टिएन रेग्मी     Oct 17, 2019 | 12:53:30 PM



sunrisebank

टिएन रेग्मी

नेपाल र चीन सम्बन्ध आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, भौगोलिक लगायतका अनेक आयाममा जोडिएको छ । तर, विगत केही वर्षदेखि यी दुई छिमेकीको सम्बन्धलाई रेलसँग जोडेर परिभाषित गर्ने कोशिस भइरहेको छ । नेपालका गाउँदेखि शहरसम्म, बुज्रुक उपबुज्रुकदेखि सामान्यजनसम्म सबैको चीनप्रतिको चासो रेलकेन्द्रित छ ।

गत हप्ता सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सन्दर्भमा समेत 'रेल चर्चा' प्राथमिक विषय जसरी उठाइएको छ । चर्चा गरिएजस्तो न त नेपालका लागि रेल सर्वाधिक प्राथमिकताको विषय हो, न चीनका लागि नै  । नेपाल चीन सम्बन्धमा रेल एउटा सानो फ्याक्टरमात्रै हो । तर, रेलबारेको चर्चा र तर्क वितर्क सुन्दा/पढ्दा लाग्छ कि रेलबाहेक नेपाल चीन सम्बन्धमा अर्को महत्वको विषय नै छैन ।

रेलको अर्थ राजनीति

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा भनिएको छ, 'दुवै पक्षले सन् २०१८ को जुन महिनामा भएको सम्झौता बमोजिम सीमापार रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने विषयमा सहमत हुँदै काठमाडौं-पोखरा-लुम्बिनी रेल परियोजना बिस्तार गर्ने सम्बन्धमा प्रतिबद्धता दोहोर्‍याउदछौं ।'

नेपालमा चीनको बेल्ट एण्ड रोड परियोजना, हाम्रो नेतृत्वले गर्ने हरेकजसो चीन भ्रमण र नेपाल-चीन सम्बन्धका बारेमा हुने प्रत्येक छलफल र बहसलाई 'रेल ल्याउने' सन्दर्भमा जोडेर बुझ्ने/बुझाउने गरिएको छ ।

यसअघि भारतले गरेको नाकाबन्दीको पृष्ठभूमिमा चीनसँग भएको पारवहन सम्झौतासँगै चिनियाँ रेल काठामाडौंसम्म ल्याउने चर्चा सुरु भएको थियो । सन् २०१६ को मे ११ तारिखमा चिनियाँ पत्रिका पिपुल्स डेलीको अनलाइन संस्करणमा प्रकाशित समाचारमा भनिएको छ, "अन द आफ्टरनुन अफ मे ११, एन इन्टरनेसनल फ्रेट ट्रेन डिपार्टेड फ्रम लान्झोउ… द फाइनल डेस्टिनेसन इज काठमान्डु ।" अर्थात् मे ११ तरिखमा अन्तराष्ट्रिय मालबाहक रेल लान्झोउबाट गुडेको छ, त्यसको अन्तिम गन्तब्य काठमाडौँ हो। 

हामीलाई चिनियाँ रेलप्रति एकोहोर्‍याउने आधारभुत कारण यही समाचार थियो । र, सोही दिन प्रकाशित रेलको फोटो नेपाली सञ्चार माध्यममा चिनियाँ रेलको मानकका रुपमा हजारौंपटक प्रकाशन/प्रसारण हुने गरेको छ ।

कुनै परियोजना सम्पन्न गरी रेल चलाउनु आर्थिक र प्राविधिक हिसाबले पनि सजिलो काम होइन । रेलबारेको जिज्ञासा र चर्चाबारे प्रतिक्रिया दिनेक्रममा केही समयअघि रेल विभागका प्रवक्ताले रेल ल्याउने काम 'अम्लेट बनाएजस्तो सजिलो नहुने' प्रतिक्रिया दिएका थिए ।

रेलको प्रसङ्गले आम जनमानसमा भने एक किसिमको रोमाञ्च पैदा गरिदिएको छ । आम सर्वसाधारणले नेपालको उच्च नेतृत्वले गर्ने चीन भ्रमणलाई 'रेल लिन गएको' रुपमा बुझ्ने स्थिति पैदा भएको छ । आर्थिक मामिलाका जानकार र एकथरी विज्ञहरुले भने नेपाल आउने रेलले के लिएर जान्छ? भन्ने प्रश्नमा केन्द्रित बहसको थालनी हुनुपर्ने मत व्यक्त गरिरहेका छन् ।

हाल नेपालमा आधा दर्जन जति रेल परियोजना पाईपलाइनमा छन् । काठमाडौं महानगरपालिकाले ‘मोनोरेल’को कामसमेत थालनी गरेको छ । प्रजातन्त्र पुनर्स्थापनापछिको दशकमा ग्रामीण सडक बनाउने लहर चलेजस्तै गरी वर्तमान नेपालमा रेलका परियोजनाबारे चर्चा भइरहेको छ । यद्यपि नेपालमा सञ्चालन हुने रेल परियोजनाले दिने प्रतिफल, त्यससँग उत्पादन र रोजगारीको सम्बन्ध लगायतका अर्थतन्त्रका सवालमा भने अर्थपूर्ण बहसको थालनी भएको छैन । बरु यहीबीचमा केही मानिसले चीनले ल्याउने हरेकजसो प्रस्तावले नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छन् भने ढंगले विषयलाई तरङ्गित बनाउने कोशिस गरिरहेको देखिन्छ ।

यस्तो परिवेशमा चीनसँग सम्बन्धित परियोजनाबाट अधिकतम लाभ कसरी लिने भन्नेबारेमा सघन छलफलको आवश्यकता छ । नेपालको अर्थतन्त्रले थेग्न सक्ने र हामीले अधिकतम लाभ लिनसक्ने परियोजना छनोट गरी मित्र राष्ट्रहरुसँग सम्झौता हुनु जरुरी छ । आम नागरिकको अपेक्षा पनि यही हो ।

रेल ईतरका मामिला

कहिलेकाहीँ यस्तो लाग्छ, अचेल हामीले नेपाल-चीन सम्बन्धको बारेमा कुरा गर्दा रेलमात्रै सोच्छौं । रेलमात्रै बुझ्छौं । तर, यथार्थमा चीनसँग हाम्रो सम्बन्ध केही वर्ष अघिदेखि बहसमा आएको रेलमा आधारित होइन । रेल बाहेकका अनेकन विषयमा नेपाल र चीन दशकौंदेखि जोडिएका छन् । सामाजिक, साँस्कृतिक र आर्थिक सम्बन्धले एकापसमा बाँधिएका छन् । रेलमा केन्द्रित हुँदा ती विषयमा ओझेलमा पर्नु हुँदैन ।

नेपाल-चीन आर्थिक मामिलाका जानकार ज्ञानेन्द्रलाल प्रधानले केही समयअघिको भेटमा नेपाल-चीन सम्बन्धलाई उपलब्धिमूलक बनाउन भाषिक कठिनाई रहेको र यसमा ध्यान दिइनुपर्ने बताएका थिए । हालै भएको चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा दोभाषेसमेत उतैबाट ल्याउनुपर्ने अवस्था रहेको तथ्य सञ्चारमाध्यममा आइसकेको छ ।

अरनिको र भृकुटीको समयदेखिको नेपाल-चीन साँस्कृतिक सम्बन्ध, दुई देशबीचको सीमा सुरक्षा र शरणार्थीका मुद्दा, चिनियाँ पर्यटकको नेपाल आगमन र आर्थिक सम्बन्धका यावत् पक्ष, नेपालमा हुने चिनियाँ लगानी र त्यसको उपादेयता लगायतका विषयमा हामीले विभिन्न स्तरमा छलफल, बहस र अन्तरक्रिया गरी स्पष्ट मार्ग पहिल्याउनु पर्दछ । दुई देशबीचको सम्बन्ध व्यवस्थित, लाभदायक, परिणाममुखी र विश्वसनीय बनाउन यसलाई शंका, उपशंका, उटपटाङ र साँघुरो चिन्तनभन्दा माथि उठेर हेर्नु आवश्यक छ ।

चीनसँगको सम्बन्ध भनेकै रेलका लागि हो । बीआरआई भन्नु नै रेल ल्याउनु हो भन्ने ढंगको बुझाईले नेपाल-चीन सम्बन्धको व्याख्या गर्न सक्दैन । चीनसँगको निकट छिमेकी हुनुका नाताले 'ठूलो रुखको ओत'मात्रै नभएर ठूलै कठिनाई र चुनौतीहरुसमेत आइलाग्ने अवस्था आउन सक्छ । बुद्धिमत्तापूर्ण र कुशल कुटनीतिक अभ्यासले मात्रै हामीलाई जोखिमबाट जोगाउन सक्छ । अतः चीनसँगको सम्बन्धलाई सघनरुपले मन्थन गरी हरेक आयामलाई लाभदायक बनाउँदै सकारात्मक दिशामा अगाडि बढाउनु जरुरी छ । स्मरण रहोस्, रेल नेपाल-चीन सम्बन्धको सबैभन्दा महत्वपूर्ण पक्ष होइन । रेलले अरु यावत् विषयलाई ओझेलमा पार्ने अवस्था कम्तीमा पनि नेपालको हितमा छैन । 

Share your thoughts!

टिएन रेग्मी

निजामती सेवामा कार्यरत रेग्मी समसामयिक विषयमा कलम चलाउँछन् ।










Close in 7