जनतालाई जाउलो छैन, नेतालाई मासु भात

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 17, 2020 | 02:33:43 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिनअघि सत्तारुढ नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मासु पकाउँदै गरेको तस्बिर सार्वजनिक भयो । उक्त तस्बिर सामाजिक सञ्जालमा मात्रै नभई आफूलाई ‘देशकै एक नम्बर पत्रिका हुँ’ भनेर दाबी गर्ने दैनिक पत्रिकामा समेत छापियो । 

मासु भात खानु आफैँमा नराम्रो होइन । तर जनता रोएको बेला आफूलाई जनताको सर्वप्रीय र सर्वहारा वर्गको नेता हुँ भनेर दाबी गर्ने व्यक्तिले नै सार्वजनिक रुपमा मासु पकाउँदै गरेको तस्बिर छरपस्ट भएपछि हाम्रो संवेदशीलता कहाँ पुगेछ भन्ने कुरा छर्लङ्ग देखिन्छ । यति मात्र नभई प्रचण्डले मासु पकाउँदै गरेको तस्बिरसहित राष्ट्रिय स्तरको पहिलो दाबी गर्ने पत्रिकाको मुख्य समाचार नै बन्छ भने जनताप्रति नेता कति जिम्मेवार रहेछन् भन्ने सोच्ने बेला आएको छ ।

भनिन्छ, विदुवाको अगाडी श्रीमतीलाई माया नदेखाउनस, गरिबको अगाडी मिठो खाने र राम्रो लगाउने कुरा नगर्नु, बिरामीको अगाडी स्वास्थ्यको कुरा नगर्नु । तर सरकार हाँकिरहेको पार्टीको अध्यक्षले देश लकडाउनले पिल्सिएको र गरिबले खान नपाएर भोकभोकै बसेको वर्तमा अवस्थामा मासु पकाउँदै गरेको तस्बिर सार्वजनिक गर्नु आलोचित कदम मात्र नभई नैतिक रुपमा लाजमर्दो पनि हो ।

सर्वहारा वर्गको मुक्तिका लागि भनेर वर्षौ आन्दोलन गरेर, हजारौँको बलिदानीपूर्ण संघर्षबाट उदाएका प्रचण्ड बम पड्काएकै आधारमा आफूलाई महान क्रान्तिकारी ठान्छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा जब प्रचण्डको उदय भयो, त्यसपछि क्रान्तिको परिभाषा नै फेरिएको छ । उनको भाषणा सुनेकाहरु बम पड्काउनुलाई नै क्रान्ति मानिरहेका छन् । 

त्यसो त अब प्रचण्डले भन्दिनु पर्‍यो की, बम पड्काउनु मात्रै होईन, मूलुकमा नागरिकहरु रोईरहेको बखत घरमा पाहुँना बोलाएर मासु भातको भोज लगाउनु पनि क्रान्तिकारी छलाङ हो । यति मात्र होईन, ‘नियमिततामा क्रम भंगता’को सिद्धान्त मान्ने व्यक्ति हुँ भन्ने उनले यो क्रमलाई भंग गरि अझ उन्नत खालको क्रान्तिको परिभाषा पनि ल्याउनुपर्ने हुन्छ । 

दैनिक ज्यालादारीमा काम गर्ने मात्र नभई सामान्य तलबमा काम गर्नेहरु कोरोना भाइरसको फैलदो संक्रमणका कारण लागेको लकडाउन झेल्न नसकेर पैदलयात्रा गरेरै आफ्नो गाउँ फर्किदै छन् । रात परेपछि कलंकी र कोटेश्वरमा काठमाडौँ छोड्नेको लामो लर्को यथावत नै छ । उनीहरुको भान्सामा चामल र तरकारी सकिएको पीडा प्रचण्ड जस्ता क्रान्तिकारीले नबुझिदिँदा श्रमिकहरुको बिचल्लि भएको छ । प्रचण्ड जस्ता  क्रान्तिकारीले श्रमिकका पीडा बुझ्दारहेनछन् भन्ने दर्विलो उदाहरण केही दिन अघिको उनकै रवैयाले देखाईसकेको छ । 

मजदूरहरु काठमाडौँबाट सुदूरको यात्रामा निस्केको, गर्भवती महिलाहरु हिड्न नसकी बीच सडकमा ढलेको, साना बालबच्चाहरु तिर्खाले आकुल ब्याकुल भएको तस्बिरहरु सामाजिक सञ्जालभरी छाइरहेका छन् । सञ्चारमाध्यममा आइरहेका यस्ता विपतका खबरबारे प्रचण्ड बेखबर नै हुन् त ? 

यो आलेख पढ्दै गर्दा पाठकहरुले ‘नेताले मासु खान नहुने/नपाउने ?’ भनेर टिप्पणी पनि गर्न सक्नुहुन्छ । तर म सोध्न चाहान्छु, ‘हालको अवस्थालाई अलिकति पनि ख्याल नगरी मूलुकको सत्ता सम्हालिरहेको पार्टीका ‘पाइलट’ मासु भात खाएको तस्बिर खिचाउन र समाचार लेखाउनमा नै मस्त हुनु समय सान्दर्भिक हो त ?’ यो प्रश्नको उत्तर उनै प्रचण्ड  जानुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved