नाम मात्रको लोकतन्त्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2019 | 07:59:07 PM मा प्रकाशित

laxmi  sunrise bank

उरास लोहोरुङ् राई

मेरो छिमेकमा एउटाको नाम दिलबहादुर छ, तर ऊ दैनिक रक्सी पिएर आफ्ना छोराछोरी र श्रीमतीलाई सताउने काम गर्छ । म कहिलेकाहीं  उनको छोराछोरीलाई तिम्रो बुवाको नाम कति राम्रो छ है भन्छु । जवाफमा उनीहरूले नाम अनुसारको काम वा व्यवहार भइदिएको भए हामी यो अवस्थामा हुने नै थिएनौं । हामीलाई हाम्रो ड्याडीको नाम होइन, तर उहाँको काम वा व्यवहार चाहिएको छ, दाई, भन्छन् । अनि त्यो दिलबहादुर र उसको परिवारले मेरो देशको वर्तमान अवस्थालाई हुबहु प्रतिनिधित्व गरेको देख्दा मन कटक्क खान्छ ।

हाम्रो देश नेपाल राणा, राजा, पञ्चायत, प्रजातन्त्र हुँदै सबैको प्यारो नाम ‘लोकतन्त्र’ सम्म आईपुगेको छ । यो लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्य व्यवस्थाको अभ्यास गरेको पनि एक दशक नाघिसकेको छ । जनताहरूको ठूलो बलिदानबाट प्राप्त गरिएको यो लोकतन्त्र आफैमा एउटा ठूलो उपलब्धि हो भन्ने कुरामा दुइमत छैन । अब एक दशक भन्दा लामो समय अभ्यास गरिसकिएको यो लोकतान्त्रिक व्यवस्थाले देश र जनताहरूलाई भलो ग¥यो कि ? कुभलो ग¥यो कि ? अथवा केहीपनि गरेन ? लेखाजोखा गर्दा अन्याय हुनैछैन । 

किनकि, हामीले ‘लोकतन्त्र’ भन्ने शब्द मन पराएर नाम राख्नकै लागि मात्र ल्याएका होइनौं । यो शब्दले बोकेको मर्म, भावना, विशेषता र व्यवस्थालाई मन पराएर ल्याएका हौं । साथै मुलुकमा यो व्यवस्था आएमा मुलुकलाई एक दशकमै सिजरल्याण्ड, सिंगापुर बनाएर विकासको कायापलट गरेर देखाउने, सबै प्रकारका शोषक, सामन्त, भ्रष्टचार, बेतिथी, अन्याय, अत्याचार र दमनलाई अन्त्य गरेर समाजमा स्वतन्त्रता, समानता, विकास, रोजगारी र सम्मृद्धि सिर्जना गरी देशको नाक उँचो बनाउने नेताज्यूहरूको प्रतिवद्धतालाई विश्वास गरेर ल्याएका हांै । 


के लोकतन्त्र प्राप्ति पछि हाम्रो मुलुकमा साँच्चिकै यसको कर्म, मर्म, भावना, विशेषता र व्यवस्था पनि आएका छन् त ? कि, नामको मात्र दिल बहादुर भएको छ यो लोकतन्त्र ? विडम्वना ! नै भन्नु नै पर्छ, अँह ! हाम्रो मुलुकमा लोकतन्त्र आएको छैन । जनताहरूले छातीमा गोली थापेर ल्याएको लोकतन्त्र नाममा त आएको छ, तर त्यसको कर्म, मर्म, भावना, चरित्र, विशेषता र व्यवहार पटक्कै आएको छैन । लोकतन्त्र नीतिमा आएको छ, तर नियतमा आएको छैन । नियतले संविधान, ऐन, कानुन, नीति तथा नियमहरूलाई आफू अनुकूल निर्माण र परिमार्जन गर्न सक्छ । तर संविधान, ऐन, कानुन, नीति तथा नियमले नियतलाई कहिल्यै परिवर्तन गर्न सक्दैन । मानिसहरूको विवेकले नीति निर्माण गर्छ । तर नीतिले कहिल्यै विवेक निर्माण गर्न सक्दैन । त्यसैले मानवता र त्यसको विवेक नीति भन्दा सदैव माथि हुन्छ । नीति निर्माणकर्ता मानिस सजीव प्राणी हो, ऊ द्वारा निर्मित नीति निर्जीव हो । त्यो निर्जीव संविधान, ऐन, कानुन, नीति तथा नियमलाई निर्माणकर्ता सजीव प्राणी मानिसले जसरी चलायो, त्यो त्यसरी नै चल्छ । त्यसैले यसलाई चलाउने मानिसहरूको नियत असल छ भने, यसले देश र जनताहरूको लागि असलै काम गर्छ । खराब छ भने, खराबै गर्छ ।

त्यसैले हामी नेपालीहरूलाई लोकतन्त्रले आज के दियो ? भन्दा पनि यो लोकतान्त्रिक व्यवस्थालाई संचालन गर्ने नेताहरूले यसलाई कसरी चलाए र यो व्यवस्था प्रति उनीहरूको नियत कस्तो छ ? भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । लोकतन्त्र पाँचवटा अक्षरहरू मात्र होइन । यो शब्दले विशेष अर्थ, कर्म, मर्म, भावना, विशेषता र व्यवस्थालाई बोकेको छ । तर विडम्वना ! नै भन्नुपर्छ, हाम्रो देशमा लोकतन्त्रको ठेकेदार हुँ भन्ने नेताहरूले ‘लोकतन्त्र’ भन्ने पाँचवटा अक्षरहरूले बनेको नाम खुबै मन पराए । तर त्यसको अर्थ, कर्म, मर्म, भावना, विशेषता र व्यवस्थालाई पटक्कै मन पराएनन् र व्यवहारमा ग्रहण गर्न चाहेनन् । उनीहरू ‘लोकतन्त्र’ शब्दको पारखी त भए, तर त्यसको व्यवहारीक अर्थ, कर्म, मर्म, भावना, विशेषता र व्यवस्थाको विरोधी भए । त्यसैले जनताहरूले ज्यान, रगत र पसिना बगाएर ल्याएको लोकतन्त्रमा नेताहरू श्रीपेच नलगाएका छोटे राजाहरू भएर लोकतन्त्रको नाम नै कलङ्कित बनाएर लोकतन्त्रको खास्टो ओडेर राजतन्त्रको शासन चलाई शोषण, दमन, अन्याय, अत्यचार र भ्रष्टचारमा उत्रिएका छन् । अनि स्टिलको थालमा भात खाने नेताहरू सुनको थालमा खाने भएकाछन् । तर चाँदीको थालमा भात खाने जनताहरूलाई चाहिँ टपरीमा खाने बनाएकाछन् । विचारक पाउलो फ्रेरेको “सत्तासीन वर्गको हेजेमोनीका कारण उत्पीडितहरूको मनमस्तिष्कमा पनि उत्पीडकले वास गरेको हुन्छ” भन्ने भनाईलाई व्यवहारमा उतारेका छन् । 

हिजो सर्बहारा वर्गको चर्काे भाषण गर्दै, जनतासँगै हात्तीछाप चप्पल र गोलस्टार जुत्ता महिनौंसम्म नखोली डुङ्डुङ्ती गन्हाउने गरी लगाएर नङ्भरी माटो लिई बासीभात हातैले हसुर्ने नेताहरू आज सत्ता र शक्तिको बागडोर सम्हाल्ने भएपछि गाँस  काटेर दिने जनताहरू माथि शोषण, उत्पीडन दमन, अन्याय, अत्यचार र भ्रष्टचार गरेकाछन् । नेताहरू शासकवर्ग भएका छन् । उनीहरूलाई त्यो स्थानमा पु¥याउने जनताहरू शासितवर्ग बनेकाछन् । चप्पल पड्काउदै हिड्ने नेताहरू प्राडो, पजेरो र बुलेट पु्रफ कार चढ्ने भएका छन् । आलिशान महल तथा बंगलामा पिज्जा र बर्गर डकार्नेहरू भएकाछन् । उनीहरूको भाषा पनि आउँछ, जान्छ, खान्छबाट आइसिन्छ, खाइसिन्छ, गइसिन्छमा परिणत भइसकेको छ । 

हिजो राजा महाराजाहरू सवारी हुँदा सडक खाली गराउने क्रममा जनताहरूलाई दुःख हुन्छ भनेर चर्काे स्वरमा चिच्याउने तिनै नेताहरू आज उनीहरू सवारी हुँदा घण्टौं सम्म आकाशै खाली गराउँछन् । मृत्युशैयमा पुगेको एउटा बिरामीलाई बोकेर अस्पताल दौडिरहेको एम्बुलेन्सलाई समेत उनीहरूको सवारीको खातिर रोकेर बिरामीको बाटैमा मृत्यु हुँदा समेत मानविय संवेदनालाई पनि भुलेर ठाँटका साथ साइरन बजाउँदै त्यहीँबाट हुँइकिन्छन् । उनीहरूको सात पुस्तालाई पुग्ने गरी सम्पत्तिको जोहो गर्न पनि भ्याएका छन् । चाकरी गर्ने कार्यकर्ता, आसेपासे, भरौटे, इष्टमित्र, नातागोता, गर्लफ्रण्डहरूलाई पद, पैसा, टेन्डर सेन्डर त कति छ कति कुरा गरीसाध्य छैन ।

तर लोकतन्त्रको निम्ति आफ्नो प्राणको आहूति दिने योद्धाहरू, तिनको परिवार, बेपत्ता, घाइते, रगत र पसिना बगाउने जनताहरूको कान्त बिजोग भएको छ । उनीहरूले यो लोकतान्त्रिक व्यवस्थामा ‘लोकतन्त्र’ भन्ने शब्द बाहेक केहीपनि राहात पाएका छैनन् । बरु आहात मात्र पाएका छन् । लोकतन्त्रको निम्ति जनताहरूले गरेको बलिदान एउटा राजालाई विस्थापित गरेर अन्य सयौं नवसामन्तवादी राजाहरू स्थापित गर्नु भन्ने पटक्कै होइन र थिएन । जनताहरूको बलिदानको ताकतले दुइसय वर्ष पूरानो शाहावंशीय राजतन्त्र त ढल्यो । तर त्यसैको जगमा टेकेर यो लोकतन्त्रमा श्रीपेच नलगाएका अन्य धेरै अवसरवादी र नवसामन्तवादी अघोषित छोटे राजाहरू जन्मिए । यिनै छोटे राजाहरू लोकतन्त्रको खास्टो ओडी राजतन्त्रको शासनसत्ता संचालनमा लिप्त भई देश र जनताहरूलाई लुट्न र चुस्न पल्केका छन् । 

हिजो राजा कालमा पनि सार्वभौसत्ता जनतामा निहित भनिन्थ्यो । तर व्यवहारमा राजा संविधान भन्दा माथि बसेर देश र जनतालाई चुस्थे । आज लोकतान्त्रिक गणतन्त्रात्मक संघात्मक राज्य व्यवस्था भनिन्छ । यहाँ शब्द फरक होला, तर व्यवहारमा राजा र नेताहरूमा केहीपनि फरक छैन । किनकि, आज यो लोकतान्त्रिक पद्धतिमा पनि नेताहरू संविधान, ऐन कानुन, नीति  नियम भन्दा माथि रहेर जनताहरूलाई सताउने, लुट्ने र चुस्ने काम गरि नै रहेका छन् । 

राज्यको सम्पूर्ण डाडु पन्युँ आफ्नो हातमा लिएर प्रहरी प्रशासन, अदालत, अख्तियार, विशेष अदालत, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय मानव अधिकार आयोग लगायतका सबै संवैधानिक निकायहरूलाई दाँत र नङ्ग्रा बिनाको बाघ बनाएर धमाधम मानव अधिकार हनन गर्ने,, उद्योगधन्दाहरू कौडीमा बेच्ने, एनसेल, युटिएल, वाइडबडीमा अरबांै घुस खाएर खरबौं कर मिनाहा गर्ने, पचासौं लाखौं भन्दा बढी युवाहरूलाई खाडी मुलुकको तातो घाममा बेच्ने, तेत्तीस किलो सुन गायब बनाउने, भ्रष्टचार तथा अनियमितता गर्नकै खातिर कानुन नै संशोधन गर्ने, ठेक्कापट्टा, सरुवा बढुवामा अनगिन्ति घुस लिने, जनताहरू माथि कर माथि कर थोपर्ने, देशको स्वभिमान, खोलानाला र भूभाग नै बेच्ने, ठेलगाडा तथा नाङ्ले पसलेबाट पैसा असुल्न डण्डा चलाउने, कुनै व्यक्ति, अभियान्ता, पत्रकार तथा मिडियाले अलि चर्काे स्वरमा विरोध गरे धाकधम्की र भौतिक आक्रमण नै गरी धरपकड गर्ने, लोकतन्त्रको निम्ति लड्दालड्दै शरीरमा लागेको गोली निकाल्ने आर्थिक हैसियत नभएर एउटा योद्धाले बलिन्द्र आँशुका धारा बगाउनुपर्ने, पचास–पचपन्न डिग्रीको तापक्रममा पसिना बगाउन बेचिएका नवजवानहरू विदेशी भुमिमा कुखुरा काटिए झै काटिएर चौबिस घण्टा सम्म काँक्रो झुण्डिए झै झुण्डिएर मर्नु पर्ने । अनि तिनै पीडित जनताहरूले  तिरेको कर र विप्रेषणले धानेको मुलुकमा जनताहरूले नुन र सिटामोल पनि खान नपाइरहेको अवस्थामा सिटामोल खान र रिफ्रेस्मेन्ट गर्न राज्यकोषबाट अरबौ रुपैयाँ खर्च गरेर अमेरिका, सिंगापुर, दुवाई, बैंककका महंगा अस्पताल, होटल तथा रिसोर्टहरू धाउनमा मस्त छन् हाम्रा छोटे राजाहरू । अनि उनीेहरूको नकारात्मक कुराहरूको विरोध गर्ने बित्तिकै राजावादी, अतिवादी, प्रतिगामी, लोकतन्त्र विरोधी लगायतका अनेकौं पगरी भिराइ दिइहाल्छन् यहाँ । 

मानौं, यो लोकतन्त्र भनेकै नेताहरूले जनतालाई लुट्न चुस्न पाउने लाइसेन्स हो । उनीहरूले जतिसुकै खराबी गरेपनि त्यो असलै हो । यो लोकतन्त्र एउटा राजालाई हटाएर हजारौं नेताहरूलाई राजा बनाउन ल्याइएको व्यवस्था हो । यो कुराले नेताहरू, तिनका चाकरदार, कार्यकर्ता, आसेपासे, भरौटे, इष्टमित्र र नातागोताहरूको चित्त दुखाए पनि यथार्थ त भन्नु नै पर्छ ः जसरी मेरो छिमेकी दिलबहादुर रक्सीको मातले लठ्ठ परेर उसको परिवारका सदस्यहरूको पीडा देख्दैन । त्यसरी नै हाम्रा नेताहरू सत्ताको मातमा लठ्ठ परेर जनताको चित्कारलाई सुन्दैन । पीडीत र नैराश्यताले उकुसमुकुस जनताहरू कहिले पत्रकारको पक्षमा, कहिले अभियान्तको पक्षमा, कहिले हाँस्यकलाकारको पक्षमा त कहिले एउटा कर्मचारीको पक्षमा नारा लगाएर हिडेका छन् । अनि सरकार, सत्ता र नेताहरू यो नाराबाजी गरिहिड्ने भिडलाई राजावादी, अतिवादी, प्रतिगामी र विदेशी देख्छ र तिनीहरूलाई सिध्याउन साम्, दाम् दण्ड भेद प्रयोग गर्छ । 

यसरी नै नेताहरूले लोकतन्त्रको खास्टो ओडेर राजतन्त्र भन्दा पनि अझ भ्रष्ट भई जनताहरूलाई आँखामा छारो हालिराख्ने हो भने, जनताहरू नेताहरू प्रति होइन, हजारौं नेपालीहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक पद्धति र प्रणाली प्रति नै रुष्ट हुनेछन् र लोकतन्त्र नै खतरामा पर्ने देखिन्छ । त्यसैले नेताहरू नामको मात्र लोकतन्त्रिक होइन, त्यसको अर्थ, कर्म, मर्म, भावना, चरित्र, विशेषता र व्यवहारमा लोकतान्त्रिक हुन अति नै आवश्यक छ । नेताहरू नीतिमा मात्र लोकतन्त्रिक होइन, नियतमा पनि लोकतान्त्रिक हुनुपर्छ । अब किनबेच हुने र दलको निर्देशनबाट चल्ने सांसदहरूको मतदानबाट राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीहरू चुनिने होइन । उनीहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएर जानुपर्छ र दल प्रति होइन, जनता प्रति जिम्मेवार र जवाफदेही हुनुपर्छ । हरेक संवैधानिक निकायहरू व्यवहारमै राजनीतिक दवाव, प्रभाव, प्रलोभन र हस्तक्षेपबाट अलग हुनुपर्छ । एउटा नागरिकले कुनै राजनीतिक दलको झोला नबोकी, कुनै दलाल र नेताहरूलाई नभेटी, भनसुन, चाकारी, चाप्लुसी नगरी बिना घूस सहजै काम गर्न सक्ने वातावरण हुनुपर्छ । अनि समानता, शान्ति, अमनचैन, सुशासन, रोजगारी, विकास र सम्मृद्धीको मार्गमा हिड्नुपर्छ यो लोकतन्त्र । अन्यथा अनन्तकाल सम्म व्यवस्था परिवर्तन गर्नमै हाम्रो समय खेर जान्छ र देश र जनताहरूले दुःख पाइनै रहनेछन् ।

लेखकलाई प्रतिकृयाको लागि: [email protected]

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved