टीएन रेग्मी     Apr 01, 2020 | 11:40:02 AM


महामारीले संसार नै हायलकायल भएको बेला हामीमात्रै ठीकठाक हुने कुरा भएन । देश विषम परिस्थितिमा छ । डाक्टर, औषधी र स्वास्थ्य उपकरणको महत्व मानव इतिहासमै सबैभन्दा उच्‍च बिन्दुमा पुगेको छ । तर, ठीक यही समयमा नेपालका डाक्टर र स्वास्थ्य संस्था स्पष्ट दुई कित्तामा बाँडिएका छन् । एकथरी जटिल अवस्थामा पनि आफ्नो पेशाको धर्मबाट पछाडि नहट्‍ने, अर्काथरी दैलो थुनेर बस्ने ।

पछिल्लो समयका अधिकांश समाचार हेडलाईनमार्फत बेथिति छताछुल्ल भएको छ । महामारीको बेला जोखिम नलिने भन्दै खासगरी निजी क्षेत्रबाट सञ्‍चालित स्वास्थ्य संस्थाहरु दैलो थुनेर बसेका छन् । तिनका अगाडि सिङ्‍गो राज्यसंयन्त्र निरीह देखिएको छ ।

कुनैपनि पेशामा शत प्रतिशत खराबी हुँदैन । कठिन घडीमा पनि पेशाको न्युनतम धर्म र निष्ठामा अडिग डाक्टर, स्वास्थ्यकर्मीहरुलाई पंक्तिकारको उच्च सम्मान छ । यो आलेख कोरोनाको डरले अन्य रोगका बिरामीले समेत उपचार नपाएर मर्नुपर्ने परिस्थिति निर्माण गर्ने अवसरवादी स्वास्थ्य संस्थाप्रति केन्द्रित छ ।

डाक्टर किन बन्‍ने ?

नेपाली समाजको मनोविज्ञान बडो विचित्रको छ । नेपालीहरु आफ्‍नो सन्तान कम्तीमा पनि आफुभन्दा अगाडि होस् भन्‍ने चाहन्छन् । सन्तानले आफुले भन्दा धेरै नाम र दाम कमाओस् भन्‍ने चाहन्छन् । जुन आधारभूतरुपमा गलत होइन । चाहे त्यो कुण्ठा र महत्वाकांक्षाको तुष्टिकै लागि किन नहोस् ।

सन्तानप्रतिको यही अति लगावको कारण मास्टरको छोरो कम्तीमा डाक्टर वा इन्जिनियर बन्‍नैपर्ने दबाव छ । यो भयो घरायसी कारण ।

अर्को हो, शैक्षिक कारण । सेकेन्डरी स्कुलको परीक्षामा कम्तीमा ६० प्रतिशत आयो भने सारा शिक्षक, जान्‍ने बुझ्ने र इष्टमित्रले साइन्स पढ्‍नुपर्ने र डाक्टर बन्‍नुपर्ने दबाव थोपर्छन् । कतिपय अवस्थामा विद्यार्थी यही दबावको दलदलमा फसेर डाक्टर बनिरहेको हुन्छ ।

तेस्रो तर झनै खतरनाक कारण हो, सोच । नेपाली समाजमा अझैपनि विलासी वस्तुको वर्गमा पर्ने गाडी चढ्न र ठूलो घर बनाउन पुग्ने पैसा छिटोभन्दा छिटो कमाउन डाक्टर बन्‍नुपर्छ भन्‍ने सोच हाबी छ । बाहिर जतिसुकै आदर्श कुरा गरेपनि अभिभावकहरुको निहित चाहना र डाक्टरसँगको अपेक्षा यही हो । त्यसैले समाजमा रवाफ देखाउन र छिटोभन्दा छिटो वैध आम्दानी गर्ने पेशाको रुपमा डाक्टरी पढाई रोज्ने धेरै छन् ।

त्यही सोच र स्कुलिङको भेलमा बग्दै बग्दै यौटा अन्जान बालक डाक्टर बन्‍ने उपक्रममा लागेको हुन्छ । आफ्नो रहर होस्, नहोस् । क्षमता होस् नहोस् । उसलाई अभिभावकको रहर पूरा गरिदिनुछ । नामुद डाक्टर बन्‍न 'रहर' गर्नेहरुमध्ये कति प्रतिशतमा साँच्चै लगाव र ल्याकत रहेछ भन्‍ने थाहा पाउन धेरै टाढा जानुपर्दैन । हरेक वर्ष मेडिकल काउन्सिलको परीक्षाको नतिजा हेरे पुग्छ ।

गलत स्कुलिङको 'कनेक्सन'

अरुलाई उपचार गर्ने काम निकै सम्मानित, संवेदनशील र ईमान तथा निष्ठामा आधारित हुन्छ । पंक्तिकारले बाल्यकालमा पहिलोपटक साक्षात्कार गरेका वैद्यबाप्रति सिङ्गो समाजको जुन आदर थियो, त्योस्तरको सम्मान अहिलेका कुनैपनि डाक्टरले पाउन सकेको देखिँदैन ।

काका अझैपनि भृङ्गीराज, गुर्जो, आकाशेबेली, चरीऔंले, गुराँसको फूल इत्यादि जडिबुटीको मिलाएर गरेर बालबेथाको 'दबाई' बनाउनुहुन्छ । गाउँलेहरुले अप्ठेरो परेका बेलामा सम्झिन्छन् । औषधोपचारको काममा व्यक्ति, उपचार पद्धति भन्दापनि नियत र व्यवहार प्रधान बन्‍दोरहेछ ।

आजकल स्वास्थ्य क्षेत्र चरम व्यापारीकरणको शिकार भएको छ । मानिसले खोजेजस्तो व्यवहार र उपचार पाउन दिन प्रतिदिन झन्‍झन् मुस्किल हुँदैछ । अजङ्‍गका महलहरु निर्माण गरेर अस्पताल खोल्ने 'प्रतिस्पर्धा' नै चलिरहेको छ । ती महलभित्र व्यापारको चिन्तन बढी र सेवाको सोच कम भइरहेको घामझैं छर्लङ्ग देखिन्छ ।

अस्पतालको छत र कम्पाउन्डमा हेलिप्याड हुनु नराम्रो कुरा होइन । तर, खासगरी निजी क्षेत्रबाट सञ्‍चालित ती हेलिप्याडको कनेक्सन 'फेस रेस्क्यु'सँग रहेछ भन्‍ने थाहा पाएपछि खुशी हुनुपर्ने कुनै कारण छैन । निजी अस्पतालका ठूलाठूला बिल्डिङ ठड्‍याएर समाजवाद आउँछ कि आउँदैन? त्यो सर्वसाधारणको चासोको विषय होइन । तर, उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बन्‍न विवश मान्छेहरुको कहानी पढ्दा निको लाग्दो रहेनछ ।

प्रश्‍न आउँछ डाक्टर र व्यापारको कनेक्सनको । आफैले उपचार गरेको बिरामी अस्पतालमै बन्धक बनेको सम्बन्धित डाक्टरलाई थाहा हुँदैन भन्‍नु गलत हुन्छ । आफैलाई देखाएर, आफ्नै नाम बेचेर मुनाफाखोरी चलिरहेको डाक्टरले थाहा नपाउने कुरै भएन ।

यी प्रसङ्गबाट गलत स्कुलिङले निर्माण गरेको जनशक्तिको व्यापार र मुनाफाखोरीसँगको कनेक्सन कस्तो छ भन्‍ने प्रष्ट हुन्छ ।

संकटमा आएका नराम्रा खबरहरु

देश महामारीको सामना गर्न 'लकडाउन'को अवस्थाबाट गुज्रिरहेको छ । यहीबेला अति सामान्य बिरामीलाई समेत निजी अस्पतालहरुले 'रेस्पोन्स' नगरेका खबर देशभरिबाट आइरहेका छन् । यो कस्तो बिडम्बना हो ? ग्यास पसलेले जेनतेन व्यवस्थापन गरेर ग्राहकको चुल्हो बल्ने व्यवस्था गरिदिएका छन् । दाल, चामल व्यापारीले पनि आफुले सकेसम्‍म आपूर्ति गरिरहेका छन् । तर, स्वास्थ्य सेवासँग सम्बन्धित निजी क्षेत्रले समाजप्रति निर्मम ठट्टा गरिरहेछ । स्वास्थ्य सेवा प्रदायकहरु दाल, चामल व्यापारीभन्दा पनि तल्लोस्तरमा पुग्‍नु लाजमर्दो स्थिति हो । यो स्तरको गैरजिम्मेवारी कसैले कल्पना गरेको थिएन ।

ठीक यसैबेला सामाजिक सञ्‍जालमा डा. गोविन्द केसीको तस्वीरसहित यौटा उद्धरण फैलिइरहेको छ, "निजी अस्पतालहरु संकटका बेला काम लाग्दैनन् ।" नचाहेरै पनि सबैले यही सत्य रहेछ भनेर बुझ्नुपर्ने अवस्था आइलागेको छ ।

राज्य स्वास्थ्य क्षेत्रप्रति संवदेनशील भएन, व्यक्तिगत सुरक्षासम्बन्धी उपकरणहरु आपूर्तिमा कठिनाई भयो इत्यादि कुरामा कुनै दुईमत छैन । तर, यही तर्कका आधारमा गैरजिम्मेवार बन्‍ने छुट स्वास्थ्य संस्थालाई छैन । आफ्नै ब्याचको साथी सरकारी अस्पतालमा जोखिम मोलेरै भएपनि सेवा दिने प्रयासमा लागिरहँदा निजी क्षेत्रमा कार्यरत डाक्टर र स्वास्थकर्मी कुराको टेको लगाएर घाम तापिरहनु लज्जाको विषय हो । स्मरण रहोस्, डाक्टरको जानकारीबिना स्वास्थ्य क्षेत्रको बेथिति यो हालतमा पुग्नु सम्भव छैन । कतिपय डाक्टर पेशाकर्मी कम र व्यापारीको भूमिकामा बढी देखिएका छन् ।

अन्त्यमा,

भन्दा र सुन्दा जेसुकै भनिए/सुनिएपनि संसार पूँजीवादको चरम बिन्दुमा छ । नेपाल लगायतका अल्प विकसित देशमा पूँजीवादको सबैभन्दा खराब रुप 'क्रोनी क्यापिटालिज्म' हाबी छ । विकासका पूर्वशर्तहरु पूरा नभईकन बेसुरमा समाज अघि बढिरहँदा यस्ता दृश्यहरु देखिनु नौलो होइन । तरपनि, हामी कहिलेसम्म यस्तै परिपाटीमा रमाइरहने? भन्‍ने मूल प्रश्‍नमा केन्द्रित हुनुपर्ने समय आइसकेको छ ।

हाम्रो विकासको लय कुनैपनि सिद्धान्त र अवधारणाभन्दा बाहिर छ । यसपालिको संकटले स्वास्थ सेवामा निजी क्षेत्र हाबी हुन दिनु गलत रहेछ भन्‍ने प्रमाणित गरिसकेको छ । अतः विद्यमान स्वास्थसम्बन्धी नीति, योजना र कार्यक्रममा व्यापक परिमार्जन गरी डाक्टर उत्पादनको सोच र स्कुलिङ नै बदल्ने तहको परिवर्तनको आवश्यकता देखिएको छ ।

Share your thoughts!

टीएन रेग्मी

निजामती सेवामा कार्यरत रेग्मी समसामयिक विषयमा कलम चलाउँछन् ।