प्रेम महत
नेपालमा विद्युत विकासको इतिहास एक सय बर्ष बढीको छ । वि.स १९६८ मा सञ्चालित फर्पिङ्ग जलविद्युत आयोजना नेपालको पहिलो तथा दक्षिण एसियाको दोश्रो हाईड्रोइलेक्ट्रिसिटी प्रोजेक्ट हो । हामीले विद्युत विकासको अवधारणा धेरै गाडी शुरु गरेको भएतापनि उत्पादन तथा वितरणको हिसावले दयनिय अवस्थामा छौं । आज चिनको थ्रि गर्जेज कम्पनीसँग भएको एउटा आयोजना नै बाईस हजार मेगावाटको छ तर हामीसँग देशभरीमा मुस्किलले जम्मा बाह्र सय मेगावाट।
आजभन्दा चार बर्ष अगाडि सम्म हामीले दिनको करिब १८ घन्टासम्मको लोडसेडिङ्ग भोग्न बाध्य थियौं । दिनमा १८ घन्टाको लोडसेडिङ्गको कारण त्यस देशमा हुने आर्थिक क्रियाकलाप, त्यस देशका जनताले पाउने सेवा सुबिधा तथा त्यस देशका नागरिक को सामाजिक तथा मानसिक अबस्था हेर्नको लागि चार बर्ष अगाडि नै फर्कनुपर्ने हुन्छ । अहिले देशभर लोडसेडिङ्ग अन्त्य भैसकेको अबस्थामा बसेर त्यो अबस्थालाई चित्रण गर्न खोज्यौं भने त्यो चित्र केहि फिका बन्न सक्छ ।
देशको राजधानी काठमाडौँमा बसेर पनि बिजुली बत्तिको उज्यालोमा बसेर बेलुकिको खाना खानको लागि हप्तौं पर्खनुपर्ने, बत्ति आउँदा खुशिको सिमा नरहने मोबाईल चार्ज गर्नको लागि अर्को गाउँसम्म पुग्नुपर्ने, देशको विकास बजेट बराबरकै रकम पेट्रोल, डिजेल, जेनेरेटर, इन्भर्टर खरिदका लागि अर्को देशमा पठाउनुपर्ने र बत्ति आएकै बेलामा पनि मैले धेरै बत्ति बालेको खण्डमा अर्काले बाल्न पाउदैन भनेर सोच्नुपर्ने अबस्थाका बिच इतिहाँसले जन्माएको सुपुत्र हो कुलमान घिसिङ्ग ।
कुलमान घिसिङ्गले प्राधिकरणको नेतृत्व लिएको करिब तिन महिनाको बिचमा नै राजधानिबाट लोडसेडिङ्ग हटाएका थिए भने त्यसको केहि समयमा नै देशब्यापि रुपमा लोडसेडिङ्ग हटाएका थिए । कुलमानले प्राधिकरणको नेतृत्व लिएको बर्षको तिहारमा पछिल्लो पिडिका नेपालीले चाहेजति बत्ति बाल्न पाएका थिए । कुलमान घिसिङ्ग नेतृत्वको प्राधिकरणले लगाएको यो गुन सायदै नेपालीले तिर्न सक्लान् ।
त्यतिमात्रै होईन करिब पैंतिस अर्बको सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई करिब दश अर्बको मुनाफामा ल्याउनको लागि महत्वपुर्ण भुमिका खेल्ने ब्यक्ति पनि अरु कोहि नभएर कुलमान नै हुन ।
अझ महत्वपुर्ण कुरा त के हो भने दश बाह्र घन्टाको लोडसेडिङ्गबाट देशलाई लोडसेडिङ्गमुक्त बनाउदा त्यसले देशको अर्थतन्त्रलाई पुर्याएको फाईदा, भएका उद्योगधन्दा तथा कल–कारखानालाई पारेको सकारात्मक प्रभाव तथा नेपाली नागरिकहरुमा प्रवाह भएको आशाको सञ्चारलाई हिसाबकिताब गर्न सकिन्छ भने सायद ठुलै मुल्य निस्कन्छ होला ।
आज नेपाल मात्र होईन पुरै बिश्व नै कोरोना भाईरसको कारणले आक्रान्त छ र आर्थिक क्षेत्रसमेत नराम्रोसँग थला परेको छ तर हामीसँग त्यति सोच्ने सामर्थ्य छ ? यदि अहिले पनि दिनको १८ घन्टाको लोडसेडिङ्ग रहिरहन्थ्यो भने देशको अर्थतन्त्र, हाम्रो आर्थिक, सामाजिक तथा मानसिक अबस्था कुन स्थितिमा रहन्थ्यो होला । यसो भनिरहदा कतिपयको तर्क आजसम्म लोडसेडिङ्ग रहन्थेन भन्ने पनि हुन सक्छ यदि त्यसो हो भने लोडसेडिङ्ग हटाउनको लागि यहि कुलमानको चार बर्षे कार्यकालको आबश्यकता किन पर्यो त्यो भन्दा अगाडिको कैंयो बर्ष हामीहरुले के हेरेर बस्यौं ।
कुलमानको गत चार बर्षको कार्यकालले नेपाली अर्थजगतका अन्य धेरै पाटाहरुलाई पनि कोटयाएको छ । एकातिर एउटा ब्यक्तिले इमान्दारितापुर्बक चाहने हो भने धेरै कुरा सम्भव छ भन्ने कुराको गतिलो पाठ नेपालका प्रधानमन्त्री, मन्त्री , तथा अन्य संघसंस्थाका उच्च तहका ब्यक्तिहरुलाई राम्रोसँग सिकाएको छ । कुनै पनि जिम्मेवारि नदिईकन राखिएका र संस्थागत रुपमा अन्य केहि उच्च तहका ब्यक्ति भन्दा जुनियरको रुपमा रहेका घिसिङ्गले प्राधिकरणको नेतृत्व लिएपश्चात यो अबस्थामा ल्याउनुलाई उच्च तहको ब्यक्तिले मात्रै केहि गर्न सक्छ भन्ने मानसिकतालाई पनि नराम्रोसँग झापड हानेको छ । नेपाल सरकारले काम गरिरहेको छ तर त्यसको उचित प्रचारप्रसार नभएको कारणले सरकारको प्रशसां हुन सकेन र कुलमान घिसिङ्गलाई अनाबश्यक रुपमा देवत्वकरण गरियो भन्नेहरुलाई राम्रो काम गरेको खन्डमा प्रचारप्रसार बिना नै पनि नेपालि नागरिकले थाहा पाउदारहेछन र राम्रो काम गर्ने लाई सम्मान गर्नेरहेछन भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा पनि कुलमानको चार बर्षे कार्यकाललाई लिन सकिन्छ ।
तर विधिको बिडम्बना आज त्यहि कुलमान घिसिङ्गको कार्यकाल चार बर्ष थप्ने कुरामा सरकार चुकेको छ र घिसिङ्गको पुर्ननियुक्तीमा सरकार मौन छ । कताकता हल्ला सुनिन थालेको छ अब प्रतिस्पर्धाका आधारमा नेपाल प्राधिकरणको कार्यकारिको नियुक्ति हुदैछ तर प्रतिस्पर्धाको लागि आधारभुत आवश्यकता के हो ? बास्तबिक काम कुलमानले गरेर देखाईसकेका छन्, कागजमा काम हो भने ने.क.पा को कुनै शुभेच्छुकले देखाउला ।
सत्य कुरा के हो भने यो सबै कुलमान ले मात्र गरेका होइनन् प्राधिकरणका अन्य कर्मचारि, मन्त्री, सचिव, अन्य मन्त्रालयका मन्त्री, सचिव लगायत राजनैतिक नेतृत्व सम्मको हात होला तर नेपालमा गर्न बाँकि अन्य धेरै ठाउँ तथा कामहरु छन जुन कामबाट कुलमानले जत्तिकै सम्मान पाउन सकिन्छ त्यहि एउटा कामको लागि सबैले जस लिनको लागि लाईन लगाउनुको कुनै तुक छैन ।
अझैसम्म पनि केहि बिग्रिसकेको छैन । नेपालमा इमान्दारितापुर्बक काम गरेका अन्य धेरै ब्यक्तिहरुको मनोबल उच्च राख्नको लागि, नेपाल सरकारले थोरै भएपनि नेपालि नागरिकको आवाजलाई सुन्छ भन्ने भावना सञ्चार गराउनको लागि, प्राधिकरणमा घिसिङ्गले शुरुवात गरेका धेरैवटा कामहरुलाई सम्पन्न गर्नको लागि, प्राधिकरणको थप सुदृढिकरण गरि देशले आर्थिक लाभ लिनको लागि तथा नेपाल सरकारले बारम्बार एउटा निर्णय गर्ने र बिरोधपश्चात त्यसलाई उल्टयाउने प्रबृतिलाई रोक्नको लागि थप एक कार्यकालको लागि कुलमानको बिकल्प छैन ।
प्रस्तुत विचार लेखकका निजि हुन् । लेखक महत पेशाले बैंकर हुन् ।