मुग्लान र गाउँघरको यथार्थ बोल्ने नाटक 'टीका'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 10:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मुग्लान र गाउँघरका यथार्थ घटनाको अन्तर कुन्तर समेटिएको जीवन्त प्रस्तुति ।

 

रोजीरोटीका लागि मुग्लान पसेको श्रीमान्‌लाई पर्खीबसेकी श्रीमतीको मनोदशा । छोरो आउने आशमा दशैंको टीकाको रात छिप्पिँदासम्म कुरिबसेकी आमा । पितृवात्सल्य र नाना चाचाको पर्खाइमा दिन गन्दै गरेको बालक छोरो । यी सबैजनाको निराशालाई चिर्दै टुप्लुक्क आइपुग्ने परदेशीले ल्याएको उमंग । यस्तै कथावस्तु समेटिएको नाटक हो 'टीका' ।


रोजीरोटीको लागि मुग्लान पसेको एक युवक पात्रको कथामा आधारित भीमनिधि तिवारीको कृति टीका राजधानीको कुञ्ज थिएटरमा मञ्‍चन भइरहेको छ। यतिखेर नेपालका दुर दराजका बस्तीबाट समेत प्रत्येक घरका युवा विदेशिएका छन् । रेमिटेन्सले मुलुक धानिएको छ । नवयुवकहरु विनिमय दरको हिसाब हेर्दै संसारको जुनसुकै कुनामा पुगेर पनि पसिना बगाउन तैयार छन् । र, नेपालीहरुको ठूलो चाड दशैं आउँदै छ । नाटकको माध्यमबाट दशैंको पृष्ठभूमिमा समकालीन समाजको चित्रण गज्जबलाग्दो छ ।


चाडबाडका बेला जुवातास र लङ्गुरबुर्जाको रमाइलो, महिलाप्रति पुरुषको हेपाहा व्यवहार, सासु बुहारी र घरायसी जीवनका अन्तरकुन्तर, हुर्किरहेको छोराको मनोविज्ञान, पण्डित अन्य पात्रको सामाजिक व्यवहारसँगै मुग्लानी बन्‍न पुगेको पात्रको संघर्षको कथा र जिम्मेवारीको पाटोलाई नाटकमा लयबद्ध तवरले अभिव्यक्त गरिएको छ ।


यिनै समकालीन परिवेशका घटनालाई समेटेको नाटकको प्रस्तुति जीवन्त लाग्छ । ध्वनि, संगीत र प्रकाशको संयोजन उत्कृष्ट छ । नाटकमा कलाकारहरुले फरक फरक भूमिका निर्वाह गर्दा पनि त्यसप्रति न्याय भएको अनुभुति गर्न धेरै बेर लाग्दैन ।


लोटा र गाग्रीको प्रसङ्गसँगै दुईचार पैसा बढी कमाउने लालसामा परदेशिएको छोरोलाई आमाले गर्ने प्रश्नले उसको मनोविज्ञानमा आउने परिवर्तन सम्झिनलायक छ । नाटकले पात्रको माध्यमबाट वर्तमान समाजलाई केही गम्भीर सन्देश छोड्न सफल छ ।


नेपाली रङ्गमञ्‍चमा विदेशी लेखकका चर्चित नाटकहरु मञ्‍चन गर्ने होडबाजी नै चलेको छ भन्दा अत्युक्ति हुँदैन । ती नाटकसँग जोडिएर 'जस' लिने रहर र ध्याउन्‍नमा प्रायःजसो रङ्गकर्मी लहसिएको देखिन्छ । यही यथार्थबीच युवा रङ्गकर्मीहरुले समेटेको अर्गानिक कथावस्तु भएको नाटकमा पारखीहरुले असजिलो अनुभुति गर्नुपर्ने ठाउँ खासै भेटिन्‍न ।


नयाँ दर्शकले 'टीका'लाई आफ्नो पहिलो नाटक बनाउनु सही छनोट हुनसक्छ । अक्सर नाटकघरतिर भेटिने नियमित दर्शकका लागि पनि यो नाटकको प्रस्तुति धीत मर्ने खालको छ । केही पात्रको संवाद शैलीमा रहेका कमजोरी पुराना दर्शकले मात्रै फेला पार्न सक्छन् । त्यसबाहेक समग्रमा नाटक उत्कृष्ट छ भन्‍न कज्युस्याइँ गर्नुपर्दैन ।


संगीत सापकोटाको निर्देशनमा मञ्‍चन भइरहेको नाटक बुधबार बाहेक हरेक दिन साँझ ५:३० बजेदेखि मञ्‍चन हुने नाटक शनिबार १ बजे पनि प्रदर्शन हुने थिएटरले जनाएको छ । ऐक्य हेभन अफ आर्टको प्रस्तुति रहेको नाटक 'टीका' भदौ ३१ गतेसम्म मञ्चन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved