टिएन रेग्मी     Oct 28, 2019 | 11:07:07 PM



sunrisebank

यसपालिको तिहार पर्व अर्थात् यमपञ्चकको चौथो तिथिमा पुगिसकेका छौं हामी । भोलि भाइटीका । बहुसङ्ख्यक नेपालीले मनाउने र नेपालको दोस्रो ठूलो चाडको परिचय पाएको तिहारले अर्थतन्त्रदेखि दैनिक जीवनसम्ममा कम्पन ल्याएको छ। 

किनमेल, धुमधाम, दौडधुप अनेकरुपमा खण्डित भएर पाँचदिन लामो यौटा पर्व टुंगिदैछ । यही सिलसिलामा हामी कतै आधुनिक, कतै अति आधुनिक अनि कतै पछौटेजस्तो भावभङ्गिमा समाजको लय पछ्याउँदै अघि बढ्ने कोशिसमा छौं ।

उहिले र अहिले

चाहे पूर्व होस् या पश्चिम, उहिले मिठो मसिनो खाने र राम्रो लुगाफाटो लगाउने खास मौका भएर दशैं, तिहारजस्ता चाड आउँथे । अहिले खाने वा लगाउने कामका लागि चाडबाड नै कुर्नुपर्ने बाध्यता टरेको छ । मुद्राको सहज उपलब्धता, वस्तु विनिमय प्रणालीमा परिवर्तन आदि कारणले जनजीवन सहज भएको छ । बाटोघाटो, पुल पुलेसा बनेसँगै हिमाल, पहाड, तराई सबैतिर हरेक गाउँबस्तीमा जुनसुकै देशमा बनेका जुनसुकै भाँतीका खाद्यान्न र उपभोग्य वस्तु पुग्न थालेका छन् ।

यससँगै अहिले चाडबाडको मौकामा यौटा नयाँ काम थपिएको छ । त्यो हो देखाउने काम । सकी नसकी, भई नभई जुन ताल र चालले भएपनि मान्छेलाई अरुभन्दा कम नदेखिनु छ । अरुभन्दा बढ्ता जान्ने भइटोपल्नु छ । अरुभन्दा आधुनिक देखिनु, देखाउनु परेको छ । यही गञ्जागोलमा समाज अल्मलिन थालेको छ ।

के भैली, के देउसी

पंक्तिकारले देखे-सुनेअनुसार कार्तिक कृष्ण औंसीको दिन गाईपूजा गरिसकेपछि भैली खेल्ने गरिन्थ्यो । भैली खेल्ने टोलीमा प्रायः युवती र महिला हुन्थे । 

'हामी त्यसै आएनौ, बलिराजाले पठाको

हे औंसी बार गाईतिहार भैली'

यस्तो मजबुनका गीतमा टुक्का थप्दै सम्पन्नता, धनधान्य र श्रीप्राप्तिको कामना गर्दै अनेक आशिष दिएर गीतबाटै बिदा मागी भैली टोली बाटो लाग्थे। 

त्यो परम्परा बिस्तारै थपडी, मादल अनि मादल बजाउने पुरुषको सहभागिता हुँदै क्रमशः परिमार्जन भई अहिलेको चरणमा प्रवेश गरेको छ । भैली गाउने टोलीमा "भाइलो...भाइलो" भन्दै फलाक्ने पुरुष आवाज पंक्तिकारले बाल्यकालमा पहिलोपटक भैरहवामा सुनेको हो । त्यहीबेला नै भैली खेल्ने, फलाक्ने र भट्याउने उपक्रममा पुरुषको पनि सहभागिता हुने रहेछ भन्ने दिव्यज्ञान प्राप्त भएको हो ।

भाइटीकाको दिन टीकाग्रहण गरिसकेपछि देउसी खेल्ने टोली देखिन्थे । देउसीमा भट्याउनेले जनजीविका र परिश्रमको गाथा गाउँदै त्यो परिश्रमबाट बनेको चीज देउसेलाई दिनुपर्ने अनि देउसेले आशीर्वाद दिएपछि त्यो आशिर्वाद लाग्ने वर्णन गरिन्थ्यो ।

"रातो माटो चिप्लो बाटो..." भन्ने पंक्तिले नेपाली जनजीवनको त्यही पाटोलाई उजागर गर्न खोजेको पंक्तिकारको बुझाइ हो ।गणतन्त्र आएपछिको एकसाल राजधानीको न्युरोडमा भेटिएको देउसी-भैलो टोलीमा (खासमा त्यो न देउसी न भैली नै थियो) "रातो माटो चिप्लो बाटो... भैलो" सुनेपछि पंक्तिकार गजबले जिल्लिएको थियो । न्युरोडको देउसीमा 'रातो माटो चिप्लो बाटो' भर्खरै राजधानी छिरेको यौटा गाउँलेका लागि योभन्दा अचम्मको कुरो के होला!

देउसी-भैलो खेल्ने टोलीले जनजीवन र परिवेशलाई केन्द्रमा राखेको भए न्युरोडमा रातो माटो, चिप्लो बाटो कसरी आओस्! समयक्रममा जनजीवनका आधारभुत पक्षसँग नजोडिए पनि हुने शैली क्रमशः विकास हुँदै गयो । र, यही शैलीसङ्गै जसरी गाएपनि हुने चलन हाम्रो संस्कृतिमा घुल्दै गयो ।

अचेल के देउसी के भैली । दर्जनौं मान्छेको ताँती साउन्ड सिस्टम बोकेर गाउँ टोल थर्काउँदै हिंड्छन् । गाउने र नाच्ने तौरतरिका त्यही टोलीका खासखास मान्छेको रुचिमा निहित हुन्छ । कुन भाषाको गीत बजाउने, कसरी नाच्ने भन्ने टोलीपिच्छे फरक छ । संस्कृतिको टन्टो कसैलाई छैन । पिकनिकको नाचगान र देउसी-भैलोको नाचमा तात्विक फरक छैन ।

"आखुम बाखुम सेलरोटी चाखुम"

"छानामाथि घिरौला केके दिन्छन् हेरौंला"

यी अहिले चल्तीका देउसी गीतका टुक्का हुन् । जबर्जस्ती गरेर, होच्याएर, छुच्याई गरेरै भएपनि धेरैभन्दा धेरै दक्षिणा झार्नु अहिलेका देउसेको धन्दा भएको छ । फोन गरेर देउसी खेल्न आउछौ है भन्दै आउने दुईचार दर्जन मान्छेको हुल र अनेक संस्थाका ब्यानर कथित 'प्रोफेसनल' देउसेमा गनिने चलन आएको छ ।

देउसी र भैलीबीचको भेद नखुट्याउने, आफ्नो र पराई संस्कारको भेउ नपाउने, संस्कृति जगेर्ना गर्ने ठेकेदारी आफ्नै भएको भ्रममा रमाउने र आन्दोलनकारीले जस्तो यसो गर, उसो गर फलाक्नेहरु नै अहिलेका आधिकारिक देउसे भएका छन् ।

देउसी कुन दिन खेल्ने, त्यसको परम्परा केहो? भैली केहो? भन्नेसम्म जान्नु नपर्ने तर यसो गर, उसो गर भन्दै आन्दोलनकारीले जस्तो घुर्क्याउने शैलीबाट समाजले मुक्ति पाउला कि नाइँ? यस्ता उट्पटाङ देखेर पनि चुप बस्ने संस्कृतिका मर्मज्ञको बोली कहिले फुट्ला?

Share your thoughts!

टिएन रेग्मी

निजामती सेवामा कार्यरत रेग्मी समसामयिक विषयमा कलम चलाउँछन् ।










Close in 7