बिजपाटी आर्काइभबाट: अंग्रेजी नयाँ वर्षमै नेपाली टोपी दिवसको आवश्यकता किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 08:45:06 PM मा प्रकाशित

laxmi  sunrise bank

रामजी बलामी

नेपाली समाजलाई आधुनिकताको रङ्गले छपक्कै छोप्न थालेका छन् । कतिपयलाई आधुनिकताको भूतले यतिधेरै सताउन थालेका छन कि आँखा चिप्लेरै विदेशी संस्कार, खानपिन र आकर्षणमा चुर्लुम्म डुब्न थालेका छन् । अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन्। आफ्नो पारिवारीक, सामाजिक र राष्ट्रिय विषयवस्तु अंगाल्दा पुरातन भईने डर छ उनीहरुमा। नजानेर होईन कि जानेरै अन्धाधुन्दरुपमा पश्चिमा प्रवृति अंगालीरहेका छन् ।

यसको मतलब सधै स्वदेशी सामाग्री र ब्यवहार मात्रै पालना÷प्रयोग हुनुपर्छ भन्न खोजिएको भने होईन । पूर्वीय होस या पश्चिमा, त्यहाँको राम्रो कुराको मात्रै अनुशरण गर्नुपर्छ । यसो हुन सके मात्रै उत्कृष्ठ समाज निर्माण हुन्छ तर आधुनिकताको नाममा भएभरका कुराहरु सर्लक्कै आँखा चिम्लेर सिको गरि दिँदा हाम्रो समाज भड्काउमुखी बन्दै गएको छ ।

स्वतन्त्रताका सिमा नाघ्दै गएको छ । अहिले हामीले झट्ट हेर्दा पश्चिमेली मुलुकहरुले आकाश छोए जस्तो देखिए पनि ब्यवहारगत रुपमा कतिपय कुरामा उनीहरु पुर्वेली संस्कृतितर्फ आकर्षिक हुन थालेका छन् । तर हामी भने ? यावत कुराहरु मनमा खेल्दै गर्दा तीन बर्ष अगाडि एउटा सोच आएको थियो ।

अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होईन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो । एकातिर अंग्रेजी नयाँ बर्षलाई नेपालीपनले मनाउने सोच र अर्काेतिर नेपाली पोशाक हटाएको पीडा । यिनै कारणले नेपाली टोपी दिवसको जन्म भएको हो ।

त्यतिबेला मनमा उठेका जिज्ञासाहरुसहित सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी नयाँ बर्षलाई नेपाली टोपी दिवसका रुपमा मनाउने विषय पोष्ट गरेको थिए । कतै मेरो सोच असान्दर्भिक होला कि भन्ने डरै डरले पोस्ट भएको स्टाटसमा मित्रहरुको उत्साहजनक प्रतिक्रियाले मन चंगा भयो । जसले गर्दा अघि बढ्न हौसला र प्रेरणा मिल्यो । सुभेच्छुक मित्रहरुसँगको अन्तक्र्रियापछि नेपाली टोपीमा सजिएर फोटो खिच्ने र फेसबुकमा हाल्ने निर्णय गरियो ।

यसरी पहिलो (२०१४) र दोश्रो (२०१५) नेपाली टोपी दिवस फेसबुकमा सिमित रह्यो । पहिलो बर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सिमित यो अभियानले दोश्रो बर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो । यो विषय फेसबुकमा भाइरल बनेलगतै विभिन्न क्लब, समुह तथा व्यक्तिहरुले आआफ्नै तरिकाले नेपाली टोपी दिवस मनाउन थालेका छन् । दुई बर्षको अन्तरालमा देश विदेशबाट थुप्रै ऊर्जाजन्य उत्साहप्रद प्रतिक्रियाहरु प्राप्त भयो ।

त्यसपछि गत बर्ष सन् २०१६ देखि हामीले सडकमार्फत पनि टोपी दिवस मनाउने निर्णय ग¥यौ । जस अनुसार ‘जागरुक युवा अभियान नेपाल’ भन्ने समुह बनाएर हामी नेपाली टोपी दिवसलाई संस्थागत गर्न प्रयासरत छौ । देशभरका विभिन्न सहर र गाउँहरुमा विभिन्न समुहले टोपी दिवस मनाउँदै आएका छन्  भने विदेशमा रहेका नेपालीहरुले पनि विविध कार्यक्रमका साथ टोपी दिवसलाई निरन्तरता दिँदै आएका छन ।

हरेक क्रियाका पछाडि प्रतिक्रिया हुन्छ भने झै हाम्रो यस अभियानमा पनि केही गुनासोहरु नभएका होईनन् । तर विचारणीय कुरा के हो भने टोपीको महत्व र वास्तविकता बुभ्mन जरुरी छ । गणतन्त्रको आगमनसँगै नेपालमा समुदायपिच्छे हक अधिकार र पहिचानका कुरा उठ्न थालेका छन् । यो एकदमै जायज र स्वभाविक कुरा हो तर भई दियो के भने जातीय र सामुदायीक पहिचानको आवाज बुलंद बनिरहँदा राष्ट्रिय पहिचान भने संकटमा पर्दै गएको छ ।

तर वास्तवमा जातीय पहिचानसँगै राष्ट्रिय पहिचानको पनि जगेर्ना हुनुपर्ने हो । विगतमा दौरा सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिइन्थ्यो । यही पहिचानका आधारमा विश्व समुदायले नेपाललाई चिन्थे तर गणतन्त्रको आगमनसँगै नेपाली पोशाक हटाईएको छ । विगतका विविध तन्त्रहरुको पहिचान भन्दै दौरा सुरुवाललाई राष्ट्रिय पहिचानको सूचिबाट हटाएपछि हामी पहिचानबिहिन बन्न पुगेका छौं ।

हालैको एउटा प्रसंग नै काफी छ । केही महिनाअघि भारत भ्रमणमा जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा फोटो सामाजिक सञ्जालमा निकै आलोचित बन्यो । बिश्वका विभिन्न मुलुकमा प्रतिनिधीहरुसँगको उहाँको फोटोमाथि आलोचना हुनुको एउटै कारण थियो उहाँको पोशाक । त्यहाँ सबै प्रतिनिधी आ आफ्नो देशको पोशाकमा सहभागि हुँदा प्रधानमन्त्री ज्यू मात्रै एक्ला ‘पहिचानबिहिन’ पात्र जस्तो बन्न पुगे । तर उहाँ नेपाली टोपीमा सजिनु भएको थियो । जसले अलिकति भए पनि नेपालीपनको आभास दिलाउन सफल हुनुभयो ।

टोपीको कुरा गर्दा यसको इतिहासलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । नेपाली टोपीको इतिहास कैलाश पर्वतसँग पनि जोडिन्छ । इतिहासकार कमलमणि दिक्षितको एक आलेखमा उल्लेख भए अनुसार कवि मोतीराम भट्टले लगाए जस्तो कार्चाेपी टोपी टर्कीबाट नेपाल भित्रिएको हुन सक्ने आंकलन गरिएको छ । यो टोपी राणाकालमा सुब्बा वा सो भन्दा माथिल्लो दर्जाका अधिकारीले मात्रै लगाउन पाउँथे । कतिपयले भने मुसलमान समुदायको प्रवेशसँगै नेपाली टोपीको उदय भएको पनि बताउने गरेका छन् ।

अतः नेपाली टोपीको साइ्नो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । त्यसो त कतिपयले नेपाली टोपीलाई पहाडीयाको उपमा दिने गरेका छन् । तर सबैले बुभ्mनुपर्ने कुरा के हो भने नेपाली टोपीले हरेक जाती, क्षेत्र र वर्गको प्रतिनिधित्व गर्छ । टोपीको माथिल्लो चुच्चो भागले हिमाली, बीचको भिरालो भागले पहाडी र मूनिको समथर भागले तराईको प्रतिनिधित्व गर्छ ।

अर्काे कुरा हामी हिमाल, पहाड, तराई वा पूर्व र पश्चिम जहाँ पुगे पनि नेपालीको शिरमा यो टोपी सजिएको भेट्छौ । त्यसैले नेपाली टोपीलाई खस, क्षेत्रीको पहिरण भनेर आलोचना गर्नु पाच्य हुँदैन । नेपाली टोपी भन्नाले ढाकाटोपी, कालोटोपी, भादगाउँले टोपी लगायतलाई पनि लिन सकिन्छ ।  

हाम्रो देश बहुजातीय भएकाले जातीय पहिरण र यस अन्तर्गत विभिन्न जातीय टोपीहरु पनि नभएका होईनन् । तर बास्तविकता के हो भने बहुसंख्यक नागरिकले प्रयोग गर्ने यिनै टोपीहरु नै नेपाली टोपी हुन् ।

पहिचानका बहस भैरहँदा आखिर हामी नेपालीलाई चिनाउने मुख्य पहिचान के हो त ? भन्ने मूल र नैतिक प्रश्न उठेको छ । दौरा सुरुवाललाई जातीविशेष भन्दै हटाए पनि सबैको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई नेपालको पहिचानका रुपमा घोषणा गरियोस् भन्ने टोपी अभियानको माग हो ।

अग्रगामी क्रान्तिमा होमिनु भएका, दौरा सुरुवाल त्याग्नु भएका प्रधानमन्त्री दाहाल स्वयंले टोपीलाई स सम्मान शिरमा सजाउनु भएको छ । यो भन्दा अरु कुनै गतिलो उदाहरण होला र ? कुनै पनि कुरामा खोट खोतल्दै जाने हो भने शत प्रतिशत चोखो केही पनि हुँदैन । त्यसैले कुनै पनि कुराको कार्यान्वयन गर्नुअघि ध्यान दिनुपर्ने आधार भनेकै बहुसंख्यक जनमत हो । र, बिश्वमा सर्वमान्य तथ्य पनि यही नै हो । यस मानेमा युगौदेखि प्रचलनमा रहेको, कसैको आत्मसम्मानमा चोट नपु¥याएको र बहुसंख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् ।

राष्ट्रिय पहिचान नै छैन भने हामी नेपाली नागरिक भनेर चिनाउने आधार के ? के हामीलाई चिनाउन अब नागरिकता र पासपोर्ट नै झुण्ड्याएर हिड्नुपर्ने हो ? त्यसैले सक्नु हुन्छ भने सधै लगाऔं, सक्नु हुन्न भने औपचारिक कार्यक्रम र जनवरी १ का दिन नेपाली टोपी लगाऔ । नेपाली पहिचान स्थापित गराउन भूमिका निभाऔ । जय नेपाली टोपी ।

बलामी नेपाली टोपी दिवसका संस्थापक अभियन्ता हुन्

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved