीता

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि ‘नेकपा’ बन्यो । अहिले त्यही नेकपाको नेतृत्वमा सरकार छ । तर पार्टी एकता डेढ वर्ष बढि भईसक्दा पनि भावनात्मक एकता भने देखिँदैन । 

तत्कालिन एमालेबाट मन्त्री भएकाहरुले तत्कालिन एमालेप्रति झुकाव भएकालाई आफ्नो सचिवालयमा राखेका छन् भने तत्कालिन माओवादीबाट मन्त्री बनेकाहरुले पनि सोही गरेका छन् । तर मन्त्री भट्टराईले तत्कालिन दुवै पार्टीबाट प्रतिनिधित्व हुने गरि आफ्नो सचिवालयमा आफ्ना सारथीहरु राखेका छन् ।

उनले सचिवालयमा तत्कालिन एमाले निकट काठमाडौं–ताप्लेजुङ्ग सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र तत्कालिन माओवादी निकट काठमाडौं–ताप्लेजुङ्ग जनसम्पर्क समितिका अध्यक्ष डण्डु शेर्पालाई आफ्नो सचिवालयमा राखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved