बिजपाटी सम्बाददाता     Apr 06, 2020 | 07:37:26 PM


tansen

चीनबाट सुरु भई महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड १९)का कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ ।अहिले २०० भन्दा बढी देशका झण्डै १२ लाख ६० हजार भन्दा बढी मानिस कोरोना संक्रमणमा परीसकेका छन्। ति मध्ये  ६९ हजार ४ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन्। उपचापछि घर फिर्नेको संख्या संक्रमितको तुलनामा न्युन छ । करीव २ लाख ६१ हजार जती मात्र हालसम्म स्वस्थ हुन सकेका छन्।अन्तराष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले कोरोनाको कारण विश्व आर्थिक मन्दी तर्फ धकेलिसकेको जनाएका छन् ।

अन्तराष्ट्रिय मुद्राकोषका अनुसार सन २०१९ को सुरुमा गरीएको अध्ययनका आधारमा विश्वको कुल ग्राहष्थ उत्पादन (GDP) सरदर ३.४५ ले वृदी भई सन २०१९ मा ८८.०८२ ट्रिलियन अमेरीकी डलर पुग्नुपर्ने थियो । तर विभिन्न देश खासगरी अमेरीका र चीनको व्यापार विवादले सन २०१९ मा यो बृद्धीदर २.९५ मै सिमित रह्यो । सन् २०२० मा अन्तराष्ट्रिय व्यापारमा देखिएको अनुकुलतासंगै यो बृद्धदिर ३.५५ पुग्ने अनुमान विश्व मुद्रा कोषको थियो । तर हाल कोरोना भाइरसका कारण अब विश्व अर्थतन्त्रमा ठुलो संकुचन आउने निश्चित छ ।  

विश्वबैंकले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार यस भाइरसको कारण पुर्वी एसिया र प्यासिफीक क्षेत्रका सबै मुलुकहरुले गम्भिर आर्थिक पीडाको सामना गर्नुपर्ने तथा उधोगधन्दामा काम गर्ने मानिसहरुले उच्च जोखीमको सामना गर्नुपर्ने  छ । साथै २ करोड ५० लाख चिनीया सहीत ३ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्न नसक्ने प्रक्षेपण गरेको छ । सन २०१९ को आर्थिक बृद्धी ५ दशमलव ८ प्रतिशत भन्दा बढीबृद्धी हुने अनुमान गरिएको थियो तर यस क्षेत्रको अर्थिक वृद्धी २ दशमलव १ प्रतिशत रहने बताईएको छ ।यो सन १९९८ को वित्तीय संकट यताकै कम हो ।एसियाली विकास बैंकका अनुसार कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्व डलरको क्षती पुग्ने छ ।

विश्व अर्थतन्त्रलाई प्रभावित पारीरहेको कोरोनाले नेपाली अर्थतन्त्रलाई पनि नराम्ररी प्रभाव पार्ने निश्चित देखिन्छ । अर्थतन्त्रलाई गती दिने मुख्य ४ क्षेत्र पर्यटन, पुर्वाधार निर्माण, रेमिट्यान्स, र वैदेशिक व्यापारमा यसको गम्भीर संक्रमण शुरु भएको छ  भने अर्थतन्त्रका अवयवहरु थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेष्टुरा उधोगमा सोझै असर परेको छ । लगातार तीन बर्ष झण्डै ७ प्रतिशतको आर्थिक वृद्धी देखेको नेपालले यो वर्षको आर्थिक बृद्धीदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना प्रकोपले निर्माणधीन कैयौं जलविधुत आयोजना, सडक र विमानस्थलको काममा अवरोध ल्याएकोले आगामी वर्षसम्म अर्थतन्त्रमा यसको दुस्परिणाम देखा पर्नेछ । त्यस्तै कोरोना त्रासदीका कारणपर्यटनको आगमन नहुंदा पर्यटन क्षेत्र नराम्ररी सुताउने निश्चित छ । जसका कारण काठ्माण्डौका तारे होटलदेखी दुर–दराजका स–साना होमस्टे थला मात्र पर्नु होईन पथ–प्रदर्शक, भरीया लगायतका हजारौंले रोजगारी गुमाउनु परेको छ । बेराोजगारीले त्यस्ता परिवारलाई गरीवीतर्फ धकेल्ने जोखीम छ । कोरोना कहरले आन्तरीक वायुसेवा कम्पनी र हेलिकप्टर सेवा प्रदायक पनि थलिएका छन्। कोरोना भाइरसका कारण यो वर्ष नेपालका आन्तरीक वायुसेवा कम्पनीहरुलाई रु.४ अर्व नोक्सान पुग्ने आंकलन एशियाली विकास बैंकले गरेको छ । 

नेपालबाट मासिक करीब ५० हजार युवा रोजगारीकालागि बाहिरीने गरेकोमा श्रम स्वीकृती बन्द गरेपछि चैत्र महिनादेखी कामदार विदेश जान पाएका छैनन् । विदेशमा भएकाले समेत काम गरेर बस्ने अवस्था नहुंदा रकम पठाउन सकेका छैनन्। नेपाल जिवनस्तर सर्वेक्षण २०६७÷६८ अनुसार करीव ५६ प्रतिशत परिवारले रेमिट्यान्स प्राप्त गर्छन जसमध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोगमा खर्च गर्दछन्। रेमिट्यान्स प्रभावित भएपछि अव ती ५६ प्रतिशत परिवार प्रभावित हुनेछन् । कामकालागि विदेशीयकाहरु स्वदेशमै फर्कनुपर्ने अवस्था आयो भने जिडीपीको २५ प्रतिशत हिस्सा ओगटेको  नेपाली अर्थतन्त्रलाई र देशलाई नै धेरै पछाडि धकेल्ने निश्चित छ । 

सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारीदेखी अर्बौं रुपैयां ऋण लिने उधोगपतीलाई बढी असर गरेको छ । बैंकको व्याज तिर्नेदेखी, उत्पादन गर्ने वातावरण प्रतिकुल हुंदा  विदामा बसेका कामदारहरुलाई पारीश्रमीक मात्रै भुक्तान गर्नकालागि पनि ठुला उधोगीहरुलाई चुनौती भएको छ । यस्ता क्षेत्रले राज्यलाई गरेको योगदानको आधारमा सरकारले बिशेष सहुलियतका प्याकेज ल्याउनु जरुरी छ । सोको मधयनजर गर्दै हाल उधोग व्यवसाय सन्चालन गर्न नपाएका,  जागीरे, व्यापारी, श्रमीक सबैकालागि हुनेगरी राष्ट्र बैंकले ऋणमा सहुलियत प्याकेज घोषणा गरेको छ। जसबाट व्याज तथा ऋण तिर्ने अवधीलाई बढाईएको छ  भने सरकारले गरेको आर्थिक क्षेत्रमा सहुलियतको घोषणा गरेको छ । जसमा कर तिर्नुपर्ने समय थप बाहेक रोजगारदाता वा उधोगीलाई खासै प्रभाव देखीदैन यधपी श्रमीकहरुको हकमा निकै सह्रानीय छ । यसरी ल्याएका प्याकेजहरुलाई सकारात्मक रुपमा लिनुपर्दछ ।

दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गरेका समुदायको प्रत्येक स्थानीय तहले पहिचान गरी राहत पुर्याने काम भईरहेको छ । यसबाट मानिसहरु भोकको भरमा ज्यान गुमाउनुपर्ने छैन । यस्तो अवस्थामा आम नागरीकले पनि राज्य संयन्त्रको मात्रै मुख नहेरी आफुसंग जे छ त्यसैमा रमाउन सिक्नुपर्छ । हुनेखानेले पनि बढी संचय गर्ने बानी हटाउनुपर्दछ जसले गर्दा बजारमा अभाव सिर्जना नहोस् । अहिले हामीकहां ग्यांस पसल, खाधान्न पसल, तरकारी बजारमा आम–नागरीक बिनासावधानी भिडभाड गरीरहेका देखिन्छन्। एक छाक मिठो नखांदा बांच्न सकीन्छ भने एकजनालाई मात्र कोरोना संक्रमण देखीयो र उ संगै हामी संक्रमीत भयौ. भने के हुन्छ ? विना लक्षण व्याक्तिमा हिंड्दो रहेछ कोरोना न त यसले मान्छे को तह नै छुट्याउंछ न त आफुसंगै हिड्ने व्याक्तिको पहिचान गराउंदछ । त्यस्तै बैकहरुमा मान्छेहरुको भिडभाड उत्तीकै देखिन्छ । आलोपालो गरेर काम गरेपनि बैंक भौचर, चेक र पैसा समाउने व्याक्ति संक्रमित भएमा अबस्था के हुन सक्छ ? यस्ता स्थान कोरोना सर्ने राम्रो माध्यम हुन सक्छन । यसतर्फ हामी सबैले सजगता अपनाउनैपर्छ । नत्र यसको प्रकोपले सबैलाई क्षणभरमै बर्बादीतर्फ  धकेल्नेछ । 

सरकारको हालको प्राथमिकता राहत, लकडाउन र उपचार नै हुनुपर्छ । तर आर्थिक व्यबस्थापनमा पनि समानान्तर सक्रीयता नदेखाउने हो भने नेपाली अर्थतन्त्रले कालान्तरमा ठुलो भार बोक्नुपर्ने हुन्छ । यो विश्वयुद्ध भन्दापनि विषम परिस्थिती भएको र नेपालले बल्लतल्ल १० बर्षे जनयुद्धबाट ध्वस्त भएको अर्थतन्त्रलाई बामे सराउंदै एउटा आशातीत अवस्थामा पुग्दैगर्दा फेरी त्यो भन्दा पनि विषम अकल्पनीय परिस्थितीको सामना गर्नु परेको छ । यस अवस्थामा आम नागरीकको सकारात्मक सहयोगको राज्यलाई खांचो भएको छ भने एउटा दुरदर्शी नेतृत्वको खांचो अझ बढी टड्कारो देखिएको छ । अर्थतन्त्रलाई राहत दिन मौद्रीक नीतिका माध्यमबाट मात्रै समस्याको समाधान हुने देखिंदैन । वित्तीय नीति र बजेटबाटै दिर्घकालीन समाधानको बाटो पहिल्याउनुपर्ने आवश्यक देखिन्छ । 

संक्रमणबाट सिर्जीत आर्थिक प्रभाव न्युनीकरण गर्नमा निजी क्षेत्रले पनि सहयोग गर्नु आवश्यक छ । संकटको घडीमा मानवीय नाताले पनि कृत्रीम अभाव, कालोबजारी र महङ्खी बढाएर बढी मुनाफा कमाउनु उचीत होइन । सबै क्षेत्रको सामुहीक प्रयास हुने हो भने कोरोना भाइरसको संक्रमण र त्यसबाट पर्ने आर्थिक, वित्तीय प्रभावलाई निस्तेज पार्न सकीन्छ । अहिलेको यस संकटको समयमा विश्वका ठुला भनिएका व्यापारीक घरानाहरु, कलाकारहरु, खेलाडीहरु तथा बैंक लगायतले राज्यलाई आर्थिक सहयोगको घोषणा गरीरहेका छन्। नेपालकै कुरा गर्ने हो भने यहां एक से एक धनीमानी तथा व्यावसायीक घरानाहरु छन् । बार्षिक करोडौं आम्दानी गर्ने बैंक तथा विमान कम्पनीहरु मात्र होईन , बैंकमा रकम राख्न सक्ने अरबपती व्याक्तिहरुको सूची पनि लामै छ । फोर्स म्याग्जीनमा अर्वपतीको सूचीमा आफ्नो नाम लेखाउन सफल व्याक्ति पनि नेपालमै छन्। संभावीत संकटबाट त्रसीत बनेको नेपाली समाजले पनि आफ्ना देशको  मनकारी धनीमानीहरु खोजीरहेको छ । तसर्थ लिने आशामा बसेकाहरुको भोक मेटाउनकालागि दिन सक्नेले तथा हुनेखानेले हुंदाखानेलाई कम्तीमा छाक टार्ने व्यबस्थाको लागि  भरपुर सहयोग जरुरी छ । यस्तो समयमा ठूला व्यावसायीक घरानाहरुलाई सरकारसंग कर लगायतका बांकी बक्यौता मिलाउने अवसर नबनोस् । सधैभरी सरकारबाट सहयोगको अपेक्षा राखिराख्दा सरकारलाई पनि कठिन परिस्थितीमा सहयोग गर्नु सबैको दायित्व हो । व्यावसायिक तथा व्यापारीहरु राज्यबाट सुविधा लिन अग्रसर हुन्छन तर संकटमा सहयोगी पनि हुन्छन भन्ने सन्देश जानुपर्दछ । 

अहिलेको महत्वपुर्ण पक्ष भनेको जिवन र मृत्युबीचको सम्बन्ध हो ।  त्यसैले सरकार, नागरीक समाज र आम नागरीकले त्यसतर्फ सोच्नुपर्दछ । कस्तो रोग आयो आज विश्वमा जसको उपचार केवल दुरी मात्रै छ । यसलाई फैलन नदिने उत्तम उपाय भनेको सेल्फ क्वारेन्टनईनमा बस्नुलाई मानिन्छ भने हामी त्यती गर्न किन नसक्ने ? कोरोना नियन्त्रणकालागि देशको अवस्था हेरेर सरकारले जतीपनि समय लकडाउन बढाउनुपर्छ । यस विसम परिस्थितीमा विरामीको उपचारकालागि अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, एवं सोका लागि खटिने सुरक्षाकर्मी हरु चौवीसैघण्टा काममा तल्लिन छन् ।  उनीहरु हामीलाई बचाउन खटेका छन् भने हामी उनीहरुलाई बचाउन घरभित्र बस्दा मात्र पुग्छ । मुलुकलाई अहिलेको भयावह अवस्थाबाट उन्मुक्ति दिने हो भने आफु बांचौं र अरुलाई बचाऔं । देशको अवस्था र छिमेकी मुलुकको परिस्थितीलाई आंकलन गरेर लकडाउनलाई सबैले कडाईका साथ पालना गरौं । 

लेखिका कृषि विकास बैंक बुटवल शाखाकी शाखा प्रवन्धक हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका