टीएन रेग्मी     Mar 26, 2020 | 10:17:28 AM


tansen



'पक्‍कै मरिन्छ, हरी जपे तरिन्छ'

नेपालको पश्‍चिमी पहाडी भेगमा खैँजडी-मजुरा बजाएर गाइने चुड्काको एक अंश हो यो । अन्यथा अर्थ नलागोस्, 'बेटर अप्सन'को प्रसङ्ग भएकाले चुड्काको पंक्ति यहाँ उल्लेख गरिएको हो । कोभिड-१९ को महामारीले संसार आक्रान्त छ । यी पंक्तिहरु लेख्दासम्म १९८ वटा मुलुकमा फैलिइसकेको महामारीको असर ठूला, शक्तिसाली, विकसित र आधुनिक भनिने राष्ट्रहरुले नै थेग्न सकिरहेका छैनन् । हामी यही तथ्य थाहा पाएर बढी आत्तिएका छौं ।


आत्तिनु, दङ्ग पर्नु, फुरुङ्ग हुनु आदि मानवीय स्वभाव हुन् । मान्छेको दुनियाँ तथ्यले भन्दा बढ्ता भावनाले निर्देशित गरिरहेको हुन्छ । मान्छेको मष्तिस्कमा कुनै विषयको सकारात्मक पाटोभन्दा नकारात्मक पाटोले प्राथमिकता पाइरहेको हुन्छ । मानिसको आँखाले एकोहोरो हेर्न असजिलो हुने रातो, पहेँलो र हरियो (लाइट ग्रीन) रङलाई क्रमशः प्राथमिकता दिइरहेको हुन्छ । आँखाले सबैभन्दा पहिला फेला पार्ने एक दर्जन रङको अध्ययनमा हरियो (डार्क ग्रीन), बैजनी र मरुन रङको स्थान अन्तिमबाट क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान पर्दछन् । यानेकि, जुनजुन रङ हेर्दा सजिलो हुन्छ ती ढिलो फेला पर्छन् ।


यसरी मानव मष्तिस्क र आँखा आदि ज्ञानेन्द्रीयहरुले समेत सबैभन्दा नकारात्मक, कडा र चर्को चीज पहिले फेला पार्दछन् । हामी पनि स्वभावैले नकारात्मक विषयपट्टि बढी ध्यान दिन्छौं । यो मानवीय स्वभाव वा कमजोरी हो । तर, हरदम नकारात्मक चिन्तन गर्नु, हरेक विषयको नकारात्मक पाटोलाई उछाल्नु ठीक होइन ।

पछिल्लो दिनमा नेपाली समाज त्यतैतिर बढी केन्द्रित छ । कोरोना भाइरसको महामारीको पृष्ठभूमिमा समेत यो निचोड गलत होइन ।

हिँड्न नपाएपछि...

नेपाल सरकारले ढिलो गरी भएपनि आवागमनमा रोक लगाएको छ । जुन कदम विश्‍वव्यापी अनुभवका आधारमा भाइरस फैलिन रोक्ने सबैभन्दा उत्तम उपाय हो । सरकारको यो कदमले धेरैलाई अप्ठेरो परेको छ । खुलारुपमै दैनिकी चलाउनसमेत कठिन हुने नागरिकलाई घरभित्रै रहनुपर्दा सास्ती हुनु अस्वाभाविक होइन ।

आवागमनमा रोक लगाइएपछिका केही प्रसङ्गहरु यहाँनेर उल्लेख गर्नु सान्दर्भिक हुन्छः प्राइमरी स्कुलको परीक्षा सकिएर फुर्सदिलो बनेको भतिजले फोनमा गुनासो गर्‍यो, 'यो कोरोनाले गर्दा दिनभरी हात धुनमात्रै लगाई रहन्छन् । कम्पाउन्ड बाहिर गएर खेल्नसम्म पाइएन ।'


उसका बहिनीहरुलाई झन् आफुहरु घरमै बन्धक हुनुपर्नाको कारणसम्म थाहा छैन, उनीहरुको आफ्नै खालको गुनासो छ, 'बाबाले दिनभरी बल खेलौं भन्‍नुहुन्छ । लेद कलल (रेड कलर)को बल खेलिसकेपछि अहिले ह्‍वाइटवाला खेल्दैछौं । तल कोठामा ब्लु कलरको बल बाँकी नै छ ।' नेकपाका सांसद जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्रका श्रमजीवी जनता कामको खोजीमा हिँड्दा बुटवलमा अलपत्र परेकोले घर फर्किने व्यवस्था गरिदिन आग्रह गरिरहेको भिडियो सामाजिक सञ्‍जालमा प्रकाशित छ । उनी कोही सरकारी अधिकारीलाई भन्दैछन्, 'त्यति गरिदिनुपर्‍यो सर !' 


आवागमन निषेधको दोस्रो दिनसम्म आइपुग्दा घरबाहिर निस्कने एकाध दर्जनको जिउमा प्रहरीको लाठी बर्सिएको छ । कतिपयलाई किन पिटाई खाइयो ? भन्‍नेसम्म थाहा छैन । कन्टेनरमा 'लुकेर' आफ्नो गन्तव्यतिर लाग्दै गर्दा वीरगञ्‍जमा ४ दर्जन बढी पक्राउ परेको खबर सार्वजनिक भएको छ । घर आउन पाउनुपर्ने मागसहित सीमा नाकामा प्रहरीसँग घम्साघम्सी गरिरहेका नागरिकलाई 'अन्तिम पटक'को लागि प्रवेश अनुमति दिइएको छ । आफ्नो गाउँमा बाहिरबाट आउनेहरुलाई रोक्नका लागि मकवानपुरका युवकहरु लाठी बोकेर सडकमा पहरा बसिरहेको फोटो सामाजिक सञ्‍जालमा भेटिएको छ ।

 

भद्रगोल नै भद्रगोल

स्वयं स्वास्थ्यमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलन 'अस्वस्थ' र अव्यवस्थित देखियो । उच्‍चस्तरीय समितिको बैठकपछि सरकारका प्रवक्ताले बताएअनुसार औषधी र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरणको 'खोजी हुँदैछ' । बजारमा किनमेल कुन समयमा गर्ने ? कस्ता पसल कुन समयमा खुल्ने भन्‍ने कुनै टुङ्गो छैन । दूध, खाद्यान्‍न र तरकारी किन्‍न जानेहरु सुरक्षाकर्मीको हप्काई खाएर फर्किनुपरेको छ ।

 

निजी क्षेत्रबाट सञ्‍चालित स्वास्थ्य संस्थाहरुले उपचारका लागि पुग्‍नेहरुलाई 'रेस्पोन्स' नै गर्दैनन् भन्‍ने गुनासो व्यापक छ । सरकारी स्वास्थ्य संस्था र अस्पतालमा कार्यरत जनशक्तिले व्यक्तिगत सुरक्षा उपकरणको अभावमा जोखिमपूर्वक काम गरिरहेका छन् । ठूला शहर र राजधानीमा असुरक्षित महसुस गर्दै लाखौं सर्वसाधारण गाउँ पसेका छन् । तिनको स्वास्थ्य अवस्था र उपचारको प्रश्‍न ओझेलमै छ ।

 

कतिपय ज्ञानीहरुले नै नियतवश भ्रमको खेती गरिरहेका छन् । कति अल्पज्ञानीहरु सर्वज्ञानी भएर प्रस्तुत भइरहेका छन् । कतिपय मिडियाले डरको व्यापार र अफवाह फैलाउने काम गरिरहेका छन् । यस्तो परिवेशमा सामान्यजन आत्तिनु नौलो कुरा होइन । फेरिपनि आत्तिनु र अनुशासनहीन हुनु दुवै समस्याको समाधान होइनन् ।

बुझ्नैपर्ने कुरा

कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युको एकोहोरो चर्चाले सामान्यजनमा आतंक सिर्जना गरेको छ । नेपाली समाजमा यसको नकारात्मक पाटोको मात्रै चिन्तन भइरहेजस्तो लाग्छ । प्रायजसोः मानिसहरुमा 'पक्‍कै मरिन्छ' भन्‍ने सोच हाबी भएको पाइन्छ । तर, यथार्थ त्यस्तो होइन । यी पंक्तिहरु लेखिरहँदा १ लाखभन्दा बढी मानिस उपचारबाट निको भइसकेका छन् । संक्रमण र मृत्युको अनुपात निकै बढी छ । बेलायतमा उपचाररत एकजना नेपाली महिला निको भई डिस्चार्ज भएको खबर आएको छ । नेपालको हकमा हालसम्म ६८७ वटा परीक्षणमा ३ जनामा मात्रै संक्रमण देखिएको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किइसकेका छन् ।


कोरोना भाइरसविरुद्ध विभिन्न देशको संघर्षको अनुभवले देखाउँछ कि यसबाट जोगिने सबैभन्दा बलियो उपाय सचेतना, सजगता र सावधानी हो । दोस्रो, नागरिक र स्वास्थ्यकर्मीको आत्मविश्वास बढाउने कार्य हो । तेस्रोमा, सामुहिक प्रयास र छरितो सूचना तथा उपचार संयन्त्रको विकास हो । यी विषयहरु हाम्रा लागि त्यति अप्ठेरा होइनन् ।

कोरोना भाइरस संक्रमण हुनै नदिने उपायहरु छन् । संक्रमित भईहालेमा पनि सबैको मृत्यु हुँदैन । आफुलाई अनुशासित राख्दै आधारभुत सावधानी अपनाउन सकेमा यसबाट जोगिन सकिन्छ । सचेत र सावधान रहे कोरोनाकै कारणले मरिँदैन । त्यसैले बाँच्ने चिन्तन गरौं । बाँच्ने तयारी गरौं ।

Share your thoughts!

टीएन रेग्मी

निजामती सेवामा कार्यरत रेग्मी समसामयिक विषयमा कलम चलाउँछन् ।