दशैंको समय छ । परम्परागत रुपमा
हिन्दुहरुले मनाउने चाड भए तापनि समकालीन नेपाली समाजमा दशैंले नेपालीहरुको साझा सामाजिक
पर्वको मान्यता पाएको छ । आधुनिक समाजमा दशैंका आर्थिक, सामाजिक, साँस्कृतिक आयाम
छन् । यसपालि विश्वव्यापी स्वास्थ्य संकटका कारण नेपालीहरुले मनाउने दशैंको रौनक
स्वाट्टै घटेको छ । दशैंको उत्साह हुनुपर्ने मानिसहरुमा कोरोना भाइरसको आतङ्क छ ।
त्राहीत्राही छ । तैपनि समय रोकिनेवाला छैन । यी पंक्तिहरु लेखिरहँदा दशैंका पन्ध्र
दिनमध्ये एकतिहाई व्यतीत भइसकेको छ ।
यसपालि दशैंअघिको समयमा यौटा गजबको
विषयले चर्चा पाएको छ । सांसदहरुले चाडबाड खर्च लिने विषयलाई यति ठूलो बनाइएको छ
कि कसैले त्यसलाई त्याग गर्नु नै महान कामजस्तो गरी प्रचार गरिएको छ । तलब
भत्ताबिना गुजारा चलाउन गाह्रो हुने सांसदहरुको आवाजलाई मजाक बनाईएको छ । कानुन
बमोजिम राज्यले दिने भत्ता लिनुलाई नै अपराधको स्तरमा उठाउने प्रयत्न भएको छ ।
जुन सर्वथा गलत छ ।
'दशैं खर्च'को हल्लाखोर!
प्रथमतः यो दशैं खर्च नै होइन । कानुनले नै चाडपर्व खर्च भनेर परिभाषित गरेको छ । दोस्रो, यो लिनै नहुने/खानै नहुने चीज होईन । विद्यमान कानुनमा चाडपर्व खर्च भनेर परिभाषित गरिएको यो खर्च जुनसुकै पदाधिकारीले आफ्नो 'मुख्य चाडबाड'मा लिन पाउने व्यवस्था छ ।
विद्यमान कानुनमा चाडपर्व खर्च भनेर परिभाषित गरिएको यो खर्च जुनसुकै पदाधिकारीले आफ्नो 'मुख्य चाडबाड'मा लिन पाउने व्यवस्था छ
अतः कसैले ईदमा, इस्टरमा, उभौलीमा, ल्होसारमा त्यस्तो खर्च भुक्तानीका लागि निवेदन दिएमा सम्बन्धित कार्यालयको लेखा शाखाले त्यो व्यवस्था मिलाउँछ । त्यसैले दशैं खर्च भनेर रडाको मच्चाउनु आफैमा अल्पबुद्धिको खेल हो । र, तलबभत्ता खानेले काम गरेनन् भन्दै तलब भत्ता नै नखाउ भनेर रोइलो गर्नु झन् उल्टो सोच हो ।
यही हल्लाखोरको बीचमा केही नेताजीहरुले
दशैंअघि भुक्तान भएको भत्ता हत्तपत्त फिर्ता गर्ने घोषणा गरेर (स्मरण रहोस्, घोषणा
आफैमा फिर्ता होइन । भुक्तानी भइसकेको रकम घोषणा गर्नसाथै कानुनी प्रक्रिया नपुर्याई
फिर्ता हुँदैन) आफुलाई महान मान्छेको कित्तामा उभ्याउने कोशिस गरे । एकाध माननीयले
त्यसअघि नै राज्यले दिने तलब भत्ता नलिने निर्णय गरे । देशका ज्ञानी-गुनीहरुले त्यस्तो
निर्णयसँगै ती व्यक्तिको जिविका चलाउने अन्य श्रोत केके हुन् ? भन्ने प्रश्न
उठाउने झन्झट गरेनन् । त्यसैको लहरो तानिँदै जाँदा 'दशैं भत्ता' शीर्षकमा रडाको
मच्चियो ।
यही लहरमा केही पत्रकार समेत जोडिन
आइपुगेका छन् । पत्रकारको जिकिर छ कि उनले नेपाली काङ्ग्रेसका एकजना माननीयले दिएको
खाम फिर्ता गरे । र, मानौं, त्यो कीर्तिमानी काम थियो । यी पंक्तिहरु लेखिरहँदा 'रकम
फिर्ता गरिएको समाचार' लोकप्रिय समाचारको सूचीमा दोस्रो/तेस्रो स्थानमा छ । उक्त
समाचारको भाषा र त्यसमा गरिएको दाबीले ती पत्रकार महोदयले काङ्ग्रेसले दिएका कारण
रकम फिर्ता गरेका हुन् कि कसैसँग पनि नलिने हो ? भन्ने प्रश्नको जवाफ दिएको छैन
। र, समाचार त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने भन्दापनि 'फलाना'मा बढी
केन्द्रित छ । सोही समाचारमा एकजना पाठकको प्रतिक्रिया छ, "इज दिस इनफ टु बी
कन्भिन्स द्याट दिस रिपोर्टर डिड नट रिसिभ क्यास फ्रम एनोदर पार्टी?"
नारायणकाजी श्रेष्ठ लगायतका केही केन्द्रीयस्तरका नेता र केही स्थानीय तहको नेतृत्व गर्ने व्यक्तिहरुले तलब भत्ता नलिने घोषणा गरेका छन् । यससँगै अधिकांश नागरिकलाई 'त्यो महान काम हो' भन्ने भ्रम बेचिएको छ । जबकि यो प्रवृत्तिले राज्यबाट पाउने सेवा, सुविधा नलिनेहरुले आफ्नो जीवन निर्वाहका लागि अर्थोपार्जन कसरी गर्छन् भन्ने प्रश्न बुलन्द पार्नुपर्थ्यो । राज्यले दिएको तलब भत्ता नलिई अन्य स्रोत(?)बाट गुजारा गर्छु भन्ने माननीयहरुको घोषणासँगै खुशीले उफ्रिनु पनि निम्छरो बुद्धि हो ।
राज्यले दिएको तलब भत्ता नलिई अन्य स्रोत(?)बाट गुजारा गर्छु भन्ने माननीयहरुको घोषणासँगै खुशीले उफ्रिनु पनि निम्छरो बुद्धि हो
'दशैं खर्च'ले राज्यकोषमा भार बढ्यो
। महामारीको बेला त्यसलाई नागरिकको उपचार र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा खर्च
गर्न सकिन्थ्यो भन्ने सोच राम्रो हो । तर, विषयलाई जुन ढङ्गले गिजोलिएको छ, त्यो
सही छैन । हाम्रो व्यवहार र अभिव्यक्ति सोचको दायरासँग सम्बन्धित विषय पनि हो ।
कालिदासको बिहे र सोचको दायरा
यो उपशीर्षकको सुरु गरौं, कालिदासको बिहेको प्रसंगबाट। पौराणिक
कथाअनुसार संस्कृत साहित्यका महाकवि कालिदास सुरुवाती दिनमा रुखमा चढेर झर्ने बेला
आफै बसेको हाँगा काट्ने, कपुरी क दुब्लाएकोमा दुःखमनाउ गरेर रुनेस्तरका 'मूर्ख'
थिए ।
कालिदासको समयमा एकजना राजाकी अत्यन्तै विदुषी राजकुमारी
थिइन् । विद्योत्तमा नाम भएकी राजकुमारीको विद्वताकै कारण उनको बिहे हुनसकेको थिएन
। किनकि, राजकुमारीको शर्त थियो- आफुलाई शास्त्रार्थमा जित्ने मान्छेसँगमात्रै
बिहे गर्ने ।
राजकुमारीको शर्तका कारण बेहुला खोज्दा हैरान भएका
भारदारहरुले बदलास्वरुप उनको बिहे एकजना मूर्खसँग गरिदिने निचोडमा पुगे । अब
मूर्खको खोजी हुन थाल्यो । मूर्खको खोजी गर्नेहरुले आफै बसेको रुखको हाँगा काट्दै
गरेका कालिदासलाई भेटे । उनलाई मौनव्रती विद्वानको भेषमा राजकुमारीसामु उभ्याइयो ।
सांकेतिक शास्त्रार्थ सुरु भयो । सुरुमा राजकुमारीले यौटा औंला देखाइन्, कालिदासले
दुईटा । विद्योत्तमाले हातको पञ्जा देखाइन्, कालिदासले मुड्की देखाए । मौन
विद्वानको भनाईको व्याख्या तिनै भारदार र दरबारका विद्वानहरुले गरिदिन्थे ।
व्याख्याअनुसार राजकुमारी कायल भईन् । व्याख्याताहरुले सारा मानव इन्द्रिय, सारा
ब्रम्हाण्ड र जीवको अस्तित्वसम्मका विषयलाई कालिदासको ईशारासँग जोडिदिए । जबकि
कालिदासको प्रतिक्रिया तेरो यौटा औंला, मेरो दुईटा । तेरो पञ्जा, मेरो मुक्का
भन्ने तहमा थियो । अन्ततः राजकुमारी उनीसँग बिहे गर्न राजी भइन् ।
राजकुमारीको सोच र व्यक्तिको प्रतिक्रियालाई हेर्ने सोच
फराकिलो थियो । कालिदासको सोचको दायरा निकै साँघुरो थियो । उनले राजकुमारीको हरेक
क्रियाको आत्मकेन्द्रित प्रतिक्रिया दिईरहेका हुन्थे । शास्त्रार्थमा भारदारहरुको
चतुर्याईंको कारणले ती दुईजनाको बिहे भयो । बिहेपछि कालिदास अज्ञानी, मूर्ख
व्यक्ति भएको थाहा पाएपछि राजकुमारीले ऊ नसुध्रिएसम्म आफुले नस्वीकार्ने निर्णय
गरिन् । त्यही कारणले कालिदास कठोर साधना गर्न तयार भएर कालिदास वास्तवमै विद्वान
व्यक्तित्व रुपान्तरण भए । पछि उनले विद्योत्तमालाई पत्नी नभएर गुरुको रुपमा लिए
। यी दुवै घटनामा व्यक्तिको सोच केन्द्रीय विषय हो ।
अहिले 'दशैं खर्च'को सन्दर्भमा चलाइएको बहसमा सोचको दायरा
फराकिलो छैन । तिमीले काम गर्न सकेनौ त्यसैले तलब भत्ता नखाऊ भन्नु तर्क नभएर
कुतर्क हो । पर्याप्त तलब भत्ता खाऊ । सुविधा लेऊ । तर, जुन जिम्मेवारीको लागि
तिमी निर्वाचित भयौ सोही अनुरुप कर्तव्य पालना गर भन्ने ढंगबाट बहस चल्नु जरुरी छ
।
हामीकहाँ धेरै समस्याहरु छन् । सानो कुरामा ध्यान नपुग्दा समाजमा अनेक घटना, दुर्घटना भएका छन् । कति विषयहरु कानुनको अभावमा अल्मलिएका छन् । बनेका कानुन पनि खोटरहित छैनन् । तिनैको पनि पालना भएको छैन । यी विषयमा सुधार हुनेगरी बहस चलाईनु जरुरी छ । दुईचारवटा समाचार बेच्ने र कुनै खास पात्रलाई 'डिमोरलाइज' गर्ने हिसाबले मुद्दालाई तरङ्गित बनाउनु उचित होइन ।
दुईचारवटा समाचार बेच्ने र कुनै खास पात्रलाई 'डिमोरलाइज' गर्ने हिसाबले मुद्दालाई तरङ्गित बनाउनु उचित होइन
सोचले सगरमाथा चढिन्छ । सोचले पहाडमा रेल गुडाउन सक्छ । सोचको दायरा फराकिलो भएमात्रै शान्ति, अमनचयन, विकास, मूल्य-मान्यता, नीति-संस्कारको मर्यादा रहन्छ । त्यसैले हरेक मुद्दा निर्माणात्मक सोचकासाथ उठ्नु पर्छ ।