टिएन रेग्मी     Oct 17, 2019 | 09:45:12 PM



sunrisebank

'गैरआवासीय नेपाली' अर्थात् एनआरएनहरुको नवौं विश्व सम्मेलन काठमाडौंमा चलिरहेको छ । अनेक लफडा र हर्कतको छायाँमा परेको सम्मेलन संस्था स्थापनाको उदेश्यभन्दा निकै टाढा पुगेको छर्लङ्गै देखिएको छ । यही विषयमा चित्त दुखाउँदै संस्थापक अध्यक्षले सम्मेलनमा भाग नलिएको कुरा पनि अब सबैको जानकारीमा आइसकेको छ। 

यद्यपि नवौं सम्मेलनसम्म आईपुग्दा पनि एनआरएनहरुको 'सुपर सिटिजन'वाला मनोविज्ञान ज्युँका त्युँ छ । हामीले एनआरएनलाई अनावश्यक महत्व दिने र चाकडी गर्ने गरिरहेकै छौं । त्यतिमात्रै होइन, तत्काल यो रोकिने छाँटकाँट छैन । के एनआरएनहरु साँच्चिकै नेपालका लागि त्याग गर्न तयार छन्? हल्ला गरिएजस्तै देशले उनीहरुबाट उल्लेख्य लाभ लिन सकेको छ? एनआरएनका नेताजीहरुले भाषण र गफ गरेजस्तै 'मेगा प्रोजेक्ट'हरु सञ्‍चालन गर्न सक्षम छन्? अब यी प्रश्‍नहरुको उत्तर खोज्नुपर्ने समय आइसकेको छ ।

राष्ट्रसँग व्यक्तिको सम्बन्ध

प्रसिद्ध कवि, अध्येता तुलसी दिवसको शब्द सापटी लिएर भन्दा राष्ट्र हिमाल, डाँडाकाँडा, पहाड पत्थर र खोलानाला मात्रै होइन । अक्सफोर्ड डिक्सनरीले राष्ट्र शब्दलाई एउटै भाषा, संस्कृति र ईतिहास भएका मानिसहरुको समुहको रुपमा परिभाषित गरेको छ। 

राष्ट्र देशभन्दा निकै व्यापक अवधारणा हो । राष्ट्रको सम्बन्ध समाज र संस्कृतिसँग छ भने देशको परिभाषा भूगोलसँग निकट छ । रहन सहन, बोली व्यवहार र भेषभूषा मिल्दैमा मानिस कुनै देशको नागरिक हुन सक्दैन । देशले नागरिक र अनागरिक, भौगोलिक सीमा आदिको आधारमा आफ्नो र पराई छुट्याउँछ । 

राष्ट्र र देशबीचको यही भेदका कारण वर्तमान विश्वमा व्यक्तिको पहिचान 'उद्‍गम', भाषा तथा संस्कृतिका आधारमा हुने गर्दछ । नेपाली नागरिकता बाहक वा नेपालको भूगोलभित्र वंशजका आधारमा बसोबास र पेशा व्यवसाय गर्ने व्यक्तिहरु नेपाली नागरिक हुन् । नेपालबाहिर अर्को कुनै मुलुकको नागरिकता वा स्थायी बसोबास अनुमति पाएका, बसाईँ सरी गएका व्यक्तिलाई गैर आवासीय नेपालीको रुपमा परिभाषित गरेको पाइन्छ भने कुनै देशमा रहेको नेपाली समुदायलाई 'नेपाली जाति'को रुपमा चिनिन्छ । उदाहरणको लागि बर्मा, भारत लगायतका देशमा बसोबास गर्ने नेपाली भाषा बोल्ने र नेपाली संस्कृति मान्ने समुदायलाई नेपाली जाति मानिन्छ ।

एउटा देशको नागरिकता त्यागेर दोस्रो देशमा स्थायी बसोबास अनुमति र नागरिकता पाइसकेका व्यक्तिहरु 'सुपर सिटिजन' बन्न खोज्नु, राजनीतिक अधिकार र दोहोरो नागरिकताका कुरामा अत्तो थाप्नु किमार्थ ठीक होइन । 

कपटी परिभाषा

स्वयं संस्थापकले नै संस्थाले 'ट्रयाक' छोडेको दुखेसो पोख्दै सम्मेलनमा भाग नलिने परिस्थिति बनिसकेको अवस्थामा गैरआवासीय नेपाली संघ सही दिशामा छ भन्‍न मिल्दैन । भातृत्व र आपसी सहयोगका लागि संस्था स्थापना गरिएको भएपनि हालसम्म आईपुग्दा यो पार्टीगत र गुटगत राजनीति गर्ने मैदानको रुपमा स्थापित भइसकेको छ । संस्थाले आफ्नो स्थापनाको उदेश्यभन्दा निकै परबाट फन्को मारिरहेको छ । संस्थापकको चित्तदुखाई पनि यही विषयसँग सम्बन्धित छ ।

'गैरआवासीय नेपाली संघको विधान' मा भएको परिभाषाले विदेशस्थित नियोगमा दुई वर्षभन्दा बढी अवधिका लागि खटिने व्यक्तिलाई समेत एनआरएनए मानेको छ । विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको व्यक्तिसमेत गैर आवासीय नेपाली हुने उल्लेख छ । त्यतिमात्रै नभएर सार्कबाहेकका देशमा बसोबास गर्नेलाई मात्रै समेटिने प्रतिबन्धात्मक परिभाषा समेत विधानमा छ । 

विदेश अध्ययन वा कामका लागि गएको व्यक्ति पुनः नेपाल फर्किएपछि सदस्यता के हुने भन्नेबारेमा विधान मौन छ । सार्क क्षेत्रमा बसोबास गर्ने नेपाली मुलको व्यक्ति गैरआवासीय नेपालीु नहुने व्यवस्था अझै रोचक छ । 

संस्थाको विधानको पछिल्लो संशोधनसम्म आईपुग्दा एनआरएनको परिभाषामा नै भोट बैंक खडा गर्ने नियत देखिन्छ । खाडीमा रोजगारीका दुईवर्षे भिषामा जाने व्यक्ति एनआरएन हुने र वर्षौंदेखि सार्क राष्ट्रमा बसोबास गरिरहेको व्यक्ति सदस्य हुने नपाउने परिभाषा आफैमा विरोधाभाषपूर्ण छ ।

कति चाकडी ? किन ? 

वर्तमान नेपाली समाज विकसित देशहरुको मुद्राको विनिमय दर हेरेर दङ्ग पर्दै त्यतै लहसिएको छ । त्यहाँ पुगेपछि नेपालीहरुले कुन स्तरको जीवनयापन गरिरहेका छन् र सोचको स्तर तथा व्यवहारमा कति फरक आईरहेको छ भन्‍ने बुझ्न एनआरएनको नवौं सम्मेलनकै प्रतिनिधि घटना हेरे पुग्छ । तरपनि, युरोप अमेरिका पुगेको, बसेको दलिलकै आधारमा आफुलाई सर्वेसर्वा र जान्‍ने बुझ्ने ठान्ने एनआरएनहरुप्रति हाम्रो मोहभङ्ग भइसकेको छैन ।

सरकारदेखि आम नागरिकसम्मले जुनसुकै हालतको भएपनि एनआरएन भेटिनेबित्तिकै चाकडी गर्ने परम्परा स्थापित बनिसकेको छ । उनीहरुले देशका लागि गरेको योगदानको वस्तुपरक विश्‍लेषण भन्दापनि कुन देशमा बस्छन् र केके गफ गरे भन्‍नेमै हामी अल्मलिएको अवस्था छ ।

एनआरएनको नवौं सम्मेलनको खर्च नेपाल सरकारले व्यहोर्ने समाचार सार्वजनिक भइसकेको छ । तर, त्यसको उपादेयता केहो भन्नेबारेमा खासै बहस भएको छैन । देशले एनआरएनबाट लाभ लिने विषय त परको कुरा, उनीहरु हामीले दिएको सम्मान र ईज्जतको मर्यादा राख्‍नबाट समेत चुकेका छन् । फेरिपनि हामीले हरेक तह र तप्काबाट एनआरएनको चाकडी गरिरहेकै छौं । आखिर यस्तो किन भइरहेको छ ? यसमा कुनचाहिँ  'फियर  फ्याक्टर'ले काम गरिरहेको छ ? बौद्धिक जगतले यसबारेमा आम नेपालीलाई बुझाउनुपर्ने अवस्था आइलागेको छ ।

देशभित्र ठूलो लगानी भित्र्याउने, मेगा प्रोजेक्टहरु सञ्‍चालन गर्ने आदि भाषण एनआरएनका सामान्य नेताले समेत गर्ने गरेका छन् । हामीले ती सबैलाई पत्याइरहेको अवस्था छ । रोजीरोटीको लागि विदेशिएको यौटा व्यक्तिले राज्यले भन्दा ठूला परियोजनाहरु सञ्‍चालन गर्छु भन्दा पनि दङ्ग पर्नुपर्ने अवस्था किन बन्यो ? यसतर्फ हामीले किन सोचेनौं ?

पछिल्लो समय लगानी भित्र्याउने लोभ देखाउँदै अनेक किसिमका धन्दामा जोडिने एनआरएनको संख्या बढ्दै छ । मिडिया र अन्य दैनिक जीवनसँग जोडिएका क्षेत्रमा हाबी हुने क्रम बढ्दै गइरहेको छ । दोहोरो नागरिकता र राजनीतिक अधिकारका लागि अत्तो थाप्ने कोशिस पनि प्रष्टै देखिन्छ । र, हामी यो सबैथोक हेर्दै दङ्गदास छौं । 

यो पंक्तिकारको अध्ययनमा युरोप, अमेरिकातिर रहने धेरै गैरआवासीय नेपालीहरु जनयुद्धकालमा देशको बद्‍नाम गर्दै उता पसेका भेटिन्छन् । कतिपय यहाँका स्थापित व्यवसायी, पेशाकर्मी भएपनि युरोप, अमेरिका टेक्नु मात्रैलाई जिन्दगीको मूल उदेश्य बनाएर उता गएको उदाहरण पनि पाईन्छ । शरणार्थी, विद्यार्थी, मजदुर, पर्यटक जुनसुकै रुपधारण गरेर जसरी पनि देश छोड्नेहरुले आज आएर नेपालकै लागि आफुलाई समर्पित गर्छन् भनेर कसरी पत्याउने ? ऐनमौकामा देश छोडेर जुनसुकै हालतमा पनि विदेश पस्नुपर्छ भन्नेहरुले नै देश बनाईदिन्छन् र हामीले सुख समृद्धि हासिल गर्छौं भन्ने उल्टो बुद्धि बोकेर एनआरएनहरुको चाकडी कहिलेसम्म गरिरहने ? 

एनआरएनहरुलाई नेपाली 'ओरिजिन' भएको नाताले माया गरौं । सम्मान गरौं । उनीहरुको क्षमता अनुसार विश्वास पनि गरौं । तर, यो स्तरको चाकडी गर्नु र यसरी लहसिनु राष्ट्रको स्वास्थ्यका लागि हानिकारक छ ।

Share your thoughts!

टिएन रेग्मी

निजामती सेवामा कार्यरत रेग्मी समसामयिक विषयमा कलम चलाउँछन् ।










Close in 7