बिजपाटी सम्बाददाता     Jun 05, 2020 | 03:42:25 PM


नविन खतिवडा 

कोरोना भाइरसले अहिलेको आधुनिक विश्व समुदायलाई यसको सामना गर्न चुनौती प्रस्तुत गरेको छ। प्रकृतिलाई जित्न प्रयत्न गरिरहेको अहिलेका बैज्ञानिक कोरोना बिरुद्ध साँच्चै संघर्षरत देखिन्छ। झन्डै ४ लाख मानिसको यस भाइरसको कारणले ज्यान गएको छ।आधुनिक स्वस्थ्य प्रणाली , चिकित्सा विज्ञान ,जनशक्ति ,मेडिकल समाग्रीका बाबजुद पनि यस भाइरसको उपचार पद्धति विकास हुन सकेको छैन । जसले गर्दा संक्रमितको संख्या बढ्ने र भाइरस पुर्णरुपमा नियन्त्रणमा नआउने निश्चित देखिन्छ।

विश्वमा विविध क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट यस भाइरसले नकारात्मक प्रभाव पारेको छ। विशेषगरी शैक्षिक क्षेत्रमा कोरोना भाइरसले निकै ठुलो असर पुर्याएको छ। यतिबेला विश्वमा सबै शिक्षा प्रदायक संस्थाहरु बन्द छन् भने सम्पुर्ण शैक्षिक गतिविधिहरु ठप्प छन् । जसको असर प्रत्यक्षरूपमा विद्यार्थीमा परिरहेको छ भने शैक्षिक संस्थाहरुले पनि ठुलो शैक्षिक घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन असर समाज ,राष्ट्र र विश्वमा पर्ने देखिन्छ । 

नेपालमा पनि कोरोनाको संक्रमण बढ्दै गएकाले सम्पुर्ण विद्यालय ,शैक्षिक संस्थाहरु बन्द छन् । त्रिभुवन बिश्वविद्यालय,राष्ट्रिय परिक्षा बोर्ड एवं आयोगले लिने परिक्षाहरु स्थगित गरिएका छन् भने नतिजा प्रकाशन पनि स्थगन गरिएको छ। यसले गर्दा परिक्षाको तयारीमा रहेका विद्यार्थीहरु लाई चिन्ता उत्पन्न भएको छ जुन स्वाभाविक पनि हो। आफुले तयारी गरेको समयमा परिक्षा दिन नपाउदा उनीहरुमा हीनताबोध उत्पन्न हुनुका साथै मनोबैज्ञानिक असर समेत पर्न सक्छ। अब परिक्षा कहिले हुन्छ भन्ने पनि केहि निश्चित छैन। जसको कारण विद्यार्थीहरु अन्योलमा छन्।

नयाँ  शैक्षिक सत्रको सुरुवात भैइसके पनी सरकारले जारी गरेको लकडाउनको कारण विद्यालयहरु बन्द छन् । विद्यार्थी भर्ना कार्यक्रम,पाठ्यसामग्री हरुको वितरण,शैक्षिक सामग्री निर्माण, शैक्षिक योजना निर्माण ,शैक्षिक संस्थाको आगामी कार्यदिशा र समग्र शैक्षिक  कामकारबाही संचालित हुन सकिरहेको छैन। जसको असर दीर्घकालीन रूपमा पर्ने देखिन्छ ।कोरोना भाइरसको कारणले शैक्षिक दृष्टिकोणबाट मुलतः तीन ओटा पक्षहरुमा असर पर्ने देखिन्छ।

१ ) विद्यार्थी 

शैक्षिक संस्था एवम् विद्यालय भन्नासाथ विद्यार्थी अनिवार्य रूपमा आइहाल्छन्। ।शैक्षिक हिसाबले कोरोनाको असरको केन्द्रीय पात्र विद्यार्थी नै हुन् ।लकडाउनको कारणले बिद्यालय बन्द रहेको अवस्थामा नियमित रूपमा शिक्षण सिकाइ क्रियाकलाप हुन सकिरहेको छैन। विद्यार्थीहरु सहजै रूपमा शिक्षा पाउन बाट बन्चित छन् ।जसको कारण उनीहरुमा मनोबैज्ञानिक असर पर्न सक्द्छ। अध्ययनको लागि शैक्षिक सामाग्रीको अभाव,विद्यालय तथा शिक्षक सँगको दुरिको कारणले विद्यार्थीहरुमा पढ्ने बानी बिस्तारै हराउँदै जान सक्छ। त्रिभुवन बिश्वविद्यालय ,राष्ट्रिय परिक्षा बोर्ड एवं आयोगले लिने परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाइ परिक्षाको स्थगनले गर्दा उनीहरुको नतिजा पक्कै पनि आशा अनुसार नआउन सक्छ। लकडउनको कारण घरमै बसिराख्नु पर्दा मानसिक तनाव , हीनताबोध ,अल्छिपना एवं त्रास पैदा हुनु स्वाभाविक नै हो। यसरी हेर्दा शिक्षा प्राप्तिको महत्त्वपूर्ण पक्ष विद्यार्थीहरु समेत कोरोनाको उच्च जोखिममा रहेको देखिन्छ। तसर्थ कोरोनाले विद्यार्थीलाई निकै असर पुर्याएको छ।

२) विद्यालय ,समाज र राष्ट्र

कोरोनाले विद्यालय ,समाज र राष्ट्रलाई नै दीर्घकालीन रूपमा असर गर्ने निश्चित देखिन्छ । संक्रमितको संख्या थपिदै जाँदा विद्यालय कहिले खुल्छ भन्ने विषय अन्योलमा छ। शैक्षिक हिसाबले हेर्दा विद्यालयको शैक्षिक गुणस्तर ,सिकाई उपलब्धि ,पाठ्यक्रमले निर्दिष्ट गरेको उदेश्य हाँसिल गर्नी,एवं भावी योजना र कामकारबाहीमा असर पर्ने देखिन्छ। समग्र शिक्षा संबद्ध शिक्षा प्रदायक संस्थाहरुको क्यालेन्डर र योजना नै अस्तव्यस्त भएको छ। शिक्षा सम्बन्धि तर्जुमा गरिएका राष्ट्रिय निति तथा कार्यक्रमहरु पनि प्रभावित भएका छ्न भने शैक्षिक क्षेत्रमा अझ धेरै लगानी गरेर अगाडी बढ्नु पर्ने देखिन्छ ।कोरोना को कारणले शिक्षामा थप लगानी गरि शैक्षिक समृद्धि तर्फ अग्रसर हुन जरुरत छ।

३) शिक्षक

विद्यार्थी समक्ष ज्ञान प्रदान गर्ने सहजकर्ता एवं पथप्रदर्शक नै शिक्षक हुन् ।कोरोनाको कारणले आफ्नो नियमित शैक्षिक कामकारबाही बन्द भएको कारणले शिक्षकलाइ पनि  समस्या  परेको छ। वार्षिक कार्ययोजना ,शैक्षिक सामाग्री एवं विभिन्न किसिमका योजनाहरु निर्माण गर्न सकिरहेको छैन ।कोरोनाको जोखिममा बढ्दै जादा शिक्षकहरुमा मानसिक तनाव उत्पन्न हुन थालेको छ भने उनीहरु पनि कोरोना संक्रमणको उच्च जोखीममा छन्।विशेषगरी निजि विद्यालयमा अध्यापन गराउने शिक्षकको तथा सामुदायिक विद्यालयको पनि विद्यालयको आन्तरिक स्रोतमा सेवा सुबिधा पाइरहेका शिक्षकको सेवा सुबिधा तथा तलब भत्ता यो विषम परिस्थितिमा दिने वा नदिने भन्ने कुराले पनि शिक्षकमा तनाव पैदा गरेको छ।यसरी कोरोना को कारणले शिक्षकलाई पनि शैक्षिक गतिविधि लगायत विभिन्न शैक्षिक क्रियाकलाप सन्चालनमा असर परेको छ।

यसरी हेर्दा कोरोनाले शैक्षिक क्षेत्रलाई पुर्ण रुपमा शिथिल बनएको देखिन्छ।तसर्थ यसबाट उठेर नियमित रुपमा शैक्षिक गतिविधि गर्नु आफैंमा चुनौतीपुर्ण कार्य हो। लकडाउन लम्बिदै जाने हो भने  शिक्षाको वैकल्पिक उपायहरुको खोजी गर्नु पर्छ । विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्ने वातावरणको व्यवस्थाको साथै आवश्यक शैक्षिक सामग्रीको पनि सहज उपलब्धता सम्बन्धित निकायले गर्नुपर्ने देखिन्छ। त्रिभुवन बिश्वविद्यालयले अनलाइन कक्षा सम्बन्धि निर्देशिका जारी गरी केहि कलेजमा  पठनपाठन सुरु गरेको छ भने निजि विद्यालयहरुले पनि अनलाइन कक्षा संचालन गरेको देखिन्छ। तर आवस्यक पुर्वाधार तयारी नभएको कारणले सबै विद्यार्थीले यसको लाभ लिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्न विदितै छ।तसर्थ दुर्गम गाउ देखी सुगम क्षेत्रका सबै विद्यार्थीलाई मिल्ने गरि सन्तुलित ढंगको वैकल्पिक शिक्षण विधि लागू गर्नु पर्द्छ। लकडाउनसँगै शिक्षा क्षेत्रलाई पनि बिस्तारै सुरक्षित ढंग बाट चलायमान बनाउदै लैजानुपर्छ। त्यसैले यो परिस्थिति सहज हुनासाथ शैक्षिक क्षेत्रमा उच्च लगानी गरि अगाडि बढ्न जरुरत देखिन्छ।

(लेखक हाल सिन्धुपाल्चोकमा कार्यरत शिक्षक हुन)

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका