कोरोना र बैंकिङ क्षेत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 01:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले मानवमा संक्रमण गर्ने क्रम निरन्तर बढ्दै गएको छ । यस महामारीको कारण विश्वको अर्थतन्त्रलाई समेत प्रतिकुल प्रभाव पारिरहेको अवस्था छ । विश्व अर्थतन्त्रमा नै असर पर्ने भए पछि नेपाली अर्थतन्त्र चोखो हुने कुरै भएन । नेपालको अर्थतन्त्र  आयातमुखी भएकाले पनि आयातमा नियन्त्रण हुने बित्तिकै समग्र अर्थतन्त्र नै समस्यामा देखिन्छ ।

पछिल्लो समयमा बाह्य व्यापारका लागि बैंकहरूबाट जारी हुने एल।सी मा समेत कमी आएको छ । यस सन्दर्भमा नेपाल र नेपालको बैंकिङ क्षेत्र पनि यसको प्रभावबाट अछुतो हुन नसकेको सर्वविदितै छ । २०७६ चैत्र ११ देखि देश पुर्ण वा आशिंक लकडाउनमा छ, आर्थिक गतिविधिहरु बन्द रहेका कारण आम्दानीका स्रोतहरु ठप्प छन् । सरकारद्वारा पुर्णरूपमालगाइएको लकडाउन हालआशिंक रूपमाखुलेपनि बढदै गएको संक्रमणले गर्दा आर्थिक कृयाकलापहरू प्रायः ठप्प जस्तै भएको छ ।

मानिसहरुको बाहिर आवतजावत पूर्णरुपमा बन्द गर्दा अर्थतन्त्रका सबै क्षेत्रहरु प्रभावित हुन पुगेको छ । खासगरी दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने व्यक्तिहरु बढी प्रभावित भएका छन् । ऋण लिएका ग्राहकहरूको आर्थिक गतिविधि ठप्प छ । सोही कारण पनि उनीहरू ऋण तिर्न सक्ने अवस्थामा छैनन् । अर्कोतर्फ बैंकले तत्काल लगानी बढाउने अवस्था पनि छैन । यसले बैंक तथा वित्तीय संस्थाको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ऋण लिएर आफ्नो व्यापार, व्यवसाय सञ्चालन गरिरहेका विभिन्न क्षेत्रका ऋणीहरूलाई दुई चरणमा ब्याज छुट प्रदान गरेर केही राहत प्रदान गरेको छ । 

बैंकिङ क्षेत्र

हालसम्मको तथ्याङ्क अनुसार पछिल्लो समय सबैभन्दा बढी संक्रमण स्वाथ्यकर्मीमा देखिएको छ । त्यसपछि बढी संक्रमण देखिनेमा बैंकरहरु रहेका छन् । एकपछि अर्को गर्दै बैंकहरूमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैकिङ क्षेत्र पनि कोरोना हटस्पट बन्न थालेको छ । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ ।

यसबाट बैंकको काउन्टरमा बस्ने कर्मचारी सबैभन्दा धेरै प्रभावित छन । काउन्टरबाहेक अन्य विभागमा काम गर्ने कर्मचारीहरु संक्रमितको सम्पर्कमा आउने सम्भावना न्यून हुन्छ, तर एउटै कार्यालयको काम गर्दा संक्रमणको जोखिम उच्च रहन्छ । चाहेर वा नचाहेर पनि बैंकका कर्मचारीले ग्राहकसँग सिधा सम्पर्क गर्नुपर्ने हुन्छ, यहीकारण बैंकका कर्मचारी उच्च जोखिममा छन् । काउन्टरमा भीडभाड कम गर्न डिजिटल बैंकिङमा विशेष ध्यान दिनुपर्ने अवस्था भए पनि सबै ग्राहकहरु डिजिटल बैंकिङमा अभ्यस्त छैनन्। बैंकले विद्युतीय कारोबारको व्यवस्था गरे पनि सबै ग्राहकहरुले उपयोग गर्न नसक्ने भएकाले बैंकका काउन्टरमा मानिसहरुको भीड देखिने गरेको छ । जतिसुकै संक्रमित बढे पनि बैंक अत्यावश्यकीय क्षेत्रभित्र पर्ने भएकाले सञ्चालन गर्नै पर्ने बाध्यता छ ।  

नेपालको बैंकिङ क्षेत्रमा कोरोनाले पारेको प्रभावलाइ निम्नानुसार उल्लेख गर्न सकिन्छ।

१। आर्थिक कारोबारमा भारी गिरावट  

२। निष्कृय कर्जामा वृद्धि

३। क्यासलेस कारोबारमा वृद्धि

४। मुनाफामा कमी

५। मुख्य आम्दानीको श्रोत कर्जा लगानीमा कमी

६। तरलता व्यवस्थापनमा कठिनाई 

७। कर्मचारीहरुमा कोरोनाको त्रास

स्रोत: मेरोलगानी डटकम


बैंकहरूको पुँजी, निक्षेप र कर्जा औसत (सिसिडी रेसियो) हाल ७१ प्रतिशतभन्दा कम छ । अर्थात् बैंकहरू हाल अधिक तरलताको समस्याबाट पीडित भइरहेका छन् । कुनै समय निक्षेप बढाउन बैंकहरु निक्षेपको ब्याजदर बढाउनका लागि अस्वस्थ प्रतिस्पर्धा थियो तर अहिलेको प्रतिस्पर्धा निक्षेपको ब्याजदर बढाउनका लागि नभइे कर्जाको ब्याजदर घटाउनका लागि चलिरहेको छ ।

अर्थात् कुन बैंकले सस्तोमा कर्जा प्रदान गरी असल ऋणीहरूलाई आकर्षण गर्ने भन्ने होड बैंकहरूबीच अहिले चलिरहेको छ। कतिपय बैंकहरूले आधार दर (बेस रेट) बराबर वा सोभन्दा कम दरमा कर्जा दिने प्रस्ताव गरिरहेका छन् । सस्तो दरमा कर्जा प्राप्त गर्नु उद्यमी, व्यवसायीहरूका लागि सकारात्मक नै हो। सस्तो दरमा कर्जा प्रदान गर्दा उद्यमी, व्यवसायीहरूले उत्पादन गरेको बस्तु सामानहरु सस्तो हुन आउछ फलस्वरुप मुद्रास्फीतिमा सकारात्मक प्रभाव पार्दछ । तर यहाँ यसै बिचकेही प्रश्नहरु सृजना हुन्छन जस्तै के ग्राहकहरुलाई आकर्षण गर्न बैंकहरूले अहिले प्रस्ताव गरेको ब्याजदरलाई न्यूनतम ३-४ वर्षसम्म स्थिरता प्रदान गर्न सक्दछन् रु के आधार दर (बेस रेट) वा सोभन्दा कम दरको ब्याजले बैंकलाई दिर्घकालिनरुप्मा टिकाउन सक्छ ?

कर्जाको ब्याज घटाउनका लागि स्वाभाविकरूपले निक्षेपको ब्याज घटाउनै पर्छ । यसरी निक्षेपको ब्याज घटाउँदै लैजाने हो भने बचतकर्ता निरुत्साहित हुने गर्दछन फलस्व्ररुप, बचतले बैंकिङ प्रणालीमा प्रवेश नपाउने, पुँजी अन्यत्र पलायन हुने, तुलनात्मक रूपमा नियमन कमजोर र जोखिम अधिक भएको सहकारी क्षेत्रतर्फ बचत प्रवाह हुने आदि जस्ता जोखिम वित्तीय प्रणालीले भोग्नु पर्ने हुन्छ। यद्दपी व्यापार व्यवसायहरुले समयमै कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न नसक्ने स्थिति आएमा बैंकिङ क्षेत्रको खराब कर्जामा वृद्धि भई वित्तीय स्थायित्वमा समेत असर पुग्ने देखिन्छ ।

अब के गर्ने

निश्चित रूपमा कोरोना महामारीले नेपालको अर्थतन्त्रको उत्पादनमा संकुचन ल्याएको छ । कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्ने राज्यको मुख्य दायित्व हो साथै आम  सर्वसाधारणहरुले पनि राज्यको नीति तथा कार्यक्रमलाई पारस्परिक रुपमा कार्यान्वयन गरी यस बिषम परिस्थितिबाट बाहिर निस्कन मद्वत गर्नुपर्दछ । नेपालको मुख्य समस्या के हो भने लकडाउन खुकुलो बनाउने त निर्णय गरियो तर समुदायमा कोरोना संक्रमणको वास्तविक स्थिति अझै थाहा छैन । संक्रमण नै कम भएको वा व्यापक ‘टेस्टिङ’ नभएर वास्तविक अवस्था थाहा नभएको हुन सक्छ । नेपालमा दिनहुँ बढ्दै गएका कोरोनाका नयाँ केस हेर्दा व्यापक ‘टेस्टिङ’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ नभएकाले संक्रमण कम देखिएको जस्तो छ।

तत्कालिन समाधान

नीतितथा कार्यक्रमले मात्र यस महामारीलाई नियन्त्रण गर्न सक्दैन मानिसहरु सजक भएर दैनिक जीवनयापन गर्दै अगाडि बढ्नु पर्ने आजको आवश्यकता हो । सरकारले लामो समय देखी पुर्णरूपमा लगाइएको लकडाउन हाल दैनिक जीवनयापन गर्न सहजता प्रदान गर्दै आंशिक खुकुलो बनाएको छ तर मानिसहरु अन्य समयको बन्द खुलेझै निस्फिक्री जथाभावी हात मिलाउने, मास्क नलगाइे निर्वाद हिन्डुल गर्ने जस्ता गतिविधीले थप जटिल अवस्था सृजना गर्न मद्त गरिरहेको छ ।

बैंक तथा वित्ताीय संस्थालाई केही प्रतिशत आयकर छुटको व्यवस्था गर्ने साथै हालको स्थितिमा विदेशी विनिमय सञ्चितिलाई संरक्षण गर्न आयात प्रतिस्थापन गर्न उद्योगलाई व्यापक प्रोत्साहन तथा विलासिताका वस्तुको आयातलाई निरुत्साहित गर्ने ।

निक्षेप तथा ऋणको ब्याजदरमा अस्वभाविक प्रतिस्पर्धा गरी वित्तीय क्षेत्रमा अस्थिरता सृजना गर्नु भन्दा यी दुबैको ब्याजदरमा सन्तुलन कायम हुने गरी ब्याजदरलाई दिगो एवम् पूर्व अनुमानयोग्य बनाउने तर्फ सोच्न आवश्यक छ। 

दीर्घकालिन समाधान

यस किसिमको आपत्कालमा देशले आफ्नो स्रोत साधनलाई बढि भन्दा बढि प्रयोग गर्नु हालको आवश्यकता हो । भविष्यमा आउन सक्ने यस्ता किसिमका संकटमा बच्न आफ्नो उत्पादनबाट धान्न सकिनेगरी पूर्वाधार विकास गर्नु पर्दछ।

संकटबाट पाठ सिकी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र वैदेशिक रोजगारीबाट फर्केको जनशक्तिलाई प्रोत्साहनमार्फत कृषि र अन्य व्यवसायमा लगाउने अवसरको सदुपयोग गर्ने ।

दैनिक ज्यालादारी काम गर्ने श्रमिकलाई केही बचत गर्न सक्ने क्षमतामा परिणत गर्नु पर्दछ। मजदुरको न्यूनतम आय प्रत्याभूत गर्दै अझ बढी कमाउने वातावरण दिनु पर्छ। 

 लेखक उदिप लुइटेल नेपाल बैंकमा कार्यरत छन् र लेखमा उल्लेख बिषयबस्तु लेखकका निजी विचार हुन। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved